MENU

घुर्की

रत्न प्रजापति आइतवार, असार ४, २०७४ 2638 पटक पढिएको

Share This

कथा

उमेरले १० वर्षकी निर्मलाको पिठ्यूँमा ३० किलोको भारी थियो । त्यो उनको शरीरको तौलजत्तिकै थियो । भारी बोकेर खोलीको उकालो चढ्दा उनलाई निकै सकस भइरहेको थियो । जीउभरि खलखली पसिना बगिरहेको थियो । उनको निधारबाट पसिनाको धारा नै छुटिरहेको थियो । एक हातले थाप्लोको नाम्लो र अर्को हातले लौरी टेकेर उनी उकालो चढ्दै थिइन् ।

भारी बोकेर उकालो चढ्दा श्वास फुलेर उनको ज्यानै जाला जस्तो भइरहेको थियो । तर निर्मलाले पटक्कै दुःख मानेकी थिइनन् । त्यो भारी उनलाई आफ्नो सपनाको भारी जस्तै लागिरहेको थियो । भारी बोकेर कमाएको पैसाले किताब, कापी र कलम किन्ने र स्कुलको खर्च पुर्‍याउने, अनि धेरै पढेर धेरै नाम र दाम कमाउने उनको सपना थियो ।

निर्मलाको पछिपछि थिए निर्मलाजस्तै आधा दर्जन केटाकेटी । १२ वर्षकी चाँदनी, ११ वर्षकी सिर्जना, अर्की १२ वर्षकी मेलिना, १३ वर्षकी शान्ति, १४ वर्षकी सुशीला र १० वर्षकी सुनीता । उनीहरू पनि आफ्नो शरीरको तौलजत्तिकै भारी बोकेर ठसठस कन्दै खोलीको उकालो चढ्दै थिए । उनीहरूका पनि निर्मलाका जस्तै सपना थिए ।

तर दुःखको कुरा छ । उनीहरूले त्यसरी भारी बोकेर दुःखले कमाएको पैसा सबै आफूखुसी खर्च गर्न पाउँदैनन् । त्यही पैसाले उनीहरूका बाबुआमाले रक्सी किनेर खान्छन् । ओहो, कस्तो नराम्रो बानी । आफू पनि केही नगर्ने । उल्टै केटाकेटीले कमाएको पैसा रक्सी खाएर सिध्याउने । कस्तो नराम्रो चलन ।

उनीहरू नेपालको सुदूरपश्चिमको बझाङ जिल्लाको थलारा गाउँपालिकामा बस्ने बादी समुदायका बालबालिका हुन् । बिदाको बेला यसरी भारी बोकेर खोलीको उकालो चढ्नु उनीहरूको दैनिकी नै हो । उनीहरू दिनहुँ बिहान सबेरै एकदुई घण्टा ओरालो हिँडेर झनाना बजार पुग्छन् । अनि आफ्नो शरीरले सके जति सामानको भारी बोकेर तीनचार घण्टा लगाएर खोलीको उकालो चढ्छन् ।

केही समयअघिसम्म त्यस गाउँका बादी समुदायका मानिस गाउँमा नाचगान गरेर र माटाका भाँडाकुँडा बनाएर जीविका चलाउँथे । तर पछिल्लो समय गाउँगाउँमा मनोरञ्जनका साधन पुगे । उनीहरूको नाचगान हेर्ने कोही भएनन् । उनीहरूको नाचगान हेरेर उनीहरूलाई पैसा, खाद्यान्न र लत्ताकपडा दिने पनि कोही भएनन् ।

आधुनिक प्रविधिले बनेका सरसामान घरघरसम्म पुग्न थालेपछि बादीहरूले बनाएका माटाका भाँडाकुँडा पनि बिक्न छोड्यो । अनि उनीहरूको पेसा नै संकटमा पर्‍यो । उनीहरूको जीविका नै कठिन हुन थाल्यो । आफ्नो खेतबारी नभएकाले काम गरी खान पनि पाएनन् । अनि उनीहरूका बाबुआमा गाउँगाउँमा गएर मागेर केही नगद, खाद्यान्न र लत्ताकपडा जुटाउन थाले । तर त्यस्तो गरिबीको अवस्थामा पनि रक्सी खान भने कसैले छोडेनन् ।

