MENU

सुन तस्करी : ट्रान्जिट नेपाल

635x90

उपेन्द्र पोखरेल/श्रीधर खनाल बिहीबार, माघ १३, २०७३ 2520 पटक पढिएको

Share This

रिपोर्ट

२० पुसमा दिनभर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भौंतारियो । एयर अरेबियाका विमान आए/फर्के, सीआईबी टोलीले पर्खेको लगेज आएन । २१ पुसमा सोही एयरको विमानको सेड्युल पर्खेर बस्यो, प्रहरी टोली । नभन्दै जी ९–०५३७ फ्लाइट नम्बरबाट आएको लगेज सबै अवरोध सहजै पार गर्दै अन्तर्राष्ट्रिय टर्मिनलबाट बाहिरियो । एक युवक बा२च १९१५ नम्बरको ट्याक्सीमा सुटकेस राखेर गोल्डेन गेट हुँदै गौशालातिर मोडिए । प्रहरी टोलीले तिलगंगा आँखा अस्पताल अगाडि पुगेपछि ट्याक्सी रोक्यो । सुटकेससहित ती युवक र ट्याक्सीलाई गौशाला प्रहरी वृत्त पुर्‍याइयो ।

लगेज खोल्दा सुनका बिस्कुट भेटिए । विमानस्थलबाट सुटकेस बुझेका बाँकेको परस्पुर गाविसका गोपालबहादुर शाहीको मोबाइलमा आएको कल प्रहरीले उठायो । उताबाट सोधियो, ‘कतिबेला ल्याइपुर्‍याउने पेप्सिकोला ?’ प्रहरी टोली सोही ट्याक्सीमा शाहीलाई राखेर पेप्सिकोला हुइँकियो । टेरिअस् गाडीबाट दिलबन्धु थापा र सन्तोष काफ्लेको साथमा अर्को सुटकेस बरामद भयो । दुवै सुटकेसमा थिए, १० तोला दरका दुई सय ८२ टुक्रा, १९ वटा सिक्री र १८ वटा औंठी । बरामद करिब साढे ३३ किलो सुनको बजार मूल्य साढे १५ करोड रुपैयाँ छ । काभ्रेबाट रामहरि कार्की तथा भन्सार कर्मचारीद्वय श्रीनारायण यादव र राजकुमार ढकाल पनि पक्राउ परेका छन् ।

‘सेटिङ ’मा धन्दा
केही समय विमानस्थलमा बिताएका राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतका अनुसार अवैध सुन सुरक्षा जाँचबाट उम्काउन भन्सार कर्मचारी र प्रहरीको मिलोमतो हुने गर्छ । माथिल्लो तहको संरक्षण नभई उनीहरूले सुरक्षा जाँच पार गराउने हिम्मत भने गर्दैनन् । खासगरी, सामानको एक्स–रे जाँच गर्ने भन्सार कर्मचारीलाई मिलाइएको हुन्छ । र, प्रहरीले नदेखेजस्तो गरेर बाहिरिन दिन्छ । सुन राखिएको सुटकेस एक्स–रेमा छिराइन्छ तर नदेखेजस्तो गरेर छाडिन्छ । आपसमा कारोबार नमिल्दा मात्र सुन समातिने गरेको ती अधिकृत बताउँछन् । सुनको परिमाणअनुसार ठूलो रकमको चलखेल हुन्छ त्यसका लागि ।

‘सेटिङ’मा चल्दै आएको धन्दाको शृंखला लामै छ । लागूऔषध र सुन तस्करी गर्न नेपालीलाई सिकाउने पोल्यान्डका नागरिक हुन् । पञ्चायतकालमा राजा महेन्द्रले मनाङका बासिन्दालाई सामान ल्याउन छुट दिएपछि शुरु भएको हो, सुन तस्करी । सुन र लागूऔषध तस्करीबीचको ‘कनेक्सन’ सन् १९७० कै दशकदेखि हो । सुनको अवैध कारोबार सन् १९८० को दशकमा ‘नोटिस’मा आएको हो । ०४५ सालतिर सुन तस्करीमा विमानस्थलमा तैनाथ प्रहरीको संलग्नता रहेको खुलेपछि पूरै सेट फिर्ता गरिएको थियो, एक प्रहरी अधिकृत पनि पक्राउ परेका थिए ।

हङकङ, दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीनलगायतबाट भित्रिने अवैध सुनमध्ये थोरै नेपालमा खपत हुन्छ भने धेरै भारत पुर्‍याइन्छ।

