MENU

युगकवि सिद्धिचरणको साहित्यचेतना

डिल्लीराम मिश्र शनिवार, जेठ ६, २०७४ 1340 पटक पढिएको

Share This

सन्दर्भ : युगकविको जन्मजयन्ती


क्रान्तिबिना लौ कसले देख्यो, शान्तिपुरीको घरबार
क्रान्ति उज्यालो चाहिन्छ, यहाँ नेपाली यी सुकुमार ।
युगकवि सिद्धिचरण श्रेष्ठ
नेपाली साहित्यमा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट स्थान छ । नेपाली साहित्यजगत्का सुविख्यात कविहरूमध्ये सिद्धिचरण एक हुन् । उनको कविताशिल्पको अन्तिम खोज मानव हो । उनका कवितामा विश्वको व्यथा छ, निजी मर्मस्पर्शिता छ, समाज सुधार्ने सामथ्र्य छ । उनका कवितामा देशप्रेम भरिएको छ । कवितामा जति प्रकृतिको उपासना र आराधना पाइन्छ, त्यति नै राजनीतिक चेतना र वेदनाको सहज धारा-प्रवाह जीवन्त छ । उनको कवितामा विरोधाभाष छैन सामाञ्जस्य छ । प्रकृतिको अत्यन्त सरल चित्रण गर्नु तथा समाजलाई उठ्ने चेतना दिनु उनको लेखनको वैशिष्ट्य हो।

नेपाली साहित्य समाजमा जनचेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी तथा युगकविका रूपमा अमर अजर छन् । नेपाली काव्यसाधनामा नवीन आयाम र चमत्कारी शैली शिल्पका धरोहर युगकविको योगदान उनका समकालीनहरूभन्दा धेरै पृथक् छ । मानव मात्राका लागि बन्दनीय व्यक्तित्व सिद्धिचरणले आधुनिक नेपाली भाषासाहित्यको प्रवद्र्धनमा ऐतिहासिक योगदान पुर्‍याएका छन् ।

त्यसैले कवितात्मक शैलीमा युगकवि सिद्धिचरण युगको आवश्यकता थिए । नेपाली साहित्यमा नयाँ चेतनाको गन्तव्य देखाउने सिद्धिचरण जस्ले आफ्नो सर्वश्व त्यागे, तर साहित्य त्याग गर्न सकेनन् । उनको अत्यन्तै लोकप्रिय र कर्णप्रिय गीतिकविता मेरो प्यारो ओखलढुंगा कालजयी सिर्जना हो । नेपाली शोककाव्य जगतमा कविवर माधवप्रसाद घिमिरेको कालजयी सिर्जना गौरीको जुन स्थान छ, स्थान परिचय र देशभक्तिको भावनामा युगकवि सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा सिर्जनाको त्यही स्थान छ । नेपाली राष्ट्रप्रेमप्रति मार्मिक चेतना-प्रवाह रहेको उनको एउटा कवितांश -
क्यारुँ म यो देश निमित्त क्यारुँ
नाचु कि गाउँ कि गला मिलाऊँ !
सहर्ष काटी शिरमै चढाऊँ
यो श्वास जम्मै यसमै मिलाऊँ !
वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगा जिल्लामा जन्मेका सिद्धिचरणले संवत् १९९० सालमा भुइँचालो कविता लेखनबाट आफ्नो साहित्यिकयात्रा आरम्भ गरेका हुन् । राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्न उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा राम्रो सन्देश-प्रवाह गरेको छ । उनका कवितामा एकातर्फ प्रकृतिप्रेम र मानवीय वेदना प्रतिविम्बित छ भने अर्कोतर्फ समाज सुधारको पक्ष पनि दह्रो छ । सफल प्रकृति चित्रण र समाजलाई युगबोध चेतनातर्फ अभिप्रेरित गर्नु कविको वैशिष्ट्य कर्म हो । मुलुकभित्र र बाहिरसमेत तत्कालीन नेपाली समाजमा जनचेतना र जागरण अभिवृद्धि गर्ने अन्य कार्यमा संलग्नहरूले जस्तै देशका सबै साहित्यिकहरूले पनि गहन भूमिका खेलेका थिए । तत्कालीन राजनीति र साहित्यिक जगतमा विद्रोह र क्रान्तिको शंखघोष गर्ने प्रातः स्मरणीय विशिष्ट प्रतिभा युगकविले कविताको माध्यमद्वारा युगचेतना र जागरणको आन्दोलन आरम्भ गरेका हुन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहलाई गणेशमान बनाउन सिद्धिचरणको स्तुत्य भूमिका रहेको तथ्य स्वयं सिंहले स्वीकार गरेका छन् ।

नेपाली साहित्यको समालोचना विधामा अधिकतम् सन्तुलित, स्पष्ट र दिशानिर्देश दृष्टिकोण क्षमता राख्न सक्ने प्रखर समालोचक यदुनाथ खनालले युगकवि सिद्धिचरणको काव्यकारितालाई लिएर लेखेका छन्- उनका कविताहरूमा विशेष गरेर मेरो प्रतिविम्ब भन्ने संग्रह र लामो उर्वशी खण्डकाव्य दोहर्‍याइ-दोहर्‍याइ पढे र रत्नध्वज जोशी र विजयबहादुर मल्ललगायतले उनको विषयमा लेखेका आलोचनात्मक लेखहरू पनि पढेँ, तर मलाई लाग्छ कि उनलाई मैले अझ बुझ्न सकेको छैन् । उनी सधैं केही अलग र दूर रहेका जस्ता छन् । सिद्धिचरणप्रति यदुनाथ खनालद्वारा गरिएको यो समालोचकीय मूल्यांकन पनि हो । नेपाली साहित्यका विशिष्ट प्रतिभा समजस्तै सिद्धिचरण पनि एक उत्कृष्ट मानवतावादी कवि हुन् र उनको कविताको अन्तिम खोज मानव नै हो ।

