बोतलको पानी

इन्दिरा दाँगी हिन्दी भाषाकी लेखिका हुन् । भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालमा बसेर क्रियाशील रहेकी दाँगीका 'हवेली सनातनपुर' उपन्यास, 'आचार्य' नाटक तथा 'एक सौ पचास प्रेमिकाएँ' र 'शुक्रिया', 'इमरान साहब' शीर्षकका दुई कथासंग्रह प्रकाशित छन् । साहित्य अकादमी युवा पुरस्कार तथा भारतीय ज्ञानपीठ नवलेखन अनुशंसा पुरस्कारलगायतका भारतका प्रतिष्ठित पुरस्कारबाट सम्मानित दाँगीका कथाहरू अंग्रेजी, उर्दु, मलयालम, उडिया, तेलगु सन्थाली, कन्नड एवं मराठी भाषामा अनुदित भई विभिन्न ठाउँबाट प्रकाशित भएका छन् ।
चोरीको रोमाञ्च यौन कामनाजस्तै उत्तेजक हुने रहेछ ।
होइन, म पेसेवर चोर होइन । न त के खाऊँ के लाऊँ भन्ने गरिब पटके चोर, न सम्भ्रान्त मानसिक बिरामी क्लेप्टोमेनिक नै । इन्जिनियरिङको विद्यार्थी हुँ म, बुवाको 'असल छोरो', जसको कलेजको फी तिर्नका लागि उहाँले बैंकबाट रिन लिनुभएको छ । खराब हुने सहुलियत मेरो निम्नमध्यम वर्गीय जिन्दगीले मलाई कहिल्यै पनि उपलब्ध गराएन, त्यसैले मैले त असल हुनै थियो । हो ! त्यसैले म असल छु- परिश्रमी, परिपक्व र पढनदास ।
सतपुडाको विशाल पार्किङ क्षेत्रमा घुम्दैछु । भोपालको वल्लभ भवन यदि यस राज्यको प्रशासनिक हृदय हो भने सतपुडा भवन त्यो प्रशासनको नशामा बगिरहेको रगत । मेरो एउटा साथीलाई यहाँ आउनैपर्ने थियो; र म उसँगै; सादर आमन्त्रित भएर हैन, कुनै कार्यक्रममा करैले उपस्थित हुनुपर्ने आयोजक जसरी; आएको हुँ । कुरो के भने, यहाँ आउनका लागि मेरो साथी मसँग मोटरसाइकल माग्न आएको थियो; र यो मेरो ज्यानभन्दा प्यारो सेकेन्डहेन्ड मोटरसाइकल जसलाई किन्न मेरा बुवाले जोगाउनुभएको र आमाले लुकाउनुभएको भएभरको पैसो समर्पित गर्नु परेको थियो, यस्तो मूल्यवान् वस्तुलाई म उसको मात्र भरमा एक्लै कसरी छोड्न सक्थेँ र ? तर 'दिन्नँ' भनेको भए त्यत्रो पुरानो मित्रतालाई गुमाउनुपर्ने हुन्थ्यो । मैले त दिक्क लाग्दै भए पनि आउनै थियो, र पार्किङ स्थलमा लाटोकोसेरो जसरी ट्वाल्ल परेर यताउता हेर्दै बरालिँदै पर्खनु थियो ।
