MENU

हँसाउनेलाई मन पर्ने हास्य कलाकार

शिवराज योगी/काजी श्रेष्ठ शुक्रवार, साउन २७, २०७४ 1697 पटक पढिएको

Share This

काठमाडौं : आधुनिक युगसँगै मानिसका आवश्यकता बढेका छन् । चाहना चुलिएका छन् । इच्छा र रहरको परिपूर्तिका लागि मानिसको व्यस्तता बढेको छ । भागदौडको जिन्दगी जिउन मानिस बाध्य छ । अहिलेको मानिस न फुर्सदिलो छ, न त उसँग आफन्त, मित्रजनसँग गफिएर मन माझ्ने फुर्सद नै छ । मनका कुरा पोख्नु, हाँस्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यो कुरा विज्ञानले नै पुष्टि गरिसकेको छ । योग गुरुहरूले नै जो हाँस्छ ऊ धेरै बाँच्छको सूत्र उच्चारण गर्ने गरेका छन् । हाँस्दा मन र तन दुवै फुरुंग हुने अनुभूति हामी स्वयंले पनि गरेका छौं ।

तर हाँस्ने कसरी ? जमाना यस्तो छ कि हामीसँग हाँस्नका लागि पनि समय छैन । यस्तैमा पनि केही व्यक्ति आम दर्शक श्रोतालाई हँसाएर मनोरञ्जनसँगै स्वास्थ्य प्रदान गरिरहेका छन् । हास्यव्यंग्यभित्रका अनेक विकृति र विसंगतिलाई फरक बहस बनाउने हो भने हँसाउने पेसामा रहेकाहरूले थकान, निराशा र तनावबाट मुक्तिका लागि ठूलो योगदान गरेको मान्नैपर्छ । दुनियाँ हँसाउनेहरू जोकसैलाई मन पर्छ, धेरथोरको कुरा होला । तर, दुनियाँ हँसाउनेहरूको मन पर्ने हँसाउने मान्छे को होला त ? त्यो हामीले बुझ्ने प्रत्यत्न गरेका छौं ।

मनोज गजुरेल

manoj-gajurelहास्य कलाकारमा मनोज गजुरेल परिचित र स्थापित नाम हो । उनले धेरै नेताको क्यारिकेचर गरेर दुनियाँलाई हँसाएका मात्र छैनन्, जनताप्रति उत्तरदायी बन्न नेतलाई दबाब पनि सिर्जना गरेका छन् । त्यसैले उनलाई दर्शकले मन पराउँछन् । तर, मनोजलाई मन पर्ने हास्य कलाकार भने 'मह' जोडी हो । उनलाई औधि मन पर्ने कलाकार हरिवंश आर्चाय र मदनकृष्ण श्रेष्ठ हुन् । वर्तमानका हास्य कलाकारमा विल्सनविक्रम राई मन पर्छन् । उनीहरूले कलाकारितासँगै समाज रूपान्तरणमा पुर्‍याएको योगदान मनोजलाई असाध्यै मन पर्छ । मनोजको नजरमा मह जोडी एकता, समर्पण र निरन्तरताको प्रतीक हो । विल्सनविक्रम राई लोकप्रियताको शिखरमा पुगेको उनी देख्छन् । ग्रामीण परिवेशको अभिनयलाई टपक्क टिपेर उनले प्रस्तुत गरेको मन पर्छ । 'यो जीवन्त अभिनय पनि हो । नेपाली माटोको अग्र्यानिक कमेडी प्रस्तुत गर्नुहुन्छ, यो असाध्यै मन पर्छ', मनोजले भने ।

जितु नेपाल

jitu-nepalनेपालका चर्चित हास्य कलाकारमध्येका हुन् 'मुन्द्रे' अर्थात् जितु नेपाल । उनी दर्शकमाझ 'मुन्द्रे'का नामले चिनिन्छन् । उनले हास्य टेलिशृंखलामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । चलचित्रबाट पनि हँसाउने कर्ममा उनी सक्रिय छन् । उनले करिब तीन दर्जन चलचित्रमा अभिनय गरेका छन् । आफैं चर्चित हास्य कलाकार भए पनि उनलाई सबैभन्दा मन पर्ने हास्य कलाकार भने 'मह' जोडी नै हो । उनी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठका फ्यान हुन् ।

