MENU

कुमार सानु भन्छन, 'मौलिकता जोगाउनु'

विनीता मरहट्टा सोमवार, साउन २, २०७४ 26340 पटक पढिएको

Share This

काठमाडौं : बलिउडका स्टार गायक कुमार सानु अचेल भारतीय संगीतदेखि दिक्क छन् । कथा, छन्द नबोकेका अर्थहीन गीतले बजार खाएको देखेर दिक्क सानुले नेपाली संगीतकर्मीलाई अनुरोध गरे- आफ्नो मौलिकता जोगाउनु । नेपालीसँग पुरानो नाता गाँसेका यी भारतीय गायकको अनुरोधमा समकालीन हिन्दी संगीतको ट्रेन्डप्रति नै वितृष्णा पाइन्थ्यो ।

सांगीतिक कार्यक्रमका लागि काठमाडौं आएका सानु आइतबार चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शन गर्दै थिए । नेपाली सौन्दर्यको बखान गर्दै उनी संगीतसम्म पुगे । नेपाली संगीतको मौलिक मेलोडी आफूलाई मनपर्ने बताउँदै जोड दिए, 'बलिउडको प्रदूषणदेखि नेपाली संगीतलाई टाढा राख्नु ।'

करिअरको सुरुदेखि नै नेपाली संगीतसँग जोडिएकाले यसमा आत्मीयता महसुस गर्ने उनले बताए । उनले सिलगुडीमा कार्यक्रम गर्न जाँदा नारायणगोपालको गीत गाएको समेत स्मरण गरे । नेपाली संगीत र शब्दले मुटुमै छुने भएकाले सुरुदेखि नै गाउन थालेको बताए उनले ।नेपाली संगीतमा अझै विकृति आइनसकेको ठहर थियो उनको । बलिउड संगीतमा फैलिएको विकृति बन्द गराउन नसके पनि नेपालको संगीत जोगाउन उनको अनुरोध थियो ।

बलिउडको बिग्रँदो ट्रेन्डसँग टाढा रहेर उनले अझै पनि गीतहरू गाइरहेका छन् । आफ्नै मौलिकताले स्थापित छन् उनी । भन्छन्, 'कुमार सानुको परिचय बनाउन धेरै पापड बेलेको छु, जस्तोत्यस्तो गीत गाउन थालेँ भने खस्किएर कहाँ पुग्छु ? लताजीले त्यस्तो गीत गाउनुभयो भने उहाँको परिचय के हुन्छ ? '

कलाकार समाजलाई सहीमार्गमा डोर्‍याउने माध्यम भएकाले उनले आफ्नोे सामाजिक जिम्मेवारी भुल्न नहुनेमा जोड दिए उनले । कुमार सानुले संगीत मात्र नभई नेपालले हिन्दु संस्कार जोगाइरहेकोमा पनि नेपालको प्रशंसा गरे । सन् १९९० देखि धेरै दुर्गा पूजा उनले नेपालमै गरेको उनले सुनाए । भारतमा भगवान्को पूजामा पनि श्रद्धा नभेट्ने बताए उनले । 'उता पूजाभन्दा बढी कसको ठूलो पण्डाल भन्ने प्रतिस्पर्धामात्र हुन्छ, नेपालमा भने धर्मप्रतिको श्रद्धा छ', उनले भने ।

बंगाली हिन्दु संस्कृतिमा हुर्केका उनी भालेश्वरको दर्शनले मनमा बेग्लै आनन्द प्राप्त भएको सुनाइरहेका थिए । क्यासिनो खेल्न तथा घुम्न बेला बेलामा नेपाल आए पनि कार्यक्रमको लागि भने २० वर्षपछि आएका हुन् । यसपटकको दर्शक प्रतिक्रियाले उनलाई खुसी तुल्यायो । नेपालमा धेरै परिवर्तन महसुस गरे ।

२० वर्षअगाडि नेपाल आउँदा त्रिभुवन विमानस्थलमा देखिएका साना राता भवन, सानो रनवे, एकदुइटा मात्र हवाईजहाज भएको खाली ठाउँ स्मरणसमेत गर्न भ्याए उनले । अहिले भौतिक पूर्वाधारदेखि अन्तर्राष्ट्रिय उडानका लागि तयार भएका हवाईजहाजले भरिभराउ विमानस्थल देख्दा रमाइलो महसुस गरेको सुनाए पनि । काठमाडौं सहरमा धेरै विकास देखे । पहिले प्रदूषित पशुपतिनाथ देखेर गएका उनलाई यसपालि त्यहाँको व्यवस्थापन र सरसफाइले आनन्द दिलायो । यसपालि घुम्नको लागि नयाँ गन्तव्यसमेत पाए, 'चन्द्रागिरि हिल'।

रातो टिसर्ट, घाँटीमा चाँदीको मोटो सिक्री र सनग्लासमा ठाँटिए पनि उनको बुढ्यौली केबलकार चढेर चन्द्रागिरि डाँडो पुगेपछि देखियो । दस मिनेटको उकालोमा करिब दुई पटक थकाइ मार्दै 'भालेश्वर महादेव' को मन्दिरसम्म पुगे । भगवान् शिवको आरती गरी माला र प्रसाद ग्रहणपछि नेपाली खानाको स्वाद लिए । नेपाली दाल उनलाई धेरै मन पर्दो रहेछ । हरियो खुर्सानी किरिक्क टोक्दै भने, 'बहुत टेस्टी' । पृथ्वीनारायण शाहले काठमाडौं हेरेर लोभिएको डाँडोले उनको मन पनि लोभ्यायो । चन्द्रागिरि डाँडालाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक बताए । चन्द्रागिरि हिलका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी पाहुनालाई उहाँहरूको समयले भ्याएसम्म यहाँ घुमाउने गरेको बताए । कुमार सानुको आगमनले भारतीय पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा उनले लिएका छन् ।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100