MENU

गुरुजत्तिकै महान

रामकला खड्का आइतवार, असार २५, २०७४ 1517 पटक पढिएको

Share This

भाइबहिनीहरू आज गुरुपूर्णिमा । गुरु कक्षाकोठामा पढाउने व्यक्तिमात्रै होइन, हामीलाई जीवनोपयोगी जुनसुकै सीप सिकाउने र त्यो पाउनका लागि वातावरण मिलाइदिने व्यक्ति पनि गुरुमै गनिन्छन् । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु-२, सेर्माथाङका कान्छा लामा पनि यिनै व्यक्तिमध्येमा पर्नुहुन्छ।

लामा परिवारमा जन्मेकाले उहाँका बाबा उहाँलाई लामा नै बनाउन चाहनुहुन्थ्यो । त्यसैले अनौपचारिक शिक्षाबाहेक विद्यालयमा पढ्ने अवसर उहाँलाई मिलेन । सानैमा बाबाको मृत्यु भएपछि उहाँ सन् १९५८ मै रोजगारीका लागि भारत जानुभयो । भारतमा ठेक्कापट्टा गर्ने कान्छाको गाउँमा एउटा ठूलो होटेल र रिसोर्ट खोल्ने चाहना थियो । यसैका लागि उहाँले करिब ९० रोपनीभन्दा बढी जग्गा पनि पाइसक्नुभएको थियो ।

आफूले पढ्न नपाएको र गाउँको सरकारी विद्यालय ज्योति निमावि पनि त्यति नचलेको देखेपछि त्यही जग्गामा विद्यालय खोलेर गाउँका बालबालिकालाई शिक्षा दिने सोच उहाँमा पलायो । त्यति बेला १२ कक्षा पढ्दै गरेका आफ्ना भतिज गोपाल लामाको नाममा २०४१ सालमा याङ्रिमा प्राथमिक विद्यालय स्थापना गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो ट्याममा स्कुल थिएन, हामीले पढ्न पाएन । हेलम्बु भेगमै स्नातक गरेको मानिस एकजना पनि थिएन । त्यसैले नयाँ पुस्तालाई शिक्षा दिन विद्यालय सुरु गर्‍यौं ।'

student

करिब ६० रोपनी क्षेत्रफलको मात्रै लालपुर्जा भएकाले सोही क्षेत्रमा विद्यालय फैलिएको छ । स्थापनाकालमा जम्मा १५ जना विद्यार्थीबाट सुरु गरिएको यस विद्यालयमा हाल सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्नो भतिज गोपालले बेलायतको इङ्ल्यान्डमा रहेका आफ्ना साथीहरूसँग सहयोग मागेर विद्यालय भवन र अन्य सुविधाहरू तयार पारेको उहाँले बताउनुभयो ।

विद्यालयबाट करिब तीन ब्याचले एसएलसी दिइसकेका थिए । विद्यालय राम्रै गतिमा चलिरहेको थियो । तर, द्वन्द्वकाल सुरु भएपछि चार पाँच सय माओवादीले आएर विद्यालयलाई घेरी त्यहाँ भएका कम्प्युटर, टेलिफोन, सोलार, रासनलगायतका सामग्री लुटेर लगे । बाँकी रहेका केहीमा पनि आगो लगाइदिएकाले करिब नौ वर्षसम्म विद्यालय पूर्ण रूपमा बन्द भयो । यद्यपि २०५८ सालमै याङ्रिमाका शिक्षक र विद्यार्थी गरी जम्मा १७ जनाले इङ्ल्यान्डको क्याम्ब्रिज विश्वविद्यालयमा भ्रमणमा जाने अवसर पाए । त्यति बेला विद्यालयबाट एसएलसी दिने विद्यार्थीमध्ये धेरै आज डाक्टर, इन्जिनियर, व्यापारीलगायतका व्यक्ति बनिसकेका छन् ।

child

माओवादी द्वन्द्वका कारण नौ वर्षसम्म बन्द भएको विद्यालयलाई पुन एकपटक २०७२ सालको भूकम्पले ध्वस्त बनायो । त्यति बेला विद्यार्थीले पढ्ने र बस्ने ठाउँ नपाएपछि सेर्माथाङमै रहेको उहाँको स्नोफल माउन्टेन रिसोर्टमा विद्यार्थीलाई एक वर्षसम्म राखेर पढाइयो । अमेरिकामा बस्दै आउनुभएकी उहाँकी पत्नीले त्यहाँबाट सहयोगस्वरूप उठाएर पठाएको पैसाले विद्यार्थीको खानपान र पठनपाठनको व्यवस्था मिलाइयो ।

हाल पनि अति विपन्न र भूकम्पमा आमाबाबु गुमाएर परिवारका १३ भन्दा बढी विद्यार्थीलाई उहाँकी पत्नीले छात्रवृत्तिमा पढाइरहनुभएको छ । त्यसैगरी आफ्ना भतिज गोपाल र उहाँकी पत्नी छिरिङ पनि इङ्ल्यान्डकै घर बेचेर विद्यालयको पुनर्निर्माणमा कस्सिएको लामाले बताउनुभयो । गाउँको धेरै याद आउने हुनाले रिटायर्ड लाइफ उता बिताउन सकिन्न भनेर उहाँले अमेरिकाको सिटिजन लिनुभएको छैन । गाउँ बिर्सन नसकेर वर्षको दुईतीनपटक उहाँ अमेरिकाबाट यहाँ आउने गर्नुभएको छ ।

भूकम्पपछि विद्यालयबाट भर्खरै एक ब्याच विद्यार्थीले एसईई पास गरे । नतिजा त्यति राम्रो नभए पनि अर्को सेसनदेखि गुणस्तर बढाउँदै लैजाने उहाँको सोच छ । त्यहाँ पढाउने शिक्षकशिक्षिकालाई पनि चित्तबुझ्दो सेवासुविधा दिन नसकिएको र उहाँहरूले पनि सेवाभावले मात्रै विद्यालयमा काम गरिरहनुभएको उहाँले बताउनुभयो।

लाइब्रेरी, कम्प्युटर कक्षा, डाइनिङ हल, ग्रिन हाउस लगायतका सुविधा भएको उक्त विद्यालय चलेदेखि गाउँको एउटै सरकारी विद्यालय पनि बन्द भइसकेको छ । उत्तिकै शुल्कमा बोर्डिङमा पढ्न पाएपछि विद्यार्थीको आकर्षण आङ्रिमातर्फ बढेको हो । सुन्दर र स्वस्छ वातावरणका कारण विद्यार्थी पनि प्रतिभाशाली नै रहेका टोखाबाट गएकी शिक्षिका अम्बिका नेपालीले बताउनुभयो । उहाँले विद्यार्थीलाई नेपाली पढाउनुका साथै नृत्य र नाटक पनि सिकाउने गर्नुभएको छ ।

भूकम्पले हच्केका कारण गाउँमा मुस्किलले तीनचार सय जनामात्रै बसोबास गर्छन् । धेरै काठमाडौं र केही विदेश पलायन भइसकेका छन् । यी रहेका जनसंख्यामा पनि नयाँ पुस्ताले स्तरीय शिक्षाका लागि कतै जान नपरोस् भन्ने उहाँको चाहना छ । यही कारण उक्त विद्यालयलाई कलेज तहसम्म पुर्‍याउने सपना उहाँले देख्नुभएको छ । ‘द्वन्द्वकालको नौ वर्ष लस नभएको भए स्तरीय कलेज भइसक्थ्यो होला', धेरै वर्षअगाडि देखेको सपना आज पूरा भएकोमा निकै खुसी हुनुहुन्छ ७४ वर्षीय लामा । विद्यालयलाई कलेज तहसम्म पुर्‍याउने आफ्नो नयाँ सपना पनि चाँडै नै पूरा हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

लिऊँ गुरुको आशीर्वाद

गुरुब्र्रह्मा गुरुर्विष्णु गुर्रुदेवो महेश्वरः
गुरुः साक्षात् परं ब्रह्मा तस्मै श्री गुरुवे नमः
असार शुक्ल पूर्णिमाको दिनमा महर्षि वेद व्यासको सम्झनामा गुरुपूर्णिमा मनाइन्छ । विश्वमा धेरै विद्वान् जन्मिए पनि उहाँले पहिलो पटक हिन्दु धर्मको चारवटै वेदको व्याख्या गर्नुभएको थियो । नयाँ आउने पुस्तालाई जीवनमा गुरुको महत्व बुझाउन पनि यो पर्व निकै महत्वपूर्ण मानिन्छ । गुरुको आशीर्वाद सबैका लागि कल्याणकारी र ज्ञानवद्र्धक नै हुन्छ । त्यसैले गुरुको पूजा गरेपछि उहाँको आशीर्वाद लिन बिर्सनु हुँदैन र यो पर्वलाई श्रद्धाभावको पर्वका रूपमा मनाउनुपर्छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100