'कलाकारिता सँगसँगै उहाँहरू सभ्य व्यक्तित्व हुनुहुन्छ', जितुले भने, 'सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । आफू निकटका व्यक्तिसँग घुलमिल हुन बडप्पन देखाउनु हुन्न ।' उनीहरूको नरम व्यक्ति जितुलाई मन पर्छ । हरिवंशलाई बेलाबखतमा फोन गर्दा दाइ नमस्ते भन्न नपाउँदै नमस्ते भाइ भन्नुहुन्छ रे ! जहाँ भेट हुँदा पनि माया गर्ने, हौसला दिने बानी उनलाई मन पर्छ । अरूको देखासिखी नगर्ने, कुनै पार्टीको पक्ष नलिने बानी उनलाई मन पर्छ ।

किरण केसी

kiran-kcराष्ट्रिय नाचघरमा जागिर खाँदाखाँदै कलाकारिता सुरु गरेका हुन्, हास्य कलाकार किरण केसीले । दर्जनौं टेलिसिरियलका साथै ५० भन्दा बढी चलचित्रमा समेत अभियन गरेका केसी सदाबहार हास्य कलाकारका रूपमा परिचित छन् । उनले अभिनय मात्र नभई गीतिएल्बमसमेत निकालेका छन् । उनी आफूलाई दुईजना हास्य कलाकार मन पर्ने बताउँछन् । दुईजनाबाट एकजना छनोट गर्न नसकिने उनको भनाइ छ । हरिवंश आचार्य र शिवहरि पौडेल उनलाई असाध्यै मन पर्ने हास्य कलाकार हुन् । उनको भनाइमा हास्य विधामा हरिवंशलाई मन नपराउने नेपाली नै भएन । उनको काम गर्ने शैली, दक्षता, कलाकारिता उनलाई मन पर्ने पक्ष हो । किरणको नजरमा शिवहरि पौडेल एक मूर्धन्य व्यक्ति हुन् । 'उनी क्षमतावान् व्यक्ति हुन् । हिरोको रोल पनि खेलेका छन्, मेरो जोडी पनि हुनुहुन्छ', किरणले भने ।

दीपकराज गिरी

deepak-raj-giriदीपकराज गिरी रेडियोको जमानादेखि 'रामविलास'को नामबाट परिचित नाम हो । दुई दशकभन्दा लामो हास्य कलाकारिता गरिरहँदा उनी 'छक्कापन्जा' चलचित्रमा 'राजा' भएर प्रस्तुत हुँदा झन् रुचाइए । समाज र सोच परिवर्तनमा उनको कम भूमिका छैन । तर, उनलाई मन पर्ने हास्य कलाकार भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नै हुन् । कलाकारितामार्फत समाज परिवर्तन, चेतना वृद्धिमा उनीहरूको योगदान सम्झनयोग्य ठान्छन् उनी । 'यसले मलाई प्रभावित बनाएको छ ।उहाँहरूले गर्दा हामी यो स्थानमा आएका छौं', दीपकले भने, 'बिनापैसा हास्यव्यंग्य गर्दै आउनुभयो ।

उहाँहरूले हास्यव्यंग्यको बाटो बनाइदिनुभयो ।' आज आफूहरू महले बनाएको बाटोमा हिँडेको भन्न रुचाउँछन् उनी । 'त्यही बाटोमा सफलताको गाडी गुडाइरहेका छौं', उनले भने, 'उहाँहरू बौद्धिक स्तरको हास्यव्यंग्य प्रस्तुत गर्नुहुन्छ । यो प्रस्तुतिको तरिकालाई हामीले सिकेका छौं । उहाँहरूबाटै सिकेर हामीले यो स्थान बनाएका हौं ।'

दीपाश्री निरौला

deepa_shree_niarula'धनिया'का रूपमा चिनिएकी हास्यकलाकार दीपा श्री निरौला हास्यविधा समेटिएको चलचित्र निर्मात्री बनिसकिन् । 'छक्कापन्जा'सँगै चुलिएको उनको चर्चा कम छैन । तर, उनलाई पनि मन पर्ने हास्य कलाकार भने हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ नै हुन् । उनीहरूलाई दीपा श्री हास्य क्षेत्रकै गुरु मान्छिन् । 'प्रायः सबै हास्य कलाकारले उहाँहरूलाई गुरु मान्नुहुन्छ । उहाँहरूमा जीवन्त एक्टिङ पाउँछु', दीपाले भनिन्, 'उहाँहरू पोख्त व्यक्तित्व हुनुहुन्छ । उहाँहरू उदार व्यक्तित्व हुनुहुन्छ ।'

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100