त्यसैले म अहिले यहाँ छु । परसम्म मोटरका ताँती छन्; मैनका पेन्सिलले कोरिएका बांगाटिंगा रिंगन रेखाजस्ता मनमोहक । युवतीहरूलाई मन पर्ने राता, गुलाबी र सुन्तले रङका स्कुटीहरू, ...केटाहरूका राता, काला स्टाइलिस बाइकहरू, ...चौथो श्रेणीका निरीह कारिन्दाहरूका खुइलिएका साइकलहरू, ... क्लर्कहरूका थोत्रिएका स्कुटर, ...साना खाले अधिकृतहरूका सानासाना कारहरू, ...वरिष्ठ अफिसरहरूका पहेँलो मुकुट भएका लामालामा कारहरू, ...हुल्याहा आगन्तुकहरूका रफ-टप जिपहरू, ...र आम मानिसका धोइपखाली गरेका दुईचक्के र फोरह्विलरहरू । हरेक वाहन आआफ्ना मालिकका जीवनकथाका जिंगलजस्ता ।
अनि यो ठाउँ पार्किङ स्थलभन्दा पनि ज्यादा सरकार महाराजको बगैचाजस्तो छ । बूढो-ठूलो रूखमुनि फराकिलो चौतारो छ; जहाँ थुप्रै मान्छे, जसमा धेरैजसो यहीँका कर्मचारी छन्-- किनभने यो लन्चपछिको सरकारी फुर्सत हो-- तास खेल्दैछन् । अनगिन्ती नागरिकहरू आउँदैजाँदै गर्दा छन् । हरेक अनुहारमा एउटा कथा छ । ओर्तिर छरिता युवा रूखहरू सुस्तरी चल्ने हावामा पनि लट्ठिएर हल्लिरहेछन्, मानौं ती आफ्नो युवत्वको उत्सव मनाउँदैछन् । जवान हुनु पनि आफैंमा एउटा महान् उपलब्धि हो रहेछ । फराकिला बाटाका किनारहरू चम्किला नरम फूल र ससाना सजावटी बुट्यानका लहरले सजिएका छन् । फूलले ढाकिएका लहराहरू रेलिङमा चढेर वासना छर्दैछन् र सतपुडाको पूरा परिवेश कुनै सुन्दर कर्मशील स्त्रीको मुस्कानजस्तै सौम्य भएको छ ।
मैले मोटरसाइकल राखेको ठाउँको भुइँमा माटाको पत्र जमेको छ र दिउँसोको घाममा त्यो यस्तो सुनौलो देखिएको छ, जुन अदृश्य कसैले भुइँमा सुनको पिठाले लिपिदिएजस्तो लाग्छ । सुनको पिठाले लिपिएको भुइँमाथि म निरुद्देश्य यताउता घुमिरहेछु । सोच्नका लागि खास त्यस्तो केही छैन । मुक्त दिमागले जतासुकै हेरिरहेको छु; ...पीपलको बैंसालु हाँगामा गुँड लगाउँदै गरेको चरालाई, ...आधा फक्रिएका कोपिला र यायावर भवँराहरूलाई, ...उडान-नृत्यमा मग्न एक्ली पुतलीलाई, ...आशान्वित अनुहार बोकेर भित्र जाँदै गरेको किसानलाई, ...दिक्क भएको सुरक्षाकर्मीलाई, ...र सेलफोनमा लजाउँदै गरेकी केटीलाई । अहो ! कस्तो मीठो समय ! मेरो साथी दुई घन्टा त्यहीँ अफिस भित्रै हराए पनि केही छैन । साँच्चै भन्नु हो भने पर्खाइले मलाई कहिल्यै दिक्क लागाउँदैन; म कहिल्यै पनि एक्लै हुँदै हुन्न । सिमोन द बोवुआरको 'आफू आफैंमा हुनु त उत्सव मनाउनुजस्तो हो' भन्ने भनाइको म गतिलो भक्त हुँ ।
अनि, उत्सव होस् र संगीत नहोस्, त हुने नै भएन; मन परेको गीत गुन्गुनाइरहेछु ...
कतै एउटी केटी, अति राम्री हँसिली, अलि कालीकाली ऽ...
