काठमाडौं : मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वाचन सार्न सत्ता र प्रतिपक्षको शीर्ष तहमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ को स्थानीय तहको दोस्रो निर्वाचन साता-दस दिन सारेर भए पनि राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउने प्रस्ताव राख्नुभएपछि एमाले अध्यक्ष केपी ओलीले मौन समर्थन गर्नुभएको थियो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार राति बसेको बैठकमा स्थानीय तहको निर्वाचन साता-दस दिन सारेर भए पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराउने अनौपचारिक सहमति भएको हो । दाहालले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो निर्वाचन साता-दस दिन सारेरै भए पनि राजपालाई चुनावमा सहभागी गराउने प्रस्ताव राख्दै उक्त विषय संविधान, ऐन, कानुनअनुसार के-कसरी मिलाउने भन्ने विषयमा सोमबार नै कानुन व्यवसायीसँग परामर्श गर्ने बताउनुभएको थियो । यसबारे सोमबार वा मंगलबार फेरि चार दलका शीर्ष नेता बसी औपचारिक निर्णय गर्नेछन् ।
राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले साता-दस दिन चुनाव सारेर भए पनि निर्वाचनको वातावरण गराउन प्रधानमन्त्रीले राखेको प्रस्तावमा अनौपचारिक सहमति भएको जानकारी दिनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘चुनावको वातावरण बनेपछि राजपाले के गर्छ त्यो समयले निर्धारण गर्छ । राजपा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण नभएसम्म निर्वाचनमा जाँदैन ।'
महतोले प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक संकेत दिँदै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले शान्तिपूर्ण, धाँधलीरहित चुनावी वातावरण जेजसो गर्दा हुन्छ, गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिनुभयो । राजपा अध्यक्ष मण्डलका अर्का नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ओलीलाई उद्धृत गर्दै भने, ‘दुई वर्ष मधेस र एमालेबीच कटुता भए पनि स्थानीय चुनावमा राजपासहित सबै एक साथ जान मलाई कुनै आपत्ति छैन । संविधान संशोधन, सीमांकनलगायत विषयमा चुनावपछि निर्णयमा पुगौंला, हामी सहयोग गर्छौ, अहिलेलाई चुनावमा जाने विषयमा मात्र निर्णय गरौं ।'
साता-दस दिन चुनाव सारेर भए पनि निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले राखेको प्रस्तावमा अनौपचारिक सहमति भयो ।राजपा नेता राजेन्द्र महतो
प्रधानमन्त्रीको प्रस्तावप्रति सांकेतिक समर्थन जनाउँदै ओलीले चुनावको वातावरण बनाउन समय ठूलो नभएको धरणा व्यक्त गर्नुभयो ।राजपा नेता शरत्सिंह भण्डारी
निर्वाचन मिति सार्ने प्रधानमन्त्रीको प्रस्ताव राजपालाई निर्वाचन आयोगमा दल दर्ता तथा निर्वाचन चिह्न दिने प्रयोजनका लागि भएको बैठकमा सहभागी एक नेताले बताए । दुई वर्षपछि पहिलो पटक ओलीले संशोधन प्रस्तावमा समेत लचकता देखाउनु दोस्रो चरणको निर्वाचनमा मधेसीको सहानुभूति बटुल्ने प्रयास रहेको ती नेताले जानकारी दिए ।
राजपा अध्यक्ष मण्डलका अर्का नेता अनिलकुमार झाले आन्दोलनका कार्यक्रम तत्काल फिर्ता नहुने बताउनुभयो । ‘हाम्रो आन्दोलन संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र पार्टी दर्ता एवं चुनाव चिह्न नपाएसम्म जारी हुन्छ', उहाँले भन्नुभयो । राजपा अध्यक्ष मण्डलका अर्का नेता शरत्सिहं भण्डारीले प्रधानमन्त्रीको प्रस्तावप्रति सांकेतिक समर्थन जनाउँदै ओलीले चुनावको वातावरण बनाउन समय ठूलो नभएको धरणा व्यक्त गर्नुभएको थियो ।
भण्डारीले संविधान संशोधन, सीमांकनलगायतक विषय अहिले समय नपुग हुने भएकाले छलफल अघि बढाउँदै जान सक्ने जानकारी बैठकलाई दिएको बताउनुभयो ।
प्रमुख चार दलको बैठकमा एमाले नेताले दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विधेयकलाई अघि बढाउन सकिने सकारात्मक धारणा राखेको जानकारी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले दिनुभयो । राष्ट्रिय समस्या सम्बोधन गर्न दलका शीर्ष नेताहरूको बैठक पुनः बस्ने उहाँले जानकारी दिनुभयो ।
नयाँ चुनाव चिह्न कसरी
राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दलीय मान्यता पाएपछि चुनाव चिह्न छाता पाउने स्वाभाविक प्रक्रिया हो । यद्यपि, दोस्रो चरणको चुनावका लागि मतपत्र पहिल्यै छापेर धमाधम जिल्ला पठाउन थालिएको छ । यस्तो अवस्थामा सरकारले पुनः मतपत्रमा छाता चिह्न राख्न फेरि छाप्नुपर्छ ।