MENU

'लुक्स राम्रो हुनुपर्छ'

अन्नपूर्ण शुक्रवार, असार ३०, २०७४ 5123 पटक पढिएको

Share This

पछिल्लो समय युवा पुस्तामा रुचाइन थालेका नाममध्ये गायिका योजना पुरी सूचीमा पर्छिन् । हालै उनले ल्याएको 'यसपालिको तीजमा' बोलको गीत धेरैले मन पराएका छन् । 'भुँडीवाला केटो', 'घर होइन मन', 'बस्नै नसक्ने', 'ए शिवजी', उनका चर्चित गीत हुन् । आधुनिक, लोक र तीजगीतमा आवाज दिँदै आएकी गायिका पुरी मिडियाकर्मी पनि हुन् । मास कम्युनिकेसनबाट स्नातकोत्तर गरेकी उनी आफ्ना गीतमा आफैं मोडलिङ समेत गर्छिन् । कलाकार बन्न कला, गला र समर्पण चाहिने भन्न रुचाउने गायिका पुरीसँग शिवराज योगीले गरेको संवाद :

आफूलाई को भनेर चिनाउन चाहनुहुन्छ ?
 मेरो जन्म मोरङमा भयो, हाल काठमाडौंमा बस्छु ।

 मिडियामा कहिलेदेखि लाग्नुभयो ?
संगीत क्षेत्रमा पहिलो गीत रेकर्ड गरेको एक दशक भइसक्यो । मिडियामा काम गर्न थालेको पाँच वर्ष बितेछ । मलाई अहिले गायिका र मिडियाकर्मीको परिचय प्यारो लाग्छ । पढाइ सकियो । मास कम्युनिकेसनमा मास्टर गरेँ । रेडियो, टेलिभिजन हँुदै अहिले ओस नेपालमा फेसबुक लाइभ कार्यक्रम गर्छु।

 शिक्षादीक्षा कहाँ भयो ?
 ब्याचलरसम्म उर्लाबारी र मास्टर काठमाडौंमै गरेँ ।

पढ्दाताका के बन्छु भन्ने लाग्थ्यो ?
सानो छँदा घरमा नर्स, बैंकर बन्ने दबाब थियो, मलाई चाहिँ गीतसंगीत र मिडियामा सानैदेखि केही गरौं भन्ने रहर थियो ।

 कलाकारितामा लाग्ने रहर कसरी जाग्यो ?
रेडियो धेरै सुन्थेँ । रेडियो र साथीहरू शिक्षक नै मेरा सुरुवाती प्रेरणा हुन् ।

 किन कलाकारिता नै रोजाइमा पर्‍यो ?
मलाई सानैबाट केही गर्नुपर्छ भन्ने लाग्थ्यो अनि मसँग के छ भन्दा आवाज नै मेरो हतियार हो भन्ने लाग्यो र आवाजबाटै कलाकारिता गर्न थाले ।

 कलाकार हुँदाका दुई फाइदा, दुई बेफाइदा के हुन् जस्तो लाग्छ ?
सबैको माया पाइन्छ खुसी लाग्छ, साना कुराहरू पनि अरूले हामीले जस्तै गर्न खोज्नुहुन्छ जस्तै ड्रेस, बोल्ने स्टायल । बेफाइदा चाहिँ बाहिर हिँड्दा, बोल्दा खाँदा एकदम विचार गर्नुपर्छ । सानोसानो कुराहरू विचार गरिएन भने अरूमा आफूप्रति नकारात्मक असर पर्ने हुँदा एकदम सजग हुनुपर्छ ।

कलाकार बनेर जीविका चलाउन सकिन्छ त ?
कस्तो जीवन जिउने भन्नेमा भर पर्छ । केही औंलामा गन्न सक्ने बाहेक अरूलाई त्यति सजिलो छैन होला तर म चाहिँ मिडिया र म्युजिक भएकोले ठीकैको जीवन बाँचिरहेकी छु ।

नेपालको कलाकारिता कुन बाटोमा हिँडेजस्तो लाग्छ ?
राम्रो नि भइरहेको छ तर व्यवस्थित हुन सकेको छैन ।

आजसम्म कति गीत गाउनुभयो ?
 लगभग चार दर्जन गाएकी छु ।

 मोडलिङ पनि गर्नुहुन्छ नि, कस्तो छ प्रक्रिया ?
आफ्नै गीतमा गरेकी छु, प्रतिक्रिया राम्रो छ । दर्शकले गायिकाजस्तै मोडेलको रूपमा पनि रुचाएका छन् ।

के चाहिँदो रहेछ मोडेल बन्न ?
 अभिनय अनि लुक्स राम्रो हुनुपर्छ ।

 जिन्दगी के हो जस्तो लाग्छ ?
सुखदु:खको सम्मि श्रण नै जीवन हो । भगवान्को सुन्दर उपहार पनि हो, यसलाई सही सदुपयोग गर्नुपर्छ ।

प्रेममा पर्नुभयो कि भएन ?
 नपरेको भन्दा कसैले विश्वास नगर्ला, परेको भनौं भने ऊ नै मेरो लाइफ हो भन्ने चाहिँ भेटेकी छैन, मन हो मनपर्ने, मनपराउने चाहिँ हुनुहुन्छ ।
 

प्रेम र सेक्सको सम्बन्धबारे के भन्नुहुन्छ ?
प्रेमले जीवन जिउन सजिलो गराउँछ, सेक्स प्रकृतिको नियम हो, सृष्टि चलाउन सेक्स आवश्यक पर्छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100