MENU

सन्त्रस्त इतिहासको साक्षी

विजय सापकोटा शनिवार, असार ३१, २०७४ 12604 पटक पढिएको

Share This

लोकेसन

पोल्यान्डको कुनै गेटोबाट उनकी आमा पनि १४ वर्षको उमेरमा यस्तै डिब्बामा बन्द भएर कन्सन्ट्रेसन क्याम्पतिर लगिएकी थिइन् । बाँच्न सफल भाग्यमानीमा उनी पनि परिन् । विश्वयुद्धको समाप्तिपछि बेलायतमा शरणार्थी बनी पसेकी उनी ९७ वर्षसम्म त बाँचिन्, तर जीवनको अन्तिम क्षणसम्म पनि त्यही त्रासदीको छायामै बाँचिरहिन् ।

Bijaya-Sapkotaइम्पेरियल बार म्युजियम । पाँचैाँ तलासम्म फैलिएको यो म्युजियममा हेर्नलाई त धेरै थोक थिए । हामी अर्थात् निकोला र म भने सिधै चौंथो तल्लामा उकालियौं लिफ्टमार्फत । म्युजियमको गेटमा मलाई कुरिरहेकी निकोलाले भेट हुनेबित्तिकै भनेकी थिइन् 'हलोकास्ट सेक्सन चौंथो तल्लामा छ, पहिले त्यहीँ जाऊँ है ।' क्षतिग्रस्त जिप र अरू वाहनहरूका छेउबाट माथि झुन्डिएका जहाजलाई पल्याकपुलुक हेर्दै मैले आज्ञाकारी भएर उनलाई पछ्याएको थिएँ लिफ्टसम्म ।

कसैको पथप्रदर्शनमा घुम्न आएको जीवनकै पहिलो अनुभव थियो मेरो ।त्यसो त निकोलासँगको यो मेरो तेस्रो भेट हो । पहिलोपटक मेरी घरबेटीले उनलाई आफ्नो पुरानो घर देखाउन भनेर हामी बसेको घरमा ल्याएको बेलामा उनीसँग परिचय भएको हो । लगभग मेरी आमाकी उमेरकी अवकाशप्राप्त शिक्षिका निकोलासँग कुरैकुरामा मैले ब्रिटिस यहुदीहरूको इतिहासबारे जिज्ञासा राखेको थिएँ । त्यही जिज्ञासालाई सामान्य चर्चा गर्दै अन्त्यमा निकोलाले भनेकी थिइन् 'यदि तिमीलाई यस विषयमा अझै जान्ने इच्छा छ भने म केही किताब र सीडीहरू पठाइदिन्छु ।'

अस्वीकार गर्ने कुरै थिएन (आफूलाई अत्यन्तै ज्ञानी र बौद्धिक साबित गर्नु जो थियो) मैले सधन्यवाद यसलाई स्वीकार गरेथेँ । यसको सायद नौ, दस दिनपछि उनले मेरी घरबेटीमार्फत एक झोलाभरि किताब र सीडीहरू पठाइदिइन् ।

यद्यपि तिनमा कतिपय मैले पढ्न खोजेका र नाम चलेका किताबहरू पनि थिए । किताबहरूका साथमा केही मैले हेरिसकेका र केही नहेरेका फिल्म र डकुमेन्ट्रीहरू थिए । तर लन्डनको व्यस्ततामा ती किताबमा हराउनु मेरा लागि त्यति व्यावहारिक थिएन, वास्तवमा यतिखेर मलाई तिनमा कुनै इच्छा पनि थिएन । तर निकोलालाई के जवाफ दिने ? आफ्नो कथित आडम्बर जोगाउनका लागि पनि मैले केही पढेजस्तो त गर्नैपर्थ्यो ।

मर्नका लागि लामबद्ध मानिसहरू ... उफ् ! मान्छेको जीवनमा योभन्दा अरू त्रासदी के होला ? चक्कर आउँछ मलाई । पछाडि फर्किएर थचक्क बस्छु ।

