MENU

२० लाख लिएर उपभोक्ता समितिका अध्यक्ष फरार

नवराज महतारा सोमवार, साउन २, २०७४ 4517 पटक पढिएको

Share This

सिमकोट : गाउँमा गएको विकासे योजनाको २० लाख २० हजार ५ सय ५० रुपैयाँ लिएर सर्केघार्ड गाउँपालिका वडा नम्बर १ को कालागाड हुँदैं जैरसम्मको ग्रामीण सडक योजनाका उपभोत्ता समितिका अध्यक्ष फरार भएका छन् ।

योजनाको अन्तिम किस्ताको रकम लिन सदरमुकाम सिमकोट गएका समितिका अध्यक्ष तिलक रावत सिमकोटमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट रकम झिकेदेखि फरार भएको जैर निवासी सर्केघार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जानकारी दिनुभयो । गत असार २७ गते सिमकोटमा गएको असार २७ गते आफूसँग रकम झिकेर जैर जाने भनेपछि आफूले सोही अनुसार काम गरेहोलान भनेर विश्वस्त भएको बताएका जोशीले अहिले आएर गाउँबाट फोन गरेर रकम भन्दा समिति अध्यक्ष रावत पनि नआएपछि उनलाई खोजी गर्दा कतै नभेटे पछि फरार भएको निचोडमा पुगेको बताउनुभयो।

वडापालिकाको सिफारिस सहित रकम झिकेर असार २९ गतेदेखि गाउँमा काम गरेका कामदारलाई रकम वितरण गर्ने सल्लाह गरेर रावत गएपनि सिमकोटमा रकम झिकेर फरार भएको वडा सचिव जानकारी दिनुभयो। कर्णाली रोजगार कार्यक्रम अन्तरगत सर्केघार्ड गाउँपालिका वाड नम्बर १ अन्तरगत १ सय ३८ जना कामदारले ४१ दिन काम गरे वापत प्रतिदिन ४ सय ७० का दरले रकम पाउनु पर्ने भएपनि कार्यक्रम अन्तरगत अन्तिम किस्ताको २० लाख २० हजार ५ सय ५० रकम मात्रै बाँकी रहेकाले उक्त रकम लिएर रावत फरार भएको सर्केघार्ड १ का वडा सचिव गोकुल बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रकम लिएर फरार भएका उपभोक्ता समितिका अध्यक्ष रावतको खोजी कार्यका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी मार्फत सबैतिर खबर भैसकेको छ । कार्यक्रम अन्तरगत सम्बन्धित वडाका कामदारले पाउनुपर्ने रकम निकासा लगत्तै बैंकबाट भुक्तानी गरेर समिति अध्यक्ष नै फरार भएपछि वास्तविक कामदार रकम पाउनबाट बञ्चित भएको कर्णाली रोजगार कार्यक्रमका जिल्ला संयोजक सरोज भण्डारीले बताउनुभयो।

सम्झौता अनुसार योजना स्थलमा काम भएको बताएका संयोजक भण्डारीले अन्नपूर्णसँग भन्नुभयो-‘बाटो निर्माणका कर्णाली रोजगारले २६ लाख ५२ हजार सम्झौता गरेको हो तर हामीले २५ लाख १९ हजार लागत व्यहोरेका थियौ भने वाँकी रकम लक्षित वर्गले जनश्रमदान गर्ने सहमती भएको थियो ।' जनतालाई बाँढ्ने विकासे रकम लिएर उपभोक्ता समिति अध्यक्ष रावत फरार रहे पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र प्रहरीले फरार रावतको खोजी गरि रहेको प्रमुख जिला अधिकारी धनप्रसाद शर्माले बताउनुभयो।

६ लाख बैंकबाट गायव

सर्केगाँड गाउँपालिकाकै वडा नम्बर ६ को एक विकासे योजनाको रकम सदरमुकाम सिमकोटमा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाताबाटै ६ लाख ४५ हजार रुपैयाँ गायब भएको छ । साबिकको रोडिकोट गाविसको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाताबाट उक्त रकम गायव भएको हो ।

साविकको रोडिकोट गाविस (हालको सर्केघार्ड गाउँपालिका वाड नम्बर ६) राष्ट्रिय वाणिज्य बैंक भएको खाता नम्बर ४१९०३०२०२२२२० बाट उक्त रकम हराएको सर्केघार्ड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिनुभयो। खाताको चेक वडा नं. ६ का सचिव कृष्ण गुरुङसँग मात्र रहेको बताएका गाउँपालिका अध्यक्ष रोकायाले भन्नुभयो-‘बैँकको स्टेटमेन्टमा सर्केघार्ड गाउँपालिका वडा नम्बर ६ कै बबरजंग शाहीको नागरिकता र नाममा ६ लाख ४५ हजार रकम निकालेको देखिएको छ । अब हामी यसका बारेमा प्रहरी प्रशासन लगाएर खोजविन गर्छौ ।'

उता आप्mनो नागरिकताबाट रकम झिकिएको बारेमा बबरजंग शाहीले भने आफूलाई केही थाहा नभएको बताउनुभयो । कृषि सहकारी संस्थामा खाता खोल्ने भनी आफ्नो नागरिकता गाउँकै छिमेकीले लिएको बताएका उहाँले राष्ट्रिय वाणिज्य बैंकबाट आफ्नो नागरिकता लगी सचिवको दस्तखत किर्ते गरी रेडिकोटकै वीरेन्द्र शाहीले रकम झिकेको हुन सक्ने दाबी गर्नुभयो।

वडासचिव कृष्ण गुरुङले भने आफू शौचालय गएको बेला चेक चोरी भएको बताउनुभएको छ। खाताबाटै रकम चोरी भएपछि स्थानीय केही व्यक्ति र सचिवसँग बसेर छलफल गरी पत्ता लगाउने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था गरेको सर्केगाँड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिनुभयो । रकम पत्ता लागउनेलाई ३० हजार पुरस्कार दिने भनिएपछि रोडिकोटकै प्रकाश हमालले पैसा निकाल्ने व्यक्तिबारे गोप्य रुपमा आफूलाई केही सूचना दिएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100