केटीमै त हैन एउटा सुन्दर कारमा नजर ठोक्कियो । झिलिक्क परेको खैरो, र अहिलेसम्म त्यसको पहिलो सर्भिसिङ पनि नभएको जस्तो नयाँ । तिर्मिराउँदो घाममा नयाँ एलिट कार यस्तो सुन्दर देखिँदैछ, मानौं कुनै कुलीन बेहुलीले बिहेको रिसेप्सन पार्टीमा खैरो रङको लेहंगा लगाएकी छे र हीरा जडिएका उसका गहनाहरू पालैपालो गरेर चम्किरहेछन् । त्यसै लठ्ठिएर म त्यसको छेउमा पुगेँ । त्यसपछि मेरो नजर पछिल्तिरको महँगो पारदर्शी सिसाको पल्लोपट्टिको सोफाजस्तै सिटमा पर्यो । ...हैन, वास्तवमा सिटमा हैन, सिटमा लडिरहेको मिनरल वाटरको सिलबन्दी बोतलमा, जुन ब्रान्डेड छ । त्यस मूल्यवान् पानीलाई देखेर मेरो सम्झनामा अचानक खै केके आयो आयो ।
--हाम्रो बस्तीमा --जहाँ प्रायःजसो गर्मी महिना सुरु हुने बितिक्कैदेखि नगर निगमले पानी बाँड्न बिर्सने गर्छ --र जब पानीको ट्यांकर आउँछ, भाँडाकुडा र कपडा नधोएका, ननुहाएका मान्छेहरू पानी-पानी-पानी लिने संघर्षमा टाउको जुधाउँदै लाम लाग्ने गर्छन् र ट्यांकरवाला कुनै राम्री केटीलाई बढी पानी दिने उपक्रममा छेउतिर लैजान्छ र यताउता छुन पनि भ्याउँछ !
--त्यस रात म एउटा साथीको घरबाट फर्किंदै थिएँ । देखेँ; एउटा सुविधासम्पन्न कोलोनीको गेटमा राखेको खानेपानीको ट्यांकीबाट केही मान्छे पानी चोर्दै थिए; केही लोग्नेमान्छेहरू, महिलाहरू र केटाकेटीहरू !
सशंकित भएर डराउँदै हत्केलाले प्लास्टिकका थोत्रा बोतल र फुटेका भाँडामा पानी भर्दै गरेका तिनीहरू सडक पारिपट्टिको फोहर फाल्ने चउरका छेउमा बस्ने घुमन्ते मजदुरहरू थिए; जसका पोलिथिन र त्रिपालका टुक्राले बनेका घर र भत्किएका गृहस्थीका मूल्य तिनीहरूका जीवनका मूल्यकै बराबरका लागेथे मलाई; जति बेला कोलोनीको लठ्ठीधारी गार्ड गाली गर्दै दौडेर आएथ्यो र भाग्दै गरेका स्त्री-पुरुषहरूका बीचमा परेको त्यो पाँच-छ वर्ष जतिको बालक कुद्न नसकेर लडेथ्यो, जसको नांगो कालो शरीरमा मात्र एउटा कट्टु थियो । घोप्टो परेर लडेको त्यस केटाको मुखबाट रगतका थोपा बग्न थालेका थिए । त्यो रोयो कि रोएन मैले देख्न पाइनँ; यत्ति देखेँ, उसले आफ्नो हातबाट पानीको भाँडोलाई उम्किन दिएको थिइनँ ।
गाली गर्दै, लट्ठी बजार्दै खेद्ने गार्ड पछिपछि र पानी चोरेर भाग्दै गरेको रगतपच्छे बालक अघिअघि । र कोलोनीको ढोकादेखि सडक पारिपट्टि फोहर फाल्ने चउरको मजदुरबाससम्म छल्किएका पानीका थोपा सँगसँगै रगतका थोपा पनि एकनासले तप्किँदै पुगेका थिए । ...तिर्खाएको बस्ती र जीवनरक्षक पानीका बीचको रगतले भरिएको भड्खालो !
--प्रदूषित पानी खाएका कारणले एउटा गाउँभरिका मान्छे बिरामी भए । आधा दर्जन मान्छे मरे । केहीको अवस्था गम्भीर थियो ...किनभने गाउँका हातेपम्प कयौं चोटिको अनुरोधपछि पनि मर्मत गरिएको थिएन ...किनभने भएको एकमात्र इनारको पानी पनि सरकारी रूपमा कहिल्यै सफा गरिएन ...किनभने राजधानीकै एउटा बस्ती, यस टोलमा खानेपानीको समुचित व्यवस्था कहिल्यै गरिँदा पनि गरिएन ।
...किनभने ! ...किनभने ! ...किनभने !
र, यता अहिले मेरा आँखाअगाडि एलिट कारमा मिनरल वाटरका झलझलाउँदा बोतलहरू छन् !
टाउको फुटाइ र बलात् स्पर्शलाई सहनुपर्ने विवशताहरू ! ...रगतले भरिएका विभेदका खाल्डाहरू ! ...फोहरको लेदो पिउने गरिएका मार्मिक कथाहरू ! ...अनि यो एउटा कारमा भने दुईदुईवटा बोतल धेर भएर त्यसै लडिरहेका !!
मनमनै लाग्यो, कारको सिसामा कस्सेर मुक्कीले बजारूँ । तर ...मैले भनेँ नि, खराब हुने सहुलियत मेरो निम्न मध्यमवर्गीय जिन्दगीले कहिल्यै उपलब्ध गराएन । त्यसैले भित्रबाट आएको कस्सेको मुक्की बाहिर आउन्जेलमा हलुको स्पर्शमा फेरियो; शून्य पलमा मैले कारको ढोकालाई बिस्तारै छोएँ ।
ओहो ! हैन होला !! यस्तो पनि हुन्छ कतै ? कारको ढोका त लक गरिएकै छैन । झुक्किएर खुलेको ढोका मैले हत्तपत्त बन्द गरेँ र तुरुन्तै अर्कोतिर फर्किएँ । निधारमा पसिनाका थोपा छन् । उफ्, कसैले देखेको भए के सोच्ने थियो ? मैले कार चोर्न लागेको भन्ने ठान्थ्यो !!
अलि ओर्तिर आएर फर्केर हेर्दैछु ...एउटा मान्छेसँग दुईदुईवटा बोतल ...चाहिएको भन्दा दुई गुना पानी ! एक बोतल मैले चोरेँ भने ? ? उफ् ! सोच्दामात्र पनि हेर्नुस् न, श्वासको गति बढ्न थालिसक्यो । हत्केलामा पसिना चिटचिटाउन थाल्यो र मुटुको धड्कन आकाशवाणीजस्तै गरेर मेरो ब्रह्माण्डभरि गुञ्जिन थाल्यो ।
ढक ढक ढक ढक ढक...
हुँदैन त्यस्तो ! कस्तो वाहियात विचार ! म आफ्नो मोटरसाइकल भएतिर फर्किएँ, उद्वेलित भएर यताउता गर्न थालेँ । नशामा बग्दै गरेको रगतको गति बढ्दैछ । छटपटाहटको सोचशून्यतामा फेरि त्यही कारतिर आउँदैछु ।
अहँ, हुँदैन !!
