MENU

काउली बारीकी केटी

युवराज नयाँघरे शनिवार, असार ३१, २०७४ 3573 पटक पढिएको

Share This

बोल्नेका सुक्खा तर सुन्नेका आँखा भए पूरै रसिला !
म सुनिरहेको छु उसका कथा । छाती चहराउने कुरा । थामी-थामी मनको भल— उसका कुरा सुनिरहेको छु एकोहोरो । घरी-घरी बगे आँसुको भुल्का ।
परेली भिज्न रोकिएन । पुछिरहेँ हरेक औंलाले । कुरा सुन्दासुन्दै भक्कानो छुट्ला जस्तो हुन्थ्यो । अनि भुल्भुलाएर आँखाका कोसबाट बगिहाल्थ्यो तातो आँसु ।
फेरि नाक पनि रसाइहाल्ने !
तर, बोल्ने त्यो केटीका आँखा सुक्खा छन्— छैन एक थोपो आँसु । कुनै र कतै कोसबाट भिजेका छैनन् । उसका नाक पनि बजेका छैनन् ।
म त सही थापिरहँदा पनि नाक बजाएरै ‘हजुर ! हजुर !!' भनिरहेको छु । मेरो मन कति धेरै भत्केछ— सुनेका कुराले । मेरो मन कति धेरै पग्लेछ— उसको क्रन्दनले । मेरो छाती कति कहालिएछ— सुनिरहेका सुस्केराले ।
हत्तेरिका !
०००
‘सर, बुबाले मेरी आमालाई बिहे गरेपछि घरमा ठूली आमा हुनुहुन्थ्यो । साहै्रै दुःख थियो । ठूली आमाबाट चारजना सन्तान थिए— दाइ र दिदीहरू । मेरी आमाबाट मैमात्र जन्मिएकी हुँ !
म जन्मेको चार वर्षपछि त आमा पनि बितिहाल्नुभयो । अब घर फेरि रित्तो भयो । बालाई उस्तै दुःख, उस्तै सास्ती । चार सन्तानको देखभाल होला कि भनेर मेरी आमा भित्र्याउनु भएथ्यो । लगत्तै म जन्मेर अरू दुःख थपिदिएँ । बोझमाथि बोझ !'
०००
फेरि चिसा परेलीमा भुल्भुलायो आँसु । तप्प-तप्प नखसेर बगेका आँसुलाई माझी औंलाले पुछेर हलुका पारेँ आँखालाई । आँसुले सुनिरहेका कानलाई नजिकै राखेको रहेछ— ऊ घरी-घरी मौन बन्थ्यो ।
भित्र छातीमा कस्तो-कस्तो चोटले हिर्काउँथ्यो भ्वाक्क-भ्वाक्क । वेदनाको व्याकरण आफ्नै खालको हुँदो रहेछ । आफ्नै खालको भाषा पनि । के अनौठो बिजुली र हुरीबतास !
पर-पर टोलाउन पुगेका आँखामा एउटा बेजोडको घामपानी आइरहन्थ्यो । दुःखले मिलिक्क-मिलिक्क चम्काउन छोडेन बिजुली ।
०००
‘सर, घरमा खान नि थिएन कि ! मलाई एकदमै भोक लाग्थ्यो । बुबा जंगलमा काठ बोक्ने काम गर्नुहुन्थ्यो । काठ चिर्ने आरावालहरू हुन्थे । अरू दिदीहरू स्कुल जान्थे । मलाई गाईगोरु धपाएर त्यसकै गोठालो जा भन्थे । म दिनभरि गाईगोरु चराएरै दिन बिताउँथेँ ।

म आसले कराई र भाँडाकुँडा हेर्थें । त्यही पानी भरिएको भाँडा पनि कुकुरले चाटिरहेको देख्थेँ । भोकले पेट बाँउडिन्थ्यो । अनि म घर पछाडिको बारीतिर पस्थेँ ।


