MENU

लोभी र कन्जुस

मनोज बोहोरा आइतवार, असार २५, २०७४ 5659 पटक पढिएको

Share This

'तँसँग आज मैले एउटा सानो सहयोग मागेँ भने सहयोग गर्छस् ? ', श्यामेले बढो मलिन अनि नम्र हँदै सेतेलाई सोध्यो । 'किन नगर्नु, गर्छु नि । सहयोग गर्ने भनेकै साथीलाई त हो नि । फेरि मलाई पर्दा पनि तैंले गरेकै छस् ', बढो चिप्लो स्वरमा सेतेले जवाफ दियो ।'अल्छी श्यामेलाई काम गर्न भनेपछि शरीरमा काँडा उम्रिन्छ । स्वादे जिब्रो अल्छे तिग्रो उखान उसमा धेरै मिल्छ । मानिसलाई गाउँमा ज्याला दिएरभन्दा पनि अनेक लोभ देखाएर फुरुक्क फुक्र्याएर काम लगाउनमा ऊ ज्यादै सिपालु थियो । मेरो दाहिने हात ज्यादै दुखेको छ भन्दै बहाना पारेर उसले सेतेलाई भन्यो, 'दाउरा सकिनै आँटेकोले यो आँगनमा लडेको रुखको मुडा चिर्नुपर्ने हो । 

manoj-boharaकसलाई पो भन्नु फेरि दुईवटा गाई ब्याउन साँझबिहान जस्तो भएको छ ।'खिर भनेपछि मरिहत्ते गर्ने सेतेले मनमनै सोच्यो, 'दुईवटा गाई ब्याउँदा त दूध, दही, मही अनि घिउ कति हो कति । फेरि मुखमा खिर नपरेको नि तीन चारमहिना नै हुन आटिसक्यो । यसको दाउरा चिरेँ भने कसो यसले दही, मही अनि खिर खान नबोलाउला र ? 'उसले आफूले दाउरा चिरिदिएबापत एक थोक दिनुपर्ने सर्त अगाडि राख्यो । साथीको कुरा सुनेर श्यामेले हाँस्दै भन्यो, 'मसँग भएको त म जे पनि दिइहाल्छु नि । बरु निर्धक्क भएर भन ।

'सेतेले आफ्नो कुरा राख्दै भन्यो, 'मलाई अरू त केही होइन, खिर खान मन लागेको छ । यो कामको बदलामा पेटभर खिर खुवाउनुपर्छ नि ।'सेतेको कुरा सुनेर हाँस्दै श्यामेले भन्यो, 'खिर त म खुवाइहाल्छु नि । म त के नै पो भन्छ होला भनेको । गाई ब्याएपछि म बोलाउँला तँलाई ।'सेतेले गाई ब्याएपछि खिर खाने लोभले सबै दाउरा चिर्‍यो, अनि घरतिर लाग्यो । एक सातापछि गाई पनि ब्यायो । श्यामेको घरमा प्रशस्त दूध भयो ।

घरमा अलिकति पनि नराखी बजारमा ठेक्का लगाउन थाल्यो । सेते श्यामेको बाटो हेर्दाहेर्दे वाक्क भएर उसको घर जान्छ । घरमा प्रशस्त दूध देख्यो । तर श्यामेले आज ठेक्का लानुपर्छ अब भोलि आइज भनेर उसलाई फर्काइदियो । अब खिर खाने लोभले सेते चाहिँ दिनदिनै श्यामेकोमा जान थाल्यो र खिर नखुवाउने भनेर कचकच गर्न थाल्यो । सेतेको चाला देखेर श्यामेलाई भने पिर पर्‍यो । उसले काम गर्नका लागि मात्र खिर खुवाउँला भनेको थियो । सेतेले त्यसरी कचकच गर्दा श्यामेले भने भोलिभोलि भन्दै टार्दै गयो । तैपनि सेते दिनमा एकपटक आएर श्यामेलाई खिरको सम्झना गराएर जान्थ्यो । श्यामे अनेक बहाना बनाएर फर्काउथ्यो ।

पैसाको लोभले दूध सबै बजारमा ठेक्का लाएकाले घरमा एक थोपा पनि रहँदैन्थ्यो, खिर पकाउने त कुरै भएन । अब भएन भनेर सेते आउने समयमा ऊ मरेको जस्तै गरेर बस्यो । सेते त्यो देखेर आत्तियो र साँच्चिकै मरेछ भनेर बढो चिन्तित भयो । अनि उसले आत्तिँदै भन्यो, 'अरे दैव, मलाई खिर नखुवाइकनै मर्‍यो मेरो साथी । अब कसले खुवाउँछ खिर ? खिर खुवाएरैमात्र मरेको भए पनि त हुन्थ्यो नि, किन अहिले मर्नु परेको होला ? 'सेतेलाई श्यामे मरेको भन्दा पनि खिर खान नपाएकोमा बढो चिन्ता लाग्यो । सेतेले सबै गाउँमा श्यामे मरेको हल्ला चलायो । सबै मानिस आएर श्यामेलाई बाँसमा बाँधेर नजिकैको घाट लगे ।

घाट लाने बेलामा सेते चाँहि टाउको नजिकै बसेर विस्तारै 'मलाई खिर नखुवाई मरिस् नि कन्जुस'भन्दै गनगनाउँदै थियो । सेतेले श्यामेको टाउकोको साइडतिर बोक्यो । उसले बाटामा पनि खिर नखुवाई मरिस् नि भन्दै पटकपटक श्यामेको कान नजिकै गनगनायो । अझ पनि यसको खिर खाने लोभ नसकिएको सुनेर श्यामे चुप लागेर बस्यो । लासलाई घाट पुर्‍याएर जलाउनका लागि ठिक्क पारेर राखियो । अनि लासको मुखमा आगो हाल्नलाई तीनपल्ट घुमेर विस्तारै सेतेले भन्यो, 'काम लगाइस् फकाई फकाई, मलाई खिर नखुवाई मरिस् कन्जुस् । मलाई खिर खुवाउनलाई एकै दिन बढी बाँचेको भए पनि हुन्थ्यो नि'भनी दिक्क मान्दै मुखमा आगो हाल्यो ।

'साथी मरेर यहाँ चितामा सुतिरहेको छ, यसलाई भने अझै खिरकै लोभ छ', श्यामे नबोलीकनै सास टप्प पारेर चितामै बस्यो । मुखमा आगोको ताप त सह्यो । तर जब उसको शरीरलाई आगोले भतभती पोल्न थाल्यो, उसले सहनै सकेन । म तँलाई खिर खुवाउँदिन भन्दै चिताबाट निक्लेर आथा आथा भन्दै खोलातिर भाग्यो । सबै मलामी हेरेको हेरै भए । साथी मरेको पिरभन्दा पनि खिर खान नपाएको पिरमा परेको सेते खुसी भयो । उसले मनमनै भन्यो, 'अब खिर नखुवाएर धर, भरे त आउने घरमै त हो नि'भन्दै उ सबै मलामीसँगै घर फर्किए।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100