MENU

भानुभक्तीय रामायणका संस्करण

डा. आमोदवर्धन कौण्डिन्न्यायन सोमवार, साउन २, २०७४ 1288 पटक पढिएको

Share This

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यका कृतिहरूको अनुशीलन गर्दा तिनको रचनाक्रम र प्रकाशनका विषयमा पनि जिज्ञासा हुने गर्दछ ।

भानुभक्तका कृतिहरूको रचनाक्रम

विसं १८७१ को असार २९ गते जन्मेका भानुभक्तले प्रश्नोत्तरमालाको र भक्तमालाको अनुवादको प्रारम्भ विसंं १८८८ तिरै वाराणसीमा गरेको बुझिन्छ । उनले आफ्नो परिचय दिने 'पहाडको अति बेस देश तनहुँमा' इत्यादि पद्यको रचना पनि वाराणसीमै विसं १८९० तिर गरेका रहेछन् । प्रश्नोत्तरमालाको अनुवादको (४९ पद्यको) पूर्तिचाहिँ विसं १८९८ भन्दा अघि नै तनहुँ चुँदीमा भएको बुझिन्छ । उनले अनेक फुटकर पद्य पनि विभिन्न समयमा र स्थानमा रचेको कुरा विविध घटनाले पुष्टि गर्दछन् ।

उनले अध्यात्म रामायणको पद्यानुवादको प्रारम्भ तथा बालकाण्डको समाप्ति विसं १८९८ तिर चुँदीमै र अयोध्याकाण्ड, आरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डहरूको पद्यानुवादको समाप्तिचाहिँ विसं १९११ तिर कुमारीचोकमा थुनिँदा गरेका रहेछन् । युद्धकाण्डको र उत्तरकाण्डको पद्यानुवाद पनि विसं १९१५देखि १९१९ सम्मका विभिन्न समयमा काठमाडौंमा नै पूर्ण गरेका रहेछन् ।

वधूशिक्षाको (३३ श्लोकको) रचना उनले विसं १९१९ मा चुँदी बाङ्गीरहका मित्र तारापति पौडेलका घरमा गरेको घटना चर्चित छ । 'भरजन्म घाँसतिर मन् दिइ' इत्यादि दुई पद्यको रचना भानुभक्तद्वारा विसं १९२० का जेठमा ससुराली मानुङ जाँदा बाटामा पर्ने तनहुँकै बुल्दी खोलाको तीरका घाँचमा (घाँसी कुवामा) भएको हो भन्ने कुरा पण्डित कविराज नरनाथ आचार्यले आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र भन्ने ग्रन्थमा (प्र.सं २०१८, द्वि.सं.२०३६) लेख्नुभएको छ । भक्तमालाको (२२ श्लोकको) पूर्ति र परिष्कार विसं १९२१-१९२२ तिर चुँदीमा भएको बुझिन्छ । अध्यात्म रामायणका रामगीता भागको पद्यानुवाद विसं १९२५ मा आफ्नो अन्त्यकालतिर भानुभक्तले तनहुँ चुँदीमा पूर्ण गरेका रहेछन् । यसै वर्ष आश्विन शुक्लपञ्चमीमा उनको देहान्त भएको रहेछ ।

भानुभक्तका कृतिहरूको प्रथम प्रकाशन

मोतीरामका प्रेरणामा उनका मित्रमण्डलीका उत्साहले विसं १९४१ का असोजमा ­­रामायण बालकाण्ड पण्डित प्रेमलाल काफ्लेका अग्रसरतामा र सम्पादनमा तथा तेजबहादुर रानाका प्रकाशकत्वमा वाराणसीको भारत जीवन प्रेसमा छापिएको रहेछ । त्यसपछि विसं १९४१ मा नै वाराणसीमा प्रश्नोत्तरमाला र भक्तमाला पनि तेजबहादुर रानाले छपाएका रहेछन् ।

