MENU

सूक्ष्म कथाका एक वाचक

अभि सुवेदी शनिवार, असार ३१, २०७४ 1754 पटक पढिएको

Share This

'अहिले चस्मा लाउन थालेका, अलिक अराजक तरिका र परिधान प्रयोग गर्ने, खुम्चेको सुरुवाल, झुत्रे कोट, ओठमा किम्बा व्यंग्यबोधी मुस्कान भएका, स्वतन्त्रताको निम्ति जानीजानी ल्याङ्फ्याङ् भएर हिँड्ने, श्री वैष्णवजी, युवा काठमाडौँको चिन्तनशील आत्माको प्रतीकका रूपमा फेरि एकपटक आधुनिक कवि भएर आउनुभएको छ।'

Abhi-Subediमहाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना निकट र स्नेही कवि श्यामदास वैष्णवका आपूmले अंग्रेजीमा अनुवाद गरिदिएका कवितामाथि लेखेका हरफहरूको मैले गरेको अनुवाद हो, यो । त्यो लेखको विस्तृत सार लेखको पुछारतिर राखेको छु । यी शब्दमा हामीले अहिलेसम्म विचारै नगरेका कुरा भनिएका छन् । ती जानिबुझी ल्याङ्फ्याङ हुनुको अर्थ मानक भंग गर्नलाई हो भन्ने देखिन्छ । यस अर्थमा श्यामदास वैष्णव एक फ्लानर हुन्।

प्रश्न गर्छैाँ, देवकोटाले 'फेरि एकपटक आएका' युवा काठमाडौंको आत्माको प्रतीक हुन् भनेर के उनले त्यही वैष्णवको अराजक व्यक्तित्वलाई भनेका त होइनन् ? ती कतिपटक आए त ? त्यो अनुशासन र एकतन्त्री शासन भोगेको अनि प्रजातन्त्र भर्खरै आएको कालखण्डमा महाकविले सोचेको पात्र कस्तो थियो ? के त्यो महाकविले लेख्न बाँकी काव्यको पात्र त थिएन जो वैष्णवको व्यक्तित्वमा मूर्त भएको देख्न सकिन्थ्यो ? यसका उत्तर हामी समालोचना लेख्नेहरू कमैसँग होलान् । तर देवकोटाले यी सबाल्टर्न लेखकको व्यक्तित्वमा जुन अराजकता देखे, त्यो सायद उनको काव्यिक पात्ररचनाको एउटा पुरावृत्तीय ('आर्केटाइपल्') स्वरूप थियो । तर यो लेख अप्ठ्यारो पार्ने मेरो विचार छैन ।

धेरै वर्षअघिको सम्झना फर्कियो त्यो बिहान । ज्ञानेश्वरको डाँडोमा पुगेर मैतीदेवीको ओरालो नझरी घट्टेकुलोतिर लाग्ने बाटोमा अलिक अगाडि गएपछि देब्रेतिर साहित्यकार श्यामदास वैष्णवको घर थियो । त्यो एउटा शान्त र साधारण कुटीसदृश घरको परिवेश अत्यन्त आकर्षक थियो । त्यहाँबाट तल खाली फाँट अनि परपर काठमाडौँ नगरीका पातला घर र रूखहरू देखिन्थे । म श्यामदास वैष्णवलाई भेट्न पहिलोपटक जाँदा कलेजको विद्यार्थी थिएँ । त्यसपछि उनीसँग मेरो सामीप्य निकै बढेको थियो । उनको सरल जीवन र पूर्णकालीन साहित्य साधना, अनि उनको नाटक र प्रस्तुति कलाको चिन्ताले मलाई प्रभाव पारेका हुन् । श्यामदास वैष्णव मेरोनिम्ति आकर्षण हुनुको कारण तिनलाई मैले एउटा सूत्रधारका रूपमा देख्नु थियो । ती साहित्यकारहरूका समयको अमूर्त नाटकका कोरस थिए, जुन नाटक अनिर्णित र सामन्ती अनि एकतन्त्री शासनले 'सेनोग्राफी' वा दृश्यविधान बनाइदिएको, चल्न सकेर पनि बाँधिने जर्मन नाटककार बेर्टोल्ट ब्रेख्तको 'एपिक थिएटर'जस्तो थियो ।

