MENU

चमेलीको चेतना

सुदर्शन अधिकारी आइतवार, बैशाख १७, २०७४ 2148 पटक पढिएको

Share This

चमेली सहरमा बस्ने विद्यार्थी हुन् । उनी कक्षा ८ मा अध्ययन गर्ने एक लगनशील विद्यार्थी पनि हुन् । उनको चेतन नामको भाइ छ । नजानेका कुराहरू भाइलाई सिकाइदिने गर्छिन् उनी ।

गाउँमा घर भए पनि बाबाको जागिरको कारण उनी काठमाडौंमा आएर आमाबाबासँग बस्दै अध्ययन गर्दैछिन् । चमेली पढाइमा निकै ध्यान दिने भएकीले उनी कक्षामा प्रथम पनि हुने गर्छिन् । चमेली कक्षामा गुरु, गुरुआमाले पढाउँदा केही कुरा नबुझेमा तुरुन्तै सोधेर स्पष्ट बुझ्ने गर्छिन् । गणित होस् या विज्ञान, हिसाब मिलेन र समस्या पर्‍यो भने गुरु, गुरुआमाको खाली घण्टीमा गएर समस्याको समाधान गर्ने गर्छिन् उनी ।

चमेलीको बोली पनि नम्र र व्यवहार पनि राम्रो भएकाले उनी सबै साथीसँग मिलनसार थिइन् । एक दिन विद्यालय जाँदा भाइले उनलाई चना चटपटे खाने इच्छा सुनाए । चमेलीले सम्झाउँदै भनिन्, ‘बाबु हेर त्यसमा रङ मिसाइएको सस हालेर बनाउँछन् जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । अमिलो पनि राम्रो हुँदैन, खुला स्थानमा राखेको कुरा राम्रो हँदैन । त्यसैले त्यो नखाऔं बरु घरमा हामी आफैं बनाउँला ।'

बेलुका विद्यालयबाट फर्केपछि आमालाई चट्पटेका लागि चना भिजाइदिन अनुरोध गरिन् । आमा चिनिमायाले पनि छोरी चमेलीले भनेझैं चना भिजाइदिइन् । भोलिपल्ट विद्यालयबाट आएपछि दिदीभाइ मिलेर चट्पटे बनाउन थाले ।

चमेलीले मुराई, एउटा कागती दुई ओटा जति आलु उसिनेको तासेर ठीक पारिन् । हरियो खुर्सानी, हरियो धनियाँ पनि आमाले ल्याई दिनुभयो । भिजाएको चना मुराई, आलुको टुक्रा, धनियाँको स-साना टुक्राहरू, खुर्सानीको टुक्रा सबै एउटा गहिरो भाँडामा हालेर कागती पनि निचोरेर उनले हालिन् । यसपछि राम्ररी चम्चाले चलाइन् । घरमा नै तयार भयो चट्पटे ।

अमिलो पिरो पनि ठिक्क भएको स्वादिलो भएछ । भाइ चेतनले पनि मीठो मानेर खाए । आमाले पनि ‘साह्रै मीठो भएछ छोरी' भन्दै खानुभयो । चमेली, चेतन र चिनीमाया तीनैजनाले चट्पटे खाई सिध्याए । भाइ चेतन पनि दंग पर्दै दिदी अब बिदाको दिनमा घाममा बसेर बाबासँगै बसेर मज्जाले चटपटे खाने है त? भन्दै खेल्न गयो ।

समय बित्दै गयो । चमेलीको विद्यालयमा जाडो बिदा भयो । गाउँमा मामाघर भएकोले चमेली मामाघर जान नपाएकी पनि लामो समय भएको थियो । दसंैमा टीका लगाउन जाँदा पनि एकछिनमात्रै बसेर फर्किनु परेको थियो । बिदाका उनले गृहकार्य तीनचार दिनमै सकाइन् । त्यसपछि मामाघर नजिकैको अंकलको साथमा मामाघर गइन् ।

भान्जी आएको देखेर अहो भान्जी नमस्कार नमस्कार भन्दै मामा घरभन्दा परै उनलाई लिन आइपुग्नु भयो । घर पुगेपछि चमेलीले माइजूलाई दर्शन गरे माइजू भन्दै नमस्कार गरिन् । गाउँमा मामामाइजूले भंैसी पनि दुहुनु पालेका थिए । साँझ परिसकेकोले दूध दोएर माइजू भित्र दूध उमाल्दै हुनुहुन्थ्यो । माइजूले ‘भान्जी भोक लाग्यो कि ? ' भन्दै सोध्नुभयो । चमेलीले छैन माइजू भन्दै टाउको हल्लाइन् ।