सबैभन्दा पहिले मैले फिल्म र डकुमेन्ट्रीहरू हेरी सिध्याएँ । यी फिल्महरू हेर्दासम्म म यति भावुकतापूर्वक चिथोरिएँ, आधुनिक इतिहासकै सबैभन्दा ठूलो त्यो कलंकबारे केही जान्ने बुझ्ने जिज्ञासा जबर्जस्त गाडिइसकेको थियो । तैपनि लगभग एक वर्षको अवधिमा मैले निकोलाले दिएका किताबहरूमा चारवटामात्रै पढ्न भ्याएको थिएँ, ती पनि संस्मरणमात्रै । बेलाबेलामा मोबाइल सन्देशमार्फत मेरो पढाइको सोधीखोजी गरे पनि निकोलाले मेरो अल्छ्याइँलाई प्रेमपूर्वक स्वीकार गरिसकेकी थिइन् ।

तिनै निकोलाले जुन महिनाको पहिलो हप्ता मलाई सन्देश पठाएकी थिइन्, दोस्रो आइतबार इम्पेरियल बार म्युजियममा आउन । मैले सहर्ष स्वीकार गरेको थिएँ र सोही अनुरूप यो यात्रा तय भएको थियो । खासमा मलाई लन्डनमा हिटलर र यहुदीहरूसँग सम्बन्धित यस्तो किसिमको म्युजियम छ भन्ने पनि थाहा थिएन । झन् यहुदीहरूको इतिहासकी ज्ञाता निकोलासँग घुम्दा धेरै सजिलो हुने विश्वासले म उत्साहित नै थिएँ ।

चौथो तल्लाको 'हलोकास्ट एक्जिविसन' लेखिएको ठूलो ढोकाबाट पस्नासाथ छुट्टै अनुभूति भयो । हलभित्र पोखिएको अर्धउज्यालो, स्पिकरहरूबाट आइरहेको अनेक किसिमका आवाजले त्यहाँको वातावरणलाई जीवन्त बनाइरहेका थिए । भित्ताभरि दोस्रो विश्वयुद्धपूर्व जर्मन यहुदीहरूका जीवनशैली झल्काउने किसिमका फोटोहरू टाँगिएका थिए । तिनलाई व्याख्या गर्ने थुप्रै तथ्य भित्ताभरि लेखिएका थिए । भित्ताको सानो स्क्रिनमा त्यतिखेर बाँच्न सफल हुनेहरूले हिटलरको उदयपूर्व जर्मनीमा यहुदीहरूको जीवनबारे बताइरहेको भिडियो प्रदर्शन भइरहेथ्यो।

यी सब पढ्न र सुन्न सकिने थिए । तैपनि निकोला सानो आवाजमा त्यसलाई सजिलो गरी व्याख्या गरिरहेकी थिइन् जसले गर्दा म भित्तामा लेखिएका विषयवस्तु पढ्नभन्दा उनकै कुरा सुन्नमा बढी केन्द्रित हुन थालेँ ।
सुरुङजस्तो ठूलो सोतोबाट भित्र गएपछि दोस्रो विश्वयुद्धपूर्वको जर्मनीसँग सम्बन्धित सामग्रीहरू देखिए । नाजीहरूका पोसाक, पार्टी सदस्यता, दस्तावेजहरूको क्रमसँग यहुदीविरोधी सामग्रीहरू प्रशस्तै देखिए । हलोकास्टका काला दिनहरूलाई प्रतिबिम्बित गर्ने सामग्रीहरू पनि देखिए ।

हलोकास्ट नाजी शासनकालमा यहुदीहरूको विधिवत् संहार गर्नका लागि ल्याइएको विधिवत् अवधारणा थियो । सन् १९३३ मा नाजीहरू पूर्णत् शक्तिमा आएपछि जर्मनीलाई 'शुद्ध आर्यन जर्मनहरूको देश' बनाउनु नै अन्तिम समाधान हो भनेर यहुदीका साथै अश्वेत, समलिंगी, अपांग, अन्य युद्धबन्दी र फरक राजनीतिक दृष्टिकोण राख्ने लगभग एक करोड १० लाख मानिसहरूको संहार गरिएको थियो । म्युजियममा सोही हलोकास्टको पृष्ठभूमि उजागर गर्ने सामग्रीहरू प्रदर्शित थिए ।

