MENU

हिरो हजुरआमा

रामकला खड्का आइतवार, असार ४, २०७४ 1824 पटक पढिएको

Share This

भाइबहिनीहरू, तस्बिरमा देखिएकी यी वृद्ध महिलाको अनुहारमा जति चमक छ, बालबालिकाको क्षेत्रमा उहाँले गर्नुभएको कामको चर्चा विश्वभर उत्तिकै छ । यी हँसिली व्यक्तित्वकी धनी रोजी गोलमनले गत सातामात्रै आफ्नो ९०औं जन्मदिन मनाउनुभयो । बालबालिकाको क्षेत्रमा नोबल पुरस्कारको रूपमा चिनिने वल्र्ड्स चिल्ड्रेन प्राइजको यस वर्षको मनोनयनमा उहाँ पनि पर्नुभएको थियो ।

GOLLMANN_ROSI1उहाँले भारत र बंगलादेशका अति विपन्न र जोखिममा परेका बालबालिकका हकहितका लागि काम गर्नुभएको पनि ५० वर्ष पूरा भइसकेको छ । रोजीको यही योगदानको कदर गर्दै पुरस्कार आयोजना गर्ने संस्था वल्र्ड्स चिल्ड्रेन प्राइज फाउन्डेसनले उहाँलाई वल्र्ड चिल्ड्रेन अनररी अवार्ड प्रदान गरेको छ ।

रोजी दोस्रो विश्वयुद्धताका जर्मनीमा जन्मनुभएको हो । त्यतिबेला युद्धकै कारणले गर्दा उहाँले धेरै नै डरत्रास र विभेद सहनु परेको थियो । १८ वर्षको उमेरमा पुगेपछि उहाँले आफ्नो जीवन नै गरिब र शोषित वर्गको सेवामा समर्पित गर्ने निर्णय गर्नुभयो । उहाँले स्थापना गर्नुभएको संस्था अन्धेरी हेल्फले ५० वर्षको अवधिमा स्थानीय साझेदारसँग मिलेर करिब एक करोडभन्दा बढीको उज्ज्वल भविष्य निर्माण गरिदिएको छ ।

रोजीकै सहयोगका कारण करिब ५० हजारभन्दा बढी श्रमिकहरू श्रम क्षेत्रबाट छुटकारा पाएर विद्यालय जान थालिसकेका छन् । अपांगता भएका दसौं हजार बालबालिकाले उनकै संस्थामार्फत विभिन्न तालिम र सहयोग पाएका छन् । रोजी र उनको संस्थाले एचआईभी एड्स पीडित परिवारलाई पनि सहयोग गर्ने गरेको छ । त्यसैगरी विभिन्न मठमन्दिरमा यौनदासीको रूपमा बालिकालाई राख्ने कुरीतिविरुद्ध रोजीले लडेर उनीहरूको उद्धारसमेत गरिसक्नुभएको छ ।

'चाइल्ड राइट हिरो' रोजीकै प्रयासस्वरूप बंगलादेशमा करिब १० लाखभन्दा बढी मानिसले आफ्नो आँखाको ज्योति प्राप्त गरेका छन् । 'कुनै पनि बालिका इच्छाविपरीत हुँदैनन्' भन्ने उहाँको अभियानकै कारण कोखमै मृत्युको मुखमा पुर्‍याइने क्रूरताबाट १२ हजार बालिका जोगिएका छन् । त्यसैगरी बालविवाह रोक्नुका साथै बालअधिकारलाई बलियो बनाउने काममा पनि रोजीको योगदान निकै महत्वपूर्ण रहेको पाइन्छ ।

सन् १९२७ जुन ९ तारिखका दिन जर्मनीको बोनस्थित एक व्यापारिक घरानामा जन्मिएकी रोजी बोन र कोलोङमा क्याथोलिक धार्मिक गुरुको रूपमा काम गर्नुहुन्थ्यो । उहाँले धर्मको व्याख्या गर्नेमात्रै होइन, धर्मले सिकाएका कुरालाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । धार्मिक प्रवचनकै क्रममा एक दिन उहाँको विद्यार्थीले एउटा जर्मन पत्रिकामा प्रकाशित एक लेख ल्याएर उहाँलाई देखाउनुभयो ।

मुम्बईको अन्धेरीमा रहेको एउटा अनाथगृहको नाजुक अवस्थाका बारेमा लेखिएको उक्त लेखले उहाँलाई निकै स्तब्ध बनायो । आफ्ना विद्यार्थीसहितको सहयोगमा अति आवश्यक सामग्रीको सयौं पार्सल बनाएर उहाँले त्यहाँका अनाथलाई पठाउनुभयो । सन् १९६२ मा उहाँ पहिलो पटक भारत जानुभएको थियो । त्यहाँबाट फर्किएर जर्मनी आएपछि आफूले देखेको त्यो कठिन परिस्थितिका लागि सहयोग गर्न जर्मनीका नागरिकलाई उहाँले आग्रह गर्नुभयो । यसरी सहयोगी हातको साथ पाएर उहाँले लाखौं बालबालिकाको जीवन परिवर्तन गरिसक्नुभएको छ ।
(एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100