MENU

नेपाली समाजमा योनीका कथा !

635x90

कला अनुरागी /अन्नपूर्ण टुडे मंगलवार, फागुन २४, २०७३ 54641 पटक पढिएको

Share This

‘दी भजाइना मोनोलग्स’, न्युयोर्कको काँठमा जन्मिएकी इभ एन्सलरले सन् १९९६ मा लेखेको नाटक हो यो । महिला हिंसाविरोधी स्वरलाई योनीका कथाहरूमार्फत् अभिव्यक्त गरिएको नाटकको पहिलो मञ्चन गर्दा टिकट बिक्री कक्षमा पुरुषहरूले सोधेका थिए, ‘दी भजाइना डाइलग्सको टिकट दिनुस् न ?’ महिलाहरूले सोधेका थिए, ‘दी मोनोलग्सको टिकट दिनुस् न ?’ कतिले त उच्चारण गर्न हिच्किचाएर नाटकको नाम नै फेरिदिएका थिए, ‘दी भियाग्रा क्रोनिकल्स ।’ एन्सलरले नाटकको स्क्रिप्टमै यो प्रसंग थपेकी छन् ।

दशकौंअघि खुला समाजको परिचय पाइसकेको न्यूयोर्कमा त एन्सलरले त्यस्तो समस्या झेलेकी थिइन् भने नेपालजस्तो ‘बन्द समाज’मा नाटकको नेपाली संस्करण मञ्चनको सोच जोखिमपूर्ण साहस थियो । गत वर्ष महिला रंगकर्मीको समूह ‘मडलेनाज नेपाल’ले त्यो जोखिम उठायो । नेपाली रंगमञ्चमा फरक पहिचानको यात्रा थाल्ने अठोट बोकेका आकांक्षा र गुञ्जन कार्कीले नाटकको निर्देशन गरे र त्यसको अगुवाइ पनि ।

नाटक ‘योनीका कथाहरू’ नाममा मण्डला थिएटरमा तीन दिन मञ्चन भयो । यौन र यौनांगबारे खुलेर कुरा गर्न असहज वातावरणमा नाटक मञ्चन हुँदा लेखक अर्चना थापाले कलाकारहरूलाई भनेकी थिइन्, ‘तपाईंहरूले जादूमयी काम गर्नुभयो ।’‘योनीका कथाहरू’मा योनी, यसको आकार, स्वरूप र स्वभावको काव्यिक तथा प्रतिकात्मक वर्णन छ । त्यसो गर्न ‘हाइपोथेटिक फ्यान्टासी’ प्रयोग गरिएको छ ।

नाटकमा प्रश्नहरू छन्, ‘योनीले लगाउन पायो भने के लगाउला ?’, ‘योनीले बोल्न पायो भने के भन्ला ?’ आदि । उत्तरहरू उत्तेजक र रमाइला हुने नै भए । तर, नाटकले उठाउन खोजेको मुद्दा भने गम्भीर, संवेदनशील र महत्‍वपूर्ण छ । नाटककार एन्सलर भन्छिन्, ‘महिलामाथि गरिने अधिकांश हिंसा यौनिकतासँग सम्बन्धित छ । यौनिकता योनीसँग सम्बन्धित छ । त्यसैले महिला हिंसा योनीसँग सम्बन्धित छ ।’ उनको आशय हो, त्यसैले नाटक योनीलाई केन्द्रमा राखेर लेखिएको हो ।

गत वर्ष नाटकलाई नेपालीकरण गरेर मञ्चन गर्दा कस्तो प्रतिक्रिया आउने हो भन्नेमा निर्देशक र कलाकार निकै सशंकित देखिएका थिए । उनीहरूका अनुसार नाटकको तयारी गर्दाको प्रतिक्रिया पनि उतिसारो सकारात्मक थिएन । तर, तीनै दिन दर्शक थेगिनसक्नु आए । त्यही उत्साहसहित यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर ८ मार्चमा ‘योनीका कथाहरू’ मञ्चन हुँदैछ ।

