MENU

नेपाली खेलकुदमा परिवारको दबदबा

635x90

दिपेन्द्र गुरुङ / अन्नपूर्ण टुडे शुक्रवार, माघ १४, २०७३ 39287 पटक पढिएको

Share This

खेलकुद

एसियाली खेलकुदमा राष्ट्रिय झण्डा बोक्ने बाबुछोराको एउटा गर्विलो कीर्तिमान छ । नेपाली खेलाडीका लागि एसियाली प्रतियोगिताको सहभागिता नै उपलब्धिपूर्ण मानिन्छ । त्यही उपलब्धि बाबुछोराले हात पार्नु संयोग नै माने हुन्छ । फुटबलर मणि शाह र उनका पिता लक्ष्मणविक्रम नेपाली खेलकुदका त्यस्ता ऐतिहासिक व्यक्तित्व हुन्, जो नेपालको प्रतिनिधित्व गर्दै एसियाली खेलकुदमा सहभागी बने, फरक–फरक खेलबाट ।

लक्ष्मणविक्रम मुख्यतः एथलेटिक्स खेलाडी थिए, ज्याभलिन थ्रो मुख्य विधा । उनी फुटबल पनि खेल्थे । सन् १९६० मा इजरायलबाट फिजिकल एजुकेसनमा डिप्लोमा गरे । त्यसपछि खेलप्रतिको उनको लगाव अझ बढ्यो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद्मा मुख्य प्रशिक्षक बने । मणि पिताकै प्रेरणामा खेलकुदमा लागेका हुन् । तर, उनले पिताको भन्दा फरक खेल रोजे, फुटबल । ‘बुबाले मलाई सधैँ रंगशाला लैजानुहुन्थ्यो । रंगशालामा फुटबल खेलेको देखेर मलाई पनि मोह जाग्यो,’ भन्छन्, ‘बुवा पनि पहिले फुटबल खेल्नुहुन्थ्यो । त्यसैले उहाँबाट सधैँ हौसला पाएँ ।’

लक्ष्मणले सन् १९६२ मा इन्डोनेसियाको जाकार्तामा भएको चौथो एसियाली खेलकुदमा नेपालका तर्फबाट ज्याभलिन थ्रोमा प्रतिस्पर्धा गरेका थिए । मणिले भने १९८६ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा पहिलोपटक सहभागी हुने अवसर पाए । त्यसपछि सन् १९९४ मा जापान र १९९८ मा थाइल्यान्डमा भएको एसियाली खेलकुदमा समेत सहभागिता जनाए ।

नेपाली खेलकुद अभाव र विवादले ग्रस्त छ। तर, यस्ता केही सम्बन्धहरू पनि भेटिन्छन्, जसले आलोचित नेपाली खेलकुदको ‘क्रेज’लाई सधैँ ताजा राख्ने गरेको छ।

थाइल्यान्डको एसियाडमा मार्चपासमा राष्ट्रिय झण्डा बोकेका उनी त्यो अवसर हात पार्ने पहिलो फुटबलर नै बने । नेपाली खेलकुदमा मणिको तुलना अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनासँग हुनेगर्छ । म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएका थिए । मणिले नेपाललाई सन् १९९३ मा साग खेलकुदमा स्वर्ण पदक दिलाए । नेपाली खेलकुदमा यस्ता प्रेरणादायी उदाहरण धेरै छन्, जसले खेलकुदप्रेमीमा क्रेज घटेको अनुभव हुन दिँदैन ।

परिवारै खेलकुदमा
नेपाली खेलकुदको संस्थागत परिकल्पना बागदरबारसँग जोडिएको छ । शुरुवातका झण्डै दुई दशक नेपाली खेलकुद बागदरबार सँगै जोडियो । मनोज राणाको परिवार नेपाली खेलकुदमा यस्तो परिवार हो, जसका सबै सदस्य खेलकुदमा संलग्न छन् । कुनै समय राखेपको बोर्ड सदस्यसमेत बनेका राणाले बक्सिङ र कुस्ती संघ चलाए । आफैँले पनि बक्सिङ खेलेका उनी संघको अध्यक्ष चुनिए । कुस्ती संघमा पनि कोषाध्यक्ष र उपाध्यक्ष हुँदै अध्यक्ष बने ।

लनटेनिसको भेट्रान्सतर्फ ५५ वर्षमाथिको उमेर समूहको एकल र युगलमा च्याम्पियन राणाले लनटेनिस संघमा दुई कार्यकाल अध्यक्ष चलाए । उनले छाडेपछि पत्नी ज्योति अध्यक्ष बनेकी छन्, जो नेपाल ओलम्पिक कमिटी (एनओसी) मा उपाध्यक्षसमेत छिन् । उनीहरूका तीन छोरी टेनिसका राष्ट्रिय च्याम्पियन भइसकेका छन् । ठूली छोरी मालिका एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली महिला लनटेनिस खेलाडी हुन् ।

उनी र अश्लेषा लिसानेविचले सन् २०१० मा ग्वान्झाउमा भएको एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । जुम्ल्याहा छोरीहरू मायन्का र माहीका वर्तमान राष्ट्रिय च्याम्पियन हुन् । अहिलेका राष्ट्रिय प्रतियोगिताहरूमा मायन्का र माहीकाकै दबदबा हुने गर्छ । मायन्काले हालै सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा तीन स्वर्ण जितिन् । यससँगै उनी राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण जित्ने पहिलो महिला लनटेनिस खेलाडी बनेकी छन् ।

Kushalara

कुशल र तारा गुरुङ श्रेष्ठ

उनीहरूका छोरा जयकरसमेत जुनियर टेनिस खेलाडी थिए । तर, १० वर्षकै उमेरमा उनको मृत्यु भएपछि परिवारले उनको स्मृतिमा जुनियर खुल्ला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यसको १४ औं संस्करण भइसकेको छ । दुई लाख ५० राशि रहेको जयकर स्मृति नेपालकै सर्वाधिक पुरस्कार भएको टेनिस प्रतियोगिता हो ।

टेनिसमय परिवार
नेपाली खेलकुदमा अर्काे टेनिसमय परिवार छ, सूर्यभुषण बज्राचार्यको । बज्राचार्य परिवारका सबै सदस्य यही खेलमा छन् । बज्राचार्य राखेपका प्रशिक्षक हुन् । उनकी पत्नी रेणुदेवी राखेपमा लनटेनिसकी मुख्य प्रशिक्षक छिन् । र, उनीहरूका दुई छोरा संरक्षण र सम्यक लनटेनिसका उत्कृष्ट खेलाडी हुन् । संरक्षण लनटेनिसको शीर्ष वरीयतामा छन् ।

१५ वर्षमै राष्ट्रिय च्याम्पियन बनेका उनी नेपालमा सानो उमेरमै राष्ट्रिय च्याम्पियन बन्ने पहिलो खेलाडी हुन् । दाजुभाइ मिलेर राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जितेका छन् । सम्यकले पूर्वशीर्ष विश्व वरीयताका स्पेनी खेलाडी राफेल नाडालको एकेडेमीमा समेत अभ्यासको अवसर पाएका छन् । त्यो अवसर पाउने उनी पहिलो नेपाली हुन् ।

एकै खेलमा पति–पत्नी
नेपाली खेलकुदमा आदर्श जोडी मानिन्छ, तेक्वान्दोका दीपक विष्ट र आयशा शाक्यलाई । दक्षिण एसियाली खेलकुदको चार संस्करणमा कीर्तिमानी चार स्वर्ण पदक जितेका विष्ट नेपाली खेलकुदकै सफल खेलाडी हुन् । उनी छनोट चरण पार गरेरै ओलम्पिक खेल्ने दुई नेपाली खेलाडीमध्येका हुन् । विष्टले सात वर्षअघि शाक्यसँग जोडी बाँधे । उनी पनि तेक्वान्दोकी सफल खेलाडी हुन् । उनले ११ औं सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

खेलमा जमेका दम्पती
कराँतेका कुशल श्रेष्ठ र तारा गुरुङको जोडी नेपाली खेलकुदमा जमेको जोडी हो । खेलकै क्रममा उनीहरूको प्रेमविवाह भएको हो । श्रेष्ठले १० औं सागमा स्वर्ण पदक दिलाए । साग खेल्न नपाएकी गुरुङले कराँतेको विश्व च्याम्पियनसिपदेखि दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सक्रिय खेलाडी जीवनबाट संन्यास लिएका उनीहरू दुवै अहिले राखेपमा कराँतेका सहायक प्रशिक्षक छन् ।

राष्ट्रिय टोलीमा दाजुभाइ
नेपाली फुटबलका दुई उत्कृष्ट स्ट्राइकर अञ्जन र रञ्जन विष्ट सहोदर दाजुभाइ हुन् । दुई वर्षयता नेपाली राष्ट्रिय फुटबल टोलीको नियमित सदस्य रहँदै आएका छन् यी दाजुभाइ । नेपालले पछिल्लो डेढ वर्षयता बंगबन्धु गोल्डकप, १२ औं सागमा फुटबलको स्वर्ण र एसियाली फुटबल महासंघ (एएफसी) सोलिडारिटी कपको उपाधि जित्दा दुवै टोलीका महत्वपूर्ण सदस्य थिए । विभागीय टोली एपीएफका उनीहरू नेपाली खेलकुदको अर्का उदाहरणीय दाजुभाइ हुन् ।

