काठमाडौं : भूकम्प गएको ४ वर्ष पुगेको छ । ढलेका अधिकांश घर र सम्पदा उठिसके । हजारौं घाइते उपचारपछि ठीक भएर फर्किसके । भूकम्पमै परेर घाइते भएका नुवाकोट बेलगढी नगरपालिका–३ डाँडागाउँका ३० वर्षीय कृष्णहरि पुडासैनी न बोल्न सक्छन्, न हाँस्न । न खान सक्छन् न हिँड्न ।
‘छोरो बोलेको दिन म खुसीले नाच्नेथें’, घाइते भएदेखि हेरचाहमा रहेका ६० वर्षीय बुबा लीलानाथ आँखाभरि आँसु पार्दै भन्छन्, ‘हाँस्न त सक्दैन, म त ऊ रोए पनि खुसी र आनन्दित हुन्थें, तीन वर्ष बित्यो उसको छटपटाहटले रातदिन भक्कानिन्छु ।’ फिजियोथेरापी गर्ने डाक्टरले कृष्ण रोए उसको अवस्थामा परिवर्तन आउने बताएपछि छोराको रुवाइको प्रतीक्षामा छन् उनी । कृष्णको मुख पनि मजाले आँ हुँदैन । ‘हाछ्यूँ वा हाइ गर्दा मात्र मुख आँ हुन्छ, कोही आए वा केही भए पनि थाहा पाउँदैन’, उनले भने, ‘खानका लागि नाकबाट पाइप राखिएको छ, झोलिलो पदार्थले बाँचेको तीन वर्ष पूरा भो, पिसाब पनि पाइपबाटै हुन्छ ।’
लीलानाथका अनुसार कृष्ण सात वर्षदेखि ट्रेकिङ गाइडको काम गर्थे । वैशाख १२ मा विदेशीलाई लिएर लाङटाङ चढिरहँदा धेरैको निधन भए पनि उनी बाँच्न सफल भए । हिमपहिरोबाट बचे र चार दिनसम्म रूखमा चढेर बसेका बेला मनाङे टोलीले हेलिकप्टरबाट उद्धार गरी त्रिशूली अस्पतालमा छाडिदिएको उनको भनाइ छ । त्यसपछि काठमाडौंको ट्रमा सेन्टर, ओम अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल टेकु, ग्रिनसिटी हुँदै बालाजुको जनमैत्री पु¥याइयो कृष्णलाई । पाँच दिन भेन्टिलेटरमा राख्ने भने पनि जनमैत्री अस्पतालले ५० दिन राख्यो तैपनि होशै आएन । ‘नर्भिक अस्पताल पु¥याएपछि दिमागमा असर परेको थाहा भयो’, लीलानाथले भने, ‘त्यसपछि सात महिना ११ दिन जनमैत्रीमै उपचार भो, सुत्दासुत्दै शरीरमा घाउ भइसक्यो ।’
खर्च बढेर लाखौं पुगेपछि लीलानाथले बस्न, खान, नर्सको सेवा र फिजियोथेरापी निःशुल्क गरिदिने संस्था नेपाल हेल्थकेयर इक्विपमेन्ट डेभलपमेन्ट फाउन्डेसन भेटे । २९ महिना भयो उनी बालुवाटारस्थित यो संस्थाको सेवामा छन् तर चिकित्सकको खर्च र हेरचाह आफैंले गर्नुपर्ने । उनका अनुसार छोराको उपचारमा करिब ३० लाख खर्च भइसकेको छ । ‘सरकारले घोषणा गरेअनुसार २३ लाखको बिल र निवेदन स्वास्थ्य मन्त्रालयमा पेस गरेको छु, धाएको धायै गर्दा पनि रकम पाएको छैन’, सुरुमा ५० हजार पाएको बताउँदै उनले थपे, ‘सरकारी अस्पतालमा लैजाँदा ठाउँ नभएको भन्दै उपचार नपाएपछि बिल पेस गरेको हो । रातदिन छोराको छटपटी र घर भत्किएर परिवार गोठमा बसेको पीडाले कक्षा ३ पढेका उनी संस्मरण लेखिरहेका छन् । उनले कवितामा लेखेका छन्, ‘चार बर्ख भो अस्पतालमा कति दुःख खानू, छोरो आफैं हेर्नुपर्छ पाएनौं घर जान । ईश्वर भन तिम्रो मलाई के गर्नेछ सुर, किन मेरो सपनालाई पारेऊ चकनाचुर ? ’
गाउँघरमा सबैले घर बनाए पनि ससुरालीको नबन्दा पीडा भएको भन्दै घर बनाइदिएको जेठो ज्वाइँ शिव घिमिरेले जानकारी दिए । उनले भने, ‘गोठको पीडाले बस्न र बाँच्नै कठिन भो, सरकारको मुख ताकेर कहिले होला ? ’ उपचारका लागि लिएको लाखौं ऋणका लागि बेच्ने जग्गा पनि बिक्री नहुने खालको भएको उनले बताए । स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख विकास देवकोटाले फाइल मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिए ।