MENU

गुरिल्ला गर्ल कन्फेसन

मुनाराज शेर्मा शनिवार, असार ३१, २०७४ 3297 पटक पढिएको

Share This

किताब

सकारात्मक सोचले भरिएको, पूर्ण पूर्वाग्रहरहित जीवन बाँच्न पे्ररित गर्ने तारा राईको किताब 'छापामार युवतीको डायरी'को नेपालमा व्यापक माग थियो । हृदयको मसीले लेखिएको र 'जनयुद्ध'को सजीव चित्र प्रस्तुत गर्ने यस किताबको अंग्रेजी भर्सन 'गुरिल्ला गर्ल'को पनि बजारमा उच्च बिक्री छ । नेपालजस्तै विदेशमा पनि उत्तिकै माग भयो भने यो अनुवादित किताबले हाम्रो साहित्यलाई नै अन्तराष्ट्रियकरण गर्नेछ । र, यो हाम्रो लागि निकै सुखद समाचार हुनेछ ।

Munaraj-Shermaनेपालको दशक लामो 'जनयुद्ध'को आंशिक जीवनलाई सग्लो प्रस्तुत गर्ने यो अटोबायोग्राफीले पाठकको मनलाई गहिरोसँग छुन्छ । किताब पढिसकेपछि नेपाली 'जनयुद्ध'का अनेक पक्षमाथि विश्वासिलो तवरले साक्षात्कार हुन सकिन्छ । खासगरी माओवादी 'जनयुद्ध'मा अयोग्य लडाकु तथा बालबालिकाको प्रयोगको अवस्था यस किताबले छर्लंग पार्छ । सेना र प्रहरीले युद्ध बन्दीसँग अमानवीय कार्यमात्र गरेनन् युद्धका नियम पनि सँगै पालना गरे भन्ने अर्को तथ्य खुल्छ ।

'जनयुद्ध'मा होमिएका लडाकुहरू बलजफ्तीले मात्रै होइन, स्वदीक्षित भएर पनि माओवादी प्रवेश गरेका थिए भन्ने सत्य किताबले उद्घाटन गर्छ । हरेक क्रान्तिकारीमा जन्मेको त्यो बलिदानी भावना नेपालको गरिबी, भोकमरी, शोषण र आर्थिक दुरवस्थाले हो भन्ने यो किताबले प्रमाणित गर्छ । तारा राई सम्पन्न घरानाकी थिइन् भने उनमा माओवादी क्याडर बन्ने उत्कट अभिलाषा सायद कमै हुन्थ्यो ।

तारा चौध वर्षकी टिनएजर थिइन् । पढ्ने, खेल्ने उमेरमा गरिबीले साहै्र पीडा दिन्थ्यो । क्रान्तिकारी नेता रत्नकुमार वान्तवाको जीवनीमा आधारित सिनेमा 'देउमाईको किनार'ले तारालाई कम्युनिस्ट बनायो । सञ्जय शर्माको 'कहिल्यै नओइलने फूल' पढेर त्यस उपन्यासको नायकसँग उनी अत्यन्त प्रभावित भइन् र पूर्ण साम्यवादी हुने निर्णय गरिन् । यसरी तारामा चौध वर्षकै उमेरमा फरकखाले वैचारिक चेतना विकास भएको थियो ।

सात कक्षामा अध्ययनरत तारा 'बुर्जुवा शिक्षा' त्यागेर माओवादी 'जनयुद्ध'मा होमिइन् । समयमै प्राप्त 'असल' सिनेमा र पुस्तकले मान्छेको जीवनको मार्ग नै बदल्न सक्छ भन्ने उदाहरण हुन् तारा । मुटु रोगी तारा उपचार क्रममा सेल्टर लिइरहेको बेला सेनाद्वारा पक्राउ पर्छिन् । आँखामा पट्टी र हातमा हत्कडीसहितको ताराको बन्दी जीवन पार्र्टी प्रवेशको दुई महिनादेखि नै सुरु हुन्छ । सेनाले माओवादीको रहस्य र गोप्य कुरा खोल्न तारासँग शक्ति प्रदर्शन गर्छ । झापड र लात्ती प्रहारजस्ता चरम यातनाले उनी अचेत हुन्छिन् । रिहुम्याटिक बिरामीलाई यति यातना काफी हुन्छ- अशक्त बन्न ।

नेपाली जनआन्दोलनको कोर पक्षमा कृति प्रवेश नगरे पनि आन्दोलनको सरकारी पक्षको सैनिक ब्यारेक, प्रहरी हिरासत र कारागारको सम्पूर्ण पक्षको सजीव चित्र हो ।

मारिनलाई आफ्नै खाडल खनिएकी तारा सेनाको प्लाटुन कमान्डरको हार्दिकताले पुनर्जीवन प्राप्त गर्छिन् । सेनाको प्लाटुन कमान्डरको उपस्थिति तारालाई इश्वरीय भइदियो । सहकर्मी रुवेनको रक्तमुछेल लास देखाएर भय सिर्जना गर्दै गोप्यता ओकल्न बाध्य पार्ने सेनाको योजना ताराको जिद्दी स्वभाव, साहसीपन र रोगी शरीरको अगाडि कमजोर बन्छ । बरु जीवन त्याग गर्ने उच्च संवेदना तारासँग हुन्छ ।

सेनाको प्लाटुन कमान्डरको मानवीय भावना र युद्धबन्दीप्रति गरिने सद्व्यवहारले पनि ताराको जीवन मारिन र बलात्कृत हुनबाट जोगियो । शारीरिक रूपमा परिपक्व र स्वस्थ नहुनुले पनि उनलाई बचाइराख्यो । तथापि तारालाई मारिने वा बलात्कृत हुने भयले विक्षिप्त बनाइरहन्थ्यो । आफू दुःख, रोग, पीडा, मानसिक, यातनाबीच बाँचिरहँदा पनि माओवादी भएकोमा भने उनले कहिल्यै पश्चाताप गरिनन् । त्यही नै ताराको शक्ति हो । अर्कोतर्फ उनमा ठूलो सपना र उत्तेजना पनि छैन । पार्र्टीले यति महान् काम गर्नुपर्ने, गरेन भन्ने गुनासो पनि छैन । त्यही नै उनको सीमा हो ।

सेनाको प्लाटुन कमान्डरको मृदुभाषी व्यवहार आफ्नो छोरी ताराजस्तै भएको संयोगबाट पनि तारालाई यो सौभाग्य प्राप्त भयो । सेनाको ब्यारेकमा पट्टी र हत्कडीसहित टे«न्चमा राखिएको थियो । गहिरो आँखा हुने सैनिक जवानले तारालाई आदर्शको पाठ पढाउँछ । आतंकको अँध्यारो पक्षको स्मरण गराउँछ । खाएको नखाएको सञ्चो बिसञ्चो सोध्छ । सोधपुछमा बोकेर लान्छ, बोकेर ल्याउँछ । मित्रवत् छ । छापा वा पुस्तकमा पढेभन्दा फरक देखिन्छन् सैनिकहरू यो प्रसंगमा ।

जेल चलानपछि धर्मशिलासँग भएको भेटले पुस्तकको उल्लेख्य हिस्सा ओगटेको छ । सुरुमा धर्मशिलासँग गहिरो मित्रता नभए पनि कालान्तरमा त्यो प्रगाण बन्न पुग्छ । पार्र्टीको असल कार्यकर्ता बन्ने थप ऊर्जा ताराले धर्मशीलाबाट पाउँछिन् । जेलमा सुधार गर्ने भोकहडताल आन्दोलन गर्ने सुरक्षाकर्मीसँग सुमधुर सम्बन्ध कायम गर्ने तारालाई उपचार गराउन बाध्य बनाउनेदेखि ताराको अभिभावकत्व प्रदान गर्दै पार्टीको जुझारु कार्यकर्ता निर्माण गर्नमा धर्मशिलाको अमूल्य योगदान छ । जेलमुक्त भनेर फेरि बन्दी बनाउने छलकपटपूर्ण खेल तारामाथि खेलिएको कार्यले तत्कालीन निरंकुश सत्ताको अनुहार देखिन्छ । जेल सरुवा हुँदा होस् या मुक्त हुँदा ताराले प्रस्तुत गरेको भावनात्मक सम्बन्धले निस्वार्थ जीवनको आह्वान गर्छ ।

उनले मानवता, भावनात्मक स्वच्छता र मित्रतामात्र नभै एउटा कैदीले इच्छाले जेलमा रोजेको स्थान र मित्रसँग सजाय काट्न पाउनुपर्ने लोकतान्त्रिक भावनाको माग गरेकी छिन् । यो नौलो विषय हो । नेपालको जेलको सम्बन्धमा यस कृतिले धेरै कुरा बोलेको छ । झापा जेल इलाम र मोरङको भन्दा खराब रहेको तथ्य सार्वजनीकरण भएको छ । संरचना, सफाइ, अनुशासन, आर्थिक कारोबार, कर्मचारी र नाइकेको यौन अपराधको संलग्नताले झापा कारागार बदनाम रहेको ताराको जिकिर छ । डट्पेनसमेतबाट डबल नाफा खान राज्यको कृत्रिम अभावलाई दोष दिन जेलको नाइके खप्पिस देखिन्छ । प्रांगणमै जेलको मिलेमतोमा पसल छ । पसलमा हरेक सामग्रीको मूल्य डबल छ । नाइकेको खुलेआम महिला नाइकेसँग यौनसम्बन्ध छ ।

