भ्रष्टाचारको जड
सभ्य समाज निर्माणका लागि भ्रष्टाचार न्यूनीकरण पहिलो प्राथमिकता हो। भ्रष्टाचारजन्य क्रियाकलापबाट आर्जेको सम्पत्तिलाई सामाजिक बहिष्करण नगर्दासम्म भ्रष्टाचारले प्र श्रय पाउँछ। तर भ्रष्टाचारविरुद्ध लामो अभ्यास गर्दासम्म पनि यसको न्यूनीकरणमा लक्षित उपलब्धि हासिल गर्न सकिएको छैन। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा छ। जसमा चालीस अंकभन्दा कम ल्याउने मुलुकलाई उच्च भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ। आखिर किन नियन्त्रण हुन सकिरहेको छैन भ्रष्टाचार ? यसको जगमा हाम्रो सामाजिक चिन्तन जोडिएको छ।
समाजमा सम्पत्ति हुन र कमाउनेलाई सम्मानको नजरले हेरिन्छ। छोटो समयमा अकूत सम्पत्ति कमाउनेलाई निकै आदर गर्छ हाम्रो समाज। के गरेर कमायो भन्नेबारे कसैले सोच्दैन। बरु कमाउन नसक्नेलाई हेयको भावले हेरिन्छ। मानिसको प्रतिष्ठालाई धन र सम्पत्तिसँग दाँजिन्छ न कि बुद्धि र विवेकसँग।
हाम्रो समाजमा नेता, कर्मचारी, व्यापारी, व्यवसायी, संघसंस्था तथा नागरिक समाज भ्रष्टाचारजन्य क्रियाकलापबाट अछुतो छैनन्। जति माथिल्लो तह र तप्कामा पुग्छ, उति नै बढी भ्रष्टाचार गरेको घटना बारम्बार सार्वजनिक हुने गरेको छ। २०७२ को भूकम्पको समयमा उच्चस्तरका मानिसले नै राहतका लागि आएको त्रिपाल वितरणमा घोटाला गरेको समाचार बाहिर आएको थियो।
ठूला आयोजनाको बालुवामा होस् वा दुर्गममा पठाइएको राहत सामग्रीमा होस्, धेरथोर भ्रष्टाचार हुने गरेको खुला सत्य हो। यति साह्रै भ्रष्ट किन बन्यो समाज ? देश बनाउने कसम खाएर चिल्लो गाडीमा सरर हिँड्दा पनि गरिबका लागि छुट्ट्याइएका एक माना खजाना झ्याम्म पार्ने दरिद्र सोच किन हुर्किन्छ आखिर ? सामान्य आवश्यकता परिपूर्ति भएको अवस्थामा लोभको भकारी जागै रहन्छ। आर्थिक रूपमा जति सम्पन्न हुँदै गयो उति हाम्रो सोचाइको स्तर तल खस्छ किन ? बस्ने सानदार घर, हिँड्ने महँगा गाडी, आम्दानीको स्रोत करोडौं लगानी हुँदा पनि मनभित्रको दरिद्रताले किन छोड्दैन ? आफ्नै घरको छतमा हेलीप्याड राख्न सक्ने आर्थिक हैसियत भएकासमेत किन झन्झन् मानसिक गरिबी भएका छन् ?
भ्रष्टाचारको ठूलो हिस्सा हुनेखाने, सम्पन्न र पेसाकर्मीले ओगट्ने गर्छन्। गाँस, बास र कपासकै समस्यामा पर्नेहरूले न त भ्रष्टाचार गर्ने हैसियत राख्छन् न त जानेकै हुन्छन्। उनीहरू खुसी छन्, सुखी छन्। दिनभरि काम गरेको कमाइले साँझ खाना खान्छन् र रातमा मस्तसँग निदाउन सक्छन्।
भ्रष्टाचार कारबाहीमा पर्नेलाई हेर्यौं भने असली ठूला भ्रष्टाचारीलाई कारबाही नभएको अनुमान गर्न सकिन्छ। ठूलो मात्रामा हुने भ्रष्टाचार र भ्रष्टाचारीलाई कारबाहीको दायरामा नल्याउँदासम्म भ्रष्टाचार नियन्त्रणका सारा प्रयास कमजोर हुनेछन्। विडम्बना हाम्रो समाजमा हरेक हैसियतमा हुने मानिसहरूले भ्रष्टाचार गर्ने गरेका छन्। नीतिनियम बनाउनेले नीतिगत भ्रष्टाचार गर्ने, कार्यान्वयन गर्ने संयन्त्रले कार्यान्वयन नगरेर भ्रष्टाचार गर्ने, तल्लो तहका कर्मचारीले ससानो रकम घुस मागेर भ्रष्टाचार गर्ने। आखिर कहिलेसम्म भ्रष्टाचार गरिरहने ?
नीतिनियम बनाउनेले नीतिगत भ्रष्टाचार गर्ने, कार्यान्वय गर्ने संयन्त्रले कार्यान्वयन नगरेर भ्रष्टाचार गर्ने, तल्लो तहका कर्मचारीले ससानो रकम घुस मागेर भ्रष्टाचार गर्ने। आखिर कहिलेसम्म भ्रष्टाचार गरिरहने ?
