MENU

नारायणगढ-मुग्लिन सडकखण्ड, २९ ठाउँमा पहिरोको जोखिम

अनिल ढकाल सोमवार, साउन २, २०७४ 6878 पटक पढिएको

Share This

चितवन : 'प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन', नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भन्नुभयो । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उहाँले यसरी आक्रोश पोख्नुभएको होे । नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उहाँले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गर्नुभयो ।

'बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ', उहाँले भन्नुभयो 'ज्यानको माया मारेर हिँड्नुपरेको छ ।' खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उहाँको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उहाँले सुनाउनुभयो ।
२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ ।

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षात्को समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताउनुभयो ।

भीर, पहिरो छ, कतिखेर के हुने हो भन्ने कुनै ठेगान छैन । सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन । समाधान कहिले होला ? माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर । -मोहनबहादुर घिमिरे ट्रक चालक

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ । गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताउनुभयो । 'भीर, पहिरो छ, कति खेर के हुने हो कुनै ठेगान छैन', घिमिरेले भन्नुभयो, 'सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन । समाधान कहिले होला माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर ।' उक्त सडकखण्डमा सवारीसाधन रोक्न नपाइने भएपछि खाना खान नपाएको गुनासो उहाँले गर्नुभयो । गाडी बिग्रेको अवस्थामा पनि आधा घन्टासम्म मात्र रोक्न पाइन्छ ।

दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो । इच्छाकामना-६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तै लाग्न थालेको बताउनुभयो । 'बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो', उहाँले भन्नुभयो ।

प्रहरीको टोली पहिरोको अपडेट गर्न केन्द्रित देखिएको छ । मुग्लिन प्रहरीको काम नै अहिले पहिरोकेन्द्रित छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र एसपी दीपक थापाले अनुगमन गरिरहनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा पटक-पटक सरोकारवाला पक्षसँग छलफल गरिएको छ । 'कुनै अप्रिय घटना नहोस् भन्नका लागि प्रहरी त्यसमा सजग छन्', चितवनका एसपी थापाले भन्नुभयो, 'जोखिम बढेकाले अहिले सबै ध्यान त्यतै केन्द्रित गर्नुपरेको छ ।'

कहाँ पहिरो खस्छ भन्ने नै यकिन हुँदैन । सबैभन्दा बढी डर अचानक खस्ने पहिरोकै हुन्छ । पहिरो नजाने भन्ने क्षेत्रमा पनि पहिरो झरेको छ । व्यवस्थापिका- संसदन्तर्गतको विकास समितिको टोलीले स्थलगत अनुगमन गरी पहिरोको जोखिम बढी भएको र रातको समयमा सवारी चलाउन प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको थियो । यो सडकखण्डमा दैनिक ८ देखि १० हजार गाडी गुड्छन् । मालवाहक साधन बढी गुड्ने गरेका छन् ।

सडक विस्तारको काम सकिएपछि पनि पहिरोको जोखिम भने दीर्घकालीन हुने देखिएको छ । एक सय ३८ वटा ठूलो पहिरो खसिकेको छ । पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणले ज्यान गुमाएका छन् । पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु भयो । एक जना बेपत्ता छन् । झरी पर्नासाथ पहिरो खसिहाल्छ । अन्य बेला सुख्खा पहिरो खस्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०७१ चैतदेखि हालसम्म यो खण्डका विभिन्न स्थानमा भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् । अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भएको तथ्यांक छ ।

सम्झौताअनुसार १५ डिग्रीमा बाटो भिरालो गरिएको आयोजनाले जनाएको छ । तर, यो पर्याप्त छैन । कम्तीमा पनि ४५ डिग्रीमा कटान गर्नुपर्ने देखियो । पहाडको बीच भागमा कटान गर्न प्रयोग गर्ने मेसिन राख्दा बनाइएको भागले पहाड कोप्रो भयो अनि यसैले गर्दा पहिरो झरिरहन्छ । पहाड कटानको कारण समस्या पनि पहिरो खसेको आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । 'सम्झौताअनुसार १५ डिग्रीको डिजाइनमा कटान गरे पनि त्यो पर्याप्त भएन । त्यसैले कटान नमिलेको चाहिँ पक्कै हो', खनालले भन्नुभयो, 'केही मानवीय त्रुटि पनि छ कतिपय प्राकृतिक कुरा पनि छन् ।'

पहिरोको जोखिमका कारण असार २५ देखि राति सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी साधनलाई साँझ ७ बजे र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई साँझ ६ बजे दासढुंगामा रोक्ने गरिएको छ । मुग्लिनबाट बिहान ५ बजे र नारायणगढबाट ४ बजे सवारी साधन जान खुला गरिएको छ ।

दुई वर्षमा आधा मात्रै काम


राजु बास्कोटा

काठमाडौं : काठमाडौं प्रवेशको मुख्य मार्ग मुग्लिन-नारायणगढ सडक विस्तारमा ढिलाइका कारण उक्त बाटो प्रयोग गरेर जीवनयापन गर्नुपर्ने नेपालीले सास्ती व्यहोर्नुपरिरहेको छ ।विश्व बैंकको करिब दुई अर्ब ९० करोड सहुलियत ऋणमा उक्त सडकखण्ड दुईबाट चार लेनमा विस्तार गर्ने काम भइरहेको छ । काम सम्पन्न भइसक्नुपर्ने समयमा जम्मा ५० प्रतिशत मात्रै प्रगति भएको छ ।

सन् २०१५ को अप्रिलमा भएको सम्झौताअनुसार ठेकेदार कम्पनीले अब एक महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने हुन्थ्यो । तर, समयमा काम सम्पन्न गर्न नसक्ने देखिएपछि सरकारले सन् २०१८ को फेब्रुअरी २० सम्म समय थप गरिदिएको छ ।

दुई वर्ष निरन्तर काम हुँदा मुस्किलले ५० प्रतिशत प्रगति भएको छ । अब बाँकी ६ महिनाको समयमा शतप्रतिशत काम सक्नु चुनौती छ । काम आगामी नोभेम्बरदेखि डिसेम्बरसम्ममा सकिनुपर्छ । अहिलेको गतिले उक्त समयभित्र ९० प्रतिशत मात्र काम हुने अपेक्षा गरिएको सडक विभागका इन्जिनियर तथा मुग्लिन-नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले भन्नुभयो ।

संयोजक श्रेष्ठका अनुसार निर्धारित समयमा काम पूरा हुने आशा छ । 'ठेक्का लागेपछि भूकम्प, नाकाबन्दी, निर्माण सामग्री अभाव अनि अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमसहितका कारणले सडक विस्तार कार्य ढिलो भएको हो', उहाँले भन्नुभयो ।पहिलोपटक तोकिएको समय १५ महिनाभित्र काम सम्पन्न हुन नसकेपछि विभागले चार-पाँच महनिासम्मको समय थप गरेको हो । थप अवधिमा बाँकी काम गर्न सकिने भएकाले आगामी डिसेम्बरभित्रै निर्माण सम्पन्न हुने दाबी विभागको छ ।

सडकको मापदण्डअनुसार वर्षात्मा काम गर्न नसकिने र अन्य मौसम पनि सबै दिन अनुकूल नहुने भएकाले वर्षमा जम्मा दुई सय ४० दिन मात्रै काम गर्ने समय हुन्छ । वर्षमा काम गर्ने समय मुस्किलले आठ महिना मात्रै हुने भएकाले पनि निर्धारित समयमा काम सम्पन्न गर्न विकास निर्माणमा चुनौती देखिएको छ ।

तीन ठेकेदारमार्फत काम

सडक विभागले तीनवटा ठेकेदारमार्फत सडक विस्तारको काम गराइरहेको छ । ३६ किलोमिटर सडकमध्ये एउटाले १२ किमि र दुईवटाले साढे १० किमिका दरले विस्तारको जिम्मा पाएका छन् । बाँकी करिब तीन किलोमिटर सडकको विस्तारमा भने विभागले नै काम गरिरहेको छ । विभागले आँपटारीदेखि नारायगढ बसपार्क जोड्ने सडक आफैं विस्तार गरिरहेको हो ।