अलिक परतिर थियो १९३३ अप्रिलको किताब जलाउने काण्ड । नाजी जर्मन विद्यार्थीहरूको अगुवाइमा विशुद्ध जर्मन जातिको कथित 'आर्यन' गौरवलाई उजागर गर्ने बाहेकका किताब जलाउने अभियान चलेको थियो, जसमा नाजी सरकारको सक्रिय सहयोग थियो । किताब जलिरहेको भिडियो र त्यही अभियानलाई सम्बोधन गरिरहेको गोयबल्सको भाषण देख्दा मैले झलक्क 'द बुक थिफ' फिल्म सम्झिएँ । त्यसभन्दा परतिर थिए जर्मनका कथित नस्ल विज्ञानसम्बन्धी पुस्तक, दस्तावेज र अन्य जानकारीहरू । जर्मन कवि हेनरिक हाइनेको भनाइ 'जहाँ किताबहरू जलाइन्छन्, अन्तिममा त्यहाँ मानिसहरू पनि जलाइनेछन' देखाउँदै निकोलाले मसिनो आवाजमा भनिन्, 'देख्यौ हाइनेले १८२१ मा भनेको त्यसको लगभग एक सय २० वर्षपछि सावित भयो कि भएन ? ' मैले त्यतिबेला हाम्रा अभि सुवेदीको 'अग्निको कथा' सम्झिएँ । र, बताएँ निकोलालाई त्यो प्रसंग । निकोलाले मेरो कुरामा सही थाप्दै भनिन् 'लेखकहरू सबैभन्दा ठूला भविष्यद्रष्टा हुन्छन् ।'

खासै भीड थिएन । हामी दुई मज्जैले गफिँदै थियौँ र निकोला हिटलरको उदयपूर्व र उदयपश्चात्को इतिहास क्रमबद्ध सुनाइरहेकी थिइन् । यसले मलाई प्रदर्शनीलाई बुझ्न निकै सहज बनाएको थियो ।
हिटलर र उसको नाजी शासनमा अनुपयोगी बताउँदै अपांग, अशक्त र वृद्ध जर्मनहरूलाई समेत मारियो । उनीहरूलाई मार्नकै लागि ६ वटा केन्द्रहरू बनाइए जहाँ हावा नछिर्ने गरी सिल गरिएको कोठाभित्र कार्बनडाइअक्साइड ग्यास छिराएर मारिन्थ्यो । त्यतिबेलाको अस्पतालको एउटा बेडको नमुना म्युजियममा राखिएको थियो ।

अब खुड्किला झर्नु थियो । तल आउँदै गर्दा निकोलाले लामो सास फेर्दै भनिन् 'माथिको त पृष्ठभूमिमात्रै हो, वास्तविक नरसंहारको चित्र त अब देखिनेछ ।'अर्को सेक्सनमा थिए पोल्यान्डमाथि नाजी जर्मनले कब्जा जमाएपछिको अवस्था । भित्तामा टाँगिएका श्यामश्वेत तस्बिरहरूले त्यतिबेला यहुदीहरूमाथि नाजीहरूले गरेको अत्याचारलाई बताइरहेका थिए । यहुदीहरूलाई सार्वजनिकरूपमा अपमानित गरिएका फोटाहरू, यहुदी महिलालाई सडकमै नांगेझार पारिएका, यहुदीका पसलहरू तोडिएका, मारिएका फोटाहरूले मानवताकै धज्जी उडाइरहेका थिए ।

