MENU

बजारिया प्रेमदेखि सावधान

patan-college

दीपा कोइराला बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

 

प्रेम आफैंमा विवादास्पद र जटिल विषय हो। हर जीवित प्राणी सर्वत्र प्रेमको अपेक्षा गर्छ, प्राणीमध्येको सर्वशक्तिमान र विवेकी मान्छे अरू प्राणीभन्दा धेरै ‘प्रेम’ को अपेक्षा गर्ला। यसो किन भनिएको हो भने आफ्नो प्रेम या विवाह प्रस्ताव अस्वीकृत भएको झोकमा विश्वभर कैयौंले आत्महत्या गर्ने गर्छन्। अमूल्य जीवनको मूल्यमा मान्छे ‘प्रेम’ गर्छ तर त्यही प्रेमका बारेमा आजसम्म संसारले एउटै प्रस्ट र ठोस परिभाषा दिएको छैन। त्यसो हुँदाहुँदै चाख, दया, सम्मोहन, सेवा, समर्पणलाई आम मान्छेले प्रेम बुझेका छन्।

प्रेमका परिभाषा लाख हैन, लाखौं छन्। पिकासोका अमूर्त कला या धुम्मिएको आकाशमा देखिने काल्पनिक ‘इमेज’ जस्तै छ व्यक्तिपिच्छे प्रेम अवधारणा। बच्चाबाट वयस्क बन्दै गर्दा विपरीत लिंगप्रतिको यौनिक भावना र रतिरागको चाहनालाई पनि हामी प्रेम नै बुझ्छौं। घरमा ससाना नानीहरूलाई काँधमा चढाएर खेलिरहेका बाउ र दूध चुसाउने आमाका आँखामा भेटिने अव्यक्त आनन्दलाई पनि हामी प्रेम भनिरहेछौं। आफ्ना आँगनमा फूलमा पानी हाल्दै गरेका बूढीआमाहरूको फूल र बोटप्रतिको भाव र दोबाटोमा कुकुरका छाउरालाई बिस्कुट ख्वाइरहेको बूढो माग्नेको मुहारमा प्रकट हुने भावलाई के भन्ने ? यसका लागि ‘प्रेम’ नै सबैभन्दा सहज र प्राप्य अभिव्यक्ति होला।

प्रेमबारे लेख्दा ती दिनका याद आउँछ, जतिखेर स्कुलमा केही उत्ताउला केटाकेटी अनसन्ट ‘आई लभ यु’ भन्थे वा लेख्थे। हामी कसैले देख्ला या सुन्ला भन्ने ठान्दै लाजले रातोपिरो हुँदै कापीमा लेखिएको त्यस अक्षरलाई मेट्थ्यौं वा त्यस्तो भनिरहेका साथीसंगीबाट टाढा भाग्थ्यौं। कामदेव र रतीका प्रणय कथा बुझेका हजुरबा पीढी र टुँडालका पाकक्रीडा बुझ्न नपाएका हामीलाई ‘लभ’ शब्दले कम्ती तर्साउँदैनथ्यो। जसरी व्याख्या गरिए पनि आज यो प्रेम शब्द सनैसनै हामीले उतिखेर ठानेकै शारीरिक र भौतिक सम्बन्धतर्फ प्रेम लम्किरहेछ।

अंग्रेजी महिनाको फेब्रुअरी १४ मा पर्ने अचेलको भ्यालेन्टाइन डे रोमन समयमा मनाइने पर्व ‘लुपरकलिया’ मा आधारित छ। सन्तान उत्पादकत्वसँग जोडेर १५ फेब्रुअरी (कतैकतै १५ पनि उल्लेख छ) मनाइने त्यस पर्वमा महिला जनावरका छाला ओढेर चोक र बाटोहरूमा होहल्ला गर्थे। त्यसो गर्दा सहरमा रहेका दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वाससमेत गरिन्थ्यो। बाख्रा र कुकुरको बलिसमेत दिइने त्यस्तो अवसरलाई जोडी छान्नका लागिसमेत प्रयोग गरिन्थ्यो।

