MENU

यात्रामा ‘टुटल विकल्प’

635x90

कला अनुरागी /अन्नपूर्ण टुडे आइतवार, माघ २३, २०७३ 11265 पटक पढिएको

Share This

नयाँ पुस्ता

नरेफाँट, कोटेश्वर बस्ने इन्जिनियर जीवन महत कामविशेषले डिल्लीबजार पुगेका थिए । साँझ परिसकेको थियो । चिसोको समय, सार्वजनिक यातायात पातलिइसकेका थिए । भुक्तभोगी उनलाई थाहा थियो, उपलब्ध सार्वजनिक सवारीमा पनि गोडा राख्ने ठाउँ हुँदैन । उनीसँग ट्याक्सी प्रयोगको विकल्प थिएन । तर, ट्याक्सी भाडाको हिसाबले कामको आम्दानीभन्दा खर्च बढी हुन्थ्यो । त्यही दोधारमा उनले झट्ट सम्झिए, आफूले फेसबुकमा देखेको ‘रिभ्यु’ हेरेर ‘डाउनलोड’ गरेको ‘एप्स’– टुटल ।

उनले आफ्नो स्मार्टफोनमा डाटा अन गरे र टुटल एप्स खोले । त्यसमा उपलब्ध नक्साका आधारमा आफू रहेको र पुग्नुपर्ने स्थान जानकारी गराए । पहिलोचोटी एप्स प्रयोग गरेकाले उनलाई भरोसा त थिएन तर पनि केही समय कुरे । केही मिनटमै उनलाई टुटल कार्यालयबाट फोन आयो, ‘तपाईंले गर्नुभएको अनुरोध हामीले पायौँ । हाम्रो साथी तपाईंलाई लिन आउँदै हुनुहुन्छ, फोन कुर्नुहोला ।’ उनले अनुरोध गरेको १० मिनटमा बाइक लिएर आएका व्यक्तिले उनलाई फोन गरे । उनी छोटो समयमा सजिलै घर पुगे ।

easy-pickup-1

भक्तपुर दधिकोट बस्ने रविन तामाङ मार्केटिङ अफिसर हुन् । उनी दिनभरजसो बाइकमा हुँइकिरहन्छन् । नाकाबन्दीको समयमा उनले धेरैलाई ‘लिफ्ट’ दिए । कसैलाई गन्तव्यमा पुग्न सहयोग गर्दा उनलाई आत्मसन्तुष्टि मिलेको थियो । जब उनले ‘टुटल’बारे थाहा पाए, अचम्ममा परे । कसैलाई बाइकमा ‘लिफ्ट’ दिँदा पनि आम्दानी हुन्छ भन्ने कुराले उनलाई आकर्षित गर्‍यो । उनी टुटलको कार्यालय जावलाखेलस्थित नोर्खाङ कम्प्लेक्स पुगे र ‘टुटल पार्टनर’ बने ।

त्यही दिन उनी मार्केटिङको काममा गौशाला पुगेका थिए, टुटल कार्यालयबाट फोन आयो, ‘तीनकुनेमा एक जना कुरिरहनुभएको छ, उहाँलाई तपाईं दरबारमार्ग पु¥याइदिन सक्नुहुन्छ ?’ उनले सहजै स्वीकार गरे । केही मिनटमै उनी तीनकुनेस्थित टोयोटा कार्यालय अगाडि पुगे र कार्यालयबाट उपलब्ध गराइएको नम्बरमा फोन गरे । एक युवतीले उनको फोन उठाइन् र आफूलाई दरबारमार्ग पुग्न हतार भएको बताइन् । रविनले उनलाई दरबारमार्ग पुर्‍याइदिए । युवतीले उनलाई धन्यवाद दिँदै भनिन्, ‘टुटल नभएको भए आज मेरो निकै महत्वपूर्ण मिटिङ छुट्थ्यो । गाडीमा भएको भए म अहिले बानेश्वरमै अड्किरहेकी हुन्थेँ होला ।’

Rabin Tamangआफ्नो काममा गइरहेको बेला अर्को कसैलाई गन्तव्यमा छाडिदिन पाउँदा खुशी त लाग्छ नै। त्यसबाट पेट्रोल खर्च पनि उठ्दा आफूलाई पनि फाइदा भएको छ। रविन तामाङ ,बाइकर

राजधानीको अस्तव्यस्त सवारी प्रणालीमा अभ्यस्त उपत्यकाका आमनागरिकका लागि यस्ता प्रसंग चाखलाग्दा र रोमाञ्चक छन् । कतिले त प्रश्न गर्छन्, ‘यस्तो पनि छ र ?’ ‘टुटल’ नामक एप्स परीक्षण गरिरहेका युवाले पछिल्लो समय राजधानीमा यस्तै चाखलाग्दा कथा निर्माण गरिरहेका छन् । यस्ता कथाका परिकल्पनाकार हुन् शिक्षित भट्ट, जो ‘टुटल’ एप्स सञ्चालन गर्ने ‘टेक्नोलोजी कम्पनी’ ‘थ्री सिक्स्टी’का ‘को–फाउन्डर’ हुन् । इन्जिनियरिङको अध्ययन सकेर पहिले युनाइटेड टेलिकम र पछि बैंकमा काम गरिसकेपछि उनलाई जागिरे जीवनदेखि वाक्क लाग्यो ।

उनी त्यस्तो काम गर्न चाहन्थे, जसमा आफ्नो मन र मस्तिष्क दुवै सक्रिय रहोस्, रमाओस् । त्यसैले उनले स्वतन्त्र जीवन चुने । स्वतन्त्र जीवनमा उनी व्यवसाय गर्न चाहन्थे तर त्यो परम्परागत व्यवसायको तौर–तरिकाभन्दा फरक होस् भन्ने मान्यता थियो उनको । त्यसै क्रममा उनको ध्यान पछाडिको सिट खाली राखेर दौडिरहेका मोटरसाइकलले खिच्यो । के यसलाई उपयोग गर्न सकिँदैन ? उनको मनमा प्रश्न जन्मियो ।

त्यही उत्तरको खोजी हो, ‘टुटल’ । उत्तरको खोजी गर्ने क्रममा उनले विदेशमा भइरहेको अभ्यास अध्ययन गरे । विभिन्न देशमा कार चलाउनेहरूले खाली सिटलाई आफू गइरहेको गन्तव्यकै क्षेत्रमा पुग्न चाहने व्यक्तिलाई पुर्‍याउने गरेको पाए । भारतमै पनि ‘उवर’ एप्सको प्रयोग गरेर त्यस्तो गरिएको उनले पाए । त्यस्तो प्रचलनमा आफूसँग उपलब्ध साधनको प्रयोग गर्दा अर्कोलाई पनि सुविधा पुगोस् भन्ने सुन्दर सोच भेटे उनले ।

tools_1

त्यसलाई नेपाली सन्दर्भमा मोटरसाइकलमा प्रयोग गर्न सकिने निर्णयमा पुगे उनी । त्यसका लागि प्रविधिको साथ अनिवार्य थियो । त्यही प्रविधिको तयारीमा जुटिरहेको बेला नेपालमा नाकाबन्दी भयो । त्यसबेला मोटरसाइकल चलाउनेहरूले धेरैलाई ‘लिफ्ट’ दिएको उनले देखे । नेपाली समाजको सहयोगी भावनाले उनको सोचमा अझ बल प्रदान गर्‍यो । त्यसपछि उनले अंग्रेजीमा हर्न, ट्रम्पेट वा यस्तै साधनको आवाज वा फुर्सदमय यात्रा अर्थ दिने अंग्रेजी शब्द ‘टुटल’ प्रयोग गरेर मोटरसाइकलको पछाडिको सिटलाई उपयोग गर्ने एप्सको विकास गरे ।

परिक्षण अवधिमै
त्यसको परीक्षण हुन थालेको एक महिनाभन्दा बढी भइसकेको छ । ‘यस अवधिमा हामीसँग रजिस्टर भएका बाइकको संख्या ६ सय पुग्न लागेको छ,’ थ्री सिक्स्टीको कार्यालयमा उनले बताए, ‘अहिले हामी परीक्षणकै अवधिमा छौँ । अफिसियल लन्च भइसकेको छैन । त्यसैले माउथ पब्लिसिटी मात्रै गरिरहेका छौँ ।’  यो सेवा प्रयोग गर्नका लागि स्मार्ट फोनमा ‘टुटल’ एप्स डाउनलोड गर्नुपर्छ ।

jeevan-mahatकहिलेकाहीँ हतारमा भइन्छ। आफू बसेकै ठाउँमा सार्वजनिक सवारी पाइँदैन। जामले तनाव उत्तिाकै हुन्छ। त्यस्तो बेला टुटल राम्रो विकल्प भएको छ। जीवन महत, इन्जिनियर

त्यसमा आफ्नो मोबाइल नम्बरलाई युजरनेम बनाएर खाता खोलिसकेपछि चाहेको स्थानमा ‘टुटल’मा रजिस्टर भएका बाइकको सेवा लिन सकिन्छ । ‘अहिले यो सेवा उपत्यकामा मात्रै उपलब्ध छ । बिहान आठदेखि सा“झ आठ बजेसम्म सेवा लिन सकिन्छ । माग र उपयोगिता हेरेर पछि स्थान र समय विस्तार गर्दै जानेछौँ’, भट्ट भन्छन् । एप्समा आफू रहेको र पुग्ने ठाउँ उल्लेख गरेर ‘बुक’ गरेको छोटो समयमै त्यस स्थानमा उपलब्ध ‘टुटल पार्टनर’ले सम्पर्क गर्छन् । यस्तै, आफूलाई कति समयपछि सेवा चाहिएको हो, ‘बुक’ गर्ने क्रममा त्यो पनि उल्लेख गर्न सकिन्छ ।

एप्समा पुग्ने स्थानसम्मको दूरी, त्यसका लागि लाग्ने रकम पनि उल्लेख हुन्छ । बुक गरिसकेपछि आफूलाई लिन आइरहेको बाइकबारे एप्समै जानकारी लिन सकिन्छ । एप्स अनुसन्धान र विकासमा लागिपरेका इन्जिनियर आयुष सुवेदी भन्छन्, ‘आफूले दिएको लोकेसनमा आइरहेको बाइक एप्सको नक्सामा देखिन्छ । यदि उसले बाटो भुलेमा फोन गरेर सचेत गराउन पनि सकिन्छ ।’

सुरक्षालाई ध्यानमा दिएर एप्समार्फत् नै आफू गइरहेको रूटबारे साथी वा परिवारलाई जानकारी गराउन मिल्ने फिचर पनि थप्न लागिएको उनले जानकारी दिए । त्यसैगरी, महिलाले महिला नै र पुरुषले पुरुष नै मोटरसाइकल चालक छनोट गर्न पाउने सुविधा थपिँदैछ । मोटरसाइकलको सेवा उपयोग गरेपछि तिर्नुपर्ने रकमबारे कुरै गर्नुपर्दैन, न त हाताहाती दिनु नै पर्छ ।

tootle-today1

‘अहिले परीक्षण अवधिमा हामीले हरेकको खातामा पाँच सय रूपैयाँ जम्मा गरिदिन्छौँ । त्यो रकम सकिएपछि ई–सेवामार्फत् पैसा जम्मा गर्नुपर्नेछ,’ भट्ट भन्छन् । ‘टुटल’ उपयोग गर्दाको भाडादरलाई सकेसम्म उचित बनाउने प्रयत्न गरिएको उनको भनाइ छ । अहिले पहिलो तीन किलोमिटरसम्मको यात्राका लागि ५० र थप हरेक किलोमिटरको १२ रूपैयाँका दरले भाडा लाग्छ ।

‘अहिले सार्वजनिक यातायातभन्दा केही बढी तर ट्याक्सीभन्दा निकै सस्तो भाडादर बनाएका छौँ । पछि सेवाग्राही र सेवादायकको अनुभवका आधारमा यसमा हेरफेर गर्न सकिनेछ,’ उनी भन्छन् । २० प्रतिशत कमिसन र अन्य कर कटाएर सेवादायकलाई सेवाग्राहीले दिएको रकमबाट भुक्तानी गरिन्छ । ‘अहिलेचाहिँ हामी आफैँले पैसा हालिदिएका छौँ ।

संस्कार निर्माण गर्न र सेवाको उपयोगिताबारे जानकारी गराउन हामीले यो लगानी गरेका हौैँ,’ उनी बताउँछन् । आफू पुगिरहेको स्थानमा कोही जाँदैछ भने पुर्‍याइदिने सेवा दिन चाहने मोटरसाइकलधनीले भने ‘टुटल पार्टनर’ एप्स डाउनलोड गरेर खाता खोल्न सक्छन् । खाता खोल्दा सवारी लाइसेन्स नम्बर र त्यसको तस्बिर अपलोड गर्नुपर्छ ।

‘हामी यसलाई सहज यात्रा गराउने व्यवसायका रूपमा मात्रै लिएका छैनौँ । संस्कारका रूपमा विकास गर्न चाहन्छौँ । हामी एक्लै कतै गइरहेका छौँ भने त्यतै जाँदै गरेको अर्को व्यक्तिलाई पनि पुर्‍याइदिने संस्कार,’ भट्ट भन्छन्, ‘त्यसैले हामीले बाइकर र राइडरको सम्बन्ध यात्रु र ड्राइभरको होइन, साथीको जस्तो होस् भन्नेमा जोड दिइरहेका छौँ ।’

 

Sixit-Bhattaहामी एक्लै कतै गइरहेका छौँ भने त्यतै जाँदै गरेको अर्को व्यक्तीलाई पनि पुर्‍याइदिने संस्कार संस्थागत गर्न खोजेका हौं। त्यसैले हामीले बाइकर र राइडरको सम्बन्ध यात्रु र ड्राइभरको होइन, साथीको जस्तो होस् भन्नेमा जोड दिन्छौं। शिक्षित भट्ट, को–फाउन्डर, थ्री–सिक्स्टी

आफूहरू यातायात कम्पनी नभई ‘टेक्नोलोजी कम्पनी’ भएकाले त्यस्तो संस्कार निर्माण गर्ने माध्यमको भूमिका खेल्नु ‘टुटल’को पहिलो काम भएको उनी बताउँछन् । त्यसैले, मोटरसाइकल प्रयोग गर्नेहरूलाई स्वतन्त्र रूपले सेवा दिने कार्यमा सहभागी हुन ‘टुटल’ले प्रोत्साहित गरिरहेको उनी बताउँछन् । जसले आफू गइरहेको रूटमा रहेका व्यक्तिलाई सँगै लिएर जाऊन्, त्यसवापत आम्दानी पनि गरून् ।

पेट्रोल खर्च उठ्ने
दिनमा नौ जनासम्मलाई गन्तव्यमा छाडिदिएको अनुभव सम्हालेका ‘बाइकर’ तामाङ यसले आफूलाई पेट्रोल खर्च उठाइदिएको बताउँछन् । यस्तै, छिटो र सजिलै गन्तव्यमा पुगेपछि सेवाग्राहीले दिने धन्यवादले पनि उनलाई खुशी बनाउँछ । उनले एक महिनाको अवधिमा थुप्रै विदेशीलाई पनि यात्रा गराए । ‘विदेशमा यसरी कारमा यात्रा गर्ने प्रचलन पुरानो भइसकेको रहेछ । त्यसैले उनीहरू नेपालमा पनि त्यस्तै खोज्दारहेछन्,’ उनी भन्छन् । आफ्नो सवारीसाधन नभएका व्यक्तिलाई ‘टुटल’को यो सेवाले निकै सहज बनाइदिएको महत बताउँछन् ।

राजधानीको अव्यवस्थित यात्रा भोग्नेहरूलाई टुटल सहज र रोमाञ्चक विकल्प बन्न सक्छ।

‘कहिलेकाहीँ हतारमा भइन्छ । आफू बसेकै ठाउँमा सार्वजनिक सवारी पाइँदैन । पाए पनि जामले तनाव उत्तिकै हुन्छ । त्यस्तो बेला यो राम्रो विकल्प हो,’ उनी भन्छन् । समूह वा परिवार हुँदा ट्याक्सीको प्रयोग उपयुक्त नै भए पनि एक्लो प्रयोजनका लागि ट्याक्सी महँगो हुने उनको अनुभव छ । त्यसमा पनि जामको समस्या सार्वजनिक सवारीकै तहमा ट्याक्सीमा पनि भोग्नुपर्ने हुँदा मोटरसाइकलको यात्रा लाभदायी हुने गरेको उनी बताउँछन् ।

 



 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100