काठमाडौं: वर्षा नै नभई भोटेकोसीमा मंगलबार राति अचानक बाढी आएपछि तिब्बततर्फ ठूलो वर्षा भएर पहिरो गएको तथा हिमताल विस्फोट भएको हुनसक्ने अनुमान विज्ञले गरेका छन् ।
तिब्बतमा ठूलो वर्षा भएर पहिरो गएका कारण खोला थुनिएर बाढी आएको अनुमान पनि केही विज्ञको छ । तिब्बततर्फ भएका आठ हिमतालमध्ये कुनै फुटेका कारण बाढी आएको अनुमानका आधारमा अध्ययन पनि भइरहेको छ । जलवायु तथा मौसमविज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाले भोटेकोसीमा पानीको सतह बढेको पूर्वसूचना मंगलबार दिएको थियो ।
अहिले विभाग, इसिमोड तथा गृह मन्त्रालयलसहित सरोकारवाला निकायका अधिकारीले बाढीको कारण खोजिरहेका छन् । नेपालको आफ्नै भूउपग्रह नभएका कारण उनीहरूले बाढीको कारण खोज्न भारत, चीन र जापानको सहयोग लिइरहेका छन् । उनीहरूले उपलब्ध गराउने तस्बिरका आधारमा मात्रै बाढीको कारण पत्ता लाग्ने बाढीविद् विनोद पराजुलीले बताए ।
उनका अनुसार अहिले विभिन्न देशका भूउपग्रह तस्बिर मागेर विश्लेषण भइरहेको छ । तिब्बत क्षेत्रमा बादलका कारण डाँडा ढाकिएका कारण भूउपग्रह तस्बिरले विस्तृत विवरण उपलब्ध गराउन सकेको छैन । ‘मौसम खुलेपछि विस्तृत विवरण थाहा हुन्छ,' पराजुलीले भने ।
बाढीले बितण्डा मच्चाएपछि अनुसन्धानकर्ताले बुधबार बिहानैदेखि बाढीको कारण खोज्न थालेका हुन् । भोटेकोसी आसपासको क्षेत्र हिमताल विस्फोटका दृष्टिकोणले उच्च जोखिममा छ । तिब्बततर्फका हिमताल फुट्दा उत्पन्न हुने विपत्ति तल्लो तटीय क्षेत्रसम्म पर्छ ।