इतिहासअनुसार त्यो परम्परा अन्त्य हुन सन्त भ्यालेन्टाइनको मृत्यु जिम्मेवार रह्यो। भ्यालेन्टाइनले क्रिस्चियन संस्कारअनुसार बिहे गरेका कारण उनलाई जेल हालियो। पछि त्यहाँको सम्राट् क्लाउडिउस द्वितीयलाई धर्म परिवर्तन गरेर क्रिस्चियन बनाउन खोजेको आरोपमा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो। पाँचौं शताब्दीतिर तिनै भ्यालेन्टाइनको सम्मानमा पोप गालासियसले पहिलेको लुपरकलियाको संस्कार बन्द गरेर ‘सेन्ट भ्यालेन्टाइन्स डे’ सुरु गराए।

आदर्शवादी प्रेमको सम्झनामा मनाइने प्रेम दिवसको दिन फूल, लुगा, खाना र गरगहनाजस्ता चीजमा मात्र १८ अर्ब डलर खर्च गर्ने अनुमान छ।

पहिलेको प्रेमबारेको बढी शारीरिक र यौनिक अवधारणाको ठाउँमा पवित्र प्रेमलाई स्थान दिन भ्यालेन्टाइन दिवस सुरु गराएको तर्क पनि छ। भ्यालेन्टाइन्स डे आज काँचका अस्थिर मिडियामार्फत हाम्रा अर्गानिक गाउँठाउँमा समेत प्रेम दिवस या प्रणय दिवस बन्दै ओर्लेको छ। क्रिस्चियन फिरंगीहरूले उपनिवेश बनाएका अफ्रिका र दक्षिण अमेरिकी राष्ट्रहरूमा उहिल्यै डोली चढेर ती पर्व त्यहाँ पुगेका छन् र अहिले बजारले त्यसलाई झनै तडकभडकयुक्त बनाएको छ।

अध्ययनअनुसार नेपालमा वार्षिक दुई अर्ब पचास करोड मूल्यबराबरका गुलाफ बिक्छन्। ती फूलको बीउ भने विदेशबाट ल्याउनुपर्छ। विदेशी बीउ नेपालमा हुर्काएपछि मात्र नेपालीले नेपालीलाई गुलाफ दिएर प्रेम अभिव्यक्त गर्न पाउँछन्। गूलाफलाई प्रेमको प्रतीकका रूपमा आधुनिक पुँजीवादी समाजले चर्चा चलाएपछि र मिडिया पनि त्यसकै पछि कुदेपछि हामी गुलाफबाट यति मोहित भयौं कि हाम्रा साना नानीका नामै ‘रोज’ हुन थाले।

रोजको नेपाली अनुवाद गुलाफको कुरै छोडौं, आफ्नो पनाप्रति धिक्कार भाव भएका हामीले पार्वती, मखमली, पारिजात, धुर्सुल, लालीगुराँस, बेली, प्याउली, जाहीजुहीलगायत सैयौं स्थानीय फूल र तिनका नाम आफ्ना नानी्लाई दिन हच्कियौं। प्रकृतिमा फुल्ने, नरम, बास्नादार, अनेक रंगयुक्त र सकारात्मक भाव मिल्ने गुलाफलाई प्रेमको प्रतीकका रूपमा पुजिने कुरो सुन्दर हो तर एउटा मात्रै प्रजातिको फूलमा प्रेम फुल्दैन।

गुलाफका सयभन्दा बढी प्रजाति छन् र प्रेमलाई हेर्ने दृष्टिकोण हजारौं होइन, लाखौं छन्। इतिहासमा हामीले त्यस्ता राजारजौटा र वादशाहका कथा पढेका छौं, जो भ¥याङपिच्छे सुन्दरता र यौवनले भरिपूर्ण युवती राखेर तिनलाई भोग्नुलाई प्रेम ठान्थे। भाउजू, बुहारी र साथीका सुन्दर पत्नीहरूसमेत पक्रेर अनेक दर्जाका रानी बनाएर भोग्नुलाई चक्रवर्ती महाराजहरू प्रेम ठान्थे। उनीहरूको प्रेम घिसारिएर, पक्रिएर र लुटिएर प्राप्त हुन्थ्यो।