फुटबलका अर्का दाजुभाइ जोडी पनि छन् । नेपाली फुटबल टोलीले पछिल्लो समय हात पारेको सफलताको नेतृत्व विराज महर्जनले गरे । बंगबन्धु गोल्डकप, १२ औं सागको स्वर्ण पदक तथा सोलिडारिटी कपमा नेपाली टोली उनैको नेतृत्वमा थियो । नेपाली फुटबलको केन्द्र अर्थात् दशरथ रंगशाला नजिकै घर भएका महर्जनको परिवार नै फुटबलमा छ । रंगशाला नजिकै रहेकाले पनि हुनुपर्छ, उनका बाबु, काकालगायत सबैले फुटबल खेले । तर, राष्ट्रियस्तरमा भने महर्जन र उनका जेठा दाइ विक्रमले मात्रै स्थापित गराए । खेल जीवन छाडीसकेका विक्रम अहिले प्रशिक्षक बन्ने प्रयासमा छन् ।

ब्याडमिन्टनमा सिंह परिवार
किशोरबहादुर सिंह आफ्नो समयका उत्कृष्ट खेलाडी थिए । नेपाली खेलकुदको कार्यकारी पद राखेपको सदस्यसचिव बन्ने पहिलो खेलाडी पनि बने । सिंह ब्याडमिन्टनका ६ पटकका राष्ट्रिय च्याम्पियन हुन् । तर, खेलकुदमा लाग्ने उनी परिवारको एक्लो सदस्य होइनन् । चार दाजुभाइमध्ये जेठा शंकर र कान्छा नरेश पनि ब्याडमिन्टनका उत्कृष्ट खेलाडी थिए । त्यस बेला दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भ्याएका शंकर राष्ट्रिय वरीयतामा दोस्रोसम्म भए ।

Bijay

साेनाम र विजय लामा

काठमाडौं जिल्ला ब्याडमिन्टन संघका संस्थापक अध्यक्षसमेत बने उनी । एकलतर्फ दोस्रो वरीयतासम्म पुगे नरेश । युगलतर्फ त उनी शीर्ष वरीयतामै पुगे । शंकरका छोरा समीर पनि ब्याडमिन्टन खेलमै सक्रिय छन् । खेलाडीका रूपमा एकलतर्फ दोस्रो वरीयतासम्म पुगेका समीर पनि कान्छा काका नरेशजस्तै युगलतर्फ शीर्ष वरीयतामै थिए । अहिले उनी ब्याडमिन्टन संघका सचिव छन् । समीरसँग ब्याडमिन्टन एसिया कन्फेडेरेसनमा काम गरेको अनुभवसमेत छ । खेलकुदमा पिता र काकाहरूको विरासत थाम्दै छन् ।

पौडीमा कार्की परिवारको वर्चस्व
नेपाली पौडी खेलमा ईश्वर कार्की र उनको परिवारको दबदबा रहँदै आएको छ । सन् १९८४ मा नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुदअन्तर्गत मिड्ले रिलेमा कार्कीले काँस्य पदक जितेका थिए, नेपाललाई पौडीबाट पहिलो अन्तर्राष्ट्रिय पदक थियो यो । सन् १९८२ मा भारतको नयाँदिल्लीमा भएको नवौं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउँदा कार्की पनि थिए, जुन नेपाली पौडीको एसियाली खेलकुदमा पहिलो सहभागिता थियो ।

१३ वर्ष पौडीको मुख्य प्रशिक्षक रहेका उनी अहिले पौडीको सिनियर प्रशिक्षक छन् । हाल पौडीमा उनका चार सन्तान सक्रिय छन् । जेठा छोरा किशोर र जेठी छोरी क्रिस्टिना स्कुलस्तरीय प्रतियोगिताभन्दा माथि गएनन् । तर, कान्छी छोरी करिश्मा र कान्छा छोरा किरणले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत प्रतिस्पर्धा गरे ।

करिश्माले पाँचाैँ राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेकी थिइन् । उनी एकै राष्ट्रिय प्रतियोगितामा सहभागी बनेर सर्वाधिक पदक जित्ने पहिलो खेलाडी बनेकी थिइन् । किरणले हालै सम्पन्न सातौं राष्ट्रिय खेलकुदको ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जिते । उनले गत वर्ष रुसमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरेका थिए । पछिल्लो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका किरणले पौडीमा कार्की परिवारलाई निरन्तरता दिइरहेका छन् ।

पति–पत्नी प्रशिक्षक
नेपाली खेलकुदमा अर्काे प्रेरणादायी जोडी हो, विराटकृष्ण श्रेष्ठ र सलिना श्रेष्ठको । विराटकृष्ण नेपाली फुटबलका सफल प्रशिक्षक हुन् । घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिसलाई सफलताको चुलीमा पुर्‍याएका उनी हाल राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक छन् । सलिना भलिबलकी मुख्य प्रशिक्षक हुन् । खेलकुदमा लागेर आफ्नो क्षेत्रको उच्चतम चुलीमा पुगेको यो नेपाली खेलकुदको सफल मात्र नभई प्रेरणादायी जोडी पनि हो ।

