MENU

भैरहवा नाकामा भारतीय अवरोध

635x90

लक्ष्मण पोखरेल बिहीबार, साउन २६, २०७४ 2029 पटक पढिएको

Share This

सुरक्षाका नाममा दुःख दिने नियत : व्यवसायी

 

बुटवल : सुरक्षाको कारण देखाउँदै भारतीय पक्षको कडाइले मुलुककै दोस्रो ठूलो भन्सार बेलहिया (भैरहवा) नाका करिब महिना दिनदेखि प्रभावित भएको छ । नेपालबाट निकासी हुने मालवाहक र रित्ता गाडीलाई जाँचको नाममा भारतीय सुरक्षाकर्मीले निरन्तर ‘अवरोध' गरिरहेका छन् । नेपालमा स्थानीय चुनाव भएदेखि प्रभावित भन्सार नाका अझै सहज हुन सकेको छैन । दुई देशबीच कूटनीतिक छलफल भइरहेको बताइए पनि भन्सारबाट आयातनिर्यातको अवरोध उस्तै छ ।

आयातमाभन्दा सामान लोड गर्न जाने गाडी निकास हुन नपाएको बेलहिया भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले बताए । ‘चुनावले भन्सार प्रभावित भयो, त्यसपछि भारतमा जीएसटी लागू हुँदा सामान आयात हुन सकेन', उनले भने, ‘अहिले भारतीय सुरक्षाकर्मीको जाँचले प्रभावित छ ।'

साउनमा ५ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सारमा मंगलबारसम्म ३ अर्ब ९० करोड मात्रै राजस्व संकलन भएको छ । मासिक करिब ३३ करोड निर्यात हुने भए पनि यो महिना त्यो प्रभावित हुने निश्चित छ । बेलहिया भन्सारमा संकलन हुने राजस्वमध्ये दुई प्रतिशत मात्रै निर्यातको हो ।

भारतीय भन्सार अधिकारीले भने आफूहरूतर्फ कुनै समस्या नरहेको र निर्बाध रूपमा गाडी पठाइरहेको बताएका छन् । तर सुरक्षाकर्मीले निकै लामो जाँच गरेका छन् । पटकपटक समकक्षीसँग कुराकानी गरिरहेको र समस्या समाधान गर्ने आश्वासन पाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । तर समस्या समाधान भने नभएको उनको भनाइ छ ।

भारतीय स्वतन्त्रता दिवसमा आपराधिक घटना हुन नदिन सुरक्षा कडा पारिएको भारतीय सुरक्षा निकायको स्पष्टोक्ति छ । एक साता अघिसम्म चिनियाँ तथा पाकिस्तानी नागरिक भारत पस्न सक्ने भन्दै कडाइ गरिएको जाँचमा खटिने सुरक्षाकर्मीले बताउँदै आएका थिए ।

नेपालबाट निकासी हुने मालवाहक र रित्ता गाडीलाई जाँचको नाममा भारतीय सुरक्षाकर्मीले निरन्तर ‘अवरोध' गरिरहेका छन् ।

यो भारतको दुःख दिने नियत मात्रै रहेको भन्सार एजेन्ट संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्माले बताए । ‘सुरक्षाका लागि मात्रै हो भने रूपन्देहीकै अन्य सीमामा किन कडाइ भएन ? ', उनले प्रश्न गरे, ‘नाकाबन्दीकै रूपमा नेपाललाई दुःख दिने नियत भारतको हो ।' यसको समाधान दुई देशका प्रमुखबीचबाटै हुनुपर्ने उनको भनाइ छ ।

बेलहिया मधेस आन्दोलनको समयमा नाकाबन्दी हुँदासमेत आयातका लागि केही खुला भएको नाका हो । अहिले त्यही नाका मात्रै अवरोध हुनुलाई व्यवसायीले फरक चलखेल रहेको आशंका गरेका छन् । बेलहिया नाकामा निरन्तर अवरोध भएपछि केही आयातकर्ताले कृष्णनगर नाकाबाट सामान भित्र्याएका छन् । बेलहिया नाकाबाट दैनिक औसतमा चार सय मालवाहक गाडी नेपाल भित्रिँदै आएका थिए । भन्सार कार्यालयका सूचना अधिकृत गोपालप्रसाद भट्टराईले दुई÷अढाई सयको हाराहारीमा मात्रै गाडी भित्रिएको बताए ।

नेपालबाट भारत पस्ने गाडीको लामो लाइन यथावत् छ । नेपालतर्फ झन्डै चार किलोमिटरमा तीन लाइनमा गाडी रोकिएका छन् । त्यसरी रोकिनेमा अधिकांश भारतीय नम्बर प्लेटका गाडी नै छन् । गाडीले प्रवेश नपाएपछि भारतीय गाडीका चालक आक्रोशित छन् । ‘रासन सकियो, कहिले जाने ठेगान छैन', एक भारतीय चालकले भने । भारतीय चालकले शौचालय गर्नसमेत नपाउँदा समस्यामा परेको बताएका छन् । बेलहिया हुँदै भारत प्रवेश नपाएका गाडी नवलपरासीको महेशपुर नाका हुँदै जाने गरेका छन् । महेशपुरबाट भारतको ठुठीबारी प्रवेशका लागि सयौं गाडी लाइन लागेका छन् ।

व्यवसायीको डेलिगेसन

नाका अवरोध भएपछि सिद्धार्थनगर उद्योग वाणिज्य संघ भारतीय एरिया सुरक्षा अधिकारीसँग डेलिगेसन गएको छ । संघले बुधबार सुनौलीका एसएसबी शिव दयालसँग अवरोधका विषयमा जानकारी गराएको छ ।

टोलीसँगको भेटमा दयालले भारतीय स्वतन्त्रता दिवस आएकाले केही जाँच बढाएको प्रतिक्रिया दिएको सिद्धार्थ नगर उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका भन्सार एजेनट संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. शर्माले बताए । भेटमा दयालले गाडीको भीडभाड छिट्टै समाधान हुने बताएको उनको भनाइ छ।

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100