राणाकालको नेपाली सिर्जनशील लेखन लेखकहरूले सम्पन्न गरेको एउटा अभूतपूर्ण संकट व्यवस्थापन थियो । इतिहास र त्यो समयका सूक्ष्म र जीवन्त कथा सुन्न र जानकारी लिन खोज्ने म एक युवकले खोज्दा भेटेका श्यामदास वैष्णव त्यो सूक्ष्म कथाका वाचक थिए ।

देवकोटाको अलिक तल मैतीदेवी फाँटको घरमा कविको दिनचर्या र लेखन कर्मको विषय, कविका चाख र जीवन-नाटकका सूत्रधार थिए वैष्णव । मैले देवकोटालाई देखिनँ । मलाई यिनै सूत्रधाररूपी श्यामदास वैष्णव दाइबाट जति महाकवि देवकोटाको जीवनबारे अरू कहीँबाट पनि जानकारी भएन । श्यामदास वैष्णव बालकृष्ण समको जीवनशैली र बोलीवचन अनि उनको नाट्यमञ्च विषयका पनि सूत्रधार थिए । ती एउटा राणाकालको साहित्यको नियन्त्रिक महाकाव्यका वाचक थिए, मेरानिम्ति । ती साधारण तर चेतनशील मानिस राणाकालको राजनीतिक नभएर अभिव्यक्ति स्वतन्त्रता र सिर्जनाको आख्यानका कुनामा बसेर सुनाउने 'फिक्सन'का अमूक लेखकले नियुक्त गरेका पात्र थिए जसको वर्णन र व्याख्यामा म त्यो बेलाको सिर्जनशील संचेतनाको कलेवर देख्थेँ।

संवत् १९८१ मा लाजिम्पाटमा जन्मेका भए पनि, श्यामदास वैष्णव काठमाडौंको अलिक बाहिरी ज्ञानेश्वरको यस्तो थलोमा बस्थे जहाँ बनिएका घरहरूका वैविध्य धेरै थिए । ज्ञानेश्वरको उनको बसोबास भएको थलो आपैंmमा ऐतिहासिक थियो । श्यामदास वैष्णव १२ सालमा त्यहाँ आउँदा समय अलिक बदलिएको थियो, तर परिवेश झन्डै उस्तै थियो । नजिकै अर्का साहित्यकार सुन्दरप्रसाद शाहको ठूलो घर थियो । सायद अहिले पनि छ । यसो ओरालोमुनि बाबुराम भट्टराईको योजनामा अहिले भत्किएका गुरुजुहरूका महलहरू थिए । तल एक सिर्जनाका धनी, स्वतन्त्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर थियो । अहिले पनि देखिन्छ ।

अलिक पर उनको घरबाट केही मिनेटमा पुगिने ठाउँमा बालकृष्ण समका बाजे डम्बरशमशेरको दरबार थियो जहाँ सम जन्मेर हुर्केका थिए । 'त्यहाँ बगैंचेहरू मात्र चालीसजना थिए । चित्रकारी, सिकर्मी, सूचीकार, डोले, बैठके, ढोके सवार सयस, कबतरवाज, बट्टाइवाज, उस्ताद, पण्डित, कारिन्दा, डिठ्ठा, खरिदार, धोबी, भान्छे, पूजाकोठे, ब्यान्डका दमाई इत्यादि गरी साठी जना, आठपहरिया तीसजना सुसारे धाई बाहुनीहरू गरी सय जना थिए । ६ वटा बग्गी थिए । बीसवटा घोडा पचासवटा गाई, सयवटा परेवा थिए । सबमा प्रसिद्ध त्यहाँ तालिम थियो । उस बेला नाटकलाई 'नाच' भन्दथे । हाम्रो घरको नाच सबको भन्दा राम्रो ठहरिएको थियो ।'