सन् १९३९ मा जर्मनले आधा पोल्यान्डमाथि कब्जा जमाएपछि त्यहाँ र आसपास हँगेरी, चेकोस्लोभाकिया, रोमानिया, युक्रेन आदि जस्ता देशका यहुदीहरूलाई अरू जनसंख्याबाट अलग्याउन घर छोड्न विवश गराइयो । एउटा सानो भूभागमा नियन्त्रण गरेर राखियो । एक हिसाबले नजरबन्दजस्तो । यसलाई गेटो भनिन्थ्यो । कुपोषण र रोगका कारणले गेटोमा धेरै यहुदीहरू मर्ने गर्थे र बाँचेकाहरूलाई दैनिकरूपमा डेपोर्टेसन अर्थात् निर्वासनको नाम दिएर क्याम्पहरूमा लगेर राखिन्थ्यो । क्याम्पमा लगेकाहरू कतिलाई गोली ठोकेर मारिन्थ्यो, कतिलाई झुन्ड्याएर । केटाकेटीलाई जिउँदै जलाइन्थ्यो । बलियाहरूलाई बन्दी बनाई काममा लगाइन्थ्यो ।
अशक्त, वृद्ध, केटाकेटीलाई डेथ फ्याक्ट्रीतिर लगिन्थ्यो । ती ग्यासच्याम्बरमा मारिन्थे । कतिलाई चिहान खन्न लगाएर चिहानमाथि गोली ठोकिन्थ्यो । कति क्याम्पमा कथित नाजी डाक्टरका बहुलठ्ठीपूर्ण प्रयोग गर्ने क्रममै मारिन्थे । भोक र रोगले मर्नेहरूको संख्या लाखौंको थियो । त्यो बीभत्सता देखाउने फोटोहरू देख्दा इतिहासलाई धिक्कार्न मन लागिरहेको थियो ।

अर्को कोठामा एउटा केसमा 'सेल्मेनो डेथ क्याम्प'मा पाइएका केही सरसामान राखिएका थिए । त्यहाँका सानाठूला विभिन्न आकारका टाँकहरू, काँटा, चम्चा, मग, रेजर, डाडु, चप्पलहरू कुनै समयमा आततायी मृत्युवरण गरेका मानिसहरूका शरीरसँग गाँसिएका थिए यी सामान । सेल्मनोमा मारिएका तीन लाख २० हजार मानिसमध्ये केहीका थिए । सोच्दै कस्तो डरलाग्दो । सँगै थिए 'बेल्जक डेथ क्याम्प'मा पाइएका त्यस्तै सामान, जहाँ ६ लाख यहुदीहरू मारिएका थिए । भित्तामा सानो स्क्रिनमा लगभग अस्थिपञ्जर भइसकेको मानिसलाई च्याम्बरभित्र घुसाएर मार्न तयारी गरिएको भिडियो फुटेज आइरहेको थियो । मैले त्यो भिडियो पूरै हेर्ने साहस गर्नै सकिनँ ।

त्यसपछि बेल्जियमबाट यहुदीहरूलाई डिपोर्टेसन गर्न प्रयोग गरिएको जनावर ओसार्न प्रयोग हुने रेलको एउटा डब्बा राखिएको रहेछ । सानो खोपाजस्तो झ्यालबाट हावा छिर्ने गरी अरूतिर सिलबन्द गरिने यस्ता साना-साना डब्बामा लगभग चाङ लगाएजस्तो गरी मानिसलाई कोचिन्थ्यो । बस्ने ठाउँ मुस्किलले हुन्थ्यो । शौच कार्यका लागि कुनातिर एउटा भाँडो राखिन्थ्यो, यात्रा कति दिनको हुन्थ्यो जानकारी दिइँदैनथ्यो । त्यो सानो भाँडो एकाध घन्टामै भरिन्थ्यो र दिसापिसाब मानिस भएसम्म आइपुग्ने डर हुन्थ्यो । खानेकुरा दिइँदैनथ्यो । केही गरी दयालु कमान्डर पर्‍यो भने एकदुई भाँडा पानीको व्यवस्था हुन्थ्यो । 'लास्ट टे«न टु अस्विज' फिल्ममा यो कारुणिकतालाई अत्यन्तै जीवन्त ढंगले प्रस्तुत गरिएको छ । छेउछाउमा नाजीका 'सिकार'हरूले आफ्ना प्रियजनहरूलाई लेखेका केही अन्तिम चिठीहरू राखिएको छ ।

प्रेम र घृणाबीचको भिन्नता देख्छु म ती दृश्यहरूमा । त्यही भेट्टाउँछु, जीवनको मूल्य र जीवनको मूल्यहीनताको अन्तर पनि । आफ्नो अनुभूति भन्छु भन्ठानेर निकोलालाई हेर्छु । अघिसम्म निकै बोलिरहेकी निकोला मौन देख्छु । उनका उदास आँखा त्यो रेलको डब्बामा टाँसिएका छन् । बुझ्छु, यतिबेला उनी आफ्नी आमा सम्झिरहेकी छिन् । पोल्यान्डको कुनै गेटोबाट उनकी आमा पनि १४ वर्षको उमेरमा यस्तै डिब्बामा बन्द भएर कन्सन्ट्रेन क्याम्पतिर लगिएकी थिइन् ।

