MENU

तारा

अमृता स्मृति शनिवार, जेठ ६, २०७४ 1748 पटक पढिएको

Share This

कविता तारा अमृता स्मृति

तारा नउदाएको रातमा सुतिरहेकी मैले
सधैंजसो आफ्ना सपनाहरूमा
लाटोकोसेरोले जीवनको हरियो तार चुँडाएर
पहेँलो तारले अड्डा जमाएको देख्थेँ ।
श्रवण गरिरहन्थेँ
मेरो जीवनका रंगीन पानाहरू चोरेर
रात्रि-चराहरू उडेको
र, भन्न सक्दैनथेँ
मेरो जीवनको सिकारी मै हुँ
र, आहारा पनि मै हुँ भनेर
सोच्थेँ
सपनाको गह्रौं भारी तलतिरै झोलिनेछ
सायद मेरा सपनाहरू स्थगित हुनेछन् ।
महलका बुट्टेदार झ्यालहरूमा
आफ्ना आँखा टाँसेर आएका छैनन् मेरा सपनाहरूले
सायद त्यसैले
मेरो मझेरीमा पनि चम्किलो ताराको उदय भएपछि
मेरो तातेमा तिमीले पनि ताते गरिदिँदा
लाग्छ, सडकै सडक बिस्तारै
हिँडिरहेछन् मेरा सपनाहरू
अचेल
कविताका प्रत्येक हरफहरूमा
तिमीले बिम्बको रूप लिएर प्रवेश गरेदेखि
कविता, कविता भएजस्तो लाग्छ ।
अनि सपना, विपना भएजस्तो भान हुन्छ ।
जसरी तिमीले मेरो कलमको मसीहरूमा
आफ्ना सपनाहरू देखिरह्यौ
त्यसरी नै तिम्रो आगमनले
समयलाई नै सुसज्जित तुल्याइदिएको यो क्षणमा
मैले पनि मेरो ताराको निमित्त
लैलाको हृदय बोकेर
वसन्तको प्रीत भर्न सकिरहुँ ।

प्रतिकृया दिनुहोस

Dish latest