उत्तरकोरियाली दूतावासका कर्मचारीको पनि संलग्नता देखिने गरेको थियो त्यतिबेला । पञ्चायतकालमा सुन आउने/जाने भइरहन्थ्यो । ०४५ सालयता परिमाण ठूलो देखिन थालेको हो । खुमबहादुर खड्का र बामदेव गौतम गृहमन्त्री हुँदा संगठित रूप पायो यस धन्दाले । तत्कालीन डीएसपीहरू केशव बस्नेत, नरेश गुरुङ, कल्याण तिमिल्सिना, किरण गौतम तथा निरीक्षकहरू रविराज श्रेष्ठ, दुर्जकुमार राई र ढकबहादुर कार्कीसमेत आरोपित थिए, सुन तस्करीमा । तीमध्ये बस्नेतको जीवनशैलीमा रातारात परिवर्तन भएको हल्ला चलेपछि उनी भागेर अस्ट्रेलिया पुगे ।

राई हाल सशस्त्र प्रहरीका महानिरीक्षक छन् । गुरुङ, तिमिल्सिना र गौतमले एआईजीसम्म बनेर अवकाश पाए । श्रेष्ठ विमानस्थलकै एसएसपी छँदा सुनकाण्डमै मुछिएर जागिर गयो । खड्का गृहमन्त्री हुँदा सांसद खरिद–बिक्रीका लागि रकम दिनेमा तिमिल्सिनाको पनि नाम आएको थियो । शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द नेतृत्वका सरकारका पालामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध धन्दा उत्कर्षमा थियो । त्यो पनि, सरकारका उच्चपदस्थ र प्रहरी अधिकृतकै प्रत्यक्ष संलग्नतामा । सोही समयमा विमानस्थलबाट चरेससमेत आउने/जाने गरेको थियो ।

Suntaskari_1

त्यतिबेला एकपछि अर्को गृहमन्त्री बनेका खड्का र गौतमकै संरक्षणमा सुन र अमेरिकी डलरको अवैध ओसारपसार हुने गरेको थियो । डलर अन्य मुलुक पठाउने तथा सुन र चरेस भित्र्याउने धन्दा चलेको थियो । केही वर्षअघि अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न एक नेपाली कारोबारीको खाता हङकङमा फेला प¥यो । एक चरेस व्यापारी काठमाडौंमा समातिए । उनको पैसा ती सुन व्यापारीको खातामा जम्मा भएको भेटियो । एक प्रतिशत कमिसनमा चरेस कारोबारीले काठमाडौंमै भुक्तानी पाइरहेका थिए ।

बैंकसँग प्रहरीले खाताको विस्तृत विवरण माग्यो तर बैंकले कोड अर्डर माग्यो, जुन प्रहरीसँग थिएन । र, सुन कारोबारीलाई समाउने आधार तयार भएन । पछिल्लो समय राज्य–प्रायोजित धन्दा सतहमा नदेखिए पनि सुनको अवैध व्यापार उस्तै छ । तस्करीमा मुछिने प्रहरी अधिकृत व्यक्तिगत हिसाबमा मात्र गिरोहको पछाडि लागेको देखिन्छ । बरु, भन्सार यसमा संगठित देखिन्छ । विमानस्थलमा ‘सेन्ट्रल कलेक्सन’ हुन्छ, त्यही बास्केटमा आएको रकम माथिदेखि तलसम्म बाँडचुँड हुन्छ ।

जग्गा खरिद गर्दा मालपोतको अभिलेखबाट देखिन्छ, ठूलै परिमाणको सुन पनि सहजै लुकाएर राख्न सकिन्छ । नेपालमा आउने अवैध पहेंलो धातुको मुख्य बजार भारत हो । त्यसमध्ये थोरै परिमाण नेपालमै खपत हुन्छ । सुन बिग्रिने डर पनि हुँदैन । र, मूल्य बढिरहने कारणले सञ्चिति सजिलो छ । भारतमा विमौद्रीकीकरण गरिएपछि सुनको माग ह्वात्तै बढेको छ ।

नेपालमा दैनिक करिब ३५ किलो माग छ, वैध ढंगले १५ किलोभन्दा बढी ल्याउन पाइँदैन । नेपालमा भारतीय मुद्रा अभाव भए उताबाट सुन आइरहेको र पर्याप्त रहे नेपालबाट भारत सुन गइरहेको बुझिने गरेको छ । भारतमा वार्षिक एक सय १६ टन सुन खपत हुँदै आएको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार चीनमा सबैभन्दा बढी दुई सय ४१ टन खपत हुन्छ । नेपालमा दैनिक २५ किलो अवैध सुन प्रयोग हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार बताउँछन् । भन्छन्, ‘हामीले मागअनुसारको माल पाएका छैनौँ । सरकारले दिने १५ किलोले बजार माग धान्दैन ।’