पण्डित देवराज शर्मा लामिछानेले सम्पादन कार्यमा डमरु­बल्लभ पोखर्‍यालको र अरू कार्यमा बद्रीनाथ भण्डारीको समेत सहयोग लिएर त्यसबेला नपाइएको रामगीतालाई छोडेर सात काण्ड रामायण वाराणसीको जैन प्रभाकर यन्त्रालयमा विसं १९४२ को माघमा प्रकाशित गरेका रहेछन् । यो संस्करण भानुभक्तको लेखाइको धेरै नजिक रहेको छ भन्ने समीक्षकको भनाइ छ । यस रामायणका र अरू दुई लेखोट पुस्तकका आधारमा संशोधन गरेर छुटेका ठानिएका केही अर्धश्लोक र श्लोक आफैंले बनाई ठाउँठाउँमा थपेर मोतीरामले पनि विसं १९४४ का पुसमा त्यसबेला नपाइएको रामगीतालाई छोडेर अरू सात काण्ड रामायण प्रकाशित गरेका रहेछन् ।

सुब्बा धर्मदत्त ज्ञवालीकहाँबाट रामगीताको लेखोट मोतीराम भट्टले प्राप्त गरेपछि रामगीता भाषा रामकृष्ण बर्माले विसं १९४७ मा वाराणसीमा प्रकाशित गरेका रहेछन् । त्यसलगत्तै मोटा अक्षरमा रामगीतासहित रामायण छापिएको रहेछ । तर त्यो संस्करण देख्न पाइएको छैन, अन्वेषणीय छ । त्यस प्रकाशनपछि भानुभक्तीय रामायणले पूर्णता पाएको बुझिन्छ ।

अब नेपाली भाषाका वर्णहरूको यथार्थ विवरण र राष्ट्रिय शिक्षापद्धतिमा आवश्यक संशोधन परिपूर्ति र परिष्कारको खाँचो छ ।

वधूशिक्षा पनि मोतीराम भट्ट आपैंmले सम्पादन गरी रामकृष्ण बर्माद्वारा विसं १९४८ मा वाराणसीमा छपाएका रहेछन् । मोतीराम भट्टद्वारा विसं १९४८ मा नै प्रकाशित कवि भानुभक्तको जीवनचरित्रमा भानुभक्तका साढे बाइस फुटकर पद्य समाविष्ट छन् भने अरू साढे चौंतीस पद्यचाहिँ विभिन्न व्यक्तिद्वारा विभिन्न समयमा छापिएका छन् । तीमध्ये धेरैजसो पद्य आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र (२०१८) मा सर्वप्रथम प्रकाशित भएका देखिन्छन् ।

भानुभक्तीय रामायणका संस्करणहरू

पाशुपत यन्त्रालयले (ठहिटी, नेपाल, १९५१) रामायण (सात काण्ड) रहरिहर आदीले (१९६७) तथा भानुभक्तकी नातिनी विष्णुमायाले (भानुभक्त मणिमाला, १९९८) रामायण र भानुका अन्य कृतिसमेत छपाएको पाइन्छ । रामायणका अहिलेसम्म त सयौं संस्करण प्रकाशित भइसकेका होलान् । मोतीरामपछिका प्रायः सबैले मोतीरामकै संस्करणको अनुसरण गरेकाले र मोती­रामका संशो­धनले र थपथापले गर्दा रामायणको भानुभक्त­विरचित पाठ धेरै धमि­लि­एकाले सबै संस्करणहरू प्रायः उस्तै देखिन्छन् । यस स्थितिको निराकरणको लागि सूर्यविक्रम ज्ञवालीबाट भानुभक्त-स्मारक­ग्रन्थमा (द्वि.सं. २०२६) बालकाण्डको र अनेक हस्तलेखहरूका आधारमा शिवराज आचार्यबाट भानुदर्शन पत्रिकामा (२०३१-२०३५) सुन्दरकाण्डसम्मको सम्पादित पाठ प्रस्तुत भएको देखिन्छ । त्यति बेलादेखि नै रामायणको सुसम्पादित संस्करणको खाँचो पनि अनुभव गरिँदै आएको रहेछ।

