बिरामीको मृत्युपछि नागरिक अस्पतालमा तोडफोड, चिकित्सक भन्छन् : रोगको पहिचानमा हामी झुक्कियौँ

काठमाडौं : उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि उत्पन्न तनावले भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल ठप्प भएको छ।
मंगलबार साँझ छाती दुखेर इमरजेन्सी पुगेकी स्थानीय ३८ वर्षीय उषा बस्नेतको उपचारको दुई घण्टामै मृत्यु भएपछि आफन्त र छिमेकी अस्पताल तोडफोड र कर्मचारी आक्रमणमा उत्रिएपछि वार्डमा भर्ना बिरामीको भागाभाग भएको छ।
आईसीयुमा बिरामी राखेकाहरु त्रसित बनेका छन् भने त्यहाँ कार्यरत चिकित्सक, नर्स र कर्मचारी सुरक्षाको खोजीमा दौडिएका छन्। बुधबार अस्पताल पुरै पुलिसको घेरामा थियो।
तोडफोडले कुरुप बनेको अस्पताल परिसर स्थानीयबासिन्दाले खचाखच थियो। मृतकका परिवार र आफन्तको रुवाबासी थियो। मृतक उषाको शव राखिएको कोठामा ताल्चा मारिएको थियो। अस्पताल प्रशासक र मेडिकल सुपरिटेण्डेण्ट मृतकका आफन्तलाई सम्झाउने प्रयासमा त थिए तर स्पष्ट जवाफ दिन सकेका थिएनन।
यसरी भयो उषाको मृत्यु
मृतकका आफन्त, उपचारमा संलग्न चिकित्सक र नर्ससँग अन्नपूर्णले गरेको कुराकानीको निष्कर्ष अनुसार मंगलबार साँझ दुई छोरा र श्रीमानका साथ नजिकै घुम्न निस्कदा जुस र चट्पटे खाएकी उषाको फर्खदै गर्दा छाती दुख्यो।
श्रीमान रामकृष्णले उहाँलाई स्कुटरमा नजिकै रहेको नागरिक अस्पताल पु¥याउनुभयो। हिँडेरै आकस्मिक कक्षमा पुगेकी उषाको मेडिकल अफिसर र स्टाफ नर्सले ईसीजी गरे। रिपोर्ट सामान्य आयो। उषाको पीडा कम भएन।
त्यसपछि ग्याष्ट्रिक भएको अनुमानमा ‘प्यान्टोपराजोल’ र ‘बुस्कोपान’ सुईद्वारा दिए। मुटुको समस्या कहिलेकाही ईसीजीमा नदेखिन पनि सक्छ भन्दै ‘कार्डियाक इन्जाइम’ परीक्षणका लागि उषाको रगत निकालेर पठाए।
उषाले बान्ता गर्न खोज्नुभयो। पिसाब पनि जाँच गर्नु पर्ने भएपछि उषा बेडबाट उठ्न लाग्दा अचानक बेहोस भएर ढल्नुभयो।
मेडिकल अफिसरको मात्रै डियुटीमा भएकाले एनेस्थसिस्ट डा. रामभक्त कोजुलाई फोन गरेर समस्या बताइयो। श्वासप्रश्वास सहज बनाउने विधि (इन्टियुवेसन) अपानउँदै आईसीयुमा लगेर भेन्टीलेटरमा राखियो। त्यसपछि मात्रै कन्सलट्यान्ट चिकित्सक सहिद गंगाल हृदय रोग केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रोशन रावत, फिजिशियन डा. प्रदिप वैद्य लगायतलाई बोलाइयो।
उनीहरु आउञ्जेल उषाको अवस्था नाजुक भइसेकको थियो। उनीहरुले उपचार सुरु गरेको एक घण्टा नवित्दै उषाको ज्यान गयो। चिकित्सकले अचान हुने हृदयघात (मायोकार्डियल इन्फ्राक्सन )बाट उषाको मृत्यु भएको जवाफ दिए।
मुटुको बिरामीलाई ग्यास्ट्रिकको उपचार !
मृतकका आफन्तले अस्पताललाई छाती दुख्नु पनि मुटुरोगको लक्षण थियो चिकित्सकले किन ग्यास्ट्रिकको अनुमानमा औषधि खुवाएर किन घण्टौ त्यतिकै राखेको भन्ने प्रश्न गरेका छन्।
सिनियर डाक्टर नै डियुटीमा नरहेका बेला गंभिर बिरामीलाई किन भर्ना लिएको भन्ने अर्को प्रश्न पनि अस्पताललाई गरिएको छ। ‘बिरामी भर्ना गरेपछि मात्रै नर्स र मेडिकल अफिसरले कुन औषधि दिने भन्दै सिनियर डाक्टरलाई फोन गर्दै सोधे, के भएको हो भन्ने स्पष्ट जानकारी पनि दिएनन,’ मृतकका श्रीमान रामकृष्णले रुँदै भन्नुभयो, ‘हर्टहट्याकबाट मृत्यु भएको भन्न सक्ने डाक्टरहरुले किन पहिल्यै त्यसको शंकामा औषधि चलाएनन।
मुटुको समस्या ईसीजीमा पनि नदेखिने भन्ने थाहा रहेछ त उनीहरुलाई किन सोही अनुसारका उपचार नगरेको ? उषाको मृत्युले उहाँकी आमा पनि बेहोस हुनुहुन्छ। रामकृष्ण दुई छोराका साथ अस्पतालमा रोहिरहनुभएको छ।
रोगको लक्षणको पहिचानमा हामी झुक्कियौँ
अस्पतालका मेडिकल सुरपरिटेण्डेन्ट डा. राकेश बर्माले उषाको उपचारमा कुनै पनि गल्ती नभएको तर उहाँको रोगको लक्षण पहिचानमा आफुहरुलाई कठिनाई भएको बताउनुभयो।
छाती दुख्नु ग्याष्ट्रिक र हृदयघात दुवै रोगका लक्ष्ण भएकाले डियुटीमा खटिएका चिकित्सक झुक्किएको हुन सक्ने उहाँको भनाइ छ। ‘आम नेपालीलाई ग्यास्ट्रिक छ, उषालाई पनि ग्यास्ट्रिकले छाती दुखेको होला भन्ने भयो र औषधि चलाइयो। त्यो सँगै उहाँको मुटुमा पनि केही समस्या हुन सक्छ भन्ने अनुमानका साथ हामीले ईसीजी गराएको हो। रिपोर्ट नर्मल आएपछि थप परिक्षण गर्न लागेका थियौं तर उहाँको अचानक मृत्यु भयो,’डा. वर्मामाले भन्नुभयो। तर विना लक्षण पनि ५० प्रतिशत मानिसलाई यस्तो हृदयघात हुने उहाँको भनाई छ।
मृतकका आफन्त भन्छन,‘ त्यस्तो हुन्छ भन्ने थाहा पाएका चिकित्सकले किन समयमै सोही अनुसारको उपचार नगरेको र आफुले नसके किन अन्त रिफर नगरेको ? ’
प्रतिक्रिया दिनुहोस !
