MENU

के हो अर्गानिक चलचित्र ?

635x90

विजय अधिकारी / अन्नपूर्ण टुडे आइतवार, माघ ९, २०७३ 775 पटक पढिएको

Share This

सिनेमा

समाज, परिवेश, समकालीन परिस्थिति, पुस्ताअनुरूपका पारस्परिक सम्बन्धहरू इत्यादिको ऐनाका रूपमा चलचित्रको व्याख्या गर्ने गरिन्छ । चलचित्र मनोरञ्जन र कला त हुँदै हो । तर, सामाजिक चित्रणको उपज र व्यवसाय गाँसिएको उद्योग पनि हो । कला–साहित्यकै एउटा हाँगामा मात्र अब चलचित्रको व्याख्या अडिँदैन । शताब्दीको परिवर्तनसँगै चलचित्रको क्षितिज ज्यादै फराकिलो हुँदै गएको छ ।

Bijaya-Adhikari

तर, नेपाली मनोरञ्जनको क्षेत्रबारे टिप्पणी गर्दा हाम्रा चलचित्रमा आउनुपर्ने परिवर्तन र चलचित्रले नै समाजमा ल्याउने परिवर्तनको गति अरू देशका चलचित्र क्षेत्रभन्दा ढिलो छ । विगतमा देशको राजनीतिक परिस्थिति, चलचित्रकर्मीहरूको शिथिलता, नेपाली दर्शकको विदेशी चलचित्रसँगको लगावका कारण आफ्नै चलचित्र क्षेत्रप्रति देखिएको उदासीनता, चलचित्र निर्माणमा लागतको कमी, कलाकारहरू पलायन हुने स्थिति, प्रवद्र्धन र नीतिको कमीका साथै विदेशी चलचित्रको आकासिँदो प्राविधिक विकासले गर्दा नेपाली चलचित्र क्षेत्र लामो समयसम्म अँध्यारोमै रूमल्लियो ।

यसरी अँध्यारोमा धकेलिएको हाम्रो चलचित्र क्षेत्र क्रमशः उज्यालोतर्फ उन्मुख हुँदै गर्दा हामीले एउटा नयाँ शब्द पाएका छौँ, ‘अर्गानिक’। चलचित्र क्षेत्रमा यस शब्दलाई ‘मौलिक’ भन्ने अर्थ दिइएको छ । अर्गानिक अर्थात् मिश्रण नभएको । बलिउडका चलचित्रबाट कथा र पात्र दुरुस्तै सारिने, भारतकै अन्य चलचित्रबाट संगीत र कथावस्तु चोरिने, विदेशी चलचित्रका पात्र र घटनाक्रमलाई टपक्क टिपेर नेपालीमा घुसारिने प्रथालाई अन्त्य गर्ने जमर्को गरिरहेकाहरूको मनको भावलाई सँगाल्ने शब्द हो यो ।

यसलाई उदाहरणीय रूपमा प्रस्तुत गरिने चलचित्रलाई नै समाजले स्वीकारेको व्याख्या हो, ‘अर्गानिक चलचित्र’ । तर, हो के यो ? कसैले भन्दैमा चलचित्र मौलिक हुने हो त ? पक्कै होइन ।कुनै पनि चलचित्र उद्योग वा क्षेत्रले आफ्नो मौलिकता समाउनका लागि पहिले समाजको चित्रण गर्न सफल भएको हुनुपर्छ । लामो समयसम्म मौलिकता गुमाएको नेपाली चलचित्र क्षेत्रले अचानकै मौलिकता पाएको होइन । यसका लागि हामीले केही वर्षअघिका चलचित्रहरूको अध्ययन गर्नु आवश्यक छ, जहाँबाट यो शब्दको प्रयोग शुरू भयो ।

nirshahअहिले मौलिक नेपाली सिनेमा बनिरहेका छन् र खुशीको कुरा ती व्यावसायिक रूपमा सफल पनि छन्। नीर शाह,निर्देशक

सन् २०१३ मा प्रदर्शनमा आएको निश्चल बस्नेतको चलचित्र ‘लुट’ र त्यसलगत्तै नेपाली चलचित्र क्षेत्रमा देखिएको परिवर्तनपछि नै ‘अर्गानिक’ शब्द प्रयोग गर्न थालिएको हो । ‘लुट’ चलचित्रलाई ‘नेपालमा बनेको पहिलो अर्गानिक चलचित्र’ वा ‘पूर्ण रूपले मौलिक चलचित्र’ भन्नु सरासर गलत हुन्छ । नेपालमा पहिला पनि मौलिक चलचित्र बन्थे, नेपाली परिवेशमा नै गुट्मुटिएका चलचित्र हुन्थे तर ती चलचित्रलाई हामीले कहिल्यै पनि ‘मौलिक’को परिभाषाले बाँध्नु परेको थिएन । ती चलचित्रलाई कहिल्यै पनि ‘मौलिक’ वा ‘रासायनिक’ भनेर छुट्याउनु परेको थिएन ।