बाँच्न सफल भाग्यमानीमा उनी पनि परिन् । विश्वयुद्धको समाप्तिपछि बेलायतमा शरणार्थी बनी पसेकी उनकी आमा ९७ वर्षसम्म त बाँचिन्, तर निकोलाका अनुसार जीवनको अन्तिम क्षणसम्म पनि त्यही त्रासदीको छायामै बाँचिरहिन् । रेल, घन्टी, यात्रा, क्याम्प, आगो आदिजस्ता शब्द मात्रैले पनि उनलाई तर्साइरहन्थे रे । उनी रेलमा यात्रा गर्नै मान्दिनथिन् रे ।
म त्यहाँ राखिएका चिठीका अक्षरहरू हेरिरहेको थिएँ, तर त्योभन्दा बढी निकोलालाई हेरिरहेथेँ । केहीबेरमा उनी मतिर आइन् र मसिनो स्वरमा भनिन्, 'आमालाई सम्झिएँ ।'
'सरी' मैले भने ।

उनले लामो सास फेरेर हलुंगिएझैँ साबिकको आवाजमा भनिन् 'अब हामी अस्विज जाँदैछौ, पृथ्वीको नरक ।'
नाजी शासनको सबैभन्दा कुख्यात कन्सन्टे«सन क्याम्प 'अस्विज' सबैभन्दा पहिले राजनीतिक बन्दीहरू थुन्न बनाइएको थियो । पछि यसलाई डेथ क्याम्पमा बदलियो जहाँ एघार लाखभन्दा बढी मानिसहरू मारिए । मन्द उज्यालो छरिएको यो कोठामा अस्विज क्याम्पको जीवन्त मोडेल राखिएको थियो ठ्याक्कै भिडियो र फोटोमा देखेजस्तै । सेताम्मे छ मोडेल । यसको रङ सेतो हुनुको पनि केही अर्थ छ कि भन्ने खुल्दुली जागे पनि निकोलालाई सोध्न मन लाग्दैन । अस्विजको डेथ फ्याक्ट्रीसम्म पुग्ने गरी गएको रेलको ट्रयाकमा तीनवटा ट्रेन देखिन्छन्, दुईवटा भर्खर आएको एउटा आउँदै गरेको । साना पोका र सुटकेस बोकेका मानिसका आकृतिहरू, जर्मन गार्ड र अफिसरहरू, ट्रेनबाट झर्दै गरेका मानिसहरू, टे«नबाट घँचेटिँदै गरेका अशक्तहरू, डोहोर्‍याइएका बच्चाहरू, सामानहरू समेट्दै गरेका बन्दीहरू, पर देखिने चिम्नी जहाँ हरबखत नरधूप पुत्पुताइरहन्छ...नियालेर हेर्छु निकैबेर । यी जीवन्त जस्तै लाग्छन् ।

झल्झली आउँछन् फिल्महरूमा हेरेका दृश्यहरू । सम्झना आउँछ पछिल्लो पटक पढेको संस्मरणात्मक कृति 'नाइटको । जसमा यसका भुक्तभोगी एली बिसलले निकै मार्मिक ढंगले यो क्रूरताको वर्णन गरेका छन् । त्यो किताबले मेरो मस्तिष्कमात्रै होइन पूरै संवेदनालाई जरैदेखि हल्लाएको थियो । किताब पढी सक्नेबित्तिकै मैले अत्यन्तै भावुक भएर निकोलालाई मेसेज गरेको थिएँ 'जीवनमा मैले पहिलो पटक यस्तो किताब पढेँ जसले पहिलो पानादेखि नै रुवायो ।' यो भावुकतामात्रै थिएन, यथार्थ थियो । म यतिखेर यसका कतिपय पात्रहरूलाई त्यहाँ प्लेटफर्मतिर खोजिरहेको थिएँ । सायद मस्तिष्कमा त्यो किताबको असर ताजाताजी भएर होला ।