जेलभित्रको आन्दोलनको राज्यको आन्दोलनसँग प्रत्यक्ष सरोकार राख्छ । जेलभित्र टीभी छ तर समाचार हेर्न मनाही छ कस्तो अचम्म कार्टुन र सिरियल अनि पोर्न फिल्म हेर्न भने छुट छ । जेल सुधारगृह पनि हो तर अपराध सजाय काटिरहेका कैदीहरूसँग यौनउन्माद बढाउने अश्लील फिल्म हेर्न छुट दिन्छ प्रशासन ।
लेखकले आफ्नो यौन भावनालाई अनुशासित राखेको तर्क दिएकी छिन् । बेड सेयर गर्दा अरू महिला कैदीहरूमा लेस्वियन सम्बन्ध रहेको तर आफूमा नभएको जिकिर छ । जीवनमा एउटा मित्रको सम्बन्धले गहिरो प्रभाव पार्छ । बाँच्ने कला र साहसमा आमूल परिवर्तन आउँछ भन्ने प्रमाण ताराले धर्मशिलालाई प्राप्त गरेपछि प्रमाणित हुन्छ । महिलामा पुरुषभन्दा ज्यादा समस्याहरूसँग जुधेर बाँच्ने धैर्य, सहनशीलता र ल्याकत हुन्छ भन्ने प्रमाण तारा र धर्मशीलाको जीवनबाट प्राप्त हुन्छ ।

सरल भाषामा प्रस्तुत गरिएको गुरिल्ला गर्ल लामा र उपवाक्यहरूको संगठनले कतै असम्पे्रषणीय लागे पनि दुरुह पटक्कै छैन । केही व्याकरणी अशुद्धता सुधार्न आवश्यक छ । त्यो नभएको भए अझ शक्तिशाली हुन्थ्यो । नेपाली सांस्कृतिक मौलिक शब्दलाई अथ्र्याउने प्रयास गरिएबाट अनेपाली भाषीलाई पनि यो पठनीय छ । सरलता यस कृतिको शक्ति हो । नेपाली जनयुद्धको एक पाटो अथ्र्याउन र बुझ्न यो कृतिले सहयोग गर्छ । नेपाली जनआन्दोलनको कोर पक्षमा कृति प्रवेश नगरे पनि आन्दोलनको सरकारी पक्षको सैनिक ब्यारेक, प्रहरी हिरासत र कारागारको सम्पूर्ण पक्षको सजीव चित्र हो ।

जसमा योद्धा ताराको युद्ध पक्ष नभएर हिरासत र जेलजीवनको अंश छ जसमा उसको अति भावुकता पनि ज्यादा प्रस्फुटित छ । यस कृतिबाट स्रोत लिने हो भने सेनाको छवि राम्रो पनि थियो भन्ने प्रमाण अन्तर्राष्ट्रिय समाजलाई दिन्छ तथापि यो पूर्ण होइनमात्र एक सत्य हो । विगतमा भएका सेना प्रहरीसँगको सम्बन्धसँग कुनै गुनासो नरहेको पूर्वाग्रहविहीन जीवन बाँच्न चाहेको सन्दर्भबाट तारा सकारात्मक सोच भएकी सक्रिय राजनैतिक जीवनबाट टाढा बस्न रुचाउने पात्र हो ।

कुनै मिसन पूरा भएपछि आस्थाहरूको सीमा पनि कायम हुन्छ । आस्थालाई बचाइराख्न यो जटिल समय हो । सांस्कृतिक क्षेत्रमा कार्यरत तारा पार्र्टीको आर्थिक कारोबारका कारण घेराबन्दीमा पारेपछि पार्र्टीले सहयोग नगरेकोमा साथीसहित पार्टी परित्याग गर्छिन् । निष्ठावान् समर्पित क्याडर्सलाई संरक्षण गर्न नसक्नु कुनै पार्र्टीको क्षयीकरणको गन्ती सुरुवात हो । त्यो माओवादी संगठनको जीवनको भत्कोषको संकेत थियो । कार्यकर्ताहरू यसरी परित्यक्त हुँदै जानु हो भने नेता मात्र पार्टीमा रहने अवस्था आस्थाको मृत्यु हो । आगोमा हिँड्नु पनि विवेकले पानीमा त्याग्नु पनि प्रमाणले, आगोदेखि पानीसम्म इमानले लेखिएको कृति हो गुरिल्ला गर्ल ।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100