काठमाडौं: सरकारले श्रीलंकामा अलपत्र पारिएकामध्ये १८ महिलाको उद्धार गरी स्वदेश फर्काएको छ । वैदेशिक रोजगारीका लागि इराक, कुवेत, ओमनलगायतका मुलुकमा लैजान्छु भन्दै दलालले ती महिलालाई श्रीलंकामा अलपत्र पारेका थिए ।
श्रीलंकाली प्रहरी, श्रीलंकास्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा शनिबार ती महिलालाई काठमाडौं ल्याइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
केही दिनअघि श्रीलंकाबाट नेपाल फर्किएकी मनमाया दनुवारले दिएको बयानका आधारमा खोजी गर्दा ती महिलालाई भेटिएपछि उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका महिलालाई माइती नेपालमा राखी उनीहरूसँग सोधपुछ भइरहेको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।
चिसो भुइँमा बस्न बाध्य पारिएका उनीहरूमध्ये केहीमा स्वास्थ्य समस्या देखिएको छ । श्रीलंकाली प्रहरीले विभिन्न ठाउँमा छापा मारी नेपाली महिलालाई उद्धार गरेको हो । एजेन्टले थुप्रै ठाउँमा लुकाएर राखेकाले ती ठाउँ पत्ता लगाउन सुरुमा गाह्रो भएको तथा अन्य महिलाको खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताए ।
श्रीलंकाका सरकारी निकायले नेपाली महिलाका पासपोर्ट, ठेगानालगायतका जानकारी आफूहरूसँग मागे पनि गैरकानुनी ढंगबाट दिल्ली हुँदै श्रीलंका पुर्‌याइएकाले आफूहरूले उनीहरूको पूर्ण जानकारी उपलब्ध गराउन नसक्दा केही अप्ठेरो परेको प्रवक्ता पौडेलले जनाए । उनले बंगलादेशमा अलपत्र पारिएका ५० जनालाई उद्धार गरी सरकारले आइतबार नै काठमाडौं ल्याइसकेको पनि जानकारी दिए ।
विदेशी भूमिमा यतिका धेरै संख्यामा नेपाली महिला अलपत्र परेको अवस्थामा पनि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय भने पीडितको उद्धारमा संवेदनशील देखिएको छैन ।
महिला मन्त्रालयकी सहसचिव राधिका अर्यालले आफूहरूलाई यसबारे जानकारी नभएको बताइन् ।