अरू गाउँका केटाकेटीहरू झोला बोकेर उफ्रिँदै रमाउँदै स्कुल गएको देखेर निर्मला, चाँदनी, सिर्जना, मेलिना, शान्ति, सुशीला र सुनीतालाई पनि त्यसैगरी स्कुल जान मन लाग्थ्यो । उनीहरू जस्तै पढेर राम्रो मान्छे र ठूलो मान्छे बन्ने सपना उनीहरू पनि देख्थे । तर उनीहरूसँग स्कुल जान किताब, कापी र कलम थिएन ।

उनीहरूका बाबुआमाले पनि किनिदिन सक्दैनथे । किनभने उनीहरूको कमाइ नै थिएन । गाउँघरमा मागेर अलिअलि कमाए पनि रक्सी खाएरै सक्थे । त्यसैले उनीहरूले भारी बोकेर पैसा कमाउने उपाय सोचे । अनि भारी बोक्ने कोही ठूला मान्छेको पछि लागेर गाउँका साहु र व्यापारीका सामान बोक्न थाले । अनि भारी बोकेर कमाएको पैसाले किताब, कापी र कलम किनेर स्कुल जान थाले । यो वर्षको शैक्षिक सत्र सकियो ।

उनीहरूले कक्षा चढे । तर नयाँ किताब, कापी र कलम किनेका छैनन् । स्कुलको ड्रेस पनि सिलाएका छैनन् । त्यसैले अब फेरि नयाँ किताब, कापी र कलम किन्न र स्कुलको ड्रेस सिलाउनका लागि पैसा कमाउन उनीहरू व्यापारी साहुको भारी बोक्दै थिए ।

म सहरबाट गाउँ घुम्न जाँदा बाटैमा उनीहरूसँग भेट भयो । उकालो चढ्दाचढ्दा थाकेर भारी बिसाइरहेका रहेछन् । १० वर्षकी सानी निर्मला अरूभन्दा फरासिली रहिछन् । धक नमानी बोल्दिरहिछन् । अरू चाहिँ लाजले मुख छोप्दा रहेछन् ।

'यति सानो उमेरमा किन भारी बोक्न थालेको ? ' मैले सोधेँ ।
'हामीले भारी नबोके खान पाइँदैन ।' निर्मलाले निधारको पसिना पुछ्दै भनिन् ।
'अनि स्कुल जानुपर्दैन त ? ' मैले फेरि सोधेँ ।
'जानुपर्छ । बिदामा मात्रै भारी बोक्ने हो ', निर्मलाले फेरि गालाको पसिना पुछ्दै भनिन् ।
'अनि तिमीहरूको बुबाआमा चाहिँ के गर्नुहुन्छ नि ? ' मैले एकछिन रोकिएर फेरि सोधेँ ।
'कहिले रक्सी खाएर घरमै बस्नुहुन्छ । अनि कहिलेकाहीँ चाहिँ गाउँमा माग्न जानुहुन्छ ।' निर्मलाले अलिकति लजाउँदै भनिन् ।

