MENU

गुलाब फूल : वार्षिक सवा १८ करोडको कारोबार

patan-college

राजेश बर्मा बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

भ्यालेन्टाइन डेमा मात्र अढाइ करोडको व्यापार

काठमाडौं : बीउमा पूर्ण रूपमा परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्यधिक हुने गरेको छ। नेपालमा वार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ। नेपालमा गुलाब फूलको बीउका रूपमा ससानो बिरुवा आयात हुन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार सबै प्रकारका गरी नेपालमा वार्षिक १० अर्ब मूल्यबराबरको फूलको बीउ आयात हुन्छ। यसमध्ये करिब ४ प्रतिशत गुलाबको बीउको हिस्सा पर्छ।

‘वार्षिक साढे १८ करोडभन्दा बढीको कारोबार गर्ने गुलाब फूलको बीउ बिरुवाको विकास र उत्पादन गर्न सरकारले चासो नदेखाउँदा बीउका बिरुवा आयातमा बर्सेनि करोडौं रुपैयाँ बिदेसिने गरेको छ’, फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने, ‘हाम्रो देशमा बीउ बिरुवाको विकास र उत्पादन गर्न सकिएको भए नेपालीले थप रोजगार पाउनुका साथै नेपाली रकम विदेश जानबाट रोक्न सकिन्थ्यो।’

फ्यानका अनुसार नेपालमा मुख्यगरी कट फ्लावर र कट फ्लावरको रूपमा भारतको बैंगलौंर, दिल्ली, कोलकाता, पुनाबाट र हल्यान्डबाट बीउ बिरुवा आयात गरिन्छ। आयात हुने गुलाबको बीउ शत्प्रतिशत हाइब्रिड जातका हुन्छन्। यसरी आयात हुने बीउ बिरुवाको भरमा काठमाडौंसहित भक्तपुर, ललितपुर, नुवाकोट, चितवन, सर्लाहीलगायत जिल्लामा व्यावसायिक रूपमा आधुनिक प्रणालीमा यो फूलखेती हुँदै आएको छ। हावापानी मिलेका हेटौंडा, पोखरा, नारायणगढ, काभ्रे, विराटनगर, धरान, धनगढीलगायत स्थानमा पनि फूलखेती हुन थालेको छ।

फ्यानका अनुसार सामान्य दिनमा देशभर पाँच हजारको संख्यामा विभिन्न रंगका गुलाब फूलको स्टिक (डण्डी) तथा स्टिम (डाँठ) को खपत हुन्छ। यसरी हेर्दा वर्षभरिमा करिब १८ लाख २५ हजार थान स्टिम र स्टिक देशभर खपत हुन्छ। एक थान स्टिक र स्टिम गुलाब फूललाई उपभोक्ता मूल्य सय रुपैयाँ तोकिएको छ। यसरी वर्षभरमा १८ करोड २५ लाख मूल्यबराबरको गुलाब फूलको मात्रै कारोबार हुन्छ।

सबै प्रकारका गरी नेपालमा वार्षिक १० अर्ब मूल्यबराबरको फूलको बीउ आयात हुन्छ। यसमध्ये करिब ४ प्रतिशत गुलाबको बीउको हिस्सा पर्छ।

चितवनको गुञ्जनगरस्थित अब्लम फ्लोरा फार्मका सञ्चालक प्रकाश पन्तका अनुसार गुलाब फूलको अत्यधिक माग छ। विवाह, भोज भतेर, पार्टी सेमिनार, शुभकार्यको अवसरमा यो फूल बढी प्रयोग हुन्छ। त्यसबाहेक सबैभन्दा बढी माग ‘भ्यालेन्टाइन डे’ का दिन बढ्छ। भ्यालेन्टाइन डेको दिन माग ह्वात्तै बढेपछि पुष्प व्यवसायी एक दिनको माग पूरा गर्न भारतको भर पर्नुपर्ने अवस्था छ।

पन्त आफै पनि चितवनमा गुलाबकै अत्याधुनिक व्यावसायिक फार्म हाउस सञ्चालन गर्दै आएका छन्। उनको अहिले १५ कट्ठा जग्गामा गुलाबका बोट लहलहाइरहेका छन्। फार्मबाट रातो, सेतो, पहेलो, पिंक, हल्का रातो गरी पाँच प्रकारका गुलाब फूल्न थालेको पन्तको भनाइ छ। नेपालमा गुलाब फूलको बीउ र फूल आयात मात्रै हुँदैन। आव २०६२/६३ को जनआन्दोलन अघिसम्म नेपालबाट गुलाब फूल निर्यात पनि हुन्थ्यो।

काठमाडौंको एभरेस्ट फ्लोरिकल्चर प्राइभेट लिमिटेडले उन्नत जातको बीउ भित्र्याएर हाइटेक प्रविधिमा तत्कालीन समयमा गुलाबको खेती गरेको थियो। उत्पादन हुने गुलाबको करिब ५० प्रतिशत हिस्सा युरोप निर्यात हुन्थ्यो। वार्षिक करिब ४० लाख मूल्यबराबरको गुलाब नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो। तर, जनआन्दोलन ताका कर्मचारी र किसान आन्दोलनमा होमिएपछि उत्पादनमा ह्रास आउनुका साथै विस्तारै उक्त कम्पनी आर्थिक रूपमा टाट पल्टिएपछि कम्पनी बन्द भयो। निर्यात पनि त्यही समयदेखि बन्द भएको पुष्प विज्ञको भनाइ छ। ०००भ्यालेन्टाइन डेमा अढाइ लाख खपत


