MENU

काठमाडौं बाहिरको पत्रकारिता

635x90

चन्द्रकिशोर / अन्नपूर्ण टुडे सोमवार, माघ ३, २०७३ 1667 पटक पढिएको

Share This

चौथो अंग

झापाबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकका सम्पादक मदन ढकाल बित्दा उनका बारेमा काठमाडौंबाट प्रकाशित अखबारहरूमा समाचार आयो । सँगै उनको पत्रकारिताबारे सामग्रीहरू पनि आए । ०२४ सालदेखि पूर्वी नेपाल र त्यससँग जोडिएको सीमाञ्चल क्षेत्रमा निरन्तर पत्रकारिता गर्दै त्यसमार्फत आफू र आफ्नो समाजको चिनारी बनाउन सफल ढकाललाई काठमाडौंका अखबारहरूले ‘नोटिस’मा लिइदिँदा उनका बारे मुलुकको विभिन्न हिस्सामा जानकारी पुग्न सक्यो । उसो त, अचेल सामाजिक सञ्जालले पनि थोर/बहुत एकअर्का भूगोलका सूचना साटासाट गरिराखेका हुन्छन् ।

काठमाडौंबाहिर पत्रकारिताको ठूलो संसार विकसित भइसकेको छ । नवीन प्रविधिको आगमन र सहज कानूनी वातावरणमा मिडियाको क्षेत्रमा आमूल परिवर्तन देखिएको छ । यस क्षेत्रमा लगानीकर्ता र सञ्चारकर्मीको ठूलै जमात बनिसकेको छ । काठमाडौं बाहिरकै कुनै ठाउँलाई केन्द्र मानी त्यहींबाट पत्रकारितामार्फत राष्ट्रलाई योगदान दिनेहरू कम छैनन् । तर, उनीहरू कार्यरत भूगोल बाहिरकाले उतिसारो जानकारी पाउँदैनन् ।

Chadra Kishore

कुनै सञ्चारमाध्यममा संलग्न पत्रकारले आफ्नो प्रतिबद्धता र प्रयोगले त्यस क्षेत्र विशेषमा दक्षता हासिल गरेर सामाजिक प्रभाव आर्जन गरेका हुन्छन् । त्यहाँको समाजलाई सशक्तिकरण गर्न, मूलधारसँग जोड्न र रचनात्मक पक्षलाई सपार्न भूमिका खेलिराखेका हुन्छन् । जनतामाझ लोकप्रिय र धेरैले पढ्ने पत्रिका त्यस क्षेत्र विशेषकै सम्पत्ति हुन पुग्छ । तर, त्यो कुनै खास ठाउँ वा भूगोलको मात्र नभई राष्ट्रिय पत्रकारिताको एउटा हिस्सा हो । हामीकहाँ राज्यको केन्द्रिकृत बनोटले गर्दा सबैकुरा काठमाडौंमुखी भयो ।

पत्रकारिता क्षेत्र पनि त्यसबाट अछुतो रहेन । काठमाडौंका मिडिया र पत्रकार अब्बल, बाहिरका दोस्रो तहका रूपमा हेरिए । भौतिक संशाधनतर्फ मात्र होइन, त्यसका लागि चाहिने मानवीय स्रोतको विकास र विस्तार पनि त्यही खाल्डोभित्र खुम्चियो । प्रायजसो प्राप्त हुने देशाटनका अवसर पनि त्यहीँकाले लिए । काठमाडौंमा कार्यरत पत्रकारले आफूलाई बाहिरकाभन्दा अलि वजनदार ठान्ने आममनोविज्ञान छ । जनमानसले पनि राजधानीमा क्रियाशील पत्रकारलाई नामुद मान्ने, त्यही अनुसार तिनका गुरुत्वलाई स्वीकार्ने र सम्मान गर्ने प्रवृत्ति देखिन्छ ।

