MENU

चराहरूको संसार

अनिल नेपाली आइतवार, जेठ २८, २०७४ 1616 पटक पढिएको

Share This

काठमाडौंमै घर भएका बालकृष्ण कक्षा ५ मा पढ्छन् । आफ्नो एकमात्र छोरालाई राम्रो स्कुलमा पढाउन ६ वर्षअघि उनका बुबा नुनप्रसाद पत्नी गमलादेवीलाई लिएर काठमाडौं बसाइँ सरेका हुन् । अहिले बालकृष्ण आफ्ना बाआमाको साथ काठमाडौंमा रहेको चिटिक्क परेको घरको सुन्दर र शान्त वातावरणमा बस्छन् ।

कक्षामा सधैं प्रथम हुने बालकृष्ण सुन्दर, शान्त र निक्कै दयालु स्वभावका छन् । जेठ महिनाको एक बिहान आकाश खुलेको थियो । सुन्दरीजलतर्फको पहाडको उज्यालो शिरबाट सूर्य उदाउन लागेको थियो । बालकृष्ण पूर्वतिर फर्केको आफ्नो कोठामा बसेर चिया पिउँदै गृहकार्य गर्दै थिए । घर अगाडिको रूखमा एउटा चरी कहिले तल्लो हाँगामा त कहिले माथिल्लो हाँगामा चिरबिर छुनुमुनु गरिरही । ‘सायद, आज आकाश राम्रो भएर होला त्यो चरी खुसी भएकी’, बालकृष्णले मनमनै सोचे ।

ठीक त्यसै बेला उनकी आमा गमलादेवी बालकृष्णको कोठा सफा गर्न आउनुभयो । बालकृष्णले रूखतिर चरीलाई देखाउँदै सोधे, ‘आमा त्यो सानी चरी किन चिरबिर र छुनुमुनु गरेकी ? ’ आमाले कोठा सफा गर्दै भन्नुभयो, ‘तिनीहरूको पनि आफ्नै संसार हुन्छ नि बाबु ।’ बालकृष्णले कुरा नबुझेजस्तो गरेपछि उहाँले फेरि भन्नुभयो, ‘हो आफ्नै संसार । सहरदेखि अलि पर रहेको गाउँको वनमा उनीहरूको आफ्नै संसार छ ।’


बालकृष्णले गमलादेवीलाई समाउँदै भने, ‘ आमा मैले किताबमा सुगा बोलेको, न्याउली रोएको र कोइलीले कुहुकुहु बालेर वसन्त डाकेको पढेको छु । तर देखेको छैन । मलाई एकपटक चराहरूको संसार हेर्न वनमा लगिदिनुहोस् न है ।’ उनका बाबा बेलुका अफिसबाट आएपछि विचार गरौंला भनेर आमाले भन्नुभयो । ‘नत्र भोलि बाबा २०७२ को भूकम्पले भत्काएको गाउँको तिम्रा हजुरबा हजुरआमाको घर बनाउन जाँदै हुनुहुन्छ । तिमी पनि सँगै जाऊला ’, आमाले फेरि भन्नुभयो ।

आमाले आफ्नो मनको कुरा भन्दा बालकृष्ण दिनभरि प्रसन्न मनले रमाए । भोलिपल्ट बिहानै बालकृष्ण र उनका बा नुनप्रसाद काठमाडौंको पुरानो बसपार्कबाट बस चढेर गाउँतिर लागे । उनीहरू सुन्दर बीपी राजमार्गबाट खुर्कोट–मन्थली–खिम्ती हुँदै रामेछापको नामाडीसम्म पुगे । बसको यात्रा गर्दा बालकृष्णले बाटोमा हरिया पहाड, रोशी खोला, सुनकोसी, तामाकोसी, र खिम्ती खोला पनि देखे । उनी बाटोमा निक्कै रमाए ।

बस ओर्लिने ठाउँमा फुपू किनारा र काका चिनीप्रसाद लिन आउनुभएको रहेछ । खुसी हुँदै उनीहरू घरतर्फ लागे । घरमा बालकृष्णले हजुरबा हजुरआमासहित आफूभन्दा ठूला सबैलाई दर्शन गरे । खाजा खाए । मानौं त्यहाँ सानो उत्सवजस्तै भयो, उत्सव रातिसम्म रह्यो । थाकेर आएका बालकृष्ण भुसुक्क निदाए ।

बिहान उठेर खाना खाई काका चिनीप्रसाद, बालकृष्ण, रीना, मीना, निकेश, निरोज, जेनिशा, प्रसन काफल खान रमिते वनतिर लागे । आधा घण्टा उकालो चढेपछि उनीहरू हरियो रमिते वनभित्र पसे । वनमा सबै बोटबिरुवा हरिया, बाटोमा काफल झरेका, वल्लो रूख, पल्लो रूखमा चराका गुँडहरू, आफूजस्तै सानासाना बच्चा गुँडमा थिए । चराहरू कहिले डाँडावारि कहिले डाँडापारि, कहिले खोलावारि कहिले खोलापारि कहिले वल्लो रूख त कहिले पल्लो रूखमा चिरबिर गर्दथे त कोही चरा कुहुकुहु, चिरबिर, चिरचिर, काफल पाक्यो गाउँथे ।