समस्या तब उत्पन्न भयो, जब नेपाली चलचित्रको भाषा ‘अति साहित्यिक भाषा’ वा ‘रोबोटजस्तो बोली’ बन्न थाल्यो । हिन्दीबाट गरिएको उल्था, कोरियालीबाट निकालिएका संवादको उल्था, भारतकै अन्य चलचित्रबाट सारिएका घटनाक्रम आदिले हाम्रा चलचित्र थकित बनेका थिए । तर, ‘लुट’ भन्दा अलि अगाडि प्रदर्शनमा आएका ‘कागबेनी’, ‘सानो संसार’, ‘आचार्य’ का साथै उक्त चलचित्रपछि आएका ‘अन्तराल’, ‘झोले’, ‘कर्कश’, ‘साँघुरो’ आदिले रैथाने, क्षेत्रीय वा चलचित्र क्षेत्रमा भनिँदै आएको ‘सडके’ भाषा प्रयोग गर्न थाले । नेपाली अर्गानिक चलचित्रको पहिलो परिभाषा अर्थात् ‘बोलीचालीको भाषा प्रयोग हुने’ अथ्र्याउन यी चलचित्रहरूले मद्दत गरेका छन् ।

कुनै पनि चलचित्र उद्योग वा क्षेत्रले आफ्नो मौलिकता समाउनका लागि पहिले समाजको चित्रण गर्न सफल भएको हुनुपर्छ।

तर, मौलिक चलचित्र बोली र लवजको प्रयोग मात्रले बन्दैनन् । त्यसका लागि आवश्यक दोस्रो तŒव हो, पात्र । यदि कुनै चलचित्रका पात्रलाई उठाएर अर्को कुनै समाज र परिस्थितिमा दाँजेर हेर्दा अर्थ लाग्छ भने त्यस्तो चलचित्र वा त्यसका पात्र अर्गानिक होइनन् । उदाहरणका लागि इरानी चलचित्रकर्मी माजिद माजिदीको ‘बचेहा–यी आशेमान’ (स्वर्गका बालबालिका) चलचित्र सोही सामाजिक परिस्थितिका लागि सुहाउँदो थियो । यो विश्वप्रसिद्ध चलचित्रलाई भारतमा प्रियदर्शनले जस्ताको तस्तै सारेर ‘बम–बम भोले’ बनाए ।

गरिबीका कारण एक जोर जुत्ता पनि बाँडीचुँडी गर्नुपर्ने दाजु–बहिनीको मार्मिक कथा देखाइए तापनि भारतमा बनेको त्यो चलचित्रमा जुन पात्र देखिए, उनीहरूले गरिबीको त्यस्तो उत्कर्ष देखाउन सकेनन् । पात्रहरू मौलिक नबनिदिँदा चलचित्रले मौलिकता गुमाएको थियो ।दीपेन्द्र के खनालको ‘पशुपतिप्रसाद’, प्रदिप भट्टराईको ‘जात्रा’जस्ता चलचित्रले नेपाली सामाजिक परिवेशकै पात्र वा भनौँ काठमाडौंनिहित पात्रहरू प्रस्तुत गरी मौलिकताका उदाहरण दिएका छन् । यी चलचित्रका पात्रहरूलाई काठमाडौंबाहेक अन्य कुनै परिवेशमा दुरुस्त सारेर त्यही कथामा चलचित्र बनाउनुपर्‍यो भने मर्का नै पर्छ ।

AnupSubediबर्गरको स्वाद बसालिदिए म्याक–डोनाल्डलाई नै फाइदा हुन्छ। त्यसको सट्टा मःमको स्वाद बसाउन सकियो भने म्याकडोनाल्ड त्यो बनाउन त आउन सक्दैन। अनुप सुवेदी,सिने–समीक्षक

नेपाली चलचित्रका लागि मौलिकताकोपरिसूचना दिने अन्य कसी हुन्, स्थान र परिवेश । नेपाली गाउँघर, सहरबजार, ऐतिहासिक घटना, नेपालमै देखिएका समस्या वा नेपालीले नै साझा रूपमा देखेका वस्तुस्थिति समेटिएका चलचित्र नै मौलिक हुन् । ‘बधशाला’, ‘टलकजंग भर्सेस टुल्के’, ‘कालो पोथी’, ‘सेतो सूर्य’ इत्यादिमा देखाइएका द्वन्द्वकालका विभिन्न आयामलाई अर्गानिकको परिभाषाले बाँध्न सक्छ । ‘टलकजंग भर्सेस टुल्के’ विदेशी नाटकको रूपान्तरण र विदेशी लेखकको कथा भए तापनि यो चलचित्रलाई नेपाली परिवेशभित्र बाँधिएकाले अर्गानिक भन्न सकिन्छ । त्यसैगरी नेपाली उपन्यास र कथाबाट साभार गरी बनाइएका चलचित्रलाई पनि अर्गानिक भन्न सकिन्छ ।

नेपाली चलचित्र क्षेत्रमा विद्यमान शब्द ‘अर्गानिक’ को परिभाषा लवज, पात्र, स्थान र परिवेशले हालका लागि पूरा गरिदिन सके पनि कुनै चलचित्र ती मापदण्ड पूरा गर्दैमा पूरै अर्गानिक बन्न भने सक्दैनन् । हाल नेपाली चलचित्रहरूले मौलिकता खोज्नका लागि यी मान्यताहरू याद गरेर मात्र पुगेको छ । चलचित्र कला हो, यो परिवर्तनशील हुँदा नै मात्र उत्कृष्टतातर्फ लम्किन्छ । समाजको काँचो तस्बिर देखाउने निहुँमा वर्षौंदेखि हाम्रा चलचित्रसँगै जोडिएका नृत्य, मल्लयुद्ध, प्रेमालाप, हास्यव्यंग्य आदिलाई छाडेर हिँड्नु मनासिव हुँदैन । यी पनि हाम्रै मौलिकताका प्रतिनिधि हुन् ।कुनै पनि चलचित्र उद्योग वा क्षेत्रले आफ्नो मौलिकता समाउनका लागि पहिले समाजको चित्रण गर्न सफल भएको हुनुपर्छ।

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100