MENU

अनलाइनबाटै अदालतमा म्याद तामेली गर्न सकिने

अन्‍नपूर्ण सोमवार, साउन २, २०७४ 4043 पटक पढिएको

Share This

छिटो र कम खर्चमा न्याय दिने गरी काम गर्नेछु : प्रधानन्यायाधीश पराजुली

काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले अव अनलाइनबाटै अदालतमा म्याद तामेली गर्न सकिने उपायको खोजी गर्ने बताउनु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गरेपछि उहाँले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
‘सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु’ प्रधानन्यायाधीश पराजुलीलले भन्नुभयो ।


आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्दै अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने उहाँको भनाइ थियो ।
‘जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो, ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने तर संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्नेछु’ प्रधानन्यायाधीश पराजुलीले थप्नुभयो ।
नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्नु भएको थियो । उहाँले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम गर्ने योजना रहेको बताउनुभयो ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो ।

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले आइतबार प्रस्तावित प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।संसदीय सुनुवाईमा पराजुलीका बारेमा कुनै पनि उजुरी परेको थिएन ।  

गत जेठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएका पराजुली प्रधानन्यायाधीशमा नियुक्त भएपछि उहाँले आगामी २०७५ वैशाख १५ गतेसम्म कार्यभार सम्हाल्नु हुनेछ । 

विसं २०१० वैशाख १६ गते तनहुँको काँहुशिवपुरमा जन्मनुभएका पराजुली लामो समयसम्म कानुन व्यवसायमा संलग्न रहनुभएको थियो । विसं २०४७ मंसिरमा तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशका रुपमा अदालतमा उहाँको प्रवेश भएको हो । राससको सहयोगमा

 

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100