सिद्धिचरणको साहित्यिक पेरिफेरिमा घुलमेल हुने संवाहकलाई लिएर यदुनाथ पुनः लेख्छन्- उनको जीवनव्यापी कविताको उपासना छर्लंगिने इमानदारी, प्रतीकको अपरिचितता र अर्थको क्लिष्टतासँगको अधैर्य जीवनको बाजीमा पस्ने व्यक्तित्व, सुधारतर्फ प्रवृत्ति, स्वतन्त्रताप्रति गम्भीर संलग्नता, यी सबै गुणहरूले गर्दा उनको कविताले नेपाली कविताका सबै प्रेमीहरूलाई चिरकालसम्म मुग्ध गर्न सक्तछ । उनी आपूmले जानेको भोगेको र अनुभव गरेको विषयमा जुन तीव्र विश्वासका साथ लेख्छन्, त्यसलाई विरलैले उछिन्न सक्छन् । उनको विषय आफैं नै हो, उनको अनुभव विशिष्ट पनि छ, मूल्यावान् पनि छ, जसले गर्दा हामी उनको कवितातिर ढल्कन्छौं । उनको कवितामा सार्वजनीनता छ । मानिसले जाग्नु पर्दछ र दुःख अनुभव गर्नु पर्दछ, यो उनको कविताको सन्देश हो ।

नेपाली साहित्यमा महाकवि देवकोटाजस्तै स्वच्छन्दतावादी कवि सिद्धिचरणले नेपाली र नेवारी भाषामा क्रान्तिकारी कवितालेखन अन्तर्गत क्रान्ति शब्दको प्रयोग गरेबापत उनलाई वि.सं. १९९६ सालमा १८ वर्ष कैद सजाय र सर्वस्वहरणको घोषणा गरिएको थियो । त्यस्तै १९९५ साल माघमा वर्षा शीर्षकको कविता लेखेबापत सर्वस्वहरणसहीत २० वर्ष कैद सजाय तोकी उनलाई जेल पठाका थिए, तर उनी २००२ सालमा जेलमुक्त भए । राणा शासनको दमन र अत्याचारको विरोध गर्नेमध्येका एक सिद्धिचरणले ६ दशकसम्म नेपाली कविता र काव्यशिल्पद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउन विशिष्ट योगदान पुर्‍याए । यस क्षेत्रमा विशिष्ट योगदान गरेका युगकविले नेपाली र नेवारी भाषामा झन्डै दुई दर्जन कृतिहरू साहित्य भण्डारलाई अर्पण गरेका छन् । झन्डै सात दशकको सक्रिय जीवनकालमा भाषासाहित्य, कलासंस्कृति, सामाजिक एवं राजनीतिक चेतनाका संवाहक रहँदै ८० वर्षको दीर्घायु जीवन भोग गरेर २०४९ जेठ २२ गते जन्मेकै महिनामा शिक्षण अस्पताल महाराजगन्जमा उनको देहवसान भयो ।

नेपाली साहित्यमा एउटा युगको प्रतिनिधित्व गर्दै काव्यसिर्जनाद्वारा राष्ट्रोत्थानमा योगदान पुर्‍याएका युगकवि सिद्धिचरणको यावत् योगदानलाई समाजसामु जीवन्त राख्न २०४५ सालमा युगकवि सिद्धिचरण प्रतिष्ठानको स्थापना गरेको हो । यस प्रतिष्ठानद्वारा सुरुमा सिद्धिचरण युवा काव्य पुरस्कार र पछि युगकवि सिद्धिचरण पुरस्कार २०४५ सालदेखि प्रदान गरिँदै आएको छ । प्रतिवर्ष उनको जन्मदिनमा समर्पण गरिँदै आएको यस पुरस्कारबाट २०४५-२०७४ सम्म नेपाली भाषासाहित्य, गीतसंगीत र कलासंस्कृति क्षेत्रका २८ जना विशिष्ट प्रतिभाहरू पुरस्कृत भइसकेका छन् । यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार नेपाली कविता तथा लोक साहित्यका क्षेत्रमा योगदान पुर्‍याएबापत वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसलाई समर्पण गरिने भएको छ । पुरस्कार राशिमा एक लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ । यसै प्रतिष्ठानद्वारा २०७० सालदेखि प्रदान गरिँदै आएको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार नरेशवीर शाक्यलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु. २५ हजारसहित सम्मानपत्र रहेको छ । यी दुवै पुरस्कार कविको जन्मदिन जेठ ९ गते समर्पण गरिने भएको छ।

तथापि आफ्ना पिताको स्मृतिस्वरूप आफ्नै परिवारजनको सक्रियतामा पुरस्कार राख्ने प्रकृति र संस्कृतिले बाबुको सम्झना एवं सम्मानका अतिरिक्त यस्ता सुकार्यबाट समाजमा रचनात्मक प्रभाव समेत पर्दछ । साथै यो परम्परा हाम्रा अग्रजहरूप्रतिको सम्झाना र सम्मान पनि हो । युगकवि सिद्धिचरण पुरस्कार आजको यो अवस्थामा आइपुग्न उनका सुपुत्र रविचरण श्रेष्ठको योगदान र सहभागिता सराह्रनीय रहेको छ । समाजसेवी एवं साहित्यसेवी रविचरण श्रेष्ठ युगकवि सिद्धिचरण प्रतिष्ठानका प्रमुख संरक्षक हुन् । यस प्रतिष्ठानलाई कार्यान्वयन र जीवन्त राख्न उनको महत्ववपूर्ण योगदान रहेको छ ।

प्रतिकृया दिनुहोस

Dish latest