विसं २०३९ मा पहिलोपटक साझा­ प्रकाशन­बाट भानुका सम्पूर्ण कृतिहरूको सुलभ संस्करण प्रकाशित भएको देखिन्छ । रामायणको जुन पाठमा स्वयं सम्पादक सूर्यविक्रम ज्ञवाली असन्तुष्ट भई पाठान्तरको खोजीमा लागेका थिए, त्यसै पाठलाई साझा प्रकाशनले प्रचारयोग्य मानेकाले ज्ञवालीका रामायणका संस्करणमा (द्वि.सं. २०११) रहन गएका वृत्त­भंग (छन्दोभंग) भएका स्थलहरूसमेत यस संस्करणमा प्रायः जस्ताको तस्तै नै रहेका छन् । साथै अन्य त्रुटिसमेत छन् । भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले पनि रामायणको एक संस्करण प्रकाशित गरेका छन् (२०६३) । त्यसमा पनि भानुभक्तले लेखेको पाठ जस्ताको तस्तो प्रस्तुत गर्न र पाठमा शुद्धता ल्याउन नसकिएको नै देखिन्छ ।

विसं २०६७ मा प्रकाशित तथा शिवराज आचार्यबाट सम्पादित भानुभक्तकृत रामायणको पाठ समीक्षात्मक संस्करण भानुको मौलिक लेखाइलाई पछ्याउँदै पूर्ववर्ती संस्करणहरूभन्दा फरक रूपमा देखा परेको छ । यसमा भानुका सम्पूर्ण कृतिहरू पनि समाविष्ट छन् । पहिलोपटक रामायणलगायत सम्पूर्ण कृतिका श्लोकहरूको चारै पाउहरूको अकारादि अनुक्रमणिका पनि यहाँ संलग्न गरिएको छ । साथै अन्य थुप्रै विशेषता पनि यसमा रहेका छन् ।

विसं २०७१ मा भानुको २०० औं जन्मजयन्तीका सन्दर्भमा विशेष साधन जुटाई भानु प्रतिष्ठानले पनि भानुभक्तको रामायण भनी डा. व्रतराज आचार्यको सम्पादकत्वमा भानुका कृतिहरू प्रकाशित गरेको छ । आदर्श नमुना बनाउन र अधिकतम शुद्ध पाठ प्रकाशित गर्न प्रयत्न गरिएको भनिए तापनि त्यसो हुन सकेको भने देखिँदैन । त्यहाँ धेरै प्रकारका त्रुटि र छन्दोभंग गराउने मुद्रणाशुद्धि पनि देखिन्छन् । भानुभक्तका हस्ताक्षरको लेखोटका आधारमा सम्पादन गरिएको भनिए पनि एकरूपता ल्याउन भानुभक्तका लेखनशैली र भाषाप्रयोगको उपेक्षा गर्दै धेरै परिवर्तन गरिएको पनि रहेछ ।

यसैबीच विसं २०७० मा संस्कृत अध्यात्मरामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन भन्ने रामचन्द्र पौडेल रम्घालीको एउटा मोटै ग्रन्थ नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको छ । यसमा अध्यात्म रामायणका र भानुभक्तीय रामायणका पाठको विवेचनात्मक अध्ययनका आधारमा तुलनात्मक अध्ययन प्रस्तुत गर्नुपर्नेमा त्यसो गरिएको छैन । पूर्वावश्यक अध्ययनमा र भानुभक्तीय रामायणका मौलिक पाठमा समुचित ध्यान नदिइएकाले समेत यस ग्रन्थमा धेरै त्रुटि र अपूर्णता रहेका देखिन्छन् ।

