MENU

सिसाको घरमा बस्छु म

राजेन्द्र पराजुली शनिवार, असार ३१, २०७४ 4765 पटक पढिएको

Share This

बहस

‘आफैं सिसाको घरमा बसेर अरूमाथि तिखा ढुंगा किन प्रहार गर्नु !' साहित्यिक लेख होस् या समीक्षा ‘क्रिटिकल' लेख्नेहरूमाथि लक्षित गरी अधिक प्रयोग गरिने वाक्य हो यो । यो वाक्यको प्रयोग निरन्तर छ, कहिलेकाहीँ प्रयोग भएन भने त्यसलाई आकस्मिकता मानिदिए हुन्छ । बरु, यो वाक्य पछिल्लो समय थप बलियो र धेरैको प्रिय बन्दै आएको छ । हाम्रोमा मात्र होइन सर्वत्र नै लेखिएका थुप्रै रचनामध्ये निकै थोरै राम्रा वा स्तरीय हुन्छन् । ती दिगो हुन्छन्, चर्चायोग्य र स्मरणीय बन्छन् । यसलाई दुनियाँकै सर्वमान्य साहित्यिक उपलब्धि मान्दा हुन्छ । सानो चित्त भएका वा आफ्नो सामान्य टिप्पणी अथवा आलोचना पनि सुन्न नसक्ने असहिष्णु लेखक ‘क्रिटिकल राइटिङ'सँग तीव्र विमति राख्छन् । यही कारण पनि कुनै लोभलालच नभएको, चाकरी चाप्लुसी मन नपराउने आलोचकलाई ‘सिसाको घरमा बस्ने प्राणी' भन्दै हतोत्साही गर्ने प्रचलन व्यापक बन्दै गएको छ ।

‘तिमी कमै लेखकका कृतिलाई मात्र राम्रो भन्छौ,' मेरा शुभचिन्तक मप्रति गुनासो भाव राख्दै भन्ने गर्छन् । के त्यसो भए मैले सबैलाई राम्रो भनिदिनुपर्ने हो ? कविहरूलाई जिउँदो वडर्सस्वर्थ वा सेली, कथाकारलाई एन्टोन चेखब, प्रेमचन्द वा सआदत हसन मन्टो भनिदिनुपर्ने ? अनि, उपन्यासकारलाई साक्षात् गाब्रियल गार्सिया मार्खेज, पाउलो कोएलो वा निर्मल बर्माको रूप देखिदिनुपर्ने ? त्यत्ति पनि गर्न नसके आख्यानमा विश्वेश्वरप्रसाद कोइराला, कवितामा भूपि वा रिमालको प्रतिरूपको कल्पना गरिदिनुपर्ने ? कति हास्यास्पद छन् हाम्रा मनोकामना !

उल्लिखित लेखकहरूसँग तुलना नगरिदिँदा अथवा दशक वा कुनै एउटा कालखण्डकै सर्व श्रेष्ठ लेखक नभनिदिने हो भने जोकोही (क्रिटिकल लेखक) लाई पनि सिसाको घरमा बसाइन्छ र ताकेर ढुंगा हान्न थालिन्छ । क्रिटिकल लेख्नेले सदैव पत्थर प्रहार सहन तयार भए हुन्छ । उसलाई झुर लेखकहरू तिखा मट्याङ्ग्राले हान्ने अनवरत प्रयत्न गरिरहेका हुन्छन् । त्यसका अतिरिक्त क्रिटिकल लेखनका कारण ‘मलामी गुमाएको' भन्ने अत्यन्तै कमजोर सामाजिक बन्धनसँग जोडिएको आरोप पनि आरम्भ हुन्छ ।

कविहरूलाई जिउँदो वडर्सस्वर्थ वा सेली, कथाकारलाई एन्टोन चेखब, प्रेमचन्द वा सआदत हसन मन्टो भनिदिनुपर्ने ? त्यत्ति पनि गर्न नसके आख्यानमा विश्वेश्वरप्रसाद कोइराला, कवितामा भूपि वा रिमालको प्रतिरूपको कल्पना गरिदिनुपर्ने ? कति हास्यास्पद छन् हाम्रा मनोकामना !

‘तैंलेचाहिँ आजसम्म के राम्रो लेख्या छस् र मेरा लेखनीलाई नराम्रो भन्न ? पहिला आफू राम्रो लेखेर देखा अनि अरूका रचना कमजोर भन्ने अधिकार पाउँछस्' यो वाक्यले त अब नेपाली साहित्यमा क्रिटिकल समीक्षा-समालोचना लेख्न कसैले हिम्मत नगर्ने अवस्थालाई निमन्त्रण गरिरहेको देखाउँछ । कुनै समीक्षकले आफ्नो समीक्षा राम्रो, सन्तुलित र सुललित लेख्ने कि जुन विषयमा समीक्षा गरेको हो त्यही विधा राम्रो लेख्नुपर्ने ? के यसो गर्नु सम्भव छ ? नेपाली साहित्यमा आजसम्म पनि स्मरण गरिने समालोचनामा पर्छ ‘सुक्तिसिन्धु' कविता संग्रहमाथिको जुहारी समालोचना ।

रामकृष्ण शर्मा र यदुनाथ खनालबीच परेको उक्त कृतिको समीक्षात्मक जुहारीले नेपाली समालोचनामा एउटा छुट्टै र विशेष महत्वव राख्छ । ती समालोचनाले एउटा मानक स्थापनामा मद्दत गरेको मानिन्छ । के अब शर्मा र खनाललाई सुक्तिसिन्धुमा रहेका कविताकै स्तरमा कविता लेखेर देखा अनिमात्रै यसबारे समालोचना लेख्लास् भन्ने ? समालोचना लेख्नेले समालोचना नै स्तरीय लेख्ने हो । जसरी कविता लेख्नेले कविता नै राम्रो लेख्ने हो । यसमा शंका छैन, अधिकांश समीक्षा-समालोचना रचनामा केन्द्रित नभई प्रभावमा परेर, सम्बन्धमा आधारित रहेर वा लेनदेनलाई हेरेर लेखिएका छन् । ती सन्तुलित र स्तरीय त बन्न सकेका छैनन्, साथमा एउटा बेग्लै ‘रचना' पनि बन्न सकेका छैनन् । यही कारण पनि समीक्षाले विश्वास गुमाउँदै गएको अवस्था छ ।

समालोचना साहित्यको अलग विधा भएकाले यसले सर्वप्रथम त रचना बन्न सक्नुपर्छ, एउटा बेग्लै अस्तित्वपूर्ण सिर्जना बन्न सक्नुपर्छ । कतिपय समालोचना रचना बन्न सकेका छैनन् । तर, जसले सन्तुलित, सुललित, मिठासपूर्ण र क्रिटिकल समीक्षा लेख्ने प्रयास गरिरहेको छ, समालोचनालाई बेग्लै स्वादको रचनाको स्तरमा पुर्‍याइरहेको छ, उसलाई हतोत्साही पार्ने प्रयास निरन्तर चलिरहेको छ ।

क्रिटिकल आलेख वा समीक्षा लेख्नुका मेरा केही मान्यता छन् । अखबार, म्यागेजिन, साहित्यिक पत्रिका वा अन्य कुनै पनि सञ्चारमाध्यमका ‘स्पेस'हरू केवल स्थानपूर्ति वा भर्नका लागि हुँदैनन् । हामी लेखक-साहित्यकारले लेख्ने शब्द फिलर (भरुवा) मात्रै हुन सक्दैनन्- हुनु हुँदैन । हामी साहित्य लेख्ने लेखकले सधैं फिलर (समाचार अथवा अन्य त्यस्तै सुन्दर लेख नहुँदा वा विज्ञापन नपाउँदा) रचनामा मात्रै सीमित बन्ने कि आमपाठकको रुचिका आलेख लेखेर सञ्चारमाध्यममा अत्यावश्यक सामग्री प्रदान गर्ने लेखकको कोटीमा उक्लने ! सम्पादक तथा पृष्ठ संयोजकले लेखकलाई कुनै दया गरेर नियमित स्पेसको जोगावट गरिदिने गर्दैनन् । त्यसकारण हाम्रा हरेक आलेखले कुनै बहस निर्माण गर्न सक्नुपर्छ, तिनले नयाँ कोण वा आयाम थप्ने काम गरिरहेको हुनुपर्छ । अन्यथा, हाम्रो साहित्य, समाज र राजनीति सधैं स्थिर रहिरहन्छ । तिनले भुइँमान्छे वा किनारीकृतको आवाज बोल्न सक्दैनन् ।

हाम्रो मनोविज्ञान स्थिरताप्रेमी छ । नयाँ विचार, सोच तथा चिन्तनलाई हत्तपत्त प्रवेश दिँदैनौं । हामीलाई विकल्प खोज्न मन लाग्दैन । जसरी हामी राजनीतिक दलका नेतालाई खराब पनि भनिरहेका हुन्छौं र तिनैलाई आफ्नो अमूल्य मत पनि दिइरहेका हुन्छौं । खराबलाई मत दिनुको अर्थ के हो ? खराबलाई प्रोत्साहन गर्नु मात्र हो । जडतालाई मलजल गर्नु वा स्थिर रहनु अनि लामो गन्तव्य तय गर्नु, तर पाइला अघि नबढाउनु उस्तै अवस्था हो । हाम्रा हेराइ, बुझाइ र ठम्याइ अनि त्यसको निचोड लेखाइ क्रिटिकल नहुने हो भने कुनै पनि क्षेत्रको उन्नतिको सपना नदेखे हुन्छ ।

पाठक सधैं विकल्पको खोजीमा हुन्छ । उसले नयाँ रचना, नयाँ लेखक र नयाँ विषयलाई सधैं महत्वव दिइरहेको हुन्छ । यसकारण पनि मेहनतका साथ नयाँ ढंगले लेखिएका कतिपय नयाँ लेखकका कृतिलाई पाठकले सहर्ष स्वीकार गरिरहेका छन् । तिनलाई आफ्नो मनको कुनामा सजाएर सम्मान गरिरहेका हुन्छन् । एकपटक आफूले स्वीकृति दिएको लेखकलाई हत्तपत्त आफ्नो रुचिको कित्ताबाट पर राख्न पाठकले चाहँदैनन्, उसको अर्को कृति थप स्तरीय आउने अपेक्षा गरिरहेको हुन्छ ।

तर, आफ्नो मनको अदालतमा पहिलो कृति कैद गर्दैमा दोस्रो वा अन्य कृति लेखकले कमजोर लेख्दै गयो भने पाठकले तुरुन्तै बहिष्कार गरिदिन्छन् । अनि एक पटक पाठकको बहिष्कारमा परिसकेपछि पुनः प्रिय बन्न लगभग असम्भव नै हुन्छ । पाठकलाई कृतिबारे जानकारी दिने र त्यसका गुण-दोष केलाएर प्रस्तुत गरिदिने जिम्मा क्रिटिकल समीक्षकको हो । यसकारण पनि समीक्षकलाई सिसाको घरमा बस्ने प्राणीका रूपमा चित्रित गरिनु सरासर अनुपयुक्त काम हो । सबैलाई थाहा छ- क्रिटिकल लेखकलाई हतोत्साही पार्ने काम एउटा झुण्ड, कोटरी वा सिन्डिकेटका सदस्यहरूद्वारा हुने गरेको छ ।

त्यस्तो समूह झुर लेखकहरूको मिलेमतोमा बनेको हुन्छ । त्यसले आफ्नो झुन्डका सदस्यको जस्तासुकै रचना सार्वजनिक हुँदा पनि प्रशंसा गर्छ । त्यो झुन्डले अरूको त कुरै छाडौं प्रशंसा गरेको आफ्नै कोटरीका लेखकको रचना पनि राम्ररी पढेको हुँदैन । कुन शब्द कसरी प्रयोग गरेर आफ्नो दौंतरीको रचनाको प्रशंसा गर्ने भन्ने कुरामा ती पहिले नै तयार हुन्छन् । र, तिनले क्रिटिकल आलेख वा समीक्षा लेख्ने लेखकलाई कसरी हतोत्साही पार्ने, थर्काउने, धम्क्याउने भन्ने कुरामा पनि पूर्वतयारी गरिरहेका हुन्छन् । तर्साउन नसक्दा कसरी फकाउने भन्ने विषय पनि तिनलाई राम्रै हेक्का रहन्छ ।

पछिल्लो समय हाम्रा सञ्चारमाध्यममा छापिने राजनीतिक-आर्थिक-सामाजिक आलेखहरू बढी क्रिटिकल हुँदै गएका छन् । अध्ययन-अनुसन्धान गरेर तर्कपूर्ण ढंगमा लेख लेख्नेहरूको माग ह्वात्तै बढेको छ । त्यस्ता लेखका कारण आफ्नो पत्रिका चर्चित हुने कुरा सम्पादक-प्रकाशकले बुझ्न थालेका छन् । सञ्चारमाध्यमले त्यसरी उत्कृष्ट शैलीमा क्रिटिकल लेख लेख्न सक्ने लेखकलाई राम्रो पारि श्रमिक दिन थालेका छन् । त्यस्ता लेखकलाई आफ्नो पत्रिकामा मात्र लेख्ने सम्झौता गराई उचित पारि श्रमिक दिने चलन अब सामान्य हुन थालिसकेको छ ।

यही कारण पनि तिनले उल्लेखनीय ढंगमा पाठकवृद्धि गरिरहेका छन् । त्यसरी ढंग पुर्‍यएर लेखिएका आलेखले समाजमा ठूलो बहस निर्माण गरेका छन् । राजनीतिक दलहरू आलेखलाई आधार मानेर आफ्ना योजना बनाउन थालेका छन्, आफूलाई सुधार्दै अघि बढ्न थालेका छन् । र, प्रमुख कुरो साहित्यमा जस्तो यस्ता आलेख लेख्नेलाई कसैले सिसाको घरमा बस्ने मान्छे भनी सम्बोधन गर्दैन, ‘पख्लास्' भनी धम्क्याउँदैन ! युवा पुस्ताका कतिपय राजनीतिकर्मी त्यस्ता क्रिटिकल आलेख नियमित पढ्न थालेका छन् । आफ्नै पार्टी र दलका नेताका कमजोरी केलाएर लेखिएका आलेख तिनको प्रिय सामग्री बन्न थालेका छन् । तर, साहित्यमा मात्र किन यस्तो असहिष्णु व्यवहार मौलाउँदै गएको होला ? प्रश्न गम्भीर छ, तर उत्तर दिन कोही अघि सर्दैन ।

‘राम राम्रो मान्छे हो, श्याम पनि खराब छैन' भन्ने आशयका आलेखमा अब पाठकले रुचि राख्दैनन् । झन् साहित्यिक आलेख वा समीक्षामा त यस्ता आशयका कुनै अर्थ हुँदैनन् । राम्रा रचना राम्रै हुन्, झुर कृति झुरै हुन् । कुनै दल, कोटरी, वर्ग, लिंग वा सिन्डिकेटले बोकेर झुर कृतिलाई महान् भन्दैमा त्यो महान् कदापि हुन सक्दैन । स्वार्थसमूह मिलेर बनेको कोटरी एक दिन अवश्य भत्कन्छ । भत्केपछि विगतका कर्तुत सारा बाहिर आउँछन्, त्यसपछि हिजो महान् भनिएको लेखक सर्वथा झुरमा दरिन थाल्छ !

झुरलाई झुर भन्नुको अर्थ राम्राको स्पेस सुरक्षित पार्नु हो । र, झुरलाई हतोत्साही गर्नु वा मेहनत गर्न सल्लाह दिनु पनि हो । झुरलाई पनि राम्रो वा विश्वस्तरीय भनिदिनु राम्रोको अपमान त हो नै साथमा त्यो एक प्रकारले साहित्यमाथि गरिएको बलात्कार हो । त्यस्ता बलात्कारी सजायका भागीदार हुन्छन् । समस्या यहीँनिर छ, तिनलाई सजाय गर्ने कसले ? इमानदार र गम्भीर पाठकले तिनलाई सजाय दिन सक्ने हो भने सिसाको घरमा बस्ने लेखक बलियो बन्ने छ, उसको समीक्षाले एक दिन नेपाली साहित्यलाई धेरैको प्रिय बन्न मद्दत गर्नेछ ।

उसै पनि हाम्रा लेखनी औसतभन्दा माथि उक्लन सकिरहेका छैनन् । त्यही औसताको परिधिमा अडेर एकाध लेखक अलिकति माथि उक्लन खोजिरहेका छन् । तिनले पाठकको स्नेह पाइरहेका छन् । तर, अधिकांश त औसतभन्दा धेरै तल्लो कोटीका छन्, जो पुस्तकसहित बजारमा हाजिर धेरै गर्छन् र चर्चा पनि उसैगरी बटुलिरहन्छन् । बजार बर्सेनि सयौं साहित्यिक कृतिद्वारा रंगिने गर्छ । कतिपय त पाठकका आँखामा पर्दै नपरी त्यसै बोरामा कोचिन्छन् वा ‘खाली सिसी-पुरना कागज' बन्न पुग्छन् । तीमध्ये केही राम्रा पनि हुन सक्छन् । तिनलाई समीक्षकले खोजेर प्रवद्र्धन गर्ने काम गर्न सकेका छैनन् । निश्चय पनि यो लेखकका निम्ति त ठूलो घाटा हो नै साथमा समग्र नेपाली साहित्यका लागि पनि हानि हो ।

केही वर्षअघि नै मैले आफ्नो लेखनीबारे घोषणा गरिसकेको छु ‘म एउटा औसत लेखक हुँ' भनेर । राम्रो लेख्ने प्रयासमा डटिरहेको छु, तर काम चित्तबझ्दो ढंगमा हुन सकिरहेको छैन । त्यो औसतताबाट मेरो लेखन यात्रा कता लागिरहेको छ, त्यसको निक्र्योल गर्ने जिम्मा प्रिय तथा आदरणीय पाठकको हो, समीक्षकको हो । मेरो घमण्ड आफ्नो मेहनतमाथि मात्रै छ, हरदम राम्रो लेख्ने प्रयासमा छु- औसतताबाट माथि उक्लने कोसिसमा छु ।

आफैंलाई मेरो मनको एउटा कुनोले भन्छ, अवश्य पनि म सिसैसिसाको घरमा बस्छु । मलाई प्रिय लाग्छ- यो सिसाको घर । म निश्चिन्त केमा छु भने, मेरो सिसाको घर धेरै अर्थमा सार्वजनिक अनुहार बनाउने लोभले लेखनमा लागेको मेरा निम्ति लाभदायी छ । यो घरमा बसेर बाहिरका विसंगत पक्ष छर्लंग देख्न सक्छु र त्यसका बारेमा धित मर्ने गरी लेख्न सक्छु । म बसेको सिसाको घरमा कसैलाई ढुंगा हान्न मन छ भने त्यसलाई म सहर्ष स्वीकार गर्छु ।

‘तिमी पनि सिसाको घरमा बसेका छौ, यसरी अरू लेखकलाई ढुंगा हान्दा आफूतिर पनि त्यसै गरी ढुंगा बर्सन्छ है' केही लेखक-कवि-विद्वान्ले मलाई धेरै पटक यस्ता चेतावनी दिएका छन् । कतिपय झुर लेखकले मेरो सिसैसिसाको घरमा तिखा र डर लाग्दा ढुंगाले हिर्काइसकेका छन् । कतिपय अझै नियमित हिर्काइरहेका छन् । तर, मेरो सिसाको घरमा एउटा सानो दाग पनि लागेको छैन ।

जसले मलाई ‘तिमी पनि सिसाको घरमा बस्छौ होस् गर' भनी सम्झाउने, धम्काउने वा थर्काउने काम गर्‍यो तिनको निसाना नै गलत ठाउँमा पर्दै आएको छ । तिनले सीधा मेरो सिसाको घरमा ढुंगा हान्नै सकेका छैनन् । तिनले मलाई हान्न खोजेको ढुंगा अन्त कतै गएर ठोक्किने गरेको छ र कहिलेकाहीँ त फर्किएर त्यो ढुंगा तिनैमाथि बर्सिएको पनि देखेको छु । मेरा प्रिय, अग्रज, समकालीन तथा अनुज लेखकहरूसामु म घोषणा गर्छु- साँच्चै ! सिसैसिसाको घरमा बस्छु म ।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100