काठमाडौं : नेपाल–भारत उद्योग वाणिज्य संघले भारतीय लगानी भित्र्याउने पहल गर्न लगानी बोर्डलाई आग्रह गरेको छ।
शुक्रबार संघको प्रतिनिधि मण्डलले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग भेटवार्ता गर्दै यो विषयमा ध्यानाकर्षण गराएको हो। संघले भारतबाट भित्रिने लगानी विस्तारै घट्दो क्रममा रहेकाले त्यसलाई बढाउने विषयमा पहल गर्न आग्रह गरेको हो।
संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा, उपाध्यक्षद्वय सुनील केसी, सैवाल घोष, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, निर्देशक केशवमान सिंह तथा प्रशासकीय अधिकृत मार्शल राठौरसहितको टोलीमा सहभागी थिए। भारतीय लगानी भिœयाउन भारतीय संघले द्विपक्षीय ‘नेपाल–भारत पार्टनरसिप समिट’ आयोजना गर्न लागेको जनाएको छ। यो समिट एक वर्ष भारतमा र अर्को वर्ष नेपालमा गर्ने लक्ष्य राखिएकोमा लगानी बोर्डलाई प्रमुख साझेदारको रूपमा सहभागी हुन प्रस्तावसमेत गरिएको थियो।
यसको माध्यमबाट नेपालमा लगानी गर्न चाहने भारतीय लगानीकर्ताको लागि सहजीकरणका लागि भारतको दिल्लीमा ‘नेपाल इनोभेसन सेन्टर’ स्थापना गर्न लागिएको पनि जानकारी गराइएको छ। यसका लागि पनि लगानी बोर्डले आवश्यक सहयोग गर्नुपर्ने प्रस्ताव संघले गरेको छ।
भारतीय लगानी भिœयाउने विषय नेपाल–भारत उद्योग वाणिज्य संघका साथै लगानी बोर्डको पनि समान उद्देश्य भएको संघले जनाएको छ। संघले भारतीय दूतावासलाई सहभागी गरी त्रिपक्षीय सम्झौताको सहयोगमा भारतीय लगानी भिœयाउन कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन लगानी बोर्डले सहमतिका साथै साझेदारीको भूमिकासमेत निर्वाह गर्नुपर्ने आग्रह गरेको छ।
अर्का उपाध्यक्ष सैवाल घोषले विदेशी लगानी आकर्षित गर्न विदेशी लगानीमा सञ्चालित उद्योगको समस्याको उचित सम्बोधन गर्नुपर्ने सुझाव दिए।