सडक विस्तारमा रहेका तीनवटा भारतीय कम्पनीले नेपाली कम्पनीसँगको साझेदारीमा काम गरिरहेका छन् । त्यसमध्ये आँपटारीदेखि दासढुंगासम्मको सडक बीएलए एससीसी तथा नेपाली कम्पनी श्रेष्ठ निर्माण कम्पनीले गरिरहेका छन् । दासढुंगादेखि सिमलतालसम्म उडहिल तथा नेपाली कम्पनी लामा निर्माण कम्पनीले गरिरहेका छन् । सिमलतालदेखि मुग्लिनसम्मको काम सुप्रिम तथा नेपाली रौताहा निर्माण कम्पनीले गरिरहेका छन् ।


दुई अर्ब ९० करोड बजेटमध्ये ५० प्रतिशत काम सकिँदा एक अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । विभागका अनुसार ठूला र जोखिमपूर्ण काम सकिएको, निर्माण सामग्री तयारी अवस्थामा राखिएको र साइट क्लियर हुँदा धमाधम काम गर्ने गरी वातावरण बनेको छ ।

सडक विस्तारको उद्देश्य

काठमाडौंबाट मुग्लिन-नारायणघाट हुँदै वीरगन्जसम्म पुग्ने भएकाले यसलाई राष्ट्रिय राजमार्ग तथा व्यापारिक मार्गका रूपमा हेरिन्छ । यसको सुरुआत कृषि सडकका रूपमा भएको थियो । बिस्तारै अत्यावश्यक इन्धन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, लत्ताकपडा, तेस्रो मुलुकबाट आउने विभिन्न प्रकारका सामान भित्र्याउने सडकका रूपमा यसलाई प्रयोग गर्न थालियो । सहरी जनसंख्याको चापले उक्त सडक भएर ओहोरदोहोर गर्नुपर्ने उपयुक्त मार्ग नै बन्न पुग्यो । काठमाडौंसँगको 'लाइफलाइन' भएकाले पनि सरकारले यसलाई विस्तार गरेर चार लेनको बनाउन थालेको हो । सडक निर्माणपश्चात् हाल ३६ किलोमिटरको सडक ३५ मिनेटमैै पार गर्न सकिने गरी पूर्वाधार विकास भइरहेको संयोजक श्रेष्ठले बताउनुभयो ।

समस्या के-के छन् ?

दिउँसोको तुलनामा बढी जोखिम, जनधनको क्षति हुने भएकाले रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइएको छ । यसले गर्दा लामो दूरीको यात्रा रोकिएको छ । विकल्प अपनाउनुपर्दा बढी लागत र समय खर्च भएको छ । यो स्थानमा रहेका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न सकिएको छैन । सडक विस्तार कार्यका लागि आवश्यक डाइभर्सनलाई चाहिने बेलिब्रिजको समयमैै व्यवस्थापन हुन सकेको छैन । वर्षात्को समय भएकाले जुनसुकै बेला पनि पहिरो जाने, मानवीय क्षति हुने र सवारी साधन आवागममा अवरोध हुने, निर्धारितभन्दा अधिक बढी समय यात्रामा लाग्नु नै यो सडक पार गर्दा स्थानीयले पाउने सास्ती भएको छ ।

विकल्प के ?

उक्त सडकको उपयुक्त विकल्प कान्ति लोकपथ नै हो । उक्त बाटो काठमाडौंबाट हेटौंडासम्म ७९ किलोमिटर दूरीको छ । मुग्लिन-नारायगढ सडक प्रयोग गर्दा काठमाडौंबाट हेटौंडासम्म २२३ किलोमिटर पर्छ । कान्ति लोकपथ आगामी असोजदेखि उपयुक्त विकल्पका रूपमा प्रयोग गर्न सकिने विभागको विश्वास छ । बीपी राजमार्ग र त्रिभुवन लोकपथलाई पनि विकल्पका रूपमा हेरिए पनि ती दुई सडक दूरी लामो हुनुका साथै साना गाडीका लागि मात्रै भएकाले उपयुक्त कान्ति लोकपथ नै हुने विभागले जनाएको छ ।२०७१ चैतदेखि २०७३
असारसम्म
७२ मृत्यु
१ सय ७९ घाइते
७८ ठूला दुर्घटना

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100