समले 'मेरो कविताको आराधन'को उपासना एकमा सम्झेको यो नाच पारसी थिएटर थियो । सम यही परिवेश र द्वन्द्वबाट नाटककार भए । ती पनि वैष्णवको घरदेखि नजिकै थिए । ती समकोमा पनि जान्थे तर देवकोटाकहाँ जति धेरै जाँदैनथे । समले वैष्णवमा नाटकीय गुण देखेका थिए । उनले नै वैष्णवलाई रेडियो नेपालमा जागिर लगाइदिएका थिए । तारिणीप्रसाद कोइरालाले पनि उनको प्रतिभाको सम्मान गर्थे । सूर्य सुवेदीका अनुसार वैष्णवले चार सयजति नाटक सुनाए रेडियो नेपालमा । विडम्बना ! तिनका आलेख कहीँ पनि छैनन् । श्रव्य म्युजियमहरूमा पनि सायद छैनन् । उनका प्रकाशित ११ वटा कृति पनि अहिले सितिमिति पाइँदैनन् ।


फेरि पृष्ठभूमितिर फर्किन्छौं । राणाकालको नेपाली सिर्जनशील लेखन लेखकहरूले सम्पन्न गरेको एउटा अभूतपूर्ण संकट व्यवस्थापन थियो । मैले विश्वका धेरै साहित्यिक गतिविधि र इतिहास पढेँ । साहित्यकारहरूले अनेकौं अप्ठ्यारा परिस्थितिमा आफ्नो स्वतन्त्रतालाई सानो क्षेत्रमै भए पनि बँचाएर राख्ने सम्झौताहरू गरेका इतिहास पढेँ । तर, नेपालको एकतन्त्री शासनमा सिर्जना गर्ने चाहना भएका मानिसहरूले साहित्यको माध्यमबाट स्वतन्त्र अवयवहरूका रचना गरे र त्यसलाई बँचाए । सुब्बा ऋद्धिबहादुर मल्ल (१९५५—२०२५) र साथीहरूले सम्बत् १९९१ सालको श्रीपञ्चमीदेखि काठमाडौँबाट 'शारदा' साहित्यिक पत्रिका जुद्धशमशेर राणासँग मौन रूपमा असहज सम्झौता गरेर प्रकाशन गरेका थिए । नेपाली भाषा प्रकाशिनी समितिको कथा पनि त्यस्तै थियो ।

यसरी साहित्यिक प्रकाशनका आधार खोज्नु एउटा सूक्ष्म विद्रोह र सिर्जनाको नैरन्तर्य हो । इतिहास र त्यो समयका सूक्ष्म र जीवन्त कथा सुन्न र जानकारी लिन खोज्ने म एक युवकले खोज्दा भेटेका श्यामदास वैष्णव त्यो सूक्ष्म कथाका वाचक थिए । ती सूत्रधार थिए त्यस्तो नाटकका जुन नाटक बारम्बार मञ्चन भइरहन्थ्यो तर त्यसको 'फिनाले' वा अन्तिम दृश्य राम्ररी बनिबनाउ भएर टुंगिदैनथ्यो । त्यो विसंगत नाटक थिएन, तर क्रान्तिकारी पनि थिएन । त्यो एउटा मझधारको मञ्च थियो जहाँ केही न केही नाट्य मञ्चन भइरहन्थ्यो ।