अस्थिरतामा चलखेल
२०४६ को राजनीतिक परिवर्तनपछि ०४८ को जनमतविपरीत ०५१ मा मध्यावधि निर्वाचन भयो । त्यस चुनावी परिणामले मुलुक अस्थिरताको बाटोबाट गुज्रियो । त्यसैको लाभ उठाउँदै तस्करहरूले पहिलो लाइन खोले । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर खोलिएको लाइन लामो समय टिकेन । तत्कालीन दरबारको दबाबपछि १७ दिनमै रोकियो । तर, त्यसले राज्यलाई घाटा मात्र गराएन, गैरकानूनी धन्दामा संलग्नको मनोबलसमेत बढायो । मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेर बनेको देउवा सरकारका गृहमन्त्री थिए, खड्का ।

सरकार ढालेर चन्दको नेतृत्वमा सरकार बनाउन लागिपरेको थियो एमाले । त्यसका लागि आवश्यक परिपञ्च मिलाएका थिए एमाले नेता गौतमले । खड्काले गोप्य रूपमा शुरु गरेको सुन तस्करीको लाइनलाई त्यसपछि गृहमन्त्री बनेका गौतमले निकै खुला गरे । खड्काले बनाएभन्दा भिन्दै समूहलाई गौतमले भन्सारबाट सुन आयातको बाटो खोले । त्यसअघि काम गर्दै आएका व्यापारी रुष्ट भए र मन्त्री गौतमलाई धम्क्याएपछि उनीहरूले पनि ‘काम’ गर्न पाए । चन्दलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनायो कांग्रेसले ।


वास्तविक मालिक समाउने साहस प्रहरीले जुटाएको पाइँदैन। तीन दशकयता पक्राउ परेका सबैको बयान हुन्छ, म त भरिया मात्र हुँ।

र, साथ दिए सुन तस्करीमा संलग्न व्यापारी र प्रहरी अधिकृतले । थापा प्रधानमन्त्री बनेको १६ औं दिनमा सादा पोशाकका सेनाले सुराकी थाले । तस्करी रोक्न दरबारले सेना परिचालन गरेको थाहा पाएपछि थापाले तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई आग्रह गरेर तस्करी बन्द गराए । सरकारको प्रत्यक्ष संरक्षण र निगरानीमा सुन तस्करी हुने गरेको विषयमा छानबिन गर्न राजश्व चुहावट संयुक्त संसदीय समिति गठन भयो । सांसदहरूले सदनमा त्यसबारे आवाज उठाएपछि परी थापाको संयोजकत्वमा २३ वैशाख ०५५ मा बनेको थियो उक्त समिति ।

जसले, २८ पुस ०५५ मा प्रतिवेदन बुझायो । प्रतिवेदनमा किटानीका साथ अनिल जाटिया, प्रकाश बेगानी, शंकर गोल्यान, आईएल प्रधान, टेकबहादुर गुरुङ, जमीम शाह, ताहिर शाह, दीपक मल्होत्रा, प्रकाश टिबडेवाला, विष्णु जोशी, धोजेन्द्र गौचन, विष्णु गौचन, छविलाल भुसाल, अशोक सुरेखा, हरि न्यौपाने र दिपक स्वाँर सुन तस्करीमा संलग्न रहेको खुलाइएको छ । तत्कालीन प्रधानमन्त्री थापाले सरकारी संलग्नता कम गरे पनि तस्करी रोकिएको छैन । पात्र, बाटा र तरिका मात्र फेरिएका छन् ।

पक्राउ पर्ने भरिया मात्र
२३ फागुन ०४२ मा हङकङबाट आउँदै गर्दा त्रिभुवन विमानस्थलमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढा समातिए । उनको साथबाट तीन किलो सुन बरामद भयो । बयानका क्रममा बुढाले आफू भरिया मात्र रहेको बताएका थिए । त्यसपछिका तीन दशकमा पनि उनकै भाषामा बयान दिने क्रम जारी छ । वास्तविक मालिक समाउने साहस प्रहरीले जुटाएको पाइँदैन । जस्तो  : २१ पुसमा पक्राउ परेका शाहीले पनि आफू भरिया मात्र रहेको बताएका छन् ।