त्यस्तै, कुनै चरा मुखमा चारो लिएर गुँडमा आउँथे त कुनै चरा नजिकैको झरनामा गएर रमाउँथे । बालकृष्णलाई यी सबै कुरा निक्कै रमाइलो लाग्यो । नुनप्रसादले खोलाको ढुंगामा बसेर मुरली बजाए । एउटी कोइलीले केटाकेटीहरूलाई नियालिरही र हाँगाबाट कोइली स्वरमा गाइहाली, केटाकेटीहरूले पनि जुहारी फर्काए । वनका सबै चराहरू झन् खुसीले रमाइलोसँग हाँगाहाँगामा नाच्न थाले ।
कोइली : काफल दिन्छु कोसेली
आऊ मेरो घर
कोइली भन्छे नआए
मलाई के को डर ?
केटाकेटी : बिदा भए आउने हो
सहरदेखि वनमा
कुहुकुहु गाउनेको
वसन्त रे मनमा
कोइली : आउन नानी वनमा
साथीसँगीसँग
काफल खाँदै लुकामारी
खेल्दा हामी दंग
केटाकेटी  ः  हाम्रा औंला कलिला
हिउँदका खोलीमा
धोइ सहर फर्कंदा
काफल दिनु झोलीमा
कोइली : हरे शिव तिमीलाई
हिउँदका लामा दिन
वनमा किन राखौंला
बोक्ने विमान डाकौंला
लगिदिने एकैछिन
केटाकेटी : त्यसो भए कोइली
फूलमा सुती कपना
देख्ने हामीलाई नगर
पत्करलाई कपना
कोइली : म त लुक्छु वनैवन
तिमी बुट्टाबुट्टी
हाँगाबाट रोएर
दिउँला अनि छुट्टी
वनमा चराहरूको त्यो रमाइलो संसार देखेर बालकृष्णसहित केटाकेटीहरू छक्क परे । दिनभरि वनमा चराचुरुंगीसँग रमाए, काफल खाए अनि बेलुका घर फर्के ।
साँझ पर्न लागिसकेको थियो । पूर्वतिर आकाशबाट ठूलो पानी बर्सन थालिहाल्यो । घरमा सबैले केटाकेटीहरूको चिन्ता गर्न थाले । केही बेरमा घरको आँगनमा पानीका थोपा बर्सन थाले । केटाकेटीहरू फुत्त घरभित्र छिरे । बेलुका खान खाइसकेपछि चराहरूको संसारबारे केटाकेटीहरूले हजुरबा हजुरआमासहित सबैलाई तँछाडमछाड गरेर सुनाए । सबै छक्क परे ।

गाउँमा बालकृष्ण दुई दिन बसेर काठमाडौं फर्के । काठमाडौंमा बालकृष्णले आमा गमलादेवीलाई चराहरूको संसारबारे नबिराई भने । आमा खुसी हुनुभयो । भोलिपल्ट उनी स्कुल भए । शिक्षकले उनलाई किन विद्यालय नआएको भनी प्रश्न सोध्नुभयो । तर, आफू चराहरूको संसार हेर्न गाउँको वनमा गएको उनले बताए ।

उनले साथीहरूलाई पनि चराहरूको वनमा आफ्नै रमाइलो संसार भएकाले वनमा डँढेलो लगाउन नहुने, चराचुरुंगी मार्न नहुने र मानिसलाई जत्तिकै चराहरूलाई पनि माया गर्नुपर्ने बताए । त्यस्तै, उनले मानिसमा लोभ भएको र हिंसा गर्ने बानीले अशान्ति छाउँदै गएको पनि सुनाए । तर वनमा चराहरू कहिल्यै हत्या, हिंसा नगर्ने र एकअर्कामा लोभ नराख्ने भन्दै मानिसको भन्दा चराहरूको संसार अझ रमाइलो रहेको बताए ।

सबै साथीहरूले तँछाडमछाड गरेर चराहरूको संसारबारे सुने । बालकृष्णका सबै कुरा शिक्षकले सुन्नुभयो । शिक्षकले बालकृष्णलाई धेरै धन्यवाद दिनुभयो र अरू पिद्यार्थीलाई पनि फुर्सदमा नयाँ ठाउँको भ्रमण गर्न र नयाँ कुरा सिक्न आग्रह गर्नुभयो । सबै विद्यार्थीले अबदेखि चराचुरुंगीहरूलाई धेरै माया गर्ने र फुर्सदमा बालकृष्णको जस्तै नयाँ ठाउँमा भ्रमण गर्ने अनि नयाँ कुराबारे सबै साथीहरूलाई बताउने वाचा गरे । त्यस दिन विद्यार्थी निक्कै खुसी भए । स्कुल छुट्टी भएपछि सबैजना रमाइलो मान्दै आ-आफ्नो घरतिर लागे ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100