सिन्धुली : भूकम्पले घरबारविहीन बनाएको ४२ महिनामा जिल्लाका ३० प्रतिशतले आवास अनुदानको अन्तिम किस्ता पाएका छन्। पुनर्निर्माणमा भएको ढिलासुस्ती, दक्षमिस्त्री र निर्माण सामाग्रीको अभाव, झन्झटिलो प्राविधिक प्रकृयाका कारण हालसम्म ३० प्रतिशतले मात्र घरनिर्माण सम्पन्न गरी अन्तिम किस्ता लिएका हुन्।
३९ हजार आठ सय ४१ लाभग्राहीमध्ये ११ हजार दुई सय १८ लाभग्राहीमध्ये ११ हजार दुई सय १८ ले मात्र हालसम्म अन्तिम किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुलीका प्रमुख अमरबहादुर भुजेलले बताए। लाभग्राहीको सूचीमा परेकामध्ये अझै २८ हजार ६ सय २३ जनाले निजी आवास निर्माण गर्नै बाँकी छ। ‘३३ हजार एक सयले पहिलो किस्ता पाएका छन्।
२४ हजार आठ सय २४ जनाले दोस्रो किस्ता बापतको अनुदान रकम लिएका छन् तर निर्माण सम्पन्न हुन समय लाग्ने देखिन्छ’, उनले भने। सिन्धुलीमा पहिलो चरणमा ३४ हजार दुई सय ७९ लाभग्राही अनुदान सूचीमा परेका थिए। छुटेपछि २८ हजार ६ सय २६ जनाले गुनासो दर्ता गरे। जसमध्ये पाँच हजार पाँच सय ७२ जनाको गुनासो फस्र्यौट भई लाभग्राही सूचीमा समावेश भएको भुजेलले बताए।
गुनासोबाट पाँच हजार पाँच सय ७२ र पहिलेका ३४ हजार दुई सय ७९ लाभग्राही गरी कूल ३९ हजार आठ सय ४१ लाभग्राहीले अनुदान रकम पाउने भएका हुन्। धान काट्ने र थन्काउने समय भएकाले पनि पुनःनिर्माण कार्य सुस्त भएको छ। स्थानीय तहका वडा कार्यालय, सहरी विकास तथा भवन डिभिजन कार्यालय, बैंक, कोष तथा लेखा नियन्त्रक कार्यालयजस्ता धेरै कार्यालयमा एउटा भूकम्प प्रभावितको फाइल पुर्‍याउनु पर्नेजस्ता झन्झटिला प्रक्रियाले पनि निजी आवास पुनःनिर्माणले गति लिन नसकेको भुजेलको भनाइ छ। धेरै कार्यालयमा व्यक्तिगत विवरण पुग्ने र कुनै एउटा कार्यालयमा गल्ती हँुदा समस्या आउने गरेको पनि भुजेलले बताए।