चमेली आफैंले भित्र गएर पानी पिइन् । त्यसपछि भान्जी नानी दूध खानुहोस् भन्दै स्टिलको गिलासभरि माइजूले दूध ल्याइदिनु भयो । ओहो कति भरि ल्याउनु भएको माइजू भनेर खुसी हुँदै चमेलीले विस्तारै दूध पिउन थालिन् । ‘सहरमा त किनेको दूध स्वाद नै नहुने यहाँको त कत्ति स्वादिलो हुने है माइजू ? ' भन्दै प्रश्न गरिन् । जवाफमा माइजूले भन्नुभयो, ‘हो त भान्जी यहाँको आफ्नै घरको भैसीको पानी नहाली दोएको सक्कली दूध अनि त मीठो भइहाल्छ नि !' चमेलीले आफ्नो बाबाआमाको सञ्चो बिसञ्चोका खबर अनि पढाइका कुरा माइजूलाई सुनाइन् । खाना खाई सामान्य गफगाफ गरी सबैजना सुते ।

 

भोलिपल्ट बिहानै उठेर चमेलीले ट्वाइलेट गई हात मुख धुने र दाँत माझ्ने काम गरिन् । भान्छा नगिचै पुगेर माइजू चिया खाने बेला भएन भनेर सोधिन् । जवाफमा माइजूले ‘हामी त चियाको सट्टा दूध नै खान्छौं भान्जी' भन्दै कुँडेबाट तात्तातो दूध पिउन दिनुभयो । माइजू भने खाना बनाउने तयारीमा लाग्नुभयो । दाल बसाल्नुभयो । त्यसपछि साग काट्न थाल्नुभयो ।

साग काटी सकेर माइजूले त्यसलाई पखाल्न थाल्नुभयो । सागलाई माइजूले मज्जाले मिचेर पखाल्नु भयो जसबाट हरियो पानी जान थाल्यो । त्यो सबै हेरिरहेकी चमेलीले आश्चर्य मान्दै भनिन्,‘ ओहो माइजू सागलाई त्यसरी पखाल्नु हुँदैन, हलुका तरिकाले सागमा भएका माटो बालुवाका टुक्राहरू जाने गरी विस्तारै नमिची पखाल्नु पर्छ । त्यसरी हरियो पानी जाने गरी पखाल्यो भने त हामीलाई चाहिने भिटामिन सबै खेर गइहाल्छ नि !' आफूलाई यसबारेमा थाहा नभएकाले अबदेखि भान्जीले सिकाए जसरी नै पखाल्ने बताउँदै माइजू भान्छातिर लाग्नुभयो ।

साग कराईमा ओइरेर माइजू त चामल पखाल्न थाल्नुभयो । फेरि उहाँले चामल पनि बेस्सरी मिचेर सेतो चौलानी पानी पटकपटक फाल्नुभयो । त्यो देखेर चमेलीले भनिन, ‘माइजू हजुरले त चामल पनि पखाल्न जान्नु भएन नि ! त्यसैले धेरै पटक मिचेर चौलानी फालेपछि त चामलमा भएको पौष्टिकतत्व हराइहाल्छ नि । बुझ्नुभयो माइजू, अबदेखि हलुका तरिकाले एकदुई पानी मात्र फालेर भात पकाउने गर्नुपर्छ ।'

माइजू पनि ‘भान्जीले धेरै राम्रो उपयोगी कुरा बताइदिनुभयो । यतिका वर्षसम्म यस्ता कुरा थाहा नपाई बित्यो' भन्दै भान्छामा जानुभयो । एकदुई दिन हुँदै साता दिनसम्म रमाइलो वातावरणमा चमेलीले बिताइन् । चमेलीले जानेका कुरा वरपर छिमेकमा पनि भनिन् जसले गर्दा छिमेकी पनि खुसी भए । सानैदेखि चमेलीमा आएको चेतना र लगनशीलताको सबैले प्रशंसा गरे ।

प्रतिकृया दिनुहोस

Dish latest