प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेका दिन देशभर गुलाब फूल उच्च परिमाणमा खपत हुन्छ। प्रेमीप्रेमिकाले एक आपसमा माया साटासाट गर्न पहिलो खुड्किलोका रूपमा गुलाब फूल प्रयोग गर्ने भएकाले यो माग अत्यधिक हुन्छ।

सामान्य दिन बाहेक यो दिन अतिरिक्त दुई लाख ५० हजार थान गुलाबको स्टिम र स्टिकको कारोबार हुन्छ। यो दिनमा मात्रै दुई करोड ५० लाख मूल्यबराबरको गुलाब फूलको व्यापार हुन्छ।

भ्यालेन्टाइन डेका लागि गुलाब फूलको जोहो गर्न व्यवसायीले आन्तरिक बजारबाट ५० हजार थान र बाँकी दुई लाख भारतको बैंगलौरबाट आयात गर्दै आएका छन्। यो वर्ष १५ दिन अगावै भारतको पुष्प थोक बजारमा नेपाली व्यवसायीले करिब डेढ करोड मूल्यबराबरको गुलाब फूल काठमाडौं भित्र्याइ सकेका छन्।

। गत वर्ष एक करोड मूल्यबराबरको एक लाख ९० हजार थान गुलाबको स्टिक आयात गरिएको फ्यानका अध्यक्ष श्रेष्ठले जानकारी दिए। आयात गरिएका गुलाब सरकारको सहयोगमा निर्माण भएको त्रिपुरेश्वरको दुई र काठमाडौं प्लाजाको एक वटा गरी तीन कोल्ड स्टोरमा भण्डारण गरिएको छ। यो कोल्ड स्टोरमा गुणस्तर कायम राख्न ३५ दिनसम्म फूल भण्डारण गर्न सकिन्छ।

‘सामान्य दिनमा खपत हुने गुलावको फूल स्वदेशी उत्पादनबाटै आपूर्ति हुँदै आएको छ। तर, प्रणय दिवसका दिन बजार एकैपटक तात्ने भएकाले माग ह्वातै बढ्छ’, श्रेष्ठले भने,‘त्यो माग थेग्न आन्तरिक उत्पादनले नपुग्ने भएर भारतबाट आयात गरेका छौं।’०००

गुलाबको इतिहास

नेपालमा गुलाबखेती परापूर्वकालदेखि नै गरिँदै आएको छ। राणाकालीन समयमा केशवशमशेर राणाले केशर महलमा बेलायतबाट गुलाबलगायत फूलका बिरुवा ल्याएर स्वपन वाटिकाको निर्माण गराएका थिए। विज्ञका अनुसार नेपालमा त्यही समयदेखि गुलाब फूलसहित अन्य फूलखेतीको विस्तार भएको हो।

त्यसपछि सन् १९७० मा सर्लाहीको गुलाब प्रदर्शनी केन्द्र स्थापना भएको थियो। यो फार्मलाई उष्ण प्रदेशीय वागवानी केन्द्रका रूपमा नामाकरण गरिएको थियो। त्यही फार्ममा ५० भन्दा बढी जातका गुलाबको जात संकलन गरेर राखिएको थियो। त्यसपछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गतको कृषि संकायले ३० भन्दा बढी प्रकारका गुलाबको जात भएको बगंैचा निर्माण गरेको थियो। नेपालमा सम्भवत वृहत गुलाब बगंैचा भएको त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको हातामा रहेको डा.जाकिर हुसैन गुलाब बगैंचा नै हो। यस्ता बगैंचाका कारण नेपालका क्रमिक रूपमा गुलाबको विस्तार र विकास भएको मानिन्छ।

गुलाबको व्यावसायिक खेती भने १९ औं शताब्दीतिर भएको पाइन्छ। कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा फ्यानले गुलाबको विभिन्न प्रकारका बोटविरुबा भित्र्याएपछि यसको व्यावसायिक खेती हुन थालेको हो।

क्षेत्रफल घट्दै

गुलाब फूलको माग बर्सेनि १० देखि १५ प्रतिशतले वृद्धि भए पनि उत्पादन क्षेत्रफल घट्दै गएको छ। यसले गर्दा आगामी दिनमा गुलाब फूलमा नेपाल थप परनिर्भर हुने अवस्था देखिएको छ। तर, फ्यानले भने क्षेत्रफल घटे पनि थोरै जग्गाबाट हाइटेड प्रविधिको माध्यमबाट आगामी वर्षको मागअनुसार उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ।

फ्यानका अध्यक्ष श्रेष्ठका अनुसार बीउको आयातदर प्रतिस्थापन गर्न नसकिए पनि आगामी वर्षमा फूलको आयात दरलाई भने शून्यमा झार्न सकिन्छ। यसका लागि योजना बनाएर कार्यान्वयनमा ल्याइसकिएको उनको कथन छ। कृषि विकास मन्त्रालयको सहकार्यमा गत वर्ष २४ हजार वर्ग मिटरमा ग्रिन हाउस निर्माण भएको छ।

यो वर्ष १८ हजार वर्ग मिटरमा थप ग्रिन हाउस निर्माण हुँदैछ। ग्रिन हाउसमा गुलाबको बोटबिरुवा अहिले लहलहाइरहेका छन्। अर्को वर्षदेखि उत्पादन आउँछ। यसरी निर्माण भइरहेको ग्रिन हाउसबाट गुलाबको उत्पादन आउन थालेपछि तिहार र भ्यालेन्टाइनमा आयात हुने गुलाबको आयात दर शून्यमा झार्न सकिन्छ।

सन् १९९२ देखि गुलाबको उत्पादन क्षेत्र विस्तार भए पनि पछिल्लो ५-६ वर्षयता घट्दो क्रममा छ। नेपालमा अहिले करिब एक सय नौ रोपनीमा विभिन्न रंगका गुलाबको खेती हुँदै आएको छ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost