MENU

मामु बुझ्नुहुन्न

विनय कसजू आइतवार, साउन १५, २०७४ 4944 पटक पढिएको

Share This

बालकथा

‘बाबु, होमवर्क सिध्यायौ ? ’

‘अघि नै सिध्याइसकेँ मामु !’

‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’

‘खेलेको छैन मामु । बुवाको इमेल आएको छ कि चेक गर्दैछु ।’

मामु सधैं यस्तै भन्नुहुन्छ । मेरो जवाफ पनि यस्तै हुन्छ ।

तर आज मामु धेरै रिसाउनुभयो ।

स्कुलबाट आउने बित्तिकै मामुले मलाई खाजा दिनुहुन्थ्यो । तर, आज दिनु भएन । उहाँ टेलिभिजन हेरिरहनुभएको थियो ।

vinaya-kasajuखाजा खान मामुले नबोलाएपछि म आफंै भान्छामा गएँ । टेबुलमाथि हेरेँ । टाँडमा पनि हेरेँ । खाजा देखिनँ । अनि भान्छाबाटै चिच्याएँ, ‘खाजा कहाँ छ मामु ? ’

मामुले सुन्नु भएन । टेलिभिजनको स्वर जोडले आइरहेको थियो । म बैठक कोठामा गएँ । मामु एक टक लगाएर टेलिभिजन हेरिरहनुभएको थियो । टेलिभिजनमा मानिसहरू लडिरेहेको दृश्य आइरहेको थियो ।

‘मेरो खाजा कहाँ छ मामु ? ’ मैले नजिकै गएर सोधेँ ।

मामुले पुलुक्क मलाई हेर्नुभयो । अनि भित्ताको घडीमा हेर्नुभयो । त्यसपछि उहाँका आँखा फेरि टेलिभिजनमै पुगे ।

टेलिभिजन हेर्दै उहाँले भन्नुभयो, ‘आज मैले खाजा बनाउन भ्याइनँ । दिनभरि टेलिभिजनमा रमाइलो सिरियल आइरहेछ । दराजमा चाउचाउ छ । पकाउँदै गर । म आइहाल्छु ।’

मलाई झनक्क रिस उठ्यो । तर मेरो रिसको के अर्थ लाग्छ र ! म रिसाएर मामु डराउनु हुन्न । मैले नरिसाई भनेँ, ‘मामु अस्ति अभिभावक भेलामा प्रिन्सिपलले अबदेखि चाउचाउ खाजा नबनाउनु भन्नुभएको कुरा बिर्सनुभयो । हाम्रो स्कुलको वरिपरि कसैले चाउचाउ बेच्न पनि पाउन्न ।’

‘आज एक दिन खाऊ न छोरा । आज टेलिभिजनमा छोड्नै नमिल्ने सिरियल आएर हो । चाउचाउ नखाने भए पैसा लिएर जाऊ र नजिकैको रेस्टुराँमा जे मन लाग्छ खाएर आऊ । मलाई डिस्टर्ब नगर न है आज ।’

मामुले टेलिभिजन नछाड्ने निधो भएपछि म खुट्टा बजार्दै निस्केँ । भान्छामा गएँ । फ्रिज खोलेँ । फ्रिजमा बिहानको बाँकी भात र तरकारी रहेछ । त्यही तताएर खाएँ अनि आफ्नै कोठामा आएँ ।

ओछ्यानमा पल्टेर मोबाइल फोन खोलेँ र गेम खेल्न थालेँ । ड्वाङ ड्वाङ गोली हान्दै पाँचजनालाई ढलाइदिएँ ।

गोली चलेको आवाज मामुले सुन्नुभएछ कि उहाँ आउनुभयो र सोध्नुभयो, ‘होमवर्क नगरी गेम खेल्न थाल्यौ ? कत्ति गेम खेलेको । किताब पढ ।’

टेलिभिजनको चर्को स्वर सुन्दै पढ्न र होमवर्क गर्न म सक्तिनँ भन्ने कुरा मामुले बिर्सनुभए जस्तो छ । मैले भनेँ, ‘मामुले टेलिभिजन धेरै हेर्नुभयो भनेर भन्ने को छ र घरमा । आफूले जे गर्न पनि हुने ।’

