MENU

पिँपिँपिँ

टंक चौलागाईं आइतवार, बैशाख २४, २०७४ 3850 पटक पढिएको

Share This

अभि बाइकमा पछाडि बसेका थिए, आफूलाई मनपर्ने गीत गाउँदै । हरेक दिन बाइकमा बसेर घर फर्किंदा उनी कि त गीत गाउँथे, कि त कथा सुनाउँथे । त्यसो गर्नुको कारण चाहिँ घर पुग्ने बेलासम्म निदाइएला भनेर हो । विद्यालय बिदा भएको हुनाले उनी बुवासँग घुमेर घर फर्किंदै थिए । ‘काठमाडौं महानगरपालिकामा वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिएको छ' अभिले बाटोमा टाँसिएको सूचना ठूलो स्वरले पढे । ठूलो स्वरले पढ्नुको उद्देश्य बुवालाई सुनाउनु थियो । तर बुवाले पहिल्यै थाहा पाइसक्नुभएको थियो ।
‘बाबा, १ गतेदेखि हर्न बजाउन पाइँदैन रे ।'
‘थाहा छ ।'
‘अनि कसरी चलाउनु त हर्न नबजाई । ठोक्कियो भने ? मान्छेलाई किच्यो भने ? '
‘मैले अहिले बजाएको छु त ? '
‘हजुर ? ' पछाडिबाट ठुलो गाडीले हर्न बजाएको हुनाले बुवाले बोलेको सुनेनन् र अलि अगाडि बुवातिर तन्किएर चिच्याए ।
‘मैले हर्न बजाउने गरेको छु त? ' उनका बुवाले पनि आवाजलाई अलि ठुलो पारे ।
‘तैपनि कहिलेकाहीँ त बजाउनु भएको छ नि ।'
‘अब कहिलेकाहीँ पनि नबजाउने ।'
‘ल, ल । मज्जा आउँछ होला ।' उनीहरूका बावुछोराको कुराकानी एकछिनलाई रोकियो । बाटोमा गुडेका गाडीहरूले हर्न बजाइरहेका थिए । अभिले हर्न बजाउने चालकलाई आफ्नै सुरले गाली गरे । किनभने उनलाई चर्काे हर्न बजाएको मन पर्दैन ।
‘बाबा आजै सबै हर्न बजाएर सक्काइदिउँ ।' एकछिनपछि उनले दिएको सुझाव बुवालाई रमाइलो लाग्यो ।
‘ल हुन्छ । पछि चाहियो भने फेरि हालौंला, हुन्न ? ' उनका बुवा हाँसे ।
अभि सानो हुँदा उनले ‘हर्न सकियो भने कहाँ लगेर हाल्ने होला !' भनेर बुवासँग जिज्ञासा राखेका थिए । त्यो बेला बाइकको हर्न मधुरो बजेको थियो ।
निकै बेरसम्म उनले हर्नसम्बन्धी कुरा गरिरहे । ‘अब साउन्ड पलुसन हुँदैन हैन त बाबा !' अभिले सोधेका हैनन् सुनाएका हुन् । उनले वायु प्रदूषण, ध्वनि प्रदूषण, पानी प्रदूषणसम्बन्धी पाठहरू विद्यालयमै पढिसकेका थिए ।
हर्नको कुरा गर्दा गर्दै उनीहरू घर पुगे । ‘मानिस बाटोमै हिँडिरहेका हुन्छन् । हर्न नबजाई बाटोमै हिँडेका मानिसले कसरी बाइक आयो भनेर थाहा पाउँछन् !' अभिले घरमा निकै बेर सोचिरहे ।
हो, साँच्चै बाटोमा हर्नहरू कम बजेका थिए । कसैले झुक्किएर बजाएमात्रै हो । उकालो बाटोमा जाम थियो । सबै गाडीहरू विस्तारै अघि बढिरहेका थिए । देब्रेपट्टिबाट एउटा भ्यान अगाडि बढिरहेको थियो, बिस्तारै बिस्तारै । उक्त भ्यानको चालकले अभिको बुवालाई पाखुरामा समाएर रोके । अनि आफू अगाडि बढे । अभिका बुवा मज्जाले हाँसे । कुरा बुझेर अभि पनि हाँस्न थाले । ‘हर्न बजाउनु हुन्न भनेर हातले तानेको हो बाबा ? '
‘होला', दुवैजना मज्जाले हाँस्न थाले ।
‘पिँ पिँ ।' भीडभाड थियो । मानिस बाटैमा हिँडेका थिए । पछाडि कसैले हर्न बजाएको जस्तो लाग्यो । उनका बाबाको ध्यान पछाडितिर तानियो । फेरि शान्त भयो ।
अलि अगाडि पुगेपछि फेरि हर्न बज्यो । ‘पिँ पिँ, पिँ पिँ पिँ ।' पछाडि फेरि कसैले हर्न बजायो । अभिका बुवाले ध्यानपुर्वक सुने । फेरि एकछिनमै शान्त भयो ।
उनीहरूको बाइक चोकमा पुग्यो । ‘पिँ पिँ । पिँ पिँ पिँ ।' फेरि पछाडि हर्न बज्यो । उनका बुवा अचम्ममा परे । चोकमा बसेको पुलिसले उनीहरूलाई रोक्यो ।
‘हर्न किन बजाउनु भएको ? हर्न बजाउन पाइँदैन भनेको थाहा छैन ? ' पुलिस अंकलले केरकार थाले ।
‘सर मैले हर्न बजाएकै छैन ।' उनको बुवाले जवाफ दिए । अभि डराए ।
‘पछाडि कुनै गाडी छैनन् । तपाईंकैबाट हर्न बजेको छ । आज सचेतमात्रै गराएको हो, भोलिदेखि कारबाहीमै पर्नुहुन्छ', पुलिस अंकलले अलि चर्काे स्वरमा भने ।
‘अंकल, मुखले पनि हर्न बजाउन पाइँदैन ? ' अभिले डराउँदै डराउँदै सोधे ।
‘मुखले पनि हर्न बज्छ त कहीँ !', पुलिस अंकल छक्क परे ।
‘बज्छ त । ...पिँ पिँ पिँ ', अभिले आफ्नो मुखबाट हर्नको जस्तै आवाज निकाले । पुलिस अंकल हाँसे । छोराको मुखबाट हर्नको आवाज सुनेर उनका बुवा पनि रिसाएनन् ।
‘अंकल मानिसले बाटो छोडेनन् भने मुखले हर्न बजाउँछु है ? ' अभिको प्रश्नमा पुलिस अंकलले केही जवाफ दिएनन् ।
उनीहरू घरतिर लागे । घर पुगिन्जेलसम्म अभिले मुखबाट हर्न बजाइरहे । ‘पिँ पिँ पिँ ।' बाटोमा मानिस अभिलाई हेर्दै हाँसे । उनीहरू पनि हाँस्दै घर पुगे ।
घर पुगेर हजुरआमालाई सबै घट्ना सुनाए । अभिले मुखबाट हर्न बजाएको सुनेर सबैजना मज्जाले हाँसे ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100