मर्नका लागि लामबद्ध मानिसहरू ... उफ् ! मान्छेको जीवनमा यो भन्दा अरू त्रासदी के होला ? चक्कर आउँछ मलाई । पछाडि फर्किएर थचक्क बस्छु । भित्तामा टाँसिएका स्पिकरमा त्यो नरसंहारबाट उम्कन सफल भाग्यमानीहरूले सुनाइरहेछन् बाँचेका कथा । निकोला पनि दोस्रो मेचमा आएर बस्छिन् ।
हामी मौन छौं । म्लान्त उज्यालो पोखिएको त्यो कोठा शोकमग्न छ, खालि स्पिकरहरू बोलिरहेछन् ।
त्यो मोडेलको छेउमा फोटाहरू छापिएका छन् । ती फोटाहरूले त्यो समयलाई बोलिरहेका छन् । त्यसलाई थप पुष्टि गर्न तथ्यहरू लेखिएका पनि छन् । म आफूलाई अत्यन्तै थाकेजस्तो महसुस गरिरहेछु ।

मलाई त्यहाँका सबै चीजप्रति एकदमै विरक्त लागेर आउँछ । फोटोहरू हेर्‍यो, मृत्युले स्ट्याम्प लगाइदिएको ती अनुहारमा आफ्ना प्रियजनहरूको अनुहार गाँसिएर आउँछ ? मुटु नै थरर्र हुन्छ । के भएको होला यस्तो ? म सकेसम्म चाँडो त्यहाँबाट तर्किन खोज्छु । छेउमा गएर फेरि आँखा ठोकिन्छन् एउटा कारुणिक फोटोमा । तीनवटा बच्चालाई लिएर क्याम्पतिर गइरहेकी थकित आमाको फोटो । एउटा बच्चालाई आमाले घिच्याइरहेकी छिन् । आफ्ना बच्चालाई मृत्युका निम्ति तयारी हालतमा राख्नुपर्ने यो अवस्था कल्पना गर्दा नै सबै संवेगहरू भत्किन्छन् । त्यसो त यो आतंकका यस्ता त्रासदीहरू धेरै पढेको छु ।

जस्तै, नाजी सैनिकबाट बच्नका लागि आफ्ना परिवार र छिमेकीहरूसँग लुकेर ज्यान जोगाएकी किम फेन्ड्रिकको अनुभव यस्तो थियो - उनीहरू लुकेको ठाउँमा काखे बच्चा रोइरहेको थियो, कसै गरे पनि चूप भइरहेको थिएन । त्यसरी ऊ रुनु सबैका निम्ति खतरा थियो । त्यसैले हार मानेर ती आमाले आफ्नो बच्चालाई अरू कसैको हातमा दिइन् । त्यसको अर्थ हुन्थ्यो त्यसलाई मार्न लगाउनु । किमले भनेकी छिन् 'म सम्झिन सक्दिनँ, ती आमा रोइन् कि रोइनन् । हामीले त्यही गर्‍र्यौं जति आफूलाई बचाउन गर्न सक्थ्यौँ ।'

अस्विज क्याम्पको अर्कोपट्टि सोकेसभरि राखिएका रहेछन् 'मजडानेक डेथ क्याम्प'बाट बटुलिएका जुत्ताहरू । पुरुष, महिला, साना-ठूला सबै उमेरका यी जुत्ताहरू यो डेथक्याम्पमा मारिएका ३६ लाख मानिसमध्येका केहीका गोडामा परेका थिए । हुन सक्छ यी जुत्ताले निकै लामो दूरी पार गरेका थिए, यीमध्ये कतिले त लामो, हिउँ नै हिउँ परेको समयमा डेथ मार्च पनि हिँडेका थिए । 'यी सबै काम नलाग्ने भएरमात्रै फालिएका हुन्' निकोलाले भनिन्, 'काम लाग्ने जति त नाजीहरू रिसाइक्लिंगको लागि पठाउँथे । नाजीहरूले मानिसका शरीरका रौं त प्रयोग गर्न बाँकी राखेनन् भने जुत्ता, लुगा त किन छाड्थे ।'