उनीहरू फेरि भारी बोकेर हिँड्न थाले । म पनि उनीहरूको पछिपछि लागेँ ।
'तिमीहरूले कमाएको पैसाचाहिँ के गर्छौं नि ? ' हिँड्दाहिँड्दै मैले सोधेँ ।
'बुबाआमाले लिनुहुन्छ । अलिअलि चाहिँ लुकाएर राख्छौं । किताब, कापी र कलम किन्नलाई चाहिन्छ नि', यसपटक चाँदनीले भनिन् ।
'बुबाआमाले चाहिँ काम गर्नुहुन्न त ? '
'अहँ, गर्नुहुन्न । रक्सी खाएर मातेर बस्नुहुन्छ ।'
'किन नि ? '
'हामीले भारी बोकेर हाम्रा बुबाआमालाई पाल्यौं । अब तिमीहरूले हामीलाई पाल्नुपर्छ । तिमीहरूलाई तिमीहरूका छोराछोरीले पाल्नेछन् भन्नुहुन्छ', शान्तिले भनिन् ।
'ओहो, कस्तो नराम्रो सोचाइ । अनि रक्सी खाएर मातेर बस्ने कस्तो नराम्रो बानी । यस्तो सोच्नु हुँदैन । काम त सबैले गर्नुपर्छ । अनि रक्सी खाने बानी पनि छोड्नुपर्छ । अब तिमीहरूले नै बुबाआमाको काम नगरी बस्ने र रक्सी खाने बानी छुटाउनुपर्छ ।

मैले यस्तो भनिरहँदा सानी बहिनी निर्मला निकै गम्भीर भइन् । सायद उनले मनमनै केही सोचिन्, तर केही बोलिनन् । चुपचाप हिँडिरहिन् ।माथि चौतारीमा पुगेर भारी बिसाइन् । अनि मतिर हेरेर भनिन्, 'अब हामी बुबाआमाको रक्सी खाने बानी छुटाउने कोसिस गर्छौं ।' यसो भनिरहँदा निर्मलाको अनुहार निकै उज्यालो भएको थियो ।

म अर्को पटक थलारा गाउँमा पुग्दा निर्मला, चाँदनी, सिर्जना, मेलिना, शान्ति, सुशीला र सुनीता हातमा किताब र कापी च्यापेर रमाउँदै र उफ्रिँदै थलारा उच्च माध्यमिक विद्यालयतिर जाँदै थिए । अनि उनीहरूका बुबाआमा चाहिँ भारी बोकेर झनाना बजारबाट गाउँ फर्कंदै थिए । त्यो देखेर मलाई निकै खुसी लाग्यो । किनभने उहाँहरूले बोकेको भारीमा पनि आफ्ना छोराछोरीलाई पढाएर राम्रो र ठूलो मान्छे बनाउने सपना थियो ।

सपनाको भारी गरुंगो हुँदैन, हलुको हुन्छ । सुखको भारी हलुको हुन्छ । दुःखको भारीमात्रै गरुंगो हुन्छ ।
बुबाआमाको रक्सी खाने बानी छुटाउन के गरे त उनीहरूले ? मलाई जान्ने उत्सुकता लाग्यो र सोधें, 'कसरी तिमीहरूले बुबाआमाको रक्सी खाने बानी छुटायौ त ? '

'एक दिन हामी सबैले आआफ्नो बुबाआमासँग घुर्की लाउने सल्लाह गर्‍यौं', निर्मलाले भनिन् ।
'कस्तो घुर्की ? ' मलाई जान्ने खुल्दुली लाग्यो ।
'रक्सी खाने घुर्की । भन्यौं, तपाईंहरू रक्सी छोड्नुहुन्न भने हामी पनि रक्सी खान्छौं ', सिर्जनाले भनिन् ।
'अनि त्यसपछि... ? ' मेरो खुल्दुली झन् बढ्यो ।

त्यसपछि उहाँहरूले भन्नुभयो, ' तिमीहरूले रक्सी खानुहुन्न ।' 'अनि हामीले खान नहुने रक्सी तपाईंहरूले चाहिँ किन खानुभयो त भनेर भन्यौं । त्यसपछि उहाँहरूको चेत खुल्यो । अनि रक्सी खान छोड्नुभयो । अहिले त हाम्रो सट्टा उहाँहरू आफैं भारी बोक्नुहुन्छ ', चाँदनीले खुसी हुँदै भनिन् ।
सुनेर मलाई पनि खुसी लाग्यो । कहिलेकाहीँ केटाकेटीको घुर्कीले पनि राम्रै परिणाम दिँदोरहेछ । अब निर्मला, चाँदनी, सिर्जना, मेलिना, शान्ति, सुशीला र सुनीताको सपना क्रमशः पूरा हुँदैछ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100