MENU

मध्यपुर थिमीमा पाँचौं शताब्दीको नीलबाराही नाच (फोटो फिचर)

ईश्वरकाजी खाइजू बिहीबार, साउन २६, २०७४ 3886 पटक पढिएको

Share This

बोडे (भक्तपुर): करिब एक हजार पाँचसय वर्ष पुरानो भक्तपुरको मध्यपुर थिमी नपा बोडेस्थित नीलबाराही नाच सुरु बुधबार रातीदेखि सुरु भएको छ।

बुधबार राती मध्यपुर थिमी नपा ८ बोडेस्थित द्योछेंबाट सुरु भएको नाच प्रत्येक दिन मध्यरातमै निकालिन्छ।द्योछेंबाट निस्केका देवगण लायकुटोल, लाछीटोल, लाय्कु, विष्णुघाट, महालक्ष्मीस्थान र भाँगुटोल हुँदै खाँसी टोलमा नाच प्रदर्शन गर्छन्।

खाँसी टोलस्थित नीलबाराही मन्दिर अगाडि नाच प्रदर्शनपछि देवगण पुनः खाँसीटोलबाट लाछीटोल हुँदै द्योछें फर्कन्छन्।

दैनिक १२ देखि १८ घन्टा निरन्तर नाच
'नाच सुरु भएपछि दैनिक १२ देखि १८ घन्टा निरन्तर नाच प्रदर्शन गर्नुपर्छ’, नाचका गुरु कान्छा घोले भने, ‘अन्तिम दिन त कम्तीमा २४ घन्टा अथक भई नाच्नुपर्छ।'

उनका अनुसार द्योछेंबाट नाच निस्केपछि पुनः द्योछें नफर्केसम्म देवगणले बस्नसम्म पाउँदैनन्। त्यस्तै नाच सुरु भएपछि देवता बन्नेहरुले बोल्न र खान तथा कसैलाई छुन पनि हुँदैन।

‘नाच सुरु भएपछि देवता बन्नेले गाह्रो भयो र थाकियो भनेर बस्नसमेत पाइँदैन', उनले थपे, 'उभिएर कतै अडेस लाउन भने पाइन्छ । त्यस्तै आफ्नो सहयोगीको काखमा पनि बस्न सकिन्छ।

त्यसैले प्रत्येक नाचका गणलाई एकएकजना ज्वकालु (सहयोगी) व्यवस्था हुँदै आएको छ।' ज्वकालुले देवता बन्नेको इसारा बुझेर उनले भनेका सबै काम पूरा गरिदिनुपर्ने स्थानीय सजीव श्रेष्ठ बताउँछन्।

उनका अनुसार ज्वकालुले देवताले भनेका काममात्र होइन उनको मुकुन्डो समाउने, जात्रालुलाई नमस्कार गर्न लगाउनेलगायतका काम गरी देवता बन्नेको पथप्रदर्शक बन्नुपर्छ ।

८९ जना प्रत्यक्ष सहभागी
तीन दिन र चार रातसम्म चल्ने नीलबाराही नाच उपत्यकामै सबैभन्दा बढी जनशक्ति सहभागी हुने नाच हो। यस नाचमा कूल ८९ जना प्रत्यक्ष सहभागी हुन्छन्।जसअनुसार नाचमा नीलवाराही, गणेश, नरसिंह र कुमारी चारचार, भैरव, द्वारपाल र क्षत्रपाल एकएक गरी देवगणमात्रै १९ जना सहभागी हुन्छन्।

त्यस्तै १९ जना देवगणलाई नाचमा सहयोग गर्न ६ जना गुरुहरु, प्रतिगण एकजना सहयोगी (ज्वकालु) गरी थप १९ जना परिचालन हुन्छन्। यसैगरी वाद्यवादनहरु बजाउने नौजना, प्वंगा (तामाबाट बनाइएको लामो फुक्ने बाजा) बजाउने १३ जना, तः बजाउने एकजना, भुस्याय् र झ्याली बजाउने चारजना पनि नाचमा प्रत्यक्ष संलग्न हुन्छन्।

नाचमा सुकुन्दा समाउने दुईजना, संधाय् (करिब २२ फुट लामो झण्डा फहराइएको बाँस आकारको काठ) समाउने एकजना, राजदण्ड समाउने एकजना, भैरवको मूर्ति र खड्ग समाउने एकजना, चिराग बत्ती समाउने एकजना, चिराग तथा सुकुन्दा बाल्न तेल ल्याउने र लैजाने चारजना, नाच संयोजक र उनकी जहान गरी ६ जना तथा सहनाई फुक्ने दुई गरी ८९ जनाको अनुशासित टोलीले नाच सम्पन्न गरिन्छ।

भाद्र शुक्ल प्रतिपदाका दिन काठमाडौं उपत्यकामा मनाइने गाईजात्राको दुई दिनपछि भाद्र शुक्ल द्वितीयादेखि तीन दिन र चार रातसम्म यो नाच नचाइन्छ।

इतिहासविद् तथा संस्कृतिविद्हरुका अनुसार नाच पाँचौ शताब्दीदेखि सुरु भएको मानिन्छ । बोडेको टिगनीमा रहेको नीलबाराहीले नै परापूर्व कालमा बोडेका नेवार (घों थरका) लाई उक्त नाच चारदिनसम्म सिकाएर पठाएको जनविश्वास छ।जुन नाच हालसम्म चल्दै आएको छ।

नीलबाराही देवीले नै सिकाएर पठाएका हुनाले उक्त नाचका नियमहरु कडा र नाच्ने नीलबाराही गणका सदस्यहरुलाई पालना गर्न कठिन रहेको बताइन्छ।

नाचका मुख्य गुरु घोले नाच नाच्न गाह्रो भएकैले भाद्र शुक्ल द्वितीयामा नाच निकाल्नुअघि साउन कृष्ण द्वितीयादेखि पूर्णिमासम्म नाच सिकाइने बताए।

 

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100