भानुभक्तीय रामायणको नवीनतम संस्करण

राष्ट्रभाषा नेपालीका आदिकवि भानुभक्त आचार्यका सम्पूर्ण कृतिहरूको सुसम्पादित र परिशुद्ध संस्करण आकर्षक कलेबरमा सरकारी प्रयासबाट उहिल्यै निस्किसकेको हुनुपथ्र्यो । तर विडम्बना नेपालीलाई भन्दा अंगे्रजीलाई महत्व दिने शिक्षा नीति अवलम्बन गर्ने सरकारबाट यस्तो कामको अपेक्षा गर्नु मात्र पनि अनुपयुक्त मानिएला । यस्तै स्थितिमा करिब पचास वर्षअघिबाट व्यक्तिगत प्रयासमा थालिएको भानुभक्तीय कृतिहरूको मौलिक स्वरूपको खोजी, सम्पादन र प्रकाशनलाई पूर्णता दिँदै विसं २०६७ मा भानुभक्तीय रामायणको पाठ समीक्षात्मक संस्करण निकाल्नुभएका शिवराज आचार्यले हालै भानुका सम्पूर्ण कृतिहरूको लोकानुकूल सुलभ संस्करणको पनि सम्पादन गर्नुभएको छ । यसलाई सांग्रिला पुस्तक प्रालिले आकर्षक कलेबरमा जनसमक्ष ल्याएको छ (२०७३) ।

यस संस्करणले अनेक दृष्टिबाट महत्वपूर्ण नेपालीहरूको लोकप्रिय सम्पूर्णांग आदिकाव्य भानुभक्तकृत भाषा रामायणको भानुभक्तले नै लेखेको मौलिक रूपको अत्यन्त नजिकको पाठ जनसाधारणको पहुँचमा ल्याइदिएको छ । यसअघि विभिन्न सम्पादकबाट भएका संशोधन, फेरफार र थपघटबाट भानुका रचनालाई मुक्त पार्न गरिएको यस प्रयासबाट सम्पूर्ण साहित्यपे्रमी नेपालीहरूले भानुभक्तको मौलिक रूपको रसास्वादन गर्न पाउने पनि भएका छन् । यस संस्करणका भूमिकामा भानुभक्तकृत भाषा रामायणको धार्मिक, दार्शनिक, सांस्कृतिक, भाषिक, साहित्यिक र राष्ट्रिय महत्वको स्पष्टीकरण गरिएको छ, भानुभक्तका भाषा प्रयोगका विशेषता देखाइएका छन्, नेपाली राष्ट्रियताका रक्षाको लागि भाषा रामायणको सार्थक प्रचारको आवश्यकतामा ध्यान आकृष्ट गरिएको छ । साथै नेपाली भाषाका वर्णहरूको यथार्थ विवरण र राष्ट्रिय शिक्षापद्धतिमा आवश्यक संशोधन परिपूर्ति र परिष्कारको खाँचो पनि यहाँ औंल्याइएको छ ।

यस संस्करणका परिशिष्टमा भानुभक्तका सुसम्पादित लघुकृति र फुटकर श्लोकहरू पनि समाविष्ट छन् । भानुभक्तले प्रयोग गरेका विशेष शब्दहरूको अर्थसहित संग्रह पनि यहाँ गरिएको छ । सम्पूर्ण कृतिको श्लोक पादानुक्रमणिका पनि यहाँ संलग्न गरिएको छ । नमुनाको रूपमा रामायणका लेखोटका छाया प्रतिलिपिका केही पत्रहरू पनि छापिएका छन् । भूमिकामा भानुभक्तको संक्षिप्त जीवनचरित्र पनि प्रस्तुत गरिएको छ । यस संस्करणबाट नेपालीका आदिकवि भानुभक्त आचार्यका कृतिहरूको परिशुद्ध ग्रन्थ आकर्षक कलेबरमा प्रकाशित गर्नुपर्ने राष्ट्रिय आवश्यकतासमेत धेरै हदसम्म परिपूर्ति भएको मान्न सकिन्छ ।



 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100