श्यामदास वैष्णवले त्यही जटिल र उस्तै महत्वले भरिएको सिर्जनाको अलिखित इतिहास मलाई सुनाउने हुनाले म उनको पछि श्रद्धाले लागेको थिएँ । सूर्य सुवेदीले यहाँ साहित्यकारहरू को को आउँथे भनेर सोध्दा वैष्णव दाइकी छोरी इन्दुले फ्याट्ट भनिन्, 'उहाँ अभि सुवेदी अंकलमात्रै हो यहाँ आउँने ।' म झस्केँ । तर इन्दुले थपिन्, 'बुबा नै जानुहुन्थ्यो, साहित्यकारहरूकहाँ पुग्नुहुन्थ्यो । त्यसैले उहाँहरूले आउँनै पर्दैनथ्यो ।' मैले अर्को शक्तिशाली विषय सम्झेँ, लेखकहरूको नगर क्षेत्र र बाहिर हिँड्ने बानी । मलाई मन परेको जेरेमी इभान्सको 'क्लासिक् लिटरेरी वाक्स्' भन्ने अक्सफोर्डले सन् १९९० मा छापेको किताबमा लेखक हिँड्नुको अर्थ बोल्छ ।

इभान्स सुरुमै लेख्छन्, 'साहित्यकार र हिँडाइको सम्बन्ध उसको जीवनीका सूक्ष्म घटनाबाट बुझिने हो । कहिले लेखक त्यहाँ निकै बसेर त्यस्तो सम्बन्ध बनिन्छ भने कहिले साना भ्रमणबाट बनिन्छ' (५) । श्यामदास वैष्णवले आफ्नो साहित्यिक हिँडाइ आफ्नो सरल र स्निग्ध घरबाट बाहिर निस्किने संरचना बनाएर गरेको कुरा यसबाट बुझिन्छ । उनको त्यो हिँडाइको शैलीले नै उनी सूत्रधार बनेका हुन् ।

अनेकौं पृष्ठभूमि र सामाजिक अवस्था भएका साहित्यकारहरूको बीचमा चलिबस्ने यी मिलनसार र संवेदनशील साहित्यकार केवल सुन्ने र सुनाउने मानिस थिएनन् । ठूला साहित्यकार र शक्ति बुझ्ने र भोग्ने मानिसहरूको बीचमा श्यामदास वैष्णव एउटा स्वतन्त्र चेतना बोकेर हिँड्थे । त्यसैले ती मेरानिम्ति सधैं एक सबाल्टर्न द्रष्टा थिए । ती सबैलाई चर्का धारिला विचार छोडेर सहज र शान्त चित्तले हिँड्न उपदेश दिने हैसियत राख्दैनथे, तर तिनीहरूकहाँ गएर आफ्नो उपस्थितिले तिनलाई सहज आधार दिन्थे । श्यामदास वैष्णव उनको समयका एकल फेसबुक थिए जसको फेसबुक-वालमा लेखेका सन्देश ऊ आफैं 'फेस टु फेस' गएर सुनाउँथे ।

यी धन र धाक नभएका साधारण दुःखसुख जीवन चलाउने साहित्यकार एक प्रकारका मध्यमार्गी नागार्जुन थिए जसको मठ थिएन, जसका चेलाहरू थिएनन्, जसलाई आफ्नो दर्शन फैलाएर हिँड्ने चाहना थिएन । तर तिनले बुझेका थिए, साहित्यकारहरूले साझा रूपमा केही रचना गरेका छन्, मुक्तिका केही आधार बनाएका छन् । तिनीहरूमध्ये एक जनाले त्यो सन्तुलन गुमाए भने उनीहरूको सबै प्रयास गल्र्यामगुर्लुम ढल्नेछ अनि तिनमाथि एकतन्त्री शासकका नियन्त्रण बलिया हुनेछन् । यही सूक्ष्म सन्तुलन कायम गर्दा साहित्यकारहरूले आपसमा पनि मौन सम्झौता गरेका थिए । तिनीहरू आफ्ना अहम्लाई पनि नियन्त्रणमा राख्थे । भाषा प्रकाशिनी समितिमा पुष्करशमशेर हाकिम थिए । लक्ष्मीप्रसाद देवकोटा जागिरे कवि थिए । श्यामदास वैष्णव लेख्ने र सारिदिने काम गर्थे । तिनले सबभन्दा धेरै कवि देवकोटाका कविता सुनेर टिपेका वा सारिदिएका कथा छन् ।