भित्रबाट कसैले रोक्यो, तर मेरो भने त्यस बेलासम्म पनि स्पष्ट विचार थिएन । आत्माले कस्तो सूक्ष्मस्तरमा हामीलाई समाउँछ; ठीक त्यसरी नै जसरी कुनै आमाले आफ्ना छोराछोरीको अनुहार हेरेर नै थाहा पाउँछिन् के भएको छ भनेर ! आमा हाम्री आत्मा नै त हुन्छिन्, अथवा हाम्रो आत्मा आमाको आत्माको एउटा टुक्रा हुन्छ ! ...यता मेरो आत्मा मलाई रोक्दैछ; म सम्झने कोसिस गर्दैछु, बितेको एक्काइस वर्षीय जीवनमा के मैले कहिल्यै चोरी गरेको छु ? ...यसभन्दा अघिल्लो चोरी ? ...अहँ, साँचो वा कल्पना गरेकोसमेत कुनै चोरी पनि सम्झनामा छैन ! सायद मैले कहिल्यै चोरी गरेकै छुइनँ, तर ढाँट्ने काम भने एकदुईपल्ट पक्कै गरेको छु, जुन अन्ततः बेस्वादका प्रमाणित भएका छन् ।
--जब आमासँग पकेट खर्चभन्दा बाहेकको पैसा लिनु थियो, साथीहरूको देखासिखीमा खर्च गर्नका लागि, कलेजको नयाँ फी-फन्डको गफ लगाएथेँ । पछि थाहा भयो, आमाले मेरै लागि भनेर कहिलेदेखि त्यो पैसा जोगाउनुभएको रहेछ, आउँदो हिउँदमा नयाँ स्विटर किनिदिनका लागि ।
--एकपल्ट एउटा साथीले बाइक माग्दा उसलाई नदिने विचारले मैले बिग्रेको छ भन्ने बहाना बनाएको थिएँ, पछि उसले खै कसरी थाहा पाएछ र वर्षौं लगाएर लेखेको किताबजस्तो त्यो मित्रता एकै क्षणमा जलेर खरानी भयो ।
--स्कुल पढ्दाताकाको एउटा घटना छ । बुवालाई मेरो कुनै --उहाँको गणित अनुसारको --आवारापनबारे थाहा भएछ । मैले काखीमा प्याज च्यापेर ज्वरो निकालेँ र दुई दिनसम्म सुतिरहेँ । तर बुवा आफ्नो कठोरताको खोल फुकालेर व्यग्र चिन्तित बुवा बन्नुभयो; अनि म आफैंदेखि लज्जित भएँ र आफैं सबै कुरा ओकलेँ ।
उसो त झूठ नै पनि कयौं वर्षका भइसके ...अनि आज चोरी ?
हो त !
अहँ हुँदैन !
हो त !
अहँ हुँदैन !
हो त !
- दोधारमा छु उसो त म नैतिकता-अनैतिकता, पाप-पुण्य, असल-खराबको द्वन्द्वात्मक अभिव्यञ्जनाहरूतिर लाग्दिनँ । जीवनको मेरो आफ्नै एउटा दर्शन छ, अन्ततः त्यही गर्छु जे गर्ने सहमति भित्रैदेखि आउँछ; र त्यो कहिल्यै गर्दिनँ जसबारेमा भित्रबाट अस्वीकार ध्वनित भइरहेको होस् । म जिन्दगीलाई सरल बनाउनेमा विश्वास गर्छु । थाहा छ, सबैखाले बेइमानीको परिणाम अन्ततः कठिनाइ नै हुने गर्छ । (अहिलेसम्मका नमीठा अनुभवहरूले यति त सिकाएकै छन् ।)
...तर यो चोरी गर्ने इच्छा जाग्नु ! जिन्दगी भएभरका दर्शनहरूभन्दा ठूलो हुन्छ सायद ! भित्रदेखि डर लागिरहेको छ, तैपनि कारका छेउमा आएर उभिएको छु; सबै खाले साहस आखिर डरका नै चरम रूप हुन् । मैले चारैतिर हेरेँ, कतै कसैले मलाई हेरिरहेको त छैन ?
दुई/तीन जना कर्मचारी रित्तिएका टिफिन बक्स र फक्रिएका हाँसोका साथ मेरो छेवैबाट गए । एउटा गार्ड बिँडीको सर्को मार्दै अर्को गार्ड भएतिर जाँदैछ । एउटा मान्छे स्टार्ट गर्न नसकेर लखतरान भएर स्कुटरलाई डोहोर्याउँदै लैजाँदैछ । आउनेजाने मान्छेहरू शून्यलाई नियाल्दै आफ्नै सुरमा हिँडिरहेछन् । लखतरान मान्छे कुनै ध्यानमग्न योगीका झैं मेरो नजिकैबाट बाटैबाटो अगाडि बढ्यो ।
यसको मतलब, मतिर कसैको ध्यान छैन; त्यस अदृश्यको बाहेक, जो मभित्रै छ । एक किसिमले मेरो भित्री म मलाई रोक्दैछ, अर्कोतिर इच्छाले उन्मादको रूप लिँदैछ । सबैका दृष्टिको डरबाट आश्वस्त भइसक्दा नसक्दा अर्को डर अगाडि आइपर्छ -देख्न त कसैले देखिरहेका छैनन्, तर कसैले चोर्दाचोर्दै समात्यो भने नि ? अनि कारको मालिक नै एक्कासि आइपुगेर मलाई रंगेहात समात्यो भनेचाहिँ नि ?