गत १३ पुस साँझ बा८च ७४२० टोयोटा हाइलक्सबाट सात किलो सुन बरामद भयो । रसुवाको टिमुरेमा ना२ख ५१४६ नम्बरको डब्बा ट्रक चालकले उक्त सुन हाइलक्सका चालक कुसाङ लामालाई दिएका थिए । लामाले काठमाडौं स्वयम्भू आएपछि कसैको फोन आउने आशामा सुन लिएर आए । फोन गर्नेले लामालाई एक लाख २० हजार रुपैयाँ दिने बताइएको थियो । कलंकीमा पक्राउ परेका लामालाई लिएर प्रहरीले स्वयम्भूमा सुन लिन आउने मानिसको प्रतिक्षा गर्न सक्थ्यो । सुनका मालिकसम्म नपुगी भरिया बनेका लामालाई मात्र राजश्व अनुसन्धान विभागको जिम्मा लगाइयो ।

शाही र लामा त उदाहरण मात्र हुन्, भरिया बनेकाहरूले कसका लागि काम गरिरहेका हुन् भन्ने प्रहरीका लागि खोजीको विषयसम्म बन्दैन । शाहीले यसअघि ११ पटक सुन ल्याएको बयान दिएका छन् । ३२ वर्षअघि काठमाडौं न्युरोडमा सुनका गहना बनाउने ज्यालादारी काम थालेका बालु जगन्नाथ घाँगेलाई गत वर्ष प्रहरीले समात्यो । ०६३/६४ देखि बालाजी एन्ड सन्स नामक पसल चलाउँदै आएका भारतीय नागरिक घाँगेबाट बरामद भएको दुई करोड १९ लाख रुपैयाँ बराबरको सम्पत्ति सुनकै चोरी पैठारीबाट आर्जन गरेको अनुसन्धानबाट खुलेको छ ।

उनी अहिले विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन् । पसल नै चलाएका घाँगेले कहाँबाट, कसरी सुन ल्याउँथे भन्नेमा प्रहरीको अनुसन्धान मौन छ । २०४४ सालमा तत्कालीन अधिराजकुमार धीरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डीबी लामा सुन तस्करी अभियोगमै समातिएका थिए । कर्णेल गुरुङले बयानका क्रममा सुन तस्करीमा ठूलाबडाको संग्लनता र भरियामार्फत् एक क्विन्टल भिœयाएको बताएका थिए । तर, उनले भनेका ठूलाबडाको खोजी गर्ने अग्रसरता कसैले लिएन । २९ मंसिर ०५४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय किलो सुनसहित पक्राउ परेका कोरियाली नागरिक जो कुन ह्वा र युन सोङ पनि भरियाकै रूपमा उम्किए ।

गैरकानूनी बाटो
भारतीय नागरिक अभिषेक शाह थाइल्यान्डको बैंककबाट काठमाडौं सुन ल्याउँदै गर्दा विमानस्थलमा पक्राउ परे । अरूले जस्तो उनले सुनको बिस्कुट ल्याएका थिएनन्, गहनाले झरिझुट्ट भएर आएका थिए । बैंककबाट मलेसियाको क्वालालाम्पुर हुँदै मलेसिया एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिएका शाह कोलकातामा मार्बल घोट्ने काम गर्थे । उनले ठूलीआमाले पठाएको पैसाले सुन किनेर प्रेमिका सुष्मा ढकाललाई भेट्न काठमाडौं आएको बयान दिएका थिए । उनले प्रहरीलाई प्रेमिकासँग होटेलमा भेट्ने बताएका थिए, प्रहरी अनुसन्धानमा कुन होटेल थियो भन्ने पनि खुलाइएको छैन । प्रहरीले सुन लिने प्रेमिकालाई पनि खोज्ने जाँगर चलाएन ।

पञ्चायतकालसम्म नेपालमा सुन आयातको एक मात्र नाका थियो हङकङ । ०५० सालपछि हङकङको एकाधिकार तोडियो । दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीनलगायतबाट भित्रिन थाल्यो । सुन आयातमा पनि हुन्डीको माध्यमबाट पैसा बाहिरिने गरेको छ । सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता विनोद लामिछाने रेमिटेन्स आयातमा आएको शिथिलतालाई गैरकानूनी पैठारीसँग जोड्छन् । भन्छन्, ‘यस्ता काममा विदेशमा भएका नेपालीले उतैबाट पैसा भुक्तानी गरेका पनि हुन सक्छन् ।’

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100