नरभक्षी चितुवा खोरमा फस्यो, स्थानीय खुसी
बैतडी : बैतडीको तल्लोसोराडमा मानव बस्तीमा पसेर क्षति पुर्याउँदै आएको नरभक्षी चितुवा खोरमा फसेको छ । मेलौली नगरपालिका–९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिए । खोरमा चितुवा फसाउन बाख्राको पाठी राखिएको थियो । यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञ असुरमा पुगेर खोर निर्माण गरेका थिए । चितुवाले मानवबस्तीमा क्षति पुर्याएको ठाउँमा फलामे र काठे खोर गरी तीनओटा खोर राखिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले असुर गाउँमा पुगेर चितुवाका लागि खोर राखेका थिए । ‘बिहीबार राति काठको खोरमा चितुवा फसेको छ। ’स्थानीय जगदीश भट्टले भने, ‘चितुवा खोरमा फसेपछि स्थानीयहरु निकै खुसी भएका छन् । चितुवाले मानवबस्तीमा त्रास फैलाएको थियो ।’
नरभक्षी चितुवा खोरमा फसेको बिषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराईसकेको र त्यहाँबाट विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर स्थानान्तरण गरिने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए।
चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिइसकेको छ । नरभक्षी चितुवा खोरमा फसेपछि स्थानीयबासी खुसी भएका छन् । मानवबस्तीमा पसेर चितुवाले आक्रमण गर्दै आएकोमा चितुवा खोरभित्र फसेपछि त्रास हटेको स्थानीय महेशप्रसाद भट्टले बताए ।
चितुवाले गत फगुन २७ गते मेलौली–९ असुरकी ८ वर्षीया सीता लुहारको ज्यान लिएपछि चितुवा फसाउन खोर राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस !