MENU

पोषणका लागि खाद्य विविधीकरण

 केपी लम्साल बुधवार, असार २८, २०७४ 3664 पटक पढिएको

Share This

हामीकहाँ पाहुना आउँदा चौरासी व्यञ्जन पकाउने चलन छ । अझ कोही ससुराली गएर फर्किएको छ भने चौरासी व्यञ्जन खाइयो होला नि भनेर जिस्क्याएको सुनिन्छ । पूर्वीय सभ्यतामा मीठो मसिनो खाना चौरासी व्यञ्जनका रूपमा तयार पार्ने, राजा महाराजाहरूले चौरासी व्यञ्जन खाने गरेको विभिन्न ग्रन्थमा लिपिबद्ध पाइन्छ । यसरी चौरासी व्यञ्जन तयार पार्नु अर्थात् खानामा विभिन्न प्रकारका परिकार मिलाउनु स्वादका लागि मात्र हैन पोषणका लागि पनि फाइदाकर मानिन्छ।

हामीकहाँ व्यावसायिक रूपमै बढी प्रचलनमा रहेका नेवारी खाजा सेट, थकाली खाना सेट पनि धेरै हदसम्म खाद्य विविधता कायम गरिएको खानाका दृष्टान्त हुन् । हामीले चौरासी व्यञ्जन नै बनाउन त सक्दैनौं तर पनि आफूसँग भएका खानालाई मिलाएर खान सके स्वस्थ भएर बाँच्न सकिन्छ ।

संसारमा कुनै यस्तो खाना छैन जसले हामीलाई आवश्यक पर्ने सबै पोषक तत्ववहरू पूर्ति गर्न सकोस् । पोषण आवश्यकता पूरा गर्न विभिन्न स्रोतबाट प्राप्त हुने खानेकुरा मिलाएर खान आवश्यक हुन्छ । विशेषगरी हाम्रो शरीरलाई आवश्यक पर्ने कार्बोहाइडेट, प्रोटिन, चिल्लो पदार्थ, भिटमिन, खनिज पदार्थजस्ता पोषक तत्ववहरू कुनै एउटै खानेकुराबाट मात्र प्राप्त हुँदैन । खानेकुराको स्रोत र प्रकृतिअनुसार त्यसमा पाइने पोषक तत्ववको गुणस्तर र मात्रा फरक पर्दछ । अतः हामीलाई आवश्यक पर्ने पोषक तत्वव उचित मात्रामा पाउनका लागि त्यही किसिमका खानेकुराको प्रकार र परिमाण मिलाउन जरुरी हुन्छ ।

पोषक तत्ववहरू जीवन जिउन, शारीरिक तथा मानसिक वृद्धि विकासका लागि अत्यावश्यक कुरा हुन् । हामीलाई आवश्यक पर्ने मात्राका आधारमा बृहत् र सूक्ष्म गरी यिनलाई दुई समूहमा बाँडिएको पाइन्छ । कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थजस्ता बृहत् पोषक तत्वव हाम्रो शरीरलाई धेरै मात्रामा चाहिन्छ भने खनिज र भिटामिन थोरै मात्रामा चाहिन्छ ।

स्रोत के हुन् ?

– चामल, गहुँ, आलु, मकैबाट बनेका परिकारहरू, कन्दमूलहरू कार्बोहाइडेटका मुख्य स्रोत हुन् ।
– मासु, माछा, दूध र दूधका परिकार, अन्डा, विभिन्न किसिमका गेडागुडी प्रोटिनका मुख्य स्रोत हुन् ।
–घिउ, तेल, बोसो, माछा, भटमास, बदाम, ओखर, तोरी, तिलजस्ता खाना चिल्लोका स्रोत हुन् ।
– भिटामिन र खनिज तत्ववहरू मात्रात्मक रूपमा कम चाहिने भएता पनि शरीरमा यिनको ठूलो महत्व हुन्छ ।
– संसारभर यिनैमध्येका सूक्ष्म पोषक तत्ववको कमी भई कुपोषित भएकाहरूको संख्या ठूलो छ ।

खाद्य विविधीकरण

खानामा पाइने पोषक तत्वव, तिनले गर्ने काम, खाना उत्पादन हुने स्रोत आदिका आधारमा खानेकुरालाई विभिन्न समूहमा राखी खाद्य विविधता कायम गर्ने गरिन्छ । उस्तैउस्तै काम गर्ने, उस्तैउस्तै स्रोतका खानालाई एउटा समूहमा राख्ने गरिन्छ । खानाको उपलब्धता र कामका आधारमा विभिन्न देशहरूमा आआफ्नै खाद्य समूहहरू बनाइएको पाइन्छ । नेपालमा पनि विभिन्न देशहरूले गरेको वर्गीकरण, विश्व स्वास्थ्य संगठनको वर्गीकरण र यहाँकै खाद्य उपलब्धताका आधारमा वर्गीकरण गरिएका खानेकुराको समूहअनुसार खाद्य विविधताका लागि काम भइरहेको पाइन्छ । जसरी बाँडे पनि त्यसले गर्ने काम र उपलब्धतालाई केन्द्रमा राख्नुपर्ने हुन्छ ।

हामीले चौरासी व्यञ्जन नै बनाउन त सक्दैनौं तर पनि आफूसँग भएका खानालाई मिलाएर खान सके स्वस्थ भएर बाँच्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले खानालाई अन्न वा कन्दमूल, गेडागुडी, दूध तथा दुग्ध पदार्थ, माछा र मासु, अन्डा, भिटामिन ‘ए’ पाइने पहेँला फलफूल र हरिया सागपात, अन्य फलफूल तथा तरकारी गरी सात समूहमा विभाजन गरेको छ । हरेक छाकमा यीमध्ये कुनै चार समूहका खाना खाँदा पोषण आवश्यक पूर्ति हुने सुझाएको छ । त्यस्तै खानाको कामअनुसार शक्ति दिने, वृद्धि विकास गर्ने र सुरक्षा गर्ने गरी तीन समूहमा पनि बाँडिएको पाइन्छ । हस्पिटलहरूमा खाद्य मेनु योजनाका लागि विभिन्न फुड एक्सचेन्ज लिस्टहरू पनि छन् ।

हामीकहाँ समुदायस्तरमा हरेक बार खाना चार भन्ने नारा बढी चल्तीमा देखिन्छ । विशेषगरी बालबालिका र गर्भवती तथा सुत्केरीहरूको खाद्य विविधताका लागि सुआहाराले सुरु गरेको यो सन्देश सबै उमेरसमूहका लागि खाद्य विविधीकरण गर्ने सजिलो उपाय हो । हामीले खाने हरेक छाकमा अन्न वा कन्दमूल, गेडागुडी, सागपात तथा फलफूल र पशुपंक्षीजन्य स्रोतका खाना गरी चारवटा स्रोतबाट प्राप्त हुने खाना समावेश गर्नुपर्दछ भन्ने सन्देश प्रवाह गर्दछ ।

हरेक बार खाना चारअनुसार अन्न तथा कन्दमूल समूहमा मकै, गहुँ, चामल, कोदो, फापर, र जुनेलोजस्ता अन्नहरू साथै आलु, सखरखण्ड, पिँडालु, तरुल आदि कन्दमूलहरू पर्दछन् । कार्बोहाड्रटको मुख्य स्रोतका रूपमा मानिने यी खानाले हाम्रो शरीरलाई शक्ति दिन्छ । हरेक छाकमा यीमध्ये कुनै एकलाई समावेश गरेर खाँदा शरीरले आवश्यक शक्ति प्राप्त हुन्छ र अन्य फाइदा हुन्छ । वनस्पतिजन्य स्रोतको प्रोटिनको भण्डार मानिने भटमास, सिमी, दालहरू, केराउ, चना, बदामजस्ता खानाहरू गेडागुडी समूहमा पर्दछन् । हरेक छाकमा कुनै न कुनै गेडागुडी हुनु आवश्यक छ ।

फर्सी, सक्खरखण्ड, कटहर, एभोकाडो, पाकेको आँप, मेवा, विभिन्न सागपात, गाजर, खरबुजा, सिस्नु, कर्कलो, मुलाको साग, काउली, सुन्तला, गोलभेँडा, कागती, अमला, भन्टा, केरा, तरबुजाजस्ता तरकारी तथा फलफूल भिटामिन तथा खनिजको मुख्य स्रोत हुन् । हामीले खाने खानाको हरेक छाकमा एक वा सोभन्दा बढी खानेकुरा समावेश हुन जरुरी छ । हाम्रो पोषण आवश्यकताको सन्तुलित परिपूर्तिका लागि पशुपंक्षीजन्य स्रोतबाट पाइने खानेकुराहरू जस्तैः मासु, माछा, अन्डा साथै दूध र दूधबाट बनेका परिकारहरूमध्ये कुनै हरेक छाकको खानामा पर्न आवश्यक छ ।

खाद्य विविधताका फाइदा

हामी कति स्वस्थ हुन्छौं भन्ने कुरा हामीले खाएको खानाको गुणस्तर, मात्रा र खाने तरिका तथा जीवनशैलीले निर्धारण गर्दछ । हाम्रो शरीरको पोषण आवश्यकता कुनै एक खालको खानाले मात्र पूरा गर्न सक्दैन । विभिन्न खालका खानाहरू मिलाएर खान जरुरी हुन्छ । एकै खालको खानामात्र खाँदा त्यसबाट पाइने पोषक तत्वव बढी हुन्छ भने अन्य अभाव हुन्छ । चामलको भातमात्र खाने हो भने त्यसमा पाइने कार्बोहाइडेट हाम्रो शरीरले पाउँछ तर अन्य पोषक तत्ववहरूको अभाव हुन्छ । भातसँगै खाइने दाल, तरकारीले चामलमा नपाइने अरू पोषक तत्ववहरू केही पूर्ति पर्दछन ।

सधैं फलफूल र सागपातमात्र खाइरहने हो भने त्यसबाट केही भिटामिन र खनिज त प्राप्त हुन्छ तर शरीरमा शक्तिको कमी भई कुपोषण हुन्छ । अतः हामीलाई आवश्यक पर्ने सबै खालका पोषक तत्ववको सही आपूर्तिका लागि विभिन्न खालका खानाहरू, सही मात्रामा मिलाई उचित तरिकाले खानुपर्दछ । के खाने, कति खाने र कसरी खाने भन्नेमा ध्यान दिई खानालाई औषधिका रूपमा खाने हो भने जीवनशैली र खानपानसँग सम्बन्धित रोगका कारण जीवनभर औषधि खानै पर्दैन।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100