MENU

नायिका : ‘सो पिस मात्र’

635x90

तुलसी घिमिरे / अन्नपूर्ण टुडे बिहीबार, माघ १३, २०७३ 5276 पटक पढिएको

Share This

टिप्पणी

नेपालमा सिनेमा निर्माण सुरु भएको झण्डै साढे दुई दशकसम्म महिलालाई ढोका साँघुरै रह्यो । ०२२ सालमा नेपालमा बनेको ‘आमा’ सिनेमाका लागि भुवन चन्दले अभिनय गरेर एक प्रकारको विद्रोह नै गर्नुभयो । त्यसलाई पछ्याउनेको संख्या र गति ०४० को दशकसम्म कमै रह्यो । प्रजातन्त्रको पुनर्वहालीसँगै समाजले खुकुलो आभास गर्‍यो र सिनेमामा महिला कलाकारको संख्या बढ्दै गयो ।

tulasighimire

तर पनि, उनीहरूमा पारिवारिक जिम्मेवारी र सिनेमा करिअरलाई अगाडि बढाउनुको चुनौती कायमै थियो । अनुहारमा मुस्कान भरिएका नायिकाको पृष्ठभूमिमा निकै संघर्ष र पीडा भरिएको जीवन हामीले देख्यौँ । यसरी हेर्दा नेपाली सिनेमामा नायिकाको इतिहास धेरै संघर्षपूर्ण छ । त्यो इतिहास सम्झिँदा अहिलेको अवस्था निकै सुखद् छ । नेपाली सिनेमाको शुरुवाती कालमा सिनेमामा छनोटको आधार भनेको अनुहार नै हुन्थ्यो ।

राम्रो अनुहार भएकी युवती देखेपछि उनको बारेमा जानकारी लिएर सिनेमा खेल्नका लागि प्रस्ताव गरिन्थ्यो । कतिपय साथीभाइ र आफन्तकै परिवारमा कलाकार खोजिन्थ्यो । त्यस्ता अधिकांश प्रस्ताव अस्वीकृत हुन्थे । स्वीकृत भएमा उनीहरूको संवाद बोल्न सक्ने क्षमता जाँचिन्थ्यो । आकर्षक अनुहार छ तर संवाद ठिकै मात्र भए अर्कैको आवाज डबिङ गरेर पनि काम चलाइन्थ्यो । त्यसैले उसमा अभिनय क्षमता निर्माण गर्ने जिम्मा सम्पूर्ण रूपले निर्देशकमा हुन्थ्यो । कथा पढाएर, त्यसमा स्वाभाविक हाउभाउ गराउन निकै मिहिनेत गर्नुपथ्र्यो ।

अहिले अभिनय सिक्ने अवसरहरू छन् । सिनेमा पढ्न पनि सकिन्छ । काम गर्ने अवसर पनि प्रशस्तै छ । नेपाली सिनेमा विकासक्रमको पहिलो चरणमा सामाजिक सिनेमाहरू बने । त्यसमा महिलाको नैतिक चरित्रमा जोड दिइन्थ्यो । त्यसले सकारात्मक प्रभाव नै पार्‍यो । सिनेमामा काम गर्नु नराम्रो रहेनछ भन्ने प्रभाव पार्न त्यसले भूमिका खेल्यो । समय परिवर्तन हुँदै गयो । तर, सिनेमामा महिला पात्रको भूमिका भने धेरै परिवर्तन हुन सकेन । शब्दमा ‘नायिका’ भनिए पनि नायककै वरिपरि घुम्ने सहायक पात्रको भूमिका दिइयो ।

पछिल्लो समय बढीजसो युवाकेन्द्रित विषयमा सिनेमा बनेका छन्, जसमा महिलाको भूमिकालाई स्वतन्त्र बनाइएको त छ तर बलियो बनाइएको छैन।

दुई गीतमा नृत्य गर्ने, नायकलाई पछ्याउने र खलनायकलाई गाली गर्ने भूमिकामा मात्र नायिकालाई सीमित बनाइयो । बरू, पहिलो चरणमै बनेका केही सिनेमामा नायिकालाई मूख्य भूमिका दिइएको थियो । सुभद्रा अधिकारी, गौरी मल्ललगायतले त्यस्ता चलचित्रमा प्रभावशाली भूमिका निर्वाह पनि गरे । तर, त्यस्ता सिनेमा सीमित बने । पछिल्लो समय पनि त्यस्ता सिनेमा बनेका छैनन् । बढीजसो युवाकेन्द्रित विषयमा सिनेमा बनेका छन्, जसमा महिलाको भूमिकालाई स्वतन्त्र बनाइएको त छ तर बलियो बनाइएको छैन ।

यसैबीच रेखा थापाले केही सिनेमामा मुख्य भूमिकामा खेलिन् । त्यसले उनको व्यक्तित्वलाई त माथि उठाइदियो नै, महिला मुख्य चरित्र भएको सिनेमा पनि चल्छन् भन्ने उदाहरणसमेत प्रस्तुत गर्‍यो । नेपालमा धेरै अभिनेत्री छन्, जोसँग अपार अभिनय क्षमता छ । थिएटरमा अभिनय अभ्यास गरेका दीया मास्के, सिर्जना सुब्बा, ऋचा शर्मालगायतका अभिनेत्रीमा मैले राम्रो सम्भावना देखेको छु । तर, उनीहरूको सय किलो बोक्ने क्षमतालाई नजरअन्दाज गर्दै हामीले पाँच किलोमात्रै बोकाइरहेका छौँ ।

उनीहरूले भनेको जस्तो भूमिका नै पाउन सकेका छैनन् । नेपालमा पनि ‘मेरी कोम’जस्तो सिनेमा बनोस्, ‘अर्थ’ र ‘गुलाब ग्यांग’जस्ता सिनेमा बनोस् । हामीले ‘मुक्ति’ सिरियलमा महिलालाई बलियो ढंगले प्रस्तुत गरेका थियौँ । त्यस्तै प्रकारका सिनेमा बन्नु आवश्यक छ । जसले सिनेमामा नायिकाको भूमिकालाई प्रभावकारी बनाउँछ । व्यवसायिक हिसाबले पनि उत्तिकै मूल्य दिने संस्कार स्थापित हुन्छ ।

नत्र अझै पनि नायिकालाई ‘सो पिस’मात्रै ठानिन्छ । यस्ता सिनेमा बन्न नसक्नुमा सबैभन्दा ठूलो कमजोरी निर्माण पक्षको हो । महिलाकेन्द्रित कथा भएका सिनेमा चल्दैनन् भन्ने मानसिकताले निर्माता ग्रसित छन् । त्यसैको प्रभाव निर्देशकसम्म आइपुग्छ र आफूले चाहेजस्तो सिनेमा निर्माण गर्न सकिँदैन । त्यसैले यस्ता सिनेमालाई सरकारले केही सहयोग गर्नु आवश्यक हुन्छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100