जनकपुरधाम : आफ्नै १६ वर्षीया छोरीको हत्या गरेको अभियोगमा धनुषामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार ४८ वर्षीया राजकुमारी मण्डललाई पक्राउपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जनकपुर उपमहानगरपालिका–२४ सोनापडा निवासी राजकुमारीले बुधबार छोरी सोनीको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरी उपरिक्षक गोविन्द थपलियाका अनुसार ८ कक्षामा अध्ययनरत सोनी केही समयदेखि प्रेममा परेकी थिइन् । प्रेमीसँग विहे गराइदिनुपर्ने भन्दै आमासँग ढिपी गरिरहँदा विवाद बढेपछि आमाले हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएकी छन् ।
घरमा छोरीसँग हरेक दिन विवाद र झगडा हुन थालेपछि केही समययता दुबैजना अलग्गै भान्सा बनाएर खाना खाँदै आएका थिए । बुधबार दिउसो खाना पकाउने बेला भान्सा कोठामा समेत आमा छोरीको झगडा भएको थियो ।
सोही क्रममा छोरीले आमालाई ढोकामा लगाउने आग्लोले निधारमा हिर्काएको बुझिएको छ । प्रतिकारमा आमाले छोरीलाई घाँटीमा दुवै हातले च्यापेपछि केही बेरमा उनी बेहोस भएर भुईँमा लडेकी थिइन् । राजकुमारीका पति रामवरण मण्डल फर्निचर व्यवसायी हुन् । घटनापछि उनले रामवरणलाई खबर गरेको बुझिन्छ ।