भ्रष्टाचार न्यूनीकरण नहुँदा गरिब र धनीबीचको खाडल कम हुन सकेको छैन। भ्रष्टाचारकै कारण तल्लो तहका मानिसले राज्यबाट आपूmले पाउनुपर्ने सेवासुविधा पाउन सकिरहेका छैनन्। उनीहरूले पाउने सेवासुविधा पनि ठूला र उच्च ओहोदाका मानिसले लुट्ने गरेका छन्। ससाना कामका लागि पनि घुस खुवाउनुपर्ने प्रवृत्तिका कारण सेवा ग्रहण महँगो हुँदै गएको छ। यसमा सरकारको नियमनकारी भूमिकाको कमजोरीले पनि काम गरेको छ। सरकारको नियमनकारी भूमिका कमजोर हुँदा निजी क्षेत्रमा पनि भ्रष्टाचारको जालो व्यापक भइरहेको छ। गुणस्तरहीन खाद्य सामग्री बेचेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारी रातारात करोडपति भएका छन्, खै उनीहरूको सदाचार नाप्ने तराजु ?
लुट्नेले लुटेकै छ, ठग्नेले ठगेकै छ। हरेक क्षेत्रमा टाठाबाठाकै वर्चस्व छ। राजनीतिक क्षेत्र उस्तै, कर्मचारीतन्त्र उस्तै, निजी व्यवसायी उस्तै शिक्षामा व्यापार, स्वास्थ्यमा व्यापार। जताततै व्यापारमात्र खोज्ने ? के हामी यसैगरी समृद्ध नेपाल बनाउन सक्छौं ?
सिद्धान्तबिनाको राजनीति, चरित्रबिनाको ज्ञान, विवेकबिनाको भोज, परि श्रमबिनाको धन, मानवता बिनाको विज्ञान, बलिदानबिनाको भक्ति र नैतिकताबिनाको व्यापार काम लाग्दैन भनेर महात्मा गान्धीले भन्नुभएको थियो। हाम्रो चाहना भने यसको विपरीत छ। एकै रातमा धनी बन्न मन लाग्छ। परि श्रम नगरी धन कमाउन मन लाग्छ। सिद्धान्त, चरित्र, विवेक नैतिकता सबै बेचेर भए पनि सबैभन्दा धनी बन्ने होड चल्छ। सैद्धान्तिक ज्ञानका जति डिग्री हासिल गरे पनि व्यावहारिकताको भकारी रित्तो र चुहिने बन्दै गएको छ।
भ्रष्टाचारविहीन समाज निर्माण गर्नु कठिन अवश्य हो तर अति भ्रष्टाचार न्यूनीकरण भने पक्कै गर्न सकिन्छ। यसका लागि हुर्कंदो उमेरमै सदाचार र नैतिकताको पाठ सिकाइनुपर्छ। त्यसका लागि परिवार, विद्यालय र समाजले नै पहल गर्नुपर्छ। अहिले भ्रष्टाचारसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राख्ने निगरानी हरेक परिवारका एकजना सदस्यले मात्र राख्ने हो भने क्रमशः, भ्रष्टाचार नगर्ने मानसिकता विकास हुन थाल्छ। खराब नियतले कमाएको सम्पत्तिलाई उसका परिवारले नस्विकार्ने हो भने स्वतः भ्रष्टाचार कम हुन्छ। यहाँ त हरेक परिवारले आफ्ना सदस्यलाई जसरी पनि पैसा कमाउनुपर्छ भनेर दबाब दिने संस्कार छ। एकै रातमा करोडौं ल्याए पनि कहाँबाट कसरी ल्याइस् भनेर सोधिँदैन किनकि हाम्रो चेतना र हाम्रो सोचाइमा दरिद्रताले बास गरेको छ। बाहिरी आवरण देख्दा सुन्दर भए पनि भित्री आवरण खोक्रो बनेको छ।
भ्रष्टाचार न्यूनीकरण नगरेसम्म विकासले गति लिन सक्दैन। यसका लागि पहिलो दायित्व पाएको सरकार, संसद, न्यायिक निकाय र संवैधानिक अंगले आफूले पाएका अधिकार असल नियतले प्रयोग गर्नु आवश्यक छ। योभन्दा बढी दायित्व अझ हरेक परिवार र हरेक समाजको हुनु जरुरी छ। हरेक परिवार, समाज अनि सिंगो राष्ट्रले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ को नीति व्यवहारमा लागू गर्नुपर्छ।
भ्रष्टाचारीलाई हरेक परिवार र समाजले बहिष्कार गर्न सक्नुपर्छ। आफ्ना छोराछोरीलाई सानोदेखि नै राम्रो स्कुलिङ गरेर परि श्रम नगरीकन सित्तैमा आएको केही कुरा स्वीकार्नु हुँदैन भन्ने बुझाउनुपर्छ। सुख, शान्ति र सन्तोषका लागि पैसा ठूलो कुरा होइन भन्ने बुझ्नु र बुझाउनु जरुरी छ। सबैले सक्ने परि श्रम गरौं। जे छ, त्यसैमा सन्तोष लिने बानीको विकास गरौं। मानसिक दरिद्रतालाई चटक्कै त्यागिदिऔं। मनको अमिर बन्न हामीलाई कसैले रोक्दैन।