MENU

साउनको पहिलो सोमबार पशुपतिनाथमा सवा दुई लाख भक्तजन

रासस सोमवार, साउन २, २०७४ 4308 पटक पढिएको

Share This

काठमाडौँ: साउनको पहिलो सोमबार सवा दुई लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्।

साउनको पहिलो सोमबार परेकाले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजन पनि बढेको पशुपति क्षेत्र विकास कोषका निर्देशक एवम् पशुपतिनाथ मन्दिर र गुठी शाखा प्रमुख भोला सिटौलाले बताउनुभयो।

'आज पशुपतिनाथ मन्दिरमा २१० र वासुकी मन्दिरमा १०० भक्तजनले विशेष पूजा गरेका छन्, यो संख्या सामान्य दिन १०० र ५० को हाराहारीमा हुन्थ्यो', उहाँले भन्नुभयो।

साउने सोमबारको अवसर पारेर नायिका मनीषा कोइरालाले आज पशुपतिनाथ मन्दिरमा रु ११ हजारको लघु रुद्राभिषेकसहित विशेष पञ्चामृत पूजा गराउनुभएको कोषले जनाएको छ।

कोषले भक्तजनलाई सहज र सरल रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको जिकिर गरे पनि दर्शनार्थीले भने भूकम्पले जीर्ण बनेका संरचना भत्काएर राखिएको तथा पशुपति क्षेत्र वरपरको सडकमा ढल निर्माण र कालोपत्र एवम् ढलानको काम भइरहेकाले आवतजावतमा समस्या परेको गुनासो गरेका छन्।

ललितपुर गोदावरीबाट आउनुभएकी रमा आचार्य पशुपतिमा अव्यवस्था नसुहाउने भएकाले सडकका समस्या समाधान गरिनुपर्ने बताउनुहुन्छ । पशुपतिनाथमा विशेष गरी महिला भक्तजन हरियो र रातो पहिरनसहित लाममा बसेका थिए।

साउनको सोमबार व्रत बसी पशुपतिनाथमा जलार्पणसहित पूजा एवम् दर्शन गरेमा अटल सौभाग्य प्राप्ति भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। आजैदेखि सुन्दरीजलबाट पशुपतिनाथ मन्दिरसम्म शुद्ध जल ल्याई चढाउने बोलबम यात्रा पनि सुरु भएको छ । यस्तो यात्रा साउनभर र विशेषगरी सोमबार बढी हुने गरेको छ। रासस

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100