यति के सोचेको थिएँ, थर्थर काम्न थालेँ । डरको ठीक सय प्रतिशत विपरीत भित्रबाट कोही करायो,
साले, यो एलिट क्लास !
ठिक्क त्यत्ति नै बेला उत्तेजना चरममा पुग्यो र मैले भएभरका स्पष्टतालाई हराएँ । ढोका खोलेँ -एउटा बोलत टिपेँ- र सरक्क ढोका लगाएँ र हत्तपत्त ओर्तिर आएँ । जम्मा पाँच-आठ सेकेन्डमात्र लाग्यो मलाई यति सबै गर्न; ती पाँच-आठ सेकेन्डमा न मेरो मुटु धड्कियो, न सास ओहोरदोहोर गर्यो र न त रगतको नै कुनै गति रह्यो । मृत्युजस्तै रोमाञ्चका बीच मैले पहिलो चोरीलाई सम्पन्न गरेँ । तीव्र र लरखराएको हिँडाइमा आएर म आफ्नो मोटरसाइकलमा अडेस लागेको छु र यस बेला चोरेको बोतल हातमा समातेर दुर्घटनाबाट बाँच्न सफल भएको मान्छेजसरी लामोलामो सास फेर्दैछु । नशाभित्र रगत अहिले पनि कामिरहेको छ । दिमाग शून्य भएको छ । आँखा चिम्म होलान्झैं भइरहेछन् ।
र, केही छिनको विचित्र शून्यपश्चात् म होशमा आएजस्तो भएको छु । ...एक्कासि बुवाको 'असल छोरो'को शिर ग्लानिले निहुरिन थालेको छ । यतिखेर रगत धमनीभित्र यसरी हिँड्न थालेको छ, जसरी चडाइँदै गरेको ड्रिपको पाइपभित्र मरेतुल्य भएर जीवन घस्रिने गर्छ । भित्र केही भत्किएको जस्तो लाग्दैछ । ...मेरो पालनपोषणको कुनै अंश ! ...कुनै अदृश्य पवित्र वस्तु ! र यो ग्लानि एक्लै आएको छैन; डर पनि रंग फेरेर सँगै आएको छ । मलाई एकाएक सारा संसारले मेरो हातको मिनरल वाटरको बोतललाई व्यंग्य, घृणा र उपहासका आँखाले हेरिरहेछ जस्तो लागिरहेछ; बिँडीका सर्काबीच ठूल्ठूलो स्वरमा हाँस्दै गरेका सुरक्षाकर्मी कतै मैलाई देखेर त हाँस्दै छैनन् ? ...चौतारामा तास खेल्दै गरेका कर्मचारीले कतै मेरै बारेमा कानेखुसी गरेका त हैनन् ? के तिनीहरूले मैले चोरी गर्दै गरेको देखेका थिए ? ...पीपलको बोटको कोरली चरो आफ्नो काम गर्न छोडेर किन मलाई हेरिरहेछ ? ...अनि मेरो साथी नि ? ?