भोगिइनेहरू परमेश्वरको यही अनुकम्पा रहेछ भन्ने ठान्थे महाराजको भोगलाई प्रेम ठान्थे र कालान्तरमा सती बनेर महाराजसँगै डढ्थे र डढाइन्थे। डढ्नु समर्पण, त्याग र धर्मको परिभाषाभित्र पथ्र्यो। प्रेमका परम्परागत दुई परिभाषा हुन् यी : एक, धन र शक्तिले स्त्रीलाई भोग्नु, दुई, शक्तिसम्पन्नहरूकी भोग्या बनेर धनको उपभोग गर्नु।

र, स्त्रीहरू पहिलेभन्दा धेरै स्वतन्त्र हुँदै गर्दा अहिले पनि दोस्रो परिभाषामा झैं प्रेम धनको बजारमा बिक्री हुँदैछ। अमेरिकाको नेसनल रिटेल फेडेरेसनका अनुसार अमेरिकीहरूले भ्यालेन्टाइन डेको दिन फूल, लुगा, खाना र गरगहनाजस्ता चीजमा मात्र १८ अर्ब डलर (अठार नील) खर्च गर्ने अनुमान छ। यो अमेरिकी समाजको बजेट हो, जहाँ संसारभरका अनेक सभ्यता र संस्कारका मान्छे बस्छन्। ‘अमूल्य प्रेम’ का लागि चर्को मूल्य तिर्दैछ समाज। बुद्ध स्वयंले आफूप्रति कुनै आसक्ति नराख्न र उनलाई सम्झने गरी कुनै वस्तु नबनाउन आफ्ना अनुयायीलाई भनेका थिए, तर आज संसारमा उनको आदर्शविपरीत बुद्धकै मूर्ति धेरै बनेका छन्। बुद्धकै व्यापार गरिने आज प्रेम बिकाउको विषय भएको छ। स्मरण रहोस्, कपिलवस्तुमा जन्मेका बुद्ध वास्तवमा प्रेमका सच्चा प्रवर्तक थिए।

अचेल दसैंमा शुभकामना दिने हैसियत जाँड कम्पनीको बढी छ। अन्य हाम्रा मौलिक पर्वहरूमा शुभकामना दिनेहरू पनि उनै छन् र भ्यालेन्टाइन्स डे पनि माल प्रर्वद्धनको एक अवसर बनेको छ। भ्यालेन्टाइन डेलाई हप्तामा विस्तार गरेर चक्लेट र पुतली दिवससमेत बनाएको छ पुँजीवादले। भोलि कोक या पेप्सीजस्ता विश्वव्यापी धन्दाले एकमहिने बनाएर यसलाई स्प्राइट डे, फिजडे, पेप्सीडे, सेभनअप डे बनाए भने भने आश्चर्य नमान्दा हुन्छ। आधुनिक भ्यालेन्टाइन डे धनी कम्पनीहरूले प्लास्टिक, चक्लेट, कोक र पिज्जा बेचेर हाम्रो दिमाग भुट्ने र जीवनभर तिनका उत्पादनको लत लगाउने अवसर हो। मदिरा र अन्य ‘एडिक्टिभ’ झोल र भोजनहरू ‘लन्च’ र प्रवर्धन गर्ने मेसो हो। मिडियाले भन्नेबित्तिकै पत्याउने, अस्थिर स्वभावका व्यक्तिको दिमाग भुटेर बजारमा साम्राज्य कायम राख्ने अवसर हो।

सम्बन्धहरू मानव इतिहासमै सधैंभन्दा लोकतान्त्रिक, प्रवाही, अल्पकालीन र शारीरिक आनन्दमा आधारित हुँदै गर्दा हामीले सम्बन्धलाई दिगो राख्नुपर्ने चुनौती छ।