एक दिन देवकोटाले एउटा छन्दमा लेखेको कविता पुष्करशमशेरलाई सुनाए । पुष्करशमशेरले अलिक नमीठो आलोचना गरेपछि भनाभन भयो । 'म तपाईंको भान्से बाहुन होइन, म अब हिँडेँ, बस्तिनँ' भनेपछि सम आइपुगे । उनले देवकोटाको कविताको प्रशंसा गरे । पछि मिलन भयो । मलाई 'सुलोचना' महाकाव्यमा मुख्य पात्र अनंगले यसो भनेको सम्झना हुन्छ, 'म तिम्रो कात्तिके होइन, भान्से बाहुन होइन म÷म आफ्नो घरको राजा झोपडी नै भए पनि ।' भन्दै थिएँ, श्यामदास वैष्णवले लेखकहरूबीचका वैविध्य भए पनि एकता गर्नुपर्ने आवश्यकता बुझेका थिए ।

श्यामदास वैष्णवको घर त्यहीँ रहेछ । अहिले डिलमुनि परेको रहेछ । म नगएको निकै वर्ष भइसकेको रहेछ । सूर्य सुवेदीले आपूmले लेखकहरूसँग ऐतिहासिक अन्तर्वार्ता र संवाद गरेर तयार पारेको किताब 'सिर्जना र दृष्टिकोण' (२०७० हिमालय बुक)मा श्यामदास वैष्णवसँग गरेका कुराकानी पढेपछि मलाई धेरै आनन्द लागेको हो । वैष्णवलाई बुझ्न यो सबैभन्दा राम्रो पाठ हो ।

म सूर्यसँगै १५ असार २०७४ को बिहान श्यामदास वैष्णवको निवासमा गएँ । त्यही स्निग्ध र सरल घर, त्यही परिवेश, अनि पर पर फाँट देखिने त्यही तर बदलिएर विशाल हुँदै गएको नागर भूगोल झ्वाम्म खुल्दा मलाई समयहरू पत्रहरूजस्तै खुल्दै गए । कुनै भुर्जपत्र वा पहिलेको समयको मेटेर त्यसमाथि फेरि लेखिएको पालिम्पसेस्टजस्तै इतिहास खुल्दै गयो, मेरोनिम्ति । श्यामदास वैष्णव दाइभन्दा पहिला एक उज्याली वयस्क तर तन्दुरुस्त अठासी वर्षकी महिला आइन् । मैले बिर्सिसकेछु भाउजू जगतकुमारी वैष्णवको अनुहार । श्यामदास वैष्णवका धेरै थोक जान्ने र उनलाई बुझ्ने उनकी छोरी इन्दुले श्यामदास वैष्णव दाइलाई लिएर आइन् ।

चौरानब्बे वर्ष लाग्नै आँटेका यी साहित्यकारको बोली बुझ्न अलिक नजिक जानुपर्नेबाहेक अरू सबै अवस्था ठीक छन् । उनी बाहिर पनि लगिन्छन् । मैले केही समयअघि यस्तो लेखेको थिएँ, 'बसुन्धराको एउटा अमूक थलोमा 'मधुपर्क' साहित्यिक पत्रिकाले जेठ ३० गते २०७४ सालको दिन आयोजना गरेको कार्यक्रम... त्यहाँ सम्मानित र सम्मान दिने सय पुग्नै लागेका सत्यमोहन जोशी र माधव घिमिरेले त्रियानब्बे वर्ष पुगेका श्यामदास वैष्णवलाई यो पत्रिकामा छापेको उत्कृष्ट कवितालाई भनेर पुरस्कार दिएको दृश्य ऐतिहासिक थियो' (कान्तिपुर १२ असार २०७४) ।

अहिले यी वयोवृद्धहरूलाई लिएर युवा पुस्ताका साहित्यकारहरू इतिहासको एउटा रोमाञ्चक र सिर्जनशील पक्ष खोजिबस्छन् । त्यो इतिहास जुन राजनीतिसँग दुई आयामिक सम्बन्ध राख्छ— राणा काल र सात सालपछिको समय । त्यही कालको खण्डलाई समातेर यी वयोवृद्धहरू आफ्ना सम्झेका अनुभूति भन्छन् । सत्यमोहन जोशी उत्पादनशील र वाचाल छन्, माधव घिमिरे आफ्नो जीवनलाई महाकाव्यिक समयभित्र रहेको अस्मिता मान्छन् । सत्यमोहन दाइको 'अरनिको' महाकाव्यको चर्चा छ । विमोचनमा जान नसके पनि मैले यस्तो लेखेँ, 'भृकुटी राजकुमारी, कलाकारका भ्रमण, बुद्ध, सम्बन्धित कला र अरनिको हामीसँग भएका आधार यत्ति हुन् । मेरो विचारमा यो अभावभित्र एउटा कलाकारलाई महाकाव्यिक पात्र बनाएर लेख्ने यी शताब्दी पुरुष सत्यमोहन जोशी आफैं महाकाव्यिक पात्र हुन्' (कान्तिपुर ८ चैत २०७२) ।

श्यामदास वैष्णव महाकाव्यका पात्र होइनन् । तिनले आफ्नो जीवनमा साधारणबाट अर्थहरू खोजे । सूर्य सुवेदीसँगको उनको अन्तर्वार्ता पढ्ने सबैलाई यो झन् प्रस्ट हुन्छ । माथि नै भनेँ, यी मध्यमार्गी श्यामदास वैष्णवलाई धीरोदात्त हुने कहिल्यै चाहना भएन । तर तिनले आफ्नो जीवन अत्यन्त गौरवसाथ जिए । समाजमा आफ्ना अवस्था र आफ्नो आर्थिक अवस्थालाई उनले आफ्नो आत्मविश्वासमा कुनै प्रभाव पार्न नदिई काम गरे ।

श्यामदास वैष्णवका कृतिमाथि लेखिएको यो आलेख होइन । तर, उनीमाथि र सायद त्यो बेला लेख्ने कुनै कविमाथि पनि महाकवि देवकोटाले उनको अंग्रेजी अनुवादित संग्रह 'द प्रिजेन्ट' (१९५९) बारे लेखेको भूमिका जस्तो अर्को यस्तो लेख लेखिएन होला । यो अनुवाद र भूमिका लेखन अनि प्रकाशनको मितिमा अन्तर छ । कथा प्रकाशनका हुन् । म त्यो भूमिकाको सारसंक्षेपका उक्तिहरू नेपालीमा राख्छु ।

लक्ष्मीप्रसाद देवकोटा लेख्छन्, 'मानिस, धाराहरू र कालिक चरित्र, अनि वर्तमानको अनौठो चरित्र र जीवनको छिटोछिटो बदलिने गतिले कवि वैष्णवलाई प्रभावित गर्छन् । सामाजिक यथार्थको सीमाभित्र रहेको सौन्दर्यभित्रै बसेर लेखिने जीवनको आलोचना हो कविता उनको निम्ति । उनको काव्य जीवन संघर्षले गर्दा विशृंखल देखिन्छ । उनी श्रमको प्रतिष्ठाका र त्यसको सौन्दर्यका गायक हुन् । नेपाली सामाजिक जीवनको सुवासनाले युक्त उनका कविता आधुनिक छन् । वैष्णव स्वप्निल आदर्शवादीहरूको अनुहारमा थप्पड हान्छन्, अनि बुद्धको सन्देश लिएर गम्भीर सत्यहरूको उपासना गर्दै तथाकथित उच्च सत्यलाई हाँक दिन्छन् ।

'रोमान्टिक कविहरूले जस्तै ती फूल र ढुंगाहरूको शक्तिलाई नियाल्छन् । उनी बाँचिरहन्छन् किनकि वेदना कतिसम्म जानसक्ने रहेछ भनेर उनी जान्न चाहन्छन् । ...उनका व्यंग्य तीक्ष्ण अनि धारिला र चित्त बुझ्ने खालका हुन्छन् । तर उनका व्यंग्यले नमीठो भने पार्दैनन् । लड्नु र धुलो पुछ्नु उनका निम्ति महत्वपूर्ण घटना हो । ...कहिलेकाहीँ लय नमिलेका कुरालाई उनी सच्चा सौन्दर्य हो भनेर गाइदिन्छन् । ...वैष्णव यस्तो संसार देख्छन् जहाँ झुठहरू दोहोरिन्छन्, अनि असत्यले सधैं शासन गर्छ ।' तर, उनलाई पृथ्वीको मातृत्व र उनका मरणशील पुत्रहरूको पुत्रत्वमाथि विश्वास छ ।

स्वर्गबारे हामीले आदर्शका कुरा गरौंला तर हामी सबै यही धरतीका सन्तान हौं । 'ती अत्यन्त तीव्र अनुभूति भएका तर ध्यानातीत नागरिक हुन्, जो वर्तमानप्रति सजग छन् अनि त्यसैमाथि उनी कविता लेख्छन् ।' हाम्रा चेतना बढाउने कविता लेखेका छन् वैष्णवले । संकलनको अन्तिम कवितामा उनले यो जगततलका खण्डहर अनि यसको पुनर्निर्माण र परिवर्तनबारे आफू सचेष्ट हुँदाहुँदै पनि यहाँ आउन पाएकोमा आपूmलाई धन्य मानेका छन् ।

देवकोटा आपूmले उनका कविताको अनुवाद गरेको सन्दर्भलाई लिएर भन्छन्, 'मैले यी कविताहरू उनको अनुरोधमा अनुवाद गर्दा केही आनन्दको अनुभूति गरेको छु । वैष्णवले उनका काला र सेता चराहरू अंग्रेजी उडान भरेर अलिक व्यापक हुन् भन्ने चाहेका हुन् । तिनका कविता माझिँदै गएर ती नेपाली कवितालाई महत्वपूर्ण योगदान दिने मानिस हुनेछन् ।

त्यो छोटो भूमिकाको सारले भन्छ, श्यामदास वैष्णवलाई उनका झन्डै समकालीन मानिएका कवि लेखकले सम्मान र माया गर्थे । श्यामदास वैष्णवको काला र सेता चराहरूलाई अंग्रेजीमा उडान भर्न लाउने चाहना बलियो थियो । आफ्ना मात्र होइन, सबै राम्रा नेपाली साहित्यका कृतिहरूले अंग्रेजी उडान भरून् भन्ने उनको चाहना छ । मैले पनि उनका केही कथा अंग्रेजीमा अनुवाद गरेको थिएँ जसलाई युनेस्कोले उच्च ठहर्‍याउँदा वैष्णव दाइ खुसी भएको इन्दुले त्यही बिहान पनि दोहोर्‍याइन् । श्यामदास वैष्णवले रेडियोमा गराएका श्रव्यनाटक आज साइबरको युगका हामीले अहिले अभ्यास गरेका कर्मकै पूर्वज हुन् भनेर सम्मान गर्नुपर्छ ।

सूर्य र म बाहिर निस्किँदा मैले यी सूत्रधार पाको बयले मौन हुँदै गएको देखे पनि यिनले अभिनय गरेको र अभिनय गराएको नेपालको साहित्यिक नाट्यमञ्च चाखलाग्दो, चुनौतीपूर्ण र वाचाल हुँदै गएको सम्झेँ । त्यही कुरा हालेर म आफू नाटक लेख्ने बानी परेकाले, त्यो नाटकमा मनमनै अन्तिम बोली 'एपिलोग्' लेखिरहेको थिएँ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100