साथीलाई सम्झिनेबित्तक्कै म पूरै प्राणविहीन भएँ । त्यो फर्किंदै होला; र उसले पक्कापक्की सबै कुरा थाहा पाउनेछ ! मैले यो बोतल म आफैंले किनेको हुँ नै भने पनि उसले मेरो अनुहार हेरेरै सबै कुराको पत्तो पाउनेछ । र, त्यस बेला मसँग साँचोजस्तो गरेर दृढताका साथ भन्नसक्ने कुनै झूठ बाँकी नै रहनेछैन ! अथवा हुनसक्छ, उसलाई देख्नेबित्तकै म आफैं नै सबै कुरा भनिदिऊँ ! ...त्यसपछि नजिकका सबै साथीलाई थाहा हुनेछ, ...अनि कलेजका सबै केटालाई, ...अनि आमाबुवालाई, ...अनि नातेदारहरूलाई, ...अनि अन्ततः मेरी गर्लफ्रेन्डलाई जसले मलाई रामजस्तै नायक ठानेकी छे ।
शीतल दिनको कलिलो घाममा पनि म पसिनाले निथ्रुक्कै भइसकेको छु; चोरी गर्दा मृत्युजस्तै रोमाञ्च थियो ...अहिले मृत्युजस्तै ग्लानि छ । ।
साथी आउँदै नै होला, म भर्खर ब्यूँझिएझैं भएको छु । उन्मादको बेला निरीह भएका भित्री आवाजहरू यति बेला धारिला हतियारजस्तै लाग्ने भएर फर्किएका छन् ।
--जा, बोलत त्यहीँ राखिदिएर आइज !! ...जा भनेको !!
--सहनैपर्ने विवशताहरू ! ...रगतले भरिएका खाल्डाहरू ! ...फोहर पिउनुपर्ने मार्मिक व्यथाहरू ! ...अनि एलिट क्लासलाई प्राप्त सुखका छेलोखेलो !
अहँ ! बोतल त कसै गरी फर्काउने छैन म ! ...तर, साथी आइपुग्नै लाग्यो होला !
अब ? ?
दिमागभरिको कुइरो बोकेर, परिसरबाट बाहिरतिर निस्कँदैछु र यसबीच मलाई रमाइला समयका कथाजस्ता मान्छेहरू, फूलहरू, पुतलीहरू, लहराहरू, रूखहरू सबै तिनको आआफ्ना उपस्थितिभन्दा बढी केही पनि हैनन् भन्ने लागिरहेछ । तिनीहरू एउटा विशेष मानसिक स्थितिको सौन्दर्यबाहेक ज्यादा केही हैनन् !
अगडि एउटा माग्ने देखा पर्यो, र त्यसलाई देख्नेबित्तिक्कै एकाएक मेरो दिमागी कुहिरो पन्छिएर छ्यांग भयो । म त्यस अधबैंसेलाई नियालेर हेर्न थालेँ । यसको पूरा जीवनभरमा यस देशले आफ्नो यस नागरिकलाई के दियो ? ...झुत्रा लुगा, ...रगत बग्ने गरी फुटेका गोडा, ...जिंग्रिंग कपाल, ...मैलो अनुहार, ...घिनलाग्दो दारी, ...भोकाएका आँखा, ...र हड्डी मात्रको शरीर ! चालीसको उमेरमै पचासको भइसकेको माग्ने मलाई देख्नेबित्तिक्कै माग्न थाल्यो । मलाई एउटा अमूल्य मानवजीवन यसरी गरिमाहीन हुनुको पीडा भयो ।
यस मान्छेले पनि आफ्नो जीवनभर गुणस्तरहीन पानी नै खाएको होला !
मैले हत्तपत्त बोतल त्यसको हातमा राखिदिएँ र एकरत्ति दया नदेखाईकन कठोर अनुहार बनाएर भनेँ,
'तुरुन्त गइहाल् यहाँबाट !'
छक्क परेको माग्नेले केही पनि बुझेन, आफ्नो तत्कालीन हितबाहेक । र, ऊ तुरुन्तै हिँडी पनि हाल्यो । डर, सन्देह र अस्पष्टताका सबै संस्कारबाट वरिपरि हेरिसकेपछि म एक्कासि सहज अनुभूत गरिरहेछु ।
...बिर्सिदिनुस्, मैले कुनै बेला चोरी पनि गरेको थिएँ ।
(मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)
प्रतिक्रिया दिनुहोस !