काठमाडौंबाहिरको पत्रकारिता नसप्रिएसम्म नेपालको राष्ट्रिय पत्रकारिता उँभो लाग्न सक्दैन । नेपालका विभिन्न क्षेत्रका स्थानीय आवाजलाई मुखर बनाउने र तिनलाई केन्द्रसँग जोड्ने काममा यी मिडियाहरूको योगदान कम छैन । पछिल्ला वर्षमा अखबार र एफएम रेडियोका साथै टेलिभिजन र अनलाइन पोर्टलहरू पनि प्रशस्त उदाएका छन् । यसले उठाएका कतिपय सवाल र सरोकारलाई पछि राजधानीका सञ्चारमाध्यमहरूले समेत पछ्याउने गरेका छन् । कैयौँ अवस्थामा आम समुदायसँग त्यस क्षेत्रमा कार्यरत मिडिया वा सञ्चारकर्मीको पहुँच सहज हुन्छ र तिनका विषयवस्तुलाई राजधानीको तुलनामा बढी स्थानसमेत दिइरहेका हुन्छन् ।

राजधानीका सञ्चारमाध्यमका लागि बाहिरका सहयोगी संवाददाता वा लेखक महत्वपूर्ण आधार हुन् । उनीहरूकै माध्यमबाट राजधानीका मिडियाले मुलुकका विभिन्न हिस्सासँग आफूलाई जोडेका हुन्छन् । राजधानीका सञ्चारमाध्यमलाई ‘राष्ट्रिय’को पगरी दिलाउनमा यिनीहरूको भूमिका कम हुँदैन । यो भनिराख्दा काठमाडौंबाहिरको मिडिया ‘राष्ट्रिय’ होइन भन्ने होइन तर यस क्षेत्रका मिडियाले मोफसल, क्षेत्रीय, स्थानीय, जिल्लागत जस्ता नाम मात्रै अहिलेसम्म पाउने गरेका छन् । तिनलाई जसरी चिनाइए पनि यिनले राष्ट्रलाई जोड्ने र मजबुत बनाउने काम गरिराखेका छन् ।

काठमाडौंका मिडियाले नै बाहिरका पत्रकारहरूको भूमिकाबारे चर्चा गरिदिँदा त्यसले अन्य क्षेत्रमा पनि प्रसार पाउँछ । हामीकहाँ कैलालीमा भइराखेको पत्रकारिताको बारेमा झापामा त्यतिसारो चर्चा हुँदैन । ताप्लेजुङमा भइराखेका प्रयत्नको कथा तौलिहवामा सुनिइँदैन । यी विभिन्न भूगोलमा पत्रकारितामा भइराखेको सिर्जनशीलता र समर्पणलाई आपसमा चिनारी दिने मियो फेरि राजधानीकै मिडिया हुनपुग्छन्हु/नुपर्छ ।

पत्रकारितामा संघीयता आउनैपर्छ । यो अवधारणाका दुइटा पाटा छन् । पहिलो, विभिन्न क्षेत्र विशेषमा रहेका मिडियाले आफूलाई विस्तारै प्रादेशिक प्रसारमा लग्नुपर्छ, राजधानीका सञ्चारमाध्यमहरूले पनि प्रादेशिक संरचनाअनुसार अभिव्यक्तिका प्रारूपहरू निर्माण गर्नुपर्छ । कतिपय मिडिया प्रतिष्ठानका क्षेत्रीय कार्यालयहरू छन् । दोस्रो, जो जहाँबाट पत्रकारिता गरिराखेका छन्, त्यो ठाउँ आफैंमा ‘केन्द्र’ हो ।

पोखराका दुर्गा बरालले कार्टुन क्षेत्रमा ‘वात्सायन’का नाममा देशैभरि प्रसिद्धि पाएका छन् । त्यसका लागि काठमाडौंवासी नै हुनु जरुरी छैन । काठमाडौंमा पत्रकारिता गरे मात्र सम्मानित हुने कुरा पुरानो भए, अब जो जहाँबाट असल र सामथ्र्ययुक्त पत्रकारिता गर्छन्, तिनले राष्ट्रिय चिनारी पाउनैपर्छ । यो उनीहरूको जायज हक पनि हो ।

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100