MENU

वातावरण संरक्षणमा जनप्रतिनिधि र युवा

निपेश ढाका सोमवार, असार ५, २०७४ 1400 पटक पढिएको

Share This

करिब दुई दशकको अन्तरालमा भएको स्थानीय निकायको निर्वाचनले सबै नेपालीमा आशा जगाएको छ । दोस्रो र तेस्रो चरणको निर्वाचनपश्चात् सम्पूर्ण स्थानीय निकायले आआफ्नो क्षेत्रको प्रतिनित्व पाउनेछ र विकास र परियोजनाहरूले संरक्षण र गतिशीलता पाउनेछन् । आशा छ, आगामी दुवै चरणको निर्वाचन पनि सफल हुनेछ र विकासले गति लिनेछ । निर्वाचनका क्रममा अधिकांश दलहरूले घोषणापत्रमा विकासको गतिशीलतालाई प्रमुख आधार बनाएका छन् ।

किनकि अहिलेको वैज्ञानिक युगमा हरेक मानिस आधुनिकतातर्फ जान चाहन्छन् र समाज विकासतर्फ बढ्न चाहन्छन्, तर आधुनिकताका साथै भौतिक र आर्थिक विकासतर्फ मोडिन हामी कति सक्षम छौं भन्ने पक्ष अन्योलमै छ । हाम्रा सामाजिक र राष्ट्रिय सम्पत्तिलाई कसरी व्यवस्थापन गरी आधुनिकतातर्फ बढ्न सकिन्छ, यो अहिलेको स्थानीय निर्वाचनको चासो हो ।

प्रायः राजनीतिक पार्टीका घोषणापत्रहरूको प्रस्तुति फरक भए पनि राष्ट्रिय एजेन्डालाई उनीहरूले लगभग उस्तैै किसिमले सम्बोधन गरेका छन् । देशभरि हजारौं प्रतिनिधि निवार्चित भइसकेका छन् भने अझै हुन बाँकी छ । तथापि हरेक समाजको विकास त्यहाँका प्राकृतिक र सांस्कृतिक स्रोतलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? त्यस्तै मानवीय संवेदना, अधिकार, समानता अति आवश्यक कुरालाई कसरी लिइएको हुन्छ, त्यो पनि महत्वको विषय बनेको छ । हरेक बस्ती चाहे त्यो मुगुको गमगढी बजार होस्, चाहे बैतडीको गोठालापानी होस्, चाहे धनुषाको मुसहरनिया नै किन नहोस्, कहीं न कहीं आधुनिकतातर्फ बढिरहेको आभास हुन्छ ।

प्राकृतिक स्रोतको दिगो विकाससँगै बस्ती विकास योजना र मापदण्ड वातावरणमैत्री बनाउन नवनिवाचित जनप्रतिनिधिहरूले जोड दिन जरुरी छ ।

यस अर्थमा कि त्यहाँका मौलिक चिजहरूको परिवर्तनलाई हामीले आधुनिकताको परिचय दिएका छौं, तर यो पर्यावरणीय भाषामा भन्नुपर्दा गलत तरिकाले गइरहेको छ । त्यहाँका मौलिक चिजहरूको ह्रास भइरहेको हामीले प्रत्यक्ष देखिरहेका छौं । त्यस्तै त्यहाँका प्राकृतिक स्रेतहरूको अनियन्त्रित दोहन, कच्ची सडक विस्तारले माटोको भूक्षय वृद्धि भएको, प्याकेटवाला खाद्यान्न, विदेशी कच्चा पदार्थ तथा कपडा, आधुनिकताको नाउँमा बनाइएको मापदण्डविहीन घर निर्माण देख्न सकिन्छ । त्यति मात्र हैन, पोलिथिन प्रयोग, रक्सीका बोतललगायत निकै असभ्य देखिने बाटोघाटो, खोल्साखोल्सी र पानीका स्रोतहरू दूषित देखिन्छन् ।

यी कुराको चेतना हामी आम मानिसमा आधुनिकतासँगै घट्दै गएको छ । यिनीहरूको उचित संरक्षण कसरी गर्ने भन्नेतर्फ कसैको पनि ध्यान गएको देखिँदैन । यो अहिलेको मानव सभ्यताको गम्भीर समस्या हो । निर्वाचनमा सहभागी कार्यकर्ता तथा उम्मेदवारहरूले नै निर्वाचन प्रचार-प्रसारका क्रममा गरिने फोहोरी गतिविधिमा त अझ कसैको नजर पुग्न सकेको छैन । राजनीतिमा पनि यो कुराको सभ्यता हामीमाझ हुन जरुरी छैन र ? पम्प्लेट, झन्डा, पर्चासँगै निर्वाचन प्रचार-प्रसारका क्रममा खाइने प्याकेटजन्य खाद्य पदार्थ, पेय पर्दाथ अनि तिनका खोल, बोतल तथा प्लास्टिकजन्य सामग्री, चुरोट र सुर्तीका प्योकटहरू झन् हाम्रा गाउँघर र सहरका बस्तीलाई फोहोरी र असभ्य बनाइदिएको छ ।

एकातिर हामी यहाँका प्राकृतिक स्रोतसँगै सांस्कृतिक पक्षलाई कमजोर बनाइरहेका छौं भने अर्कोतर्फ देशमा बढ्दै गएको बेरोजगार र राजनीतिक अस्थिरताले करिब ६० लाखभन्दा बढी युवा रोजगार र शिक्षाको नाउँमा बिदेसिने क्रम बढ्दो छ । तीन दशकको अस्थिर राजनीतिको प्रभावको कारण युवाहरू बिदेसिएका छन् । राष्ट्रको हितमा केही काम गर्ने युवाहरूको सोच र खुसी विदेशी भूमिमा पसिनासँगै विलिन भएको छ । युवाहरूलाई सीप सिकाउनु भनेको प्रविधि र शक्तिले सम्पन्न बनाउनु हो । जब हाम्रा युवाहरू सीप र श्रममा बाँच्न सक्ने व्यावसाहिक जनशक्ति तयार हुन्छन्, तब मात्र देश आत्मनिर्भर बन्न सक्छ ।

दक्ष जनशक्ति र श्रम संस्कृति भनेको राष्ट्रले सीप र प्रविधि सिकाउने विषयलाई उच्च प्राथमिकतामा राखेको छ भन्ने बुझ्नुपर्छ । राजनीतिक पार्टीहरूले बेरोजगार युवाहरूलाई पार्टीको झन्डा बोकाएर विभिन्न प्रलोभनमा निर्वाचन प्रचार-प्रसारमा हिँडाएका छन् । युवाहरूलाई उद्यमशील, सिर्जनशील हौसला प्रदान गर्ने प्रवृत्ति विकास हुन सकेको छैन किनकि यहाँ सबै कुरा राजनीतिक संरक्षणलाई मात्र अवसर दिने प्रवृत्ति हावी भएको छ । त्यसैले हाम्रा युवा पार्टीको झन्डा बोक्न बाध्य छन् । यही समयमा उनीहरूलाई अवसर र रोजगार सुनिश्चित गरिदिएर काम गर्न सक्ने वातावरण बनाउने हो भने देशले काँचुली नफेर्ला भन्न सकिँदैन ।

विकसित देशहरूले प्रशस्त रोजगारको अवसर सिर्जना गरिरहेका छन् । तर हाम्रा युवा रोजगारको खोजीमा विदेशी भूमिमा अलपत्र र श्रम शोषणमा परेका छन् । हामी चुनावी प्रसार-प्रसारको नाउँमा लाखौं रकम खर्च गरेका हुन्छौं, राज्यको नीति अर्थात् राजनीति दुरुपयोग गरिरहेका छौं, तर युवाहरूलाई स्वदेश फर्काउने नीति तथा कार्यक्रमलाई व्यावहारिकतामा ढाल्न पहल त परै जाओस्, चुनावी घोषणापत्रमा राख्नसमेत कन्जुस्याइँ गर्दछौं । जबसम्म युवाहरूलाई सीप र सिर्जनशील बनाएर स्वदेशमै रहने हौसला प्रदान गर्न सक्दैनौं, तबसम्म हामी आर्थिक तथा सामाजिक रूपमा थप संकटमा परिरहनेछौं।

त्यस्तै देशमा धेरै सम्भावना र अवसर छन्, तर पनि देशका जेहेनदार, विज्ञहरू उच्च शिक्षाको नाउँमा विदेश पलायन भइरहनेछन्, यो हाम्रो राष्ट्रको लागि अभिशाप हो । युवाहरूको विदेश पलायन बढ्दै गएमा वृद्ध बाबुआमाहरू सहाराहीन बनिरहनेछन्, आजका अबोध बालबालिकाको मनस्थितिमा ठूलो चोट पुग्नेछ, उनीहरूको सुनौलो बालापनमा बाबुआमाको माया पाउने आशा त्यत्तिकै विलिन हुनेछ । अन्ततः देश सामाजिक, आर्थिक र राजनीतिक रूपमा दशकौंपछि धकेलिनेछ । देशले ठूलो मानसिक क्षति गुमाउनुपर्नेछ ।

देशमा भएका दक्ष जनशक्तिको ज्ञान र सीपबाट माटो र हावापानीको व्यवसायीकरण गर्दै जैविक विविधताको अध्ययन र अनुसन्धानमा पहल गर्नु आवश्यक छ । स्थानीय निर्वाचन परिणामले यी कुरालाई प्राथमिकता दिनु अति आवश्यक छ । प्राकृतिक स्रोतको दिगो विकाससँगै बस्ती विकास योजना र मापदण्डको संरचना वातावरणमैत्री हुनुपर्छ । यो कुरा नवनिवाचित जनप्रतिनिधिले बुझ्न जरुरी छ । भाषण र लेखमा मात्र हैन, व्यावहारिक रूपमा यी कुराको गहन तरिकाले अनुसरण गर्न सक्नुपर्छ । यसको लागि दृढ इच्छाशक्तिसँगै सामाजिक रूपान्तरणको अवधारणालाई व्यवहारमा ल्याउन सक्नुपर्छ।

देशको ठूलो शक्ति भनेको युवा हो । राजनीतिज्ञ र विज्ञहरूले युवाहरूलाई निर्वाचन प्रचार-प्रसारमा झन्डा बोकाउने मात्र होइन, निर्वाचनको उद्देश्य र महत्व पनि बुझाउनुपर्छ । आधुनिकताको नाउँमा समाजका मौलिक र सांस्कृतिक पक्ष र सम्पदाहरूको संरक्षणमा जोड दिनुपर्छ । प्राकृतिक स्रोतहरूको जगेर्ना र संरक्षणमा समुदायहरूबीच मितव्ययिता बनाउँदै स्वच्छ र सुन्दर समाजको परिकल्पना सुनिश्चित गर्ने दायित्व पनि युवाहरूकै काँधमा छ ।



प्रतिकृया दिनुहोस

Dish latest