MENU

अभिनय सिक्दै चितवनका तन्नेरी

अनिल ढकाल शुक्रवार, असार २३, २०७४ 2056 पटक पढिएको

Share This

चितवनको भरतपुरस्थित विशालचोककी १६ वर्षीया संयुक्ता शर्मा घरबाट निस्किएपछि सबैले हेर्न थाले । रातो सारी, चुरा, सुनको जस्तो देखिने पहेँलो बाला, घुम्टो ओडेकी उनलाई देख्नेहरूले दुलही ठाने । नारायणघाटसम्म पुग्दा उनलाई सबैले प्रश्न गरे ‘तपाईंको बिहे ? ' । तर संयुक्ताको त्यो पोसाक विवाहको लागि थिएन । नारायणी कला मन्दिरमा भएको नाटक प्रशिक्षणका लागि थियो । कथाले मागेअनुसारको पोसाक घरबाटै लगाएर उनी निस्केकी थिइन् ।

नाटकमा जबर्जस्ती विवाह गरिदिन लागेको युवतीको भूमिका उनले पाएकी थिइन् । पात्र अर्थात् आफ्नो भूमिकाको कल्पना गरी घरबाटै सुहाउँदो पोसाक लगाएर आउन प्रशिक्षकले भनेका थिए । नारायणी कला मन्दिरमा भइरहेको नाट्य प्रशिक्षणका लागि उनी लागिपरेकी छन् । यस वर्षको एसईई परीक्षामा ‘बी' ल्याएर पास गरेकी शर्मालाई अभिनयमा अगाध रुचि छ । ‘सानैदेखि अभिनयमा रुचि भएकोले अभिनयसम्बन्धी प्रशिक्षण लिएकी हुँ', उनले भनिन् ‘अभिनय मनैदेखि निकाल्नुपर्ने भएकोले त्यति सजिलो चाहिँ छैन ।'

अघिपछि संगीतको तालमा गुञ्जिने नारायणी कला मन्दिर अहिले शान्त जस्तै छ । अभिनयमा रुचि भएकाहरूले कला मन्दिरमा रंगमञ्चबारे प्रशिक्षण लिइरहेका छन् । ग्ल्यामर क्षेत्रको प्रभाव बढिरहेका बेला चितवनका युवा पुस्ताहरू थिएटरमा रमाएका हुन् । थिएटरमा उनीहरूले अभिनयका बारेमा नयाँ कुरा सिकिरहेका छन् । उनीहरू रंगमञ्चलाई खुड्किलो बनाउन चाहेका छन् । अध्ययनका लागि बागलुङबाट आएका १९ वर्षीय सुमित शर्माले रंगमञ्चबारे सिक्न पाउकोमा खुसी व्यक्त गरे । ‘अभिनयमा रुचि भएकोले रंगमञ्जबारे ज्ञान लिन सुरु गरेको हुँ', उनले भने, ‘भाषा, अभिनय र रंगमञ्चबारे सिक्दै छु । यसले ममा धेरै परिवर्तन ल्याएको छ ।'

काठमाडौंस्थित सांस्कृतिक संस्थान नेपाल (राष्ट्रिय नाचघर) र नारायणी कला मन्दिरले नाटकबारे १५ दिने नाट्य कार्यशाला आयोजना गरेको हो । प्रशिक्षणमा रुचिका साथ युवाहरू अभिनय सिक्दैछन् । साउन ११ गतेदेखि १५ दिने अभिनय कक्षा सञ्चालन चलिरहेको छ । अभिनयमा रुचि राख्ने ३० जना युवायुवतीहरू सहभागी छन ।

नारायणी कला मन्दिरका नृत्य निर्देशक सुमित लामा पनि अभिनयको कक्षा लिइरहेका छन् । अभिनयको लागि काठमाडौं जाने विचार गरेका उनले यसलाई राम्रो अवसरको रूपमा लिएका छन् । अभिनय र नृत्य भनेको नङ र मासुजस्तै भएको उनको भनाइ छ । ‘नृत्यभन्दा अभिनयको गहिराइ अलि बढिरहेछ', उनले भने, ‘अभिनय कल्पनाभन्दा बाहिर रहेछ । सानोसानो कुराबाट धेरै कुरा सिकेका छौ ।' प्रशिक्षणमा १८ वर्षदेखि २५ वर्ष उमेरसमूहका युवा सहभागी छन् ।

युवा पुस्ताको रंगमञ्च मोह देखेर प्रशिक्षक नरेन्द्र बराल खुसी भएका छन् । ‘काँचो दिमागलाई सिकाउँदा उपलब्धि हुन्छ', बरालले भने ‘मोफसलमा थिएटरप्रतिको मोह देख्दा म दंग छु । भोलिको दिनमा भविष्य बनाउने अनुहार भेटेको छु ।' अहिले अभिनयबाट करियर बनाउन चाहनेहरू धेरै छन् । नाटक गर्दा तत्कालका लागि कलाकार छनोट गरेर सिकाइने गरेको अर्का प्रशिक्षक पुष्प आचार्यले बताए । ‘थिएटर नहुँदा कलाकारको अभाव भएकाले थिएटर बनाउनुपर्छ भन्ने लागेको थियो', आचार्यले भने ‘प्रशिक्षणपछि एउटा पुस्ता तयार हुनेछ ।'

नाटक अर्थात् अभिनय कक्षा चितवनम पहिलो पटक सञ्चालन भएको हो । २०१६ सालमा चितवनमा नाटक भएको इतिहास छ । त्यससँगै कला मन्दिरको स्थापना भए पनि नाटकबारे कुनै प्रशिक्षण भएको थिएन । ‘रंगमञ्चलाई जीवन्त राख्न नाट्य कार्यशाला गरेका हांै', कला मन्दिरका कार्यवाहक अध्यक्ष अमरदेव प्रधानले भने, ‘नाटकको कक्षा थपिएपछि कलामन्दिरलाई एकेडेमीका रूपमा अगाडि बढाउने सोच छ ।' ५४ वर्षअघि स्थापना भएको नारायणी कलामन्दिरमा यसअघि गायन, वाद्यवादन र नृत्यसम्बन्धी प्रशिक्षण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100