MENU

चलचित्रभन्दा रियालिटी सो रमाइलो

नितु घले शुक्रवार, असार २३, २०७४ 3621 पटक पढिएको

Share This

बहुचर्चित गायन रियालिटी सो 'नेपाल आइडल'मा फेसन स्टाइलिस्टका रूपमा काम गर्दै आएकी छन् योगिता पुन । सन् २०११ देखि 'क्लोथिङ स्टोर' सुरु गरेकी पुनले पुल्चोकस्थित लाबिम मलमा 'द केडीए' र नक्सालमा 'द केडीए फेसन होम' सञ्चालन गर्दै आएकी छन् । नेपाल आइडलको टप १८ पछि प्रतियोगीलाई यही क्लोथिङ स्टोरबाट उनले पहिरन उपलब्ध गराउँदै आएकी छन् ।

कार्यक्रमका निर्णायक र प्रस्तोतालाई अडिसन राउन्डदेखि नै पहिरन उपलब्ध गराउँदै आएकी योगिता नेपाल आइडलका लागि देशका विभिन्न स्थानमा भएको अडिसनमा टिममा सहभागी भई हरेक सहरमा पुगेकी थिइन् । यस्तो रियालिटी सोमा पहिलोपटक काम गर्न पाउँदा उनलाई फरक अनुभूति भएको छ । 'सोमा प्रतियोगीलाई कसरी राम्रो देखाउने, त्यसैमा मेरो ध्यान हुन्छ । जसरी पनि उत्कृष्ट बनाउन म प्रयासरत छु', योगिताले भनिन्, 'द केडीए फेसन होमको पब्लिसिटीका लागि पनि नेपाल आइडल राम्रो प्लेटफर्म साबित भएको महसुस गरेकी छु ।' सुहाउँदिलो, आकर्षक र नयाँ शैलीको पहिरनले प्रतियोगीको व्यक्तित्व झल्कने उनको भनाइ छ ।

नेपाल आइडलका प्रतियोगी एवं सम्पूर्ण परिवारसँग स्थापित सम्बन्ध र चिनजान आफ्नो लागि महत्वपूर्ण भएको योगिता बताउँछिन् । 'नेपाल आइडल परिवारसँग आर्जन भएको नाता बहुमूल्य लाग्छ', उनी भन्छिन्, 'नेपाल आइडलका प्रतियोगीसँग पनि सम्बन्ध गहिरिएको छ । परिवारजस्तै भइसकेको छ । जोसुकै प्रतियोगी बाहिरिँदा पनि नरमाइलो लाग्न थालेको छ ।'

निर्णायकलाई चल्तीमा रहेका, फेसनेबल र कतिपय पश्चिमा शैलीका वेस्टर्न पहिरन उपलब्ध गराउँदै आए पनि प्रतियोगीका लागि भने गीत छनोटअनुसार पहिरन उपलब्ध गराउनुपर्ने उनी बताउँछिन् । 'कसैले पुराना गीत छनोट गरेका हुन्छन्, कसैले पप, त कसैले आधुनिक । त्यसैले गीत जस्तो छ त्यहीअनुसार पहिरन दिनुपर्ने हुन्छ', उनले भनिन् । योगिताको अनुभवमा प्रतियोगीहरू पनि विस्तारै परिवर्तन हुँदै जाने र फेसन कन्सस हँदै जान्छन् । 'विस्तारै गु्रमिङ गराउँदै लानुपर्छ, परिवर्तन देखिँदै जान्छ', योगिता भन्छिन्, 'त्यसपछि गायनसँगै व्यक्तित्व विकास र फेसनेबल हुने कुरामा पनि प्रतिस्पर्धा हुन थाल्छ ।'

दर्शकले रुचाएको चलचित्र 'प्रेमगीत'का लागि काम गरिसकेको उनले चलचित्रभन्दा रियालिटी सोमा काम गर्दा रमाइलो लागेको छ । 'चलचित्रमा कलाकार, निर्देशकले प्रायः आफैं पहिरन छनोट गर्छन् तर यस्तो रियालिटी सोमा आफैंले छनोट गरेर दिनुपर्छ', उनले कारण खोलिन् । केडीए फेसन होममा विशेषगरी बैंकक, बेलायत, चीनलगायत विभिन्न मुलुकमा बनेका ब्रान्डेड पहिरनहरू पाइन्छ ।

हङकङमा जन्मेकी योगिता सानैमा परिवारसहित नेपाल आएकी हुन् । ललितपुरको नखिपोट निवासी ३० वर्षीया उनी यो व्यवसायमा लागेको सात वर्ष भयो । बीएचएम (बेचलर इन होटेल म्यानेजमेन्ट) गरेकी उनले क्लोथिङ स्टोर सुरु गर्नुअगाडि तीन वर्ष होटेलमा पनि काम गरेकी थिइन् ।

निर्णायकलाई चल्तीमा रहेका, फेसनेबल र कतिपय पश्चिमा शैलीका वेस्टर्न पहिरन चाहिन्छ तर प्रतियोगीका लागि भने गीतअनुसार पहिरन उपलब्ध गराउनुपर्छ । कसैले पुराना गीत छनोट गरेका हुन्छन्, कसैले पप त कसैले आधुनिक । त्यसैले गीत जस्तो छ त्यहीअनुसार पहिरन दिनुपर्छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100