मेरो कुरा सुनेर मामु साह्रै रिसाउनुभयो ।

‘पख तेरो कुरा म बाबालाई सुनाउँछु नि । अनि भोलिदेखि मोबाइल फोन चलाउन बन्द !’ भन्दै उहाँ बाहिर निस्कनुभयो ।

मामु आफ्नो कोठामा गएर ठूलो स्वरले ढोका लगाउनुभयो । भित्रबाट चुकुल लाएको सुनेँ ।

मलाई डर लाग्यो । मैले डाक्टरले भनेको कुरा सम्झेँ । मामुको ब्लड प्रेसर हाई छ । औषधि खाइराख्नुहुन्छ । ब्लड प्रेसर हाई भयो भने मुटुको रोग हुनसक्छ रे । डाक्टरले मामुलाई रिसाउन हुन्न भन्नुभएको छ ।

मैले धेरै समय फोनमा खेर फालेँ भनेर मामुले बाबासँग सिकायत गर्नुभयो भने म पनि मामुले टेलिभिजनमा भुलेको सिकायत गर्छु भन्ने कुरा मामुलाई थाहा छ । मलाई मामु रिसाएर ब्लड प्रेसर बढ्छ कि भन्ने मात्रै चिन्ता छ ।

मामुको कोठा भित्रबाट केही आवाज आएन । मामुलाई रिस उठ्यो भने मुख छोपेर सुत्नुहुन्छ ।

मैले फोन एकातिर राखेँ । होमवर्क गर्न खोजेँ । मन लागेन । पढ्न पनि सकिनँ । माथि सिलिङतिर हेर्दै कति बेला निदाएछु थाहा भएन ।

भान्छामा प्रेसर कुकर कराएको आवाजले म जागेँ । भान्छाबाट मीठोमीठो खाने कुरा पाक्दै गरेको वासना आइहेको थियो । मामु खाना पकाउन सिपालु हुनुहुन्छ । कस्तो मीठो मासुका परिकार, मम, पनिर पकौडा बनाउनुहुन्छ । सम्झँदा पनि मुखमा पानी आउन थाल्छ ।

खानाको वासनाले मेरो भोक जाग्यो । कहिले मामुले बोलाउनुहुन्छ होला भनेर पर्खिरहेँ । धेरै बेर भयो । भोक लागेको बेलामा एक मिनेट पनि एक घन्टाजस्तो लाग्ने रहेछ । मामुले नबोलाउनु भएपछि म आफैं भान्छामा गएँ र बिस्तारै सोधेँ, ‘मामु, आज घरमा कसैलाई खाना खान बोलाउनुभएको छ हो ? ’

‘कसलाई बोलाउने ? कसैलाई बोलाएको छैन’, मामुले अलि झर्किंदै भन्नुभयो ।

‘अनि आज किन मीठोमीठो कुरा पकाउनुभएको नि ? ’ मैले अचम्म मान्दै सोधेँ ।

‘तिम्रो लागि पकाएको नि । आजको खाजाको सट्टा !’

मलाई विश्वास लागेन ।

‘त्यसो भए मलाई किन खान नबोलाउनुभएको नि ? ’ मैले सोधेँ ।

‘मेरो मायाले जित्छ कि तिम्रो रिसले जित्छ भनेर जाँच्न खोजेकी नि !’ भन्दै मामुले मलाई अँगालोमा कस्नुभयो ।

‘मामुको मायाको अगाडि कसको के लाग्छ र !’ मैले भनेँ । ‘मामु एउटा कुरा भन्छु नरिसाउनुस् है ।’

‘के कुरा हो ? भनिहाल न ।’

‘आज मामुको रिसले लिमिट नाघ्यो । अलि थोरै रिसाएको भए पनि मामुले भनेको मानिहाल्थेँ नि ।’

आज, धेरै दिनपछि मैले मामुसँगै भान्छामै बसेर यति मीठो गरी मामुले पकाउनुभएको परिकार खाएँ । त्यति बेला टेलिभिजन चुपचाप थियो र मेरो हातमा मोबाइल फोन पनि थिएन ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100