नाटककी निर्देशक आकांक्षा कार्की भन्छिन्, ‘गत वर्ष नकारात्मकता र तिरस्कारको बीचबाट हामीले नाटक गरेका थियौँ । तर, दर्शकको साथ र मायाले उत्साहित भयौँ ।’ नाटककार एन्सलरले अमेरिकाका वृद्धा, तन्नेरी, विवाहित, अविवाहित, कलेजका प्राध्यापक, यौनकर्मी र कलाकार गरी दुई सय महिलासँगको अन्तर्वार्तापछि नाटक लेखेकी हुन् । सानै उमेरमा आफ्नै बाबुबाट यौनहिंसाको शिकार भएकी उनले त्यसको असामान्य प्रभावबाट उम्कन कुलतमा फसेर किशोर र यौवनकाल बिताएकी थिइन् ।

अनेक द्वन्द्वबीच उनको वैवाहिक जीवन पनि एक दशकभन्दा लामो टिकेन । जीवनका तिनै संघर्षले उनलाई महिला हिंसाविरुद्ध जुध्न उत्प्रेरित गरेको थियो । उनले सन् १९९८ को भ्यालेन्टाइन डेको अवसर पारेर हिंसा अन्त्यका लागि ‘भी–डे’ अभियान शुरु गरिन् । जसको छेको पारेर संसारका विभिन्न मुलुकमा उनको नाटक ‘दी भजाइना मोनोलग’ मञ्चन हुने गर्छ । करिब चार दर्जन भाषामा रूपान्तरित उनको नाटक डेढ सयभन्दा बढी मुलुकमा देखाइसकिएको छ । नाटकमै उल्लेखित उनको अन्तर्वार्ताकालीन अनुभव भन्छ, ‘पहिले त बोल्न लजाउँथे र हिच्किचाउँथे ।

akanchhaगत वर्ष नकारात्मकता र तिरस्कारको बीचबाट हामीले नाटक गरेका थियौँ। तर, दर्शकको साथ र मायाले उत्साहित भयौँ। यस वर्ष नारी दिवसको सन्दर्भ पारेर नाटक गर्दैछौँ। आकांक्षा कार्की, निर्देशक

बोल्न थालेपछि त उनीहरूलाई रोक्नै सकिँदैनथ्यो । महिलाहरू गोप्य रूपमा योनीका कुरा गर्न खुब रुचाउँछन् । सायद यो विषयमा पहिले कसैले कुरै नगरेर हो कि ?’ योनीवरिपरिका रौं काट्न पतिले बाध्य पारेपछि पत्नीले भोगेका पीडा अभिव्यक्त गर्दै नाटक उपकथाभित्र प्रवेश गर्छ । उनको पतिलाई योनीको रौं मन पर्दैन । तर, रौं काट्दा यौनसम्पर्कका बेला पत्नी असह्य पीडा महशुस गर्छिन् । त्यसैले रौं नकाट्ने निर्णय गर्छिन् । त्यसैलाई निहुँ बनाएर पति परस्त्रीतिर लाग्छ । र, उनीहरूको सम्बन्ध ‘डिभोर्स’तिर मोडिन्छ ।

नाटकको अर्को उपकथामा ७२ वर्षीया वृद्धा आफ्नो कथा सुनाउँछिन् । योनीरस धेरै आउँदा आफूले जीवनभर अपहेलित हुनुपरेको र यौनआनन्दबाट समेत वञ्चित हुनुपरेको उनको ममान्र्त पीडा छ, कथामा । यसरी नै नाटकमा कहिल्यै ‘क्लिटोरिस’ र चरम आनन्दबारे थाहा नपाएकी युवतीको भोगाइ व्यक्त हुन्छ । समाजले गर्ने अवहेलनाका कारण आफूलाई दबाएर राख्नुपर्दा तेस्रोलिंगीले भोग्नुपरेको उकुसमुकुसको पीडा वर्णन छ । योनीको ‘क्लिटोरिस’ काट्ने क्रूर चलनबाट उत्पीडितको कथा होस् या बोस्नियाको शरणार्थी शिविरमा बलात्कृत युवतीको चित्कार, नाटकभित्रका उपकथाले संवेदनाको सागरमा डुबाउँछन् ।

सानै उमेरमा आफ्नै बाबुको साथीबाट बलात्कृत किशोरीको कथाले बर्बरताविरुद्धको आक्रोश उर्लिन्छ । छोटो ‘स्कर्ट’लाई बलात्कारको कारण मान्ने ‘परम्परागत’ सोचमाथि नाटकले गरेको प्रहारले सोच्न बाध्य बनाउँछ । नाटकको अन्तिम घटनामा बच्चा जन्माइरहेकी महिलाको योनी वर्णन छ, जसले हरेक मानिसको जीवन योनीद्वार हुँदै शुरु हुने कुराको पुनर्र्बाेध गराउँछ । नाटक एउटा क्रान्तिको उद्घोष गर्दै सकिन्छ । त्यस्तो क्रान्ति, जसले महिलामाथि हुने हिंसाको अन्त्य गर्नेछ ।

निर्देशकद्वय आकांक्षा कार्की र गुञ्जन दीक्षितको सहकार्यका लागि संस्थागत नाम ‘कथा घेरा’ले यस वर्षको नाटक मञ्चनको अभिभारा लिएको छ । नाटकको स्वरूप गत वर्षकै भए पनि कथावाचनलाई चुस्त पारिएको छ र अधिकांश कलाकार पनि फेरिएका छन् । कार्की र दीक्षितसहित सिर्जना सुब्बा र विजया कार्की मात्रै दोहोरिनेछन् ।

नेपाली रंगमञ्चमा सक्रिय अनुहार लुनिभा तुलाधर, सगुना शाह, केनिपा सिंह र पूजा लामा थपिएका छन् । मिस नेपाल २०१५ की सेकेन्ड रनर–अप मेधा कोइराला पनि यसै नाटकमार्फत् रंगमञ्चमा उत्रिँदैछिन् । बैंगलोरको रंगमञ्च र संगीतमा सक्रिय दिप्ती भास्करको संगीत र अभिनय पनि नाटकमा हुनेछ ।
नाटक लाजिम्पाटस्थित त्रिसारा रेस्टुराँको प्रेक्षालयमा मञ्चन हुनेछ ।

कलाकार सिर्जना सुब्बा भन्छिन्, ‘हामीले यसलाई फरक–फरक वर्गमा लैजानुपर्छ भन्ने ठानेका छौँ । त्यसैले यसपाली रंंगमञ्चका नियमित दर्शकभन्दा फरक दर्शक खोज्दै रेस्टुराँ पुगेका हौँ । रेस्टुराँ संस्कृतिमा रमाउने वर्गलाई पनि हामीले उठाइरहेको विषयमा ध्यानाकर्षण गराउन खोजेका हौँ ।’एक सो मात्रै हुने नाटकको टिकटबाट उठेको रकम दर्शककै कथा सुनेर त्यसलाई नाटकमा उतार्ने शैली ‘प्लेब्याक थिएटर’का लागि खर्च गर्ने योजना ‘कथा घेरा’ले बनाएको छ ।

दीक्षित भन्छिन्, ‘प्लेब्याक थिएटर कसैको प्रभावमा नपरी नागरिककै लागि गरिनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसलाई सघाओस् भनेर हामीले नाटक मञ्चनको उद्देश्यमा ‘फन्ड रेइज’ पनि जोडेका हौँ ।’ तर, त्यो मात्रै मञ्चनको उद्देश्य नभएको उनको भनाइ छ । महिला दिवसका दिन हिंसाविरुद्धको आवाज बुलन्द पार्नु अर्को उद्देश्यका रूपमा अथ्र्याउँछिन् ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100