म्याट्रिमोनियल साइट प्रयोग गरेर लोग्ने, स्वास्नी, वेस्या, मजदुर, कमारो खोजिदिएर तथा महिलाको रुचिअनुसारको रङरूपको बच्चा जन्माउनयोग्य ‘स्पर्म’ बैंकमार्फत वीर्य बेच्ने र अर्काको कोख भाडामा (सरोगेसी) दिलाइदिएर बिचौलिया बनेर पैसा कमाउने यो युगमा प्रेमिल भावना बिक्री हुनु असामान्य होइन। त्यसो भन्दैमा हाम्रा प्रियजनले दिने प्रेमिल उपहार सबै बेकार हुन् भन्न खोजिएको पक्कै होइन। भावनाको भौतिकीकरण हो उपहार, त्यो राम्रै कुरा हो। कतिपय सार्थक उपहारले जीवनमा नयाँपन ल्याइदिन्छ। अहंकार र देहाभिमानमा जलेका मान्छेलाई समेत फूलले शीतलता दिन्छ। तर प्लास्टिकका पोकामा पसलेले बाँधेर राखेका बुके, प्लास्टिककै फूल र प्लास्टिकबाट बनेका चिनियाँ ब्रेकिजिज्ले भने हाम्रो क्षयीकरण हुँदै गरेका प्रेमतर्फ संकेत गर्छ।

जीवनको हरक्षण संकटपूर्ण छ, अस्थिर छ। जतिसुकै जे पनि हुनसक्ने जीवनमा आफन्त र प्रियजनबाट प्रेमको वर्षा होस्। हामी सबैको अपेक्षा त्यही रहन्छ। आदर्श क्षयीकरण हुँदै गरेको समाजमा प्रेमभन्दा बढी आक्रोश, रिस र डाह बढी छ। यस्तोमा थोरै अपेक्षा राखेर जीवन जिउनु उत्तम होला। आयातित बजारिया यस्ता संस्कारको सट्टा आफ्ना बाबुआमाको विवाहको वर्षगाँठ मनाऔं।

बाआमाको विवाह भएकै कारण हामी आज यस रूपमा जन्मेका छौं। जन्मोत्सव र आफ्नो विवाहको वर्षगाँठलाई मौलिक र आफ्नै सांस्कृतिक स्वरूपमा मनाऔं। विज्ञापन र बजारले हामीलाई मूर्ख उपभोक्ताका रूपमा विगत दुई सय वर्षदेखि शोषण गरिरहेका छन्। बजारमा ठगी, मिसावट, नक्कलीपना र खोक्रोपना चल्छ। बजार दुस्प्रचार र धोकाधडीमा चल्छ। त्यही बजारको अर्को ‘प्रचारउत्सव डे’ मा हामी किन बनौं भेडा ?

सृष्टिका सबैप्रति दया र प्रेमको भावना राख्नु आवश्यक छ तर हामीले आज बुझेको ‘जोडी प्रेम’ का बारेमा भने सिकागो ट्रिब्युनमा प्रेमका बारेमा केल्सी कोलिस्टरले दिएको सुझाव सही छ, ‘आफ्नो पार्टनरसँग बेलाबेला आँखा जुधाइराख्नु, ऊ/उनीसँग बेलाबेला गम्भीर प्रश्नहरू गर्नु र उनको शरीरमा बेलाबेला छुनु नै रोमान्टिक प्रेम व्यक्त गर्ने सुन्दर तरिका हो।’ आफ्ना प्रेमीका अनौठा र उत्तेजक कल्पनाका बारेमा सोध्न र अपेक्षाअनुसार व्यवहार गर्न पनि केल्सी प्रेमीहरूलाई आग्रह गर्छिन्।

सम्बन्धहरू मानव इतिहासमै सधैंभन्दा लोकतान्त्रिक, प्रवाही, अल्पकालीन र शारीरिक आनन्दमा आधारित हुँदै गर्दा हामीले सम्बन्धलाई दिगो राख्नुपर्ने चुनौती छ। सम्बन्धहरूले युगअनुसार समानताको पनि माग गरेकै छ। यस्तो बेला चक्लेट, प्लास्टिकका पुतली, फूलधनीले फूलाएको हाइब्रिड गुलाफ र कमजोर काँचका पर्दामा देखिएका बहुराष्ट्रिय कम्पनीका ‘चुम्मादार’ विज्ञापनमा अल्झेर आफ्ना प्रेमी, साथी, सन्तान र परिवारसँगका सम्बन्धलाई तौलनु भूल हुनेछ। प्रेमको मूल आदर्श र मूल्यलाई बिर्सेर ‘प्राइसट्याग’ वाला मूल्यको पछि लाग्दा त्यो प्रेम नभएर केवल आफ्नो बिक्री हुनेछ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost