MENU

नृत्यमा नलिनी लगाव

अन्नपूर्ण आइतवार, बैशाख १७, २०७४ 2244 पटक पढिएको

Share This

नेपाली भाषा र संस्कृतिमा धेरै नै रुचि राख्ने र नेपाली कलामै आफूलाई स्थापित गर्न चाहने एक बालकलाकार हुन् नलिनी लोहनी । उनी नेपालमा जन्मेकी त होइनन् तर नेपाली भने पक्कै हुन्

।अस्ट्रेलियाको सिड्नीमा जन्मेकी उनी नौ वर्षकी भइन् । तर अस्ट्रेलियाको विभिन्न कार्यक्रममा आफ्नो प्रतिभा देखाएर उनले त्यहाँ आफूलाई स्थापित गरिसकेकी छन् ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए)ले आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट नाइटमा उनी ट्यालेन्ट अफ द सो भइन् । उनी पढ्ने विद्यालय तथा विभिन्न कार्यक्रममा नेपाली नृत्य गरेर उनले अस्ट्रेलियावासीलाई मन्त्रमुग्ध पार्दै आएकी छन् । पिता उदय लोहनी तथा नेपाल टेलिभिजनकी पूर्व कार्यक्रम निर्माता नीता केसी लोहनीकी जेठी छोरी उनले चार वर्षको उमेरदेखि नृत्य गर्न थालेकी हुन् ।

यस क्षेत्रमा मातापिताको सहयोगले सधैं अगाडि बढ्दै जाने उनले विश्वास लिएकी छन् । सबै प्रकारका नेपाली सांस्कृतिक नृत्य मन पराउने नलिनीलाई भारतीय नृत्य पनि असाध्यै मन पर्छ ।

उनी हाल सिड्नीस्थित हर्नसी हाइट पब्लिक स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । उनको पढाइ पनि राम्रो छ । पढाइ बाहेक अतिरिक्त क्रियाकलापमा पनि उनको रुचि छ । नेपाली गीत लेख्न र गाउन उनलाई मन पर्छ ।

त्यहाँको नेपाली समुदायले चलाएको शब्दमाला नेपाली भाषा विद्यालयमा प्रत्येक आइतबार उनले नेपाली भाषा सिक्ने गरेकी छन् । हाल केही सरल वाक्यमात्रै सिकाइएकाले उनले केही वाक्यमात्रै लेख्न सिकेकी छन् ।

 

पौडी खेलमा उनको रुचि छ । नेपालीको धेरै सांस्कृतिक कार्यक्रम भइरहने हुनाले उनलाई नै बोलाइन्छ । अहिले उनलाई नृत्य कसैले सिकाउन पनि पर्दैन । उनी आफैंले युट्युबमा हेरेर नृत्य गर्ने गरेकी छन् ।

उनकी आमा पनि नेपाली स्कुलमा पढाउने र नृत्य पनि सिकाउने हुनाले यसले नलिनीलाई फाइदा पुगेको छ । यहाँसम्म कि अहिले त नलिनी स्वयंले आफूभन्दा सानालाई नेपाली गीतमा नृत्य सिकाउन थालिसकेकी छन् ।


नेपाली चलचित्र र गीतहरू उनलाई असाध्यै मन पर्छ । त्यसैले युट्युबमा नृत्यका भिडियो हेरेर सधैं अभ्यास गरिरहन्छिन् । आफ्नो यही रुचिका कारण भविष्यमा पनि नृत्यलाई अँगाल्ने उनको चाहना छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100