र्‍याकमा अरू सामान पनि थिए- चम्चा, मग, काइँयो । अनुहार कुच्चिएको एउटा सानो गुडिया थियो । अनि गुडियाको मुन्तिर एकजोर साना काला जुत्ता । अनायास मेरो आँखामा साढे पाँच वर्षको छोराका कलिला खुट्टा आएर झुन्डिन्छन् । म तर्सन्छु, मुटु चिसो हुन्छ । अर्कोतिर आँखा डुलाउँछु । अगाडिपट्टि सोकेसमा झुन्ड्याइएका छन् तिनै स्ट्राइपी डे«स, जो कन्सन्ट्रेसन क्याम्पका कथित बन्दीहरूलाई लगाउन दिइन्थ्यो । अर्कोतिर भित्तामा झुन्ड्याइएका छन् हरेक उमेरका स्ट्राइपी ड्रेसमा खिचिएका कथित अपराधीहरू । अनि अलिक परतिर झुन्ड्याइएका छन् साँच्चिकै अपराधीका तस्बिरहरू जसको सनकमा एउटा समय नै कलंकित बन्न पुग्यो।

जसको सनकमा एक करोड १० लाख मानिसको हत्या भयो । चाखलाग्दो त यी सबै अपराधीमध्ये प्रायःले आफ्नो जीवनको अन्त्य पनि त्यस्तै अकालकै बाटो रोज्नुपर्‍यो । हिटलरले आत्महत्या गर्‍यो । हिटलरको सहयोगी गोयबल्सले आफ्ना ६ जना बच्चाहरूलाई साइनाइड खुवाएर मारिसकेपछि श्रीमतीसँगै आत्महत्या गर्‍यो । ओडिलो ग्लोब्निक, अन्स्ट काल्टेनवनर, हर्मन गोरिङ, एडोल्फ आइमान जस्ता नाजी शासनका मुख्य हस्तीहरूको पनि त्यही नियति भयो । आफूले पनि त्यस्तै नियति भोग्नुपथ्र्यो भने त्यति ठूलो नरसंहारको औचित्य के थियो त ? सायद हरेकको मनमा यी प्रश्नहरू जन्मन्छन् ।

सँगैका सोकेसमा विभिन्न सामग्रीहरू छन् । तर मलाई हेरिरहन मन लाग्दैन, झटारिएर बाहिरिन्छु । लिफ्टमा जानुभन्दा अगाडि निकोलाले भनिन्, 'म त यहाँ धेरैपटक आइसकेँ । तिमी घुम्छौ अरु सेक्सनमा ? तल्लो तलामा पहिलो विश्वयुद्धको इतिहास झल्काउने मज्जाको कलेक्सन छ । '

म थाकिसकेको थिएँ । तर मेरा हातगोडा थाकेका थिए या मस्तिष्कमात्रै, यो बुझिरहेको थिइनँ । मैले दबिएको स्वरमा भनेँ 'युद्धको यति पासविक उन्माद देखिसकेपछि मलाई मानिसका युद्धका, पराक्रमका कथाहरू सुनिराख्न मन छैन निकोला । म वास्तवमै दुःखी छु ।'
'धन्यवाद', निकोलाले मेरो हात बलियोसित समातेर भनिन् 'मानवताप्रतिको तिम्रो विश्वासलाई म कदर गर्छु ।'

त्यतिबेला म भने सम्झिरहेको थिएँ, पादरी मार्टिन निमोलरको प्रसिद्ध अर्थपूर्ण उक्ति ः
तिनीहरू पहिले कम्युनिस्टका लागि आए
म बोलिनँ, किनभने म कम्युनिस्ट थिइनँ,
त्यसपछि तिनीहरू ट्रेड युनियनकर्मीका लागि आए
म बोलिनँ, किनभने म ट्रेड युनियनकर्मी थिइनँ
त्यसपछि तिनीहरू यहुदीहरूका लागि आए
म बोलिनँ किनभने म यहुदी थिइनँ
अन्त्यमा तिनीहरू मेरा लागि आए
र त्यहाँ मेरा लागि बोलिदिने कोही पनि बाँकी थिएन ।'

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100