ब्याडमिन्टनमा तामाङ परिवार
नेपाली ब्याडमिन्टन पछिल्लो समय भोजपुरको एक तामाङ परिवारको कब्जामा छ भन्दा फरक पर्दैन । दिदी–बहिनी सरादेवी र नङसल तथा भाइ रत्नजितले नेपालमा हुने कुनै पनि राष्ट्रिय प्रतियोगिताको उपाधि अन्त जान दिँदैनन् । उनीहरू मिलेर युगलतर्फको उपाधिसमेत आफ्नै घरमा भित्र्याउँछन् ।
सेनाकी जागिरे सरादेवी नेपालको शीर्ष वरीयताकी खेलाडी थिइन् । उनी जागिरमा व्यस्त हुन थालेपछि अहिले बहिनी नङसलले शीर्ष वरीयता लिएकी छन् । पुरुषतर्फको शीर्ष वरीयता भाइ रत्नजितसँग छ । ब्याडमिन्टनमा तामाङ परिवारको जस्तो पकड अरू खेलमा अन्य परिवारको छैन ।

Hira

हीरा (बीचमा),अमृत र कृष्णा थापा मगर

बाबुको पथमा छोरा
विजय लामा (सन्तबहादुर तामाङ) नेपाललाई साग खेलकुदबाट पदक दिलाउने खेलाडी हुन् । सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा विजयले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनका छोरा सोनामले बाबुकै पथमा छन् । अर्थात्, सोनाम पनि कराँते खेलमै लागेका छन् । विभागीय टोली नेपाल पुलिससँग आवद्ध रहेका सोनामले सातौं राष्ट्रिय खेलकुदमा काँस्य पदक जिते । उनले आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत खेलिसकेका छन् । हाल राखेपमा कराँतेका सहायक प्रशिक्षक छन् विजय ।

पति प्रशिक्षक, पत्नी खेलाडी
बास्केटबल कोर्टमा कुनै समय यस्तो दृश्य देखिन्थ्यो, पति प्रशिक्षक पत्नी खेलाडी । विकास शाही बास्केटबलका सफल प्रशिक्षक हुन् । उनकी जीवनसाथी नयना शाक्य बास्केटबलको सफल खेलाडी हुन् । पौडीमा स्थापित भएपछि खेल परिवर्तन गरेकी नयना बास्केटबलमा पनि निकै जमिन् । विकासकै प्रशिक्षणमा नयनाले धेरै प्रतियोगिता खेलेकी छन् ।

जमेको नन्द–भाउजु जोडी
नेपाली टेबलटेनिसको महिलातर्फ नविता श्रेष्ठले राज गर्न थालेको लामै समय भएको छ । नेपालकी शीर्ष वरीयताकी खेलाडी नविताले राष्ट्रिय प्रतियोगितामा अन्य खेलाडीलाई उनको नजिक आउन दिएकी छैनन् । पछिल्लो समय उनकै पथमा देखिएकी छन्, उनकी नन्द एलिना महर्जन । नविताले महिलातर्फको शीर्ष वरीयता ओगट्दा एलिना दोस्रो वरीयतामा छिन् ।

स्क्वासमा हीराका दुई पुस्ता
स्क्वास खेलमा पछिल्लो झण्डै दुई दशकयता गोर्खाको एक मगर परिवारको दबदबा छ । हीराबहादुर थापामगरले पछिल्लो १७ वर्षयता स्क्वासको पुरुषतर्फ एकलौटी राज गरे । यो १७ वर्ष उनलाई कसैले पनि टक्कर दिन सकेन । राष्ट्रिय प्रतियोगितामा जब उनलाई टक्कर दिने खेलाडी जन्मिए, ती उनकै छोरा अमृत थिए । सन् २०१२ यता बाबुलाई पराजित गर्दै अमृत स्क्वासमा नेपालको राष्ट्रिय च्याम्पियन बनेका छन् । महिलातर्फ छोरी कृष्णा पनि बुवाकै पथमा बढ्दै छिन् । गोर्खा बक्राङ ९ को मगर परिवारले स्क्वासमा अझै केही वर्ष राज गर्ने संकेत गरेको छ ।

क्रिकेटका शेख दाजुभाइ
दाजुभाइ आरीफ र आशीफ शेख नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । आरीफले यसअघि नै नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । आशीफ उमेर समुहबाट दाइकै पाइला पछ्याउँदै छन् । घरभित्र आयोजना हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका यी दाजुभाइलाई नेपाली क्रिकेटको भविष्यका रूपमा समेत हेरिएको छ ।

र,यी पनि

khelkud

 

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100