भोक कति लाग्थ्यो कति ! सर्टको बाहुला चुसिरहन्थेँ । दुवै बाहुला चुस्ता-चुस्ता एकदमै सुकिला हुन्थे । तर कुइनेटो मास्तिर कालैमैलै हुन्थे ।'
०००
भत्किएको मनमा फेरि चोट चर्चराउँछ । सुन्नलाई गाह्रो भएको छ । तर, नसुनी भएको छैन मैले । आँखामा ओर्लिएको दुःख बग्छ । छातीमा नदेखिने वेदनाले गिजोलेको गिजोलेकै गर्छ । आँसु पनि थामिने र भुल्भुलाउने गरिरहेकै छ ।
कसरी लुकाउनु र आँसुलाई ? कसरी छेक्नु र दुःखको यो झरीलाई ? कसरी छेकथुन गर्नु चोटको बाँधलाई ?
०००
‘सर ! भान्सामा गएर हेर्थें । कराई र काला भाँडामात्र देख्थेँ । त्यो पनि एकै ठाउँमा भेला पारी दिदीहरूले राखिसकेका हुन्थे । जुठेल्नोका भाँडामा टन्न पारी पानी हालिदिन्थे ।
म आसले कराई र भाँडाकुँडा हेर्थें । त्यही पानी भरिएको भाँडा पनि कुकुरले चाटिरहेको देख्थेँ । भोकले पेट बाँउडिन्थ्यो । अनि म घर पछाडिको बारीतिर पस्थेँ ।'
०००
आँखाका परेली फेरि भिज्थे सरर्र । म तिनलाई कान्छी औंलाले धर्कोजस्तो तानेर पुछपाछ गर्थें । मनमा हजारौं किलोको गरुँगो भारीले बेस्सरी थिचथाच पार्थे मलाई ।
आँखा चिम्लेर वेदना मोड्न सक्तिन्थेँ । हृदयका पत्रमा आएर घरी-घरी तिनले धावा बोल्न छोडेनन् । आखिर बाटो त्यही रहेछ । दुःखले सुस्केरा हाल्ने एउटै दैलो रहेछ आँखा । त्यहीँ आएर साउनको झरीजस्तो बर्सिन्थ्यो बेस्सरी ।
०००
‘घर पछाडि गोठसँगै जोडिएको बारी थियो । त्यहाँ बुवाले काउली रोप्नुहुन्थ्यो । गोबरको मल भएर होला— काउलीहरू एकदमै सप्लाएका र अग्ला-अग्ला हुन्थे । म तिनै काउलीका मसिना पात खाँदै-खाँदै भोक मार्थें ।
चरी अमिलो खान्थेँ । कलिलो दुबो खान्थेँ । अनि भोकले आलसतालसिएर कतिखेर-कतिखेर निदाउँथेँ ।'
०००
मैले बोलिरहेकी त्यसको अनुहार एक पटक आँसु भुलभुलाएर हेर्नै सकिनँ । भुइँतिर निहुरिएँ । मेरा नांगो बूढीऔंलाको नङ पखालियो तप्प-तप्प तातो आँसुले ।
बाँधै फुटेजस्तो भयो आँखामा । आँसुले समयको कुनै ख्यालै गरेन । आयो र आएको-आएकै गरिरह्यो आँसुको झरीबादल ।
०००
‘सर, भोकले पेट दुखी-दुखी भए पनि निदाउँथेँ म । साँझमा बुवा आउनु हुन्थ्यो जंगलबाट काठ बोकी थाकेर । घरमा अरूलाई मेरो के चासो र ! दुईचार पटक बुवाले त्यही काउली बारीमा नै भेट्नु भएकोले होला— धेरैजसो त्यतै गएर खोज्नुहुन्थ्यो मलाई ।
मलाई त्यही काउलीको अग्ला-अग्ला बोटमुनि सुत्ने बानी परेको थियो । निष्ठुरी दाइदिदीको मुख हेर्न नि मन लाग्दैन्थ्यो । ती एकदमै रिस उठ्दा थिए । अनि म पनि अग्ला न अग्ला बोटमुनि बस्थेँ, सुत्थेँ र समय कटाउँथेँ ।'
०००
मैले नबोलेर के भो त ? आँखामा धेरै चोटले धारावाहिक बोलेको लाग्दैछ । मैले छातीलाई चुप लगाए पनि— ओठमा त्यसको छुवाइ पटकपटक आएको-आएकै छ ।
आँसुसँग सबै भाषाले बुझ्ने अर्थ हुँदो रहेछ । म यतिबेला त्यही अनुभव गरिरहेकै छु । एकदमै युद्धरत अवस्था— वेदना र सहानुभूतिको कुस्ताकुस्ती ।
०००
‘कति भुसुना भुनभुनाउँदा हुन् । कति पुतली हुँदा हुन् । कति लाभ्रे कीरा लिब्रिकलिब्रिक गरिरहँदा हुन् । कति झुसिलकीरा जीउ मर्काएर कुदिरहेकै हुँदा हुन् । कति गोब्रे कीरा र खपटे कीरा लमकलमक गरिरहँदा हुन् त्यो बेला ।
लामखुट्टे पनि हुन्थे होला । माकुरा कति सल्बलाउँथे होलान् । झिँगा कति उडिरहेका हुन्थे होला । कमिलाको रगरगी कति हुन्थ्यो होला मेरा जीउमा ।
एक दिन हैन, दुई दिन हैन, महिनौं दिन मैले यसरी नै बिताएँ । मेरो जीउमा घिउ कमिला नि हिँड्यो होला । रोटे कमिलाले पनि नाघ्यो होला मेरो शरीर । रातो कमिलाले पनि मेरो शरीर छिचोल्यो होला । कालो कमिलाले मलाई घोर्रिई-घोर्रिई हे¥यो होला ।'
०००
त्यो दुःखमा फेरि मेरा आँखा रसाए । उसका ओठमा दुःखले छिटो ओर्लन खोजेको दौडिरहेछन् मेरा आँसुले डबडबाएका परेलीले ।
मेरा सबै औंलाले आँसु पुछिसकेँ । मैले टेकेको भुइँमा आँसु खसेर धेरै खालका आकार बनाइसके । त्यही आकारमा म तिनको दुःख मिसाउन खोजिरहेको छु ।
०००
‘सर, कनसुत्लो पनि कुद्यो होला मेरो शरीरमा । आँखा फोडुवाले पनि मेरो निदाएको शरीर कति पटक वारपार ग¥यो होला ! फट्याङ्ग्रोले मलाई कति पटक हेर्दै उड्यो होला ।
तर भोकले निदाएको शरीरमा म कुन लोकमा पुगेकी हुन्थेँ । भोकले मलाई अँटठ्याएको हुँदो रहेछ । तिर्खाले लडाएको हुँदो रहेछ । भोक पनि त थपिँदो हो— त्यही हरेक दिन थपिने भोकले रोग बनाउँदो रहेछ । शायद त्यही रोगले मलाई हरेक दिन काउली बारीमा सुत्न सघाएको होला !
बारुलाका कति बगालले मलाई बिउँझाउन नि खोजे होलान् । मौरीका हूलले मलाई कति फन्को मारी उडे होलान् । भोकले लडेको मेरो शरीरमा अरिंगालको घोचपेच पनि भयो होला ।'
०००
मैले थामिई-थामिई उसका कुरा सुनेँ । मुटुमा धेरैचोटि चट्याङ परिसक्यो । छातीमा उठेको कुइरीमण्डलले परेलीमा आँसुको सिमसिमे वर्षा भएको भएकै छ । एउटा ठूलो पहरोले छातीमा गड्याम्म थिचेको थिचेकै छ ।
परेलीमा आएको आँसुले घरी ठूलो छाल उराल्छ । घरी सानो खोल्सी बनाएरै भए पनि मनमा पहिरो पारेको पारेकै छ ।
अब त रातै भइसके होलान् मेरा आँखाहरू ।
त्यसको कुरा सुन्दासुन्दा मेरा आँखा धेरै खेप आँसुको भेलबाढीमा परेका-परेकै छन् । म आँसुको मुस्लोलाई दस औंलाले पुछेर नभ्याउने भएँ ।
०००
‘सर, पढ्न पाइनँ । त्यतिखेर काउली बारीमा मेरा आँखामा पुतली परेनछ र मैले आजसम्म देखिरहेको छु । त्यतिखेर कनसुत्लो मेरो कानमा पसेर मलाई बहिरो बनाएछन् । फट्याङ्ग्रो मेरो नाकमा पसेनछ र मैले आजसम्म सुँघ्न सकेँ । झुसिलकीराले मलाई डसेनछ र म बाँचेँ आजसम्म ।
तर पढ्न नपाएको चोट त आजभोलि लाग्दैछ । हिजोआज हरेक दिन साँच्चैका झुसिलकीरा, कनसुत्ले, लामखुट्टे, कमिला, आँखा फोडुवा, बारुलाले टोकिरहेका छन् मलाई ।'
आँसु डबडबाएर सामुन्ने बोलिरहेकीलाई